भयको खाल्डोमा फस्दै अभिव्यक्ति स्वतन्त्रता

डरकै कारण बोल्न नखोज्ने प्रवृत्ति विकास हुनु भनेको लोकतन्त्र र स्वतन्त्र समाजका लागि ठूलो खतरा हो ।

चैत्र १७, २०८२

आरती पौडेल

Freedom of expression falling into the pit of fear

What you should know

शनिबार बिहानै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले गिरफ्तार गरेपछि दिउँसो एमालेले विरोध कार्यक्रम आयोजना गर्‍यो । त्यसमै सहभागी भइन्, अमिशा पराजुली । त्यसक्रममा उनले पत्रकारको प्रश्नको उत्तर दिँदै ओलीको गिरफ्तारीलाई गलत भनेकी थिइन् । उनका अन्य अभिव्यक्ति उनका पक्षबाट तार्किक थिए । उनको अभिव्यक्तिले कसैले व्यक्तिगत मानमर्दन गरेको थिएन । तर एमाले समर्थक भएकै कारण, ओलीको पक्षमा बोलेकै कारण र गिरफ्तारको विरोध गरेकै कारण यतिबेला उनी सामाजिक सञ्जालमा हिंसा खेप्न बाध्य भएकी छन् । ट्रोल र भद्दा मजाक गर्न थालिएपछि उनले आफ्नो टिकटकमा कमेन्ट गर्ने सुविधा नै बन्द गर्नुपरेको छ ।

आफ्ना धारणा राखेका कारण सामाजिक सञ्जालमा हिंसा खेप्न बाध्य उनी पहिलो व्यक्ति होइनन् । सार्वजनिक सरोकारका विषयमा मत दिने उनीजस्ता धेरैले सामाजिक सञ्जालमा अपरिचित र असम्बन्धित व्यक्तिका व्यक्तिगत टिप्पणी, तुच्छ गालीगलौज, धम्की खेप्नुपरेको छ । र, यस्तो हिंसा खेप्नेमा महिला बढी छन् । पराजुलीमाथि नै बलात्कारका धम्कीसमेत दिइएको पाइन्छ ।

पराजुली जस्तै निर्वाचनअघि ‘बालेनले झापाबाट जिते भने मैले कान काटेर टिचिङ हस्पिटलमा गएर टाँका लगाउँछु र यो कानको सुन पनि बालेनलाई दिन्छु’ भनेकी रेनुका दाहालले पनि सामाजिक सञ्जाल र सार्वजनिक स्थलमा हिंसा र हैरानी खेप्नुपर्‍यो । मानिसले उनको फोटोलाई ‘एआई’ प्रयोग गरेर अन्य व्यक्तिसँग सम्बन्ध रहेको फोटो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरे । कतिपयले ‘एआई’ बाटै उनले कान काटेको फोटोसमेत बनाउन भ्याए ।

सार्वजनिक स्थलमा पनि मानिसले उनको फोटो तथा भिडियो खिचेर तथानाम भन्दै सामाजिक सञ्जालमा अपलोड गरेको देख्न सकिन्छ । ‘दिदी कान काट्ने होइन ?’ जस्ता प्रश्नहरूको सामना उनले अहिले पनि गरिरहेकी छन् । उनले मात्रै होइन, उनका छोराछोरीसमेत ‘बुलिङ’ को सिकार भइरहेका छन् । त्यसैले उनले आफ्नो सामाजिक सञ्जालमार्फत ‘आफूलाई जे भने पनि आफ्नो परिवारलाई केही नभन्न’ आग्रह नै गर्नुपरेको छ ।

केही महिनाअघि पुरानोमध्येको एक पार्टीको झन्डा हातमा लिएको फोटो सामाजिक सञ्जालमा राखेकी अर्की एक युवतीले पनि तुच्छ गाली खेप्नुपर्‍यो । उक्त फोटोको कमेन्ट बक्समा निकै नै तुच्छ शब्दमा गाली गरिएका कमेन्टहरू प्रशस्त देखिन्थे । जसमा ‘झोले’ शब्दको प्रयोग सबैभन्दा धेरै थियो ।

उल्लिखित सन्दर्भमा केही साझा प्रवृत्ति देखिन्छ । पहिलो, कमेन्ट गर्नेहरूले प्रायः अश्लील, अमर्यादित र बलात्कारका धम्कीयुक्त भाषा प्रयोग गर्ने गरेका छन् । दोस्रो, कमेन्ट गर्नेहरूमा प्रायः युवाहरू छन् । तेस्रो, त्यसरी कमेन्ट गर्नेहरूको प्रोफाइल हेर्ने हो भने नयाँ पार्टीका समर्थक हुन् भन्ने बुझिन्छ ।

अश्लील, अमर्यादित र बलात्कारका धम्कीयुक्त कमेन्ट र त्यसका युवाहरू संलग्नताले हाम्रो समाजमा गढेर रहेको आपराधिक चरित्रलाई उदाङ्गो बनाउँछ । खासमा यो अति डरलाग्दो संकेत हो । किनकि, कसैको विचार मन नपर्नासाथ उसलाई बलात्कारको धम्की दिनुले यो समाज छोरीहरूका निम्ति कति असुरक्षित छ भन्ने प्रस्ट पार्छ । समाज सभ्य हुन्थ्यो भने कसैको तर्क मन नपरे पनि भद्रतापूर्वक प्रतिवाद गरिन्थ्यो । तथ्यले ठाउँ पाउँथ्यो । कि सहमति हुन्थ्यो, कि आ–आफ्नो विचार बोकेर हिँडिन्थ्यो । यहाँ त खुलमखुल्ला बलात्कारका धम्की दिइन्छ । समाजमा रहेको यो बिमारीको गम्भीर उपचार अपरिहार्य छ ।

दोस्रो, यस्ता कमेन्ट गर्नेहरू प्रायःजसो रास्वपाका समर्थक देखिन्छन् । यो अनौठो होइन, किनकि आफूलाई मन परेको पार्टीलाई समर्थन गर्न पाइन्छ । तर, यतिबेला यो पार्टी ठूलो बनेको छ । उसले आफ्ना कामबाट जनताको विश्वास पूरा गर्ला नै । त्यसका लागि उसको समय सुरु भएको छ । तर, यही पार्टीका समर्थकले अन्य पार्टीका समर्थकलाई घृणा गर्ने, धम्की दिने, ‘झोले’ भन्ने गर्दा सोही पार्टीकै हित गर्दैन । किनकि ठूलो हुनुको अर्थ सहिष्णु हुनु हो, जिम्मेवार हुनु हो, अल्पमतले पनि सुरक्षित ठान्ने गरी अभिभावक हुनु हो । अहंकारी हुनु होइन, निषेध गर्नु होइन । यसबारे रास्वपाको नेतृत्वले नै समर्थकहरूलाई अपिल गर्नुपर्छ । अल्पमतमा रहेका वा आफूलाई समर्थन नगर्ने मानिसहरू पनि सुरक्षित छन् र उनीहरूले स्वतन्त्रतापूर्वक आफ्ना मत राख्न सक्छन् भनेर भरोसा दिलाउनुपर्छ ।

लोकतन्त्रमा फरक मतलाई सुरक्षित गर्न सकिएन भने भविष्यमा प्रत्युत्पादक हुनेछ भनेर रास्वपाले अहिल्यै बुझ्नुपर्छ । किनकि, आपराधिक चरित्र भएका व्यक्ति आज कोही पार्टीका समर्थक हुन सक्छन्, कालान्तरमा भने उनीहरूले आफूले समर्थन गरेकै संस्थालाई क्षति पुर्‍याउँछन् । विगतका विभिन्न पार्टीका उग्र कार्यकर्ता र समर्थक सोही पार्टीलाई कसरी दुर्घटनामा पुर्‍याए भनेर सम्झिँदा राम्रै हुन्छ ।

यो सन्दर्भको अर्को पक्ष भनेको आफ्ना विचार राख्न संविधानले नै दिएको हकसँग सम्बन्धित छ । संविधानको मौलिक हक (स्वतन्त्रताको हक) मा प्रत्येक नागरिकलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हक छ । बिनाहातहतियार शान्तिपूर्ण भेला हुने स्वतन्त्रता छ । यसैले यो स्वतन्त्रताको अनुभूति सबैले गर्न पाउनुपर्छ ।

अरूलाई हानि नपुर्‍याइकन, सार्वजनिक संरचनामा क्षति नपुर्‍याइकन, सामाजिक मूल्यमान्यता र प्रचलनविपरीत नहुने गरी अभिव्यक्ति दिएका पराजुली, दाहाल वा पार्टीको झन्डा हातमा लिएको फोटो राख्ने युवतीले हिंसा खेप्नुपर्ने कुनै कारण छैन । उनीहरूमाथि हिंसा गर्नेहरूलाई दण्डित गरिनुपर्छ ।

कुन पार्टी वा विचार मन पराउने भन्ने विषय व्यक्तिको निजी सरोकार हो । नेपालमा बहुदलीय लोकतन्त्र छ । जहाँ फरक–फरक दल, आस्था र विचार हुनु स्वाभाविक हो । मानिस आफूले आस्था राख्ने पार्टीको पक्षमा प्रचार गर्न, पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन स्वतन्त्र छन् । आफ्ना मत दिन स्वतन्त्र छन् ।

अर्कोतर्फ, कसैको विचारसँग सहमत हुन पनि सकिन्छ, नहुन पनि । त्यो व्यक्तिगत स्वतन्त्रताको विषय हो । तर फरक विचार, धारणा, भिन्न राजनीतिक सोच राख्दैमा कसैको नैतिकता र चरित्रमाथि प्रश्न उठाउने, बलात्कारको धम्की दिने, खिल्ली उडाउने काम सभ्य नागरिक र स्वतन्त्र समाजलाई सुहाउँदैन ।

यदि समाजमा विचार व्यक्त गर्न निषेध गरियो भने मानिसमा ‘सेल्फ सेन्सरसिप’ बढ्छ । मानिसले केही लेख्नु वा बोल्नुअघि ‘मलाई केही हुने हो कि’, ‘मैले राखेको विचारका कारण मैले हिंसा खेप्नुपर्ने हो कि’ वा ‘मेरो परिवारका सदस्यले दुःख पाउने हुन् कि’ भन्ने जस्ता प्रश्न आफैंलाई गर्न सक्छन् । त्यतिबेला अभिव्यक्ति स्वतन्त्रता खुम्चिन्छ । डरकै कारण बोल्न नखोज्ने प्रवृत्ति विकास हुनु भनेको लोकतन्त्र र स्वतन्त्र समाजका लागि ठूलो खतरा हो । यसले भोलि समाजमा निकै गलत काम भइरहँदा पनि बोल्ने मान्छे नहुन सक्छन् । त्यसैले हिंसाप्रेमी र आपराधिक मनोवृत्तिका मानिसलाई दण्डित गरिहाल्नुपर्छ । पछि ढिला हुन सक्छ ।

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully