समावेशी लोकतन्त्रको अधुरो कथा

१३.४ प्रतिशत जनसंख्या रहेका दलितको उपस्थिति संसद्‍मा ६.१८ प्रतिशतमा सीमित हुनु र त्यसमा पनि मधेशी दलितको अनुपस्थिति हुनुले समावेशिताको धज्जी उडाएको छ ।

चैत्र १६, २०८२

शिशिर विश्वकर्मा

The unfinished story of inclusive democracy

What you should know

भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ खस–आर्य समुदायबाट १०१ जना (६१.२१ प्रतिशत) प्रतिनिधि निर्वाचित हुँदा दलित समुदायबाट भने मात्र १ जना (०.६१ प्रतिशत) निर्वाचित भएका छन् । त्यस्तै, समानुपातिकतर्फका कुल ११० सिटमध्ये विभिन्न दलबाट १७ जना मात्र दलित निर्वाचित भएका छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा दलित समुदायको जनसंख्या १३.४ प्रतिशत छ । तर, यस निर्वाचनमार्फत २७५ सदस्यीय प्रतिनिधिसभामा दलितको कुल उपस्थिति जम्मा ६.१८ प्रतिशतमा सीमित भएको छ । यसले जनसंख्याको अनुपातमा दलित समुदायको राजनीतिक प्रतिनिधित्व अझै पनि अत्यन्तै न्यून र असन्तुलित रहेको तथ्यलाई छर्लङ्ग पार्छ ।

नेपाली राजनीतिमा दलित प्रतिनिधित्वको यात्रा संख्यात्मक सुधारबाट सुरु भए पनि अहिले संरचनागत ‘सिन्डिकेट’ मा जकडिएको छ । २०४८ देखि २०५६ सम्मको संसदीयकालमा केवल एक जना (कृष्णसिंह परियार) प्रतिनिधिसभामा पुग्नुले दलितको दयनीय अवस्था देखाउँथ्यो । २०६४ को पहिलो संविधानसभामा ४९ जना पुगे पनि त्यसयता यो संख्या निरन्तर ओरालो लागेर हाल १७ मा खुम्चिएको छ ।

वर्तमान तथ्यांकले प्रतिनिधित्वको डरलाग्दो चित्र प्रस्तुत गर्छ । कुल १७ दलित सांसदमध्ये विश्वकर्मा (कामी/लोहार/सुनार) समुदायको मात्रै ८८ प्रतिशत (१५ जना) वर्चस्व छ, जबकि परियार र वादी समुदायबाट १/१ जना मात्र छन् । सबैभन्दा उदेकलाग्दो पक्ष, कुल १७ जनामा मधेशी दलितको संख्या शून्य छ । यसले पहाडी दलित र त्यसमा पनि खास उपजातिको मात्रै राजनीतिक प्रभाव रहेको पुष्टि गर्छ ।

समानुपातिक प्रणाली समावेशीकरणको औजार हुनुपर्नेमा ‘दोहोरो लाभ’ लिने र पहुँचवालालाई स्थापित गर्ने माध्यम बनेको छ । १३.४ प्रतिशत जनसंख्या रहेका दलितको उपस्थिति संसद्मा ६.१८ प्रतिशतमा सीमित हुनु र त्यसमा पनि मधेशी दलितको अनुपस्थिति हुनुले समावेशिताको धज्जी उडाएको छ ।

समानुपातिक प्रणाली समावेशीकरणको औजार हुनुपर्नेमा ‘दोहोरो लाभ’ लिने र पहुँचवालालाई स्थापित गर्ने माध्यम बनेको छ । १३.४ प्रतिशत जनसंख्या रहेका दलितको उपस्थिति संसद्मा ६.१८ प्रतिशतमा सीमित हुनु र त्यसमा पनि मधेशी दलितको अनुपस्थिति हुनुले समावेशिताको धज्जी उडाएको छ ।मधेशी समुदाय ऐतिहासिक रूपमा पहाडकेन्द्रित राज्यसत्ताको विभेद र दमनमा परेको समुदाय हो । गौरवपूर्ण मधेश आन्दोलनले राज्यसत्तासमक्ष मधेशीको अर्थपूर्ण उपस्थिति र पहिचान त स्थापित गर्‍यो, तर सत्ताको भर्‍याङ चढेका मधेशकेन्द्रित दल र नेतृत्वको प्राथमिकतामा ‘मधेशी दलित’ सधैं ओझेलमा परिरहे ।

मधेशी दलितहरू अन्य मधेशी नागरिकसरह क्षेत्रीय उत्पीडनमा त छँदै छन्, त्यसका अतिरिक्त मधेशभित्रकै कथित उच्च जातीय समुदायबाट हुने जातीय उत्पीडनको समेत सिकार भइरहेका छन् । यही अवस्थालाई राजनीतिशास्त्रमा ‘दोहोरो सीमान्तकरण’ भनिन्छ ।

भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक दलहरूले मधेशका मुद्दालाई निकै प्राथमिकताका साथ उठाए । चुनावी सरगर्मीको केन्द्र मधेश नै थियो । कतिपय नवगठित दलहरूले मधेशकै जनमतका आधारमा उत्साहजनक सफलतासमेत प्राप्त गरे । विडम्बना के भने, कुनै पनि प्रमुख दलले मधेशी दलितलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउने आँट गरेनन्, न त समानुपातिक प्रणालीमार्फत उनीहरूको न्यायोचित प्रतिनिधित्व नै सुनिश्चित गरियो ।

राज्यको समावेशी संरचनामा समेत ‘दलित क्लस्टर’ भित्र पहाडी दलितको एकल जातीय वर्चस्व कायम छ भने ‘मधेशी क्लस्टर’ भित्र मधेशी दलितको उपस्थिति शून्य प्रायः देखिन्छ । यसले के पुष्टि गर्छ भने मधेशी दलितहरू आज पनि भूगोल र जात दुवै आधारमा राज्य र समाजको किनारामा पारिएका छन् ।

भारतीय लेखक तथा चिन्तक जावेद अख्तर भन्छन्– ‘हिन्दु समाजको संरचना यस्तो छ, जहाँ प्रत्येक व्यक्तिले आफूभन्दा तल कोही न कोही होस् भन्ने चाहन्छ ।’ यो मनोवैज्ञानिक सत्य दलित समुदायभित्रको आन्तरिक जातीय संरचनामा पनि हुबहु प्रतिबिम्बित हुन्छ ।

राजनीतिक र सामाजिक दृष्टिले हेर्दा दलितभित्रकै ‘माथिल्लो’ खुड्किलोमा रहेका जातहरू (विशेषतः कामी/विश्वकर्मा) ले आफूलाई अन्य दलितभन्दा श्रेष्ठ प्रमाणित गर्न खोज्ने प्रवृत्ति देखिन्छ । समग्र दलित आन्दोलनको उपलब्धिलाई मूल्यांकन गर्ने हो भने प्राप्त सीमित अवसरहरूमा समेत यही तुलनात्मक रूपमा ‘पहुँचवाला’ तप्काकै उच्चतम कब्जा छ ।

पछिल्लो समय दलित समुदायभित्रको शक्ति संरचनामा परिवर्तन त आएको छ, तर त्यो न्यायोचित छैन । आर्थिक रूपमा सबल भएका केही सीमित व्यक्तिहरूले नै सम्पूर्ण स्रोतसाधन र अवसरमा एकाधिकार जमाइरहेका छन् । उदाहरणका लागि, प्रकाश सपूत वा रीमा विश्वकर्मा जस्ता पात्रहरू आज आफ्नो सामाजिक र आर्थिक हैसियतका कारण सामाजिक रूपमा प्रतिष्ठित छन् । उनीहरूले प्राप्त गरेको अवसरमा उनीहरूको राजनीतिक योगदानभन्दा पनि उनीहरूको ‘सेलिब्रेटी’ छवि र सामाजिक पुँजीले काम गरेको छ । यसले के प्रस्ट पार्छ भने दलितभित्र पनि आर्थिक र सामाजिक रूपमा जो अगाडि छ, उसैले अवसरको अग्रपंक्तिमा स्थान पाउँछ, जबकि वास्तविक ‘निमुखा’ दलितहरू सधैं मौन र किनारामा पारिन्छन् ।

समानुपातिक मर्मको हुर्मत
नेपालको संविधानले परिकल्पना गरेको समानुपातिक निर्वाचन प्रणालीको मूलमर्म राज्यको मूल प्रवाहबाट किनारा लगाइएका दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रका नागरिकलाई शासन व्यवस्थाको केन्द्रमा ल्याउनु थियो । तर, व्यवहारमा यो प्रणाली ‘समानुपातिक’ भन्दा बढी विकृत र पहुँचवालाको सुरक्षित अवतरणको थलो बन्दै गएको देखिन्छ । दलित प्रतिनिधित्व संवैधानिक रूपमा बाध्यकारी भएकाले संख्यात्मक सुनिश्चितता त देखिन्छ, तर यो केवल प्रक्रिया पुर्‍याउने ‘कर्मकाण्डी’ अभ्यासमा मात्र सीमित छ । समानुपातिक मर्मभित्र रहेर भूगोल र दलितभित्रका विभिन्न उपजातिहरूको न्यायोचित प्रतिनिधित्व गराउनुको सट्टा दलहरूले यसलाई केवल प्राविधिक आवश्यकता पूरा गर्ने माध्यम बनाएका छन् ।

दलित समुदायबाट प्रतिनिधित्व गर्ने १७ जना सांसदमध्ये १४ जना महिला र ३ जना मात्र पुरुष (खगेन्द्र सुनार, प्रकाशचन्द्र दर्जी र गणेशबहादुर विक) निर्वाचित भएका छन् । यसले संख्यात्मक रूपमा दलित महिलाको उपस्थिति ८२ प्रतिशत देखाए पनि उनीहरू समानुपातिक प्रणालीबाट निर्वाचित भएका हुन् ।दलित समुदायबाट प्रतिनिधित्व गर्ने १७ जना सांसदमध्ये १४ जना महिला र ३ जना मात्र पुरुष (खगेन्द्र सुनार, प्रकाशचन्द्र दर्जी र गणेशबहादुर विक) निर्वाचित भएका छन् । यसले संख्यात्मक रूपमा दलित महिलाको उपस्थिति ८२ प्रतिशत देखाए पनि उनीहरू समानुपातिक प्रणालीबाट निर्वाचित भएका हुन् । संविधानले संघीय संसद्मा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ, तर राजनीतिक दलहरूले प्रत्यक्ष निर्वाचनमा दलित र महिला दुवैलाई उम्मेदवार बनाउन चरम कन्जुस्याइँ गर्ने गरेका छन् ।

प्रत्यक्षतर्फ महिलाको संख्या न्यून भएपछि दलहरूले समानुपातिक सूचीबाट उक्त संवैधानिक भर्पाइ गर्नुपर्ने कानुनी दबाब महसुस गर्छन् । यसै क्रममा ‘दलित क्लस्टर’बाट महिलालाई नै प्राथमिकता दिँदा एकै व्यक्तिबाट ‘दलित’ र ‘महिला’ दुवैको कोटा पूरा हुने देखिन्छ । दलहरूको यही रणनीतिक दाउपेचका कारण १७ मध्ये १४ जना महिला छानिएका हुन् ।

नेपालको संसदीय इतिहास र वर्तमान तथ्यांकले के प्रस्ट पार्छ भने दलित प्रतिनिधित्व अहिले संख्यात्मक रूपमा सुनिश्चित भए पनि गुणात्मक र विविधताका आधारमा निकै कमजोर छ । समावेशिताको अर्थ केवल संसद्मा केही अनुहारहरू थप्नु मात्र होइन, बरु ती अनुहारहरूमा समाजको वास्तविक पिँधमा रहेकाहरूको प्रतिबिम्ब हुनु हो । तर, दुर्भाग्यवश हालको अभ्यासले दलितभित्रका पनि पहुँचवाला र खास उपजातिहरूको मात्र वर्चस्व स्थापित गरेको छ । जबसम्म मधेशी दलित, बादी, मुसहर, डोम जस्ता ‘अति सीमान्तकृत’ समुदायको आवाज संसद्मा सुनिँदैन, तबसम्म समावेशी लोकतन्त्रको कथा सधैं अधुरो नै रहनेछ ।

शिशिर

Link copied successfully