सुशासन नै समृद्धिको पहिलो र अन्तिम सर्त

रास्वपाको उदयले दशकौंको कुशासन, भ्रष्टाचार र अवसरको खडेरी विरुद्ध नेपाली जनताले ऐतिहासिक विद्रोह गर्दै सुशासन र समावेशी न्यायको नयाँ आशा पलाएको छ।

चैत्र १३, २०८२

रन्जित प्रकाश वड

Good governance is the first and last condition for prosperity.

What you should know

२१फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले नेपाली राजनीतिको स्थापित मानक र परम्परागत शक्ति संरचनालाई पूर्णतः भत्काइदिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ तथा समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिट जितेको छ । यसरी उसले सबैभन्दा ठूलो दलका रूपमा राज्यसत्ता सम्हाल्ने स्पष्ट र शक्तिशाली जनादेश प्राप्त गरेको छ ।

यो विजय केवल एउटा राजनीतिक दलको उदय मात्र होइन, बरु दशकौंदेखि व्याप्त बेथिति र कुशासनका विरुद्ध नेपाली जनताले प्रकट गरेको ‘मौन विद्रोह’ हो । प्रसिद्ध व्यंग्यकार मार्क ट्वीनले राजनीतिज्ञ र डाइपर समय–समयमा फेरिरहनुपर्ने बताएका थिए । नेपाली नागरिकले यस पटक ट्वीनको उक्त भनाइलाई चरितार्थ गर्दै वर्षौंदेखि शासनको ‘डाइपर’ फेर्ने ऐतिहासिक मत दिएका छन् ।

यो परिवर्तनको जग विशेषगरी २३ र २४ भदौमा सडकमा ओर्लिएर जेन–जीले गरेको विद्रोहसँग जोडिएको छ । जुन कुनै दलीय स्वार्थबाट प्रेरित थिएन । त्यो त दशकौंको अवसरको खडेरीले उब्जाएको आक्रोश थियो, जसको प्रमुख र प्रखर माग नै सुशासन थियो । त्यसैले, अबको नयाँ सरकारका लागि जनमतको यो भारी जति गौरवमय छ, भदौको विद्रोहले उठाएको सुशासनको एजेन्डालाई सार्थक बनाउने चुनौती त्यति नै कठिन छ । अबको यात्रामा सुशासन र समृद्धि नै पहिलो र अनिवार्य सर्त बन्नुपर्छ ।

नेपालमा सुशासनको बहस जति सघन छ, बेथितिको चित्र त्यति नै भयावह रहँदै आएको छ । त्यसकारण अब हामी सरकार बनेको मात्र होइन, देश बनेको हेर्न चाहन्छौं । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको ‘करप्सन पर्सेप्सन इन्डेक्स’ (सीपीआई) २०२५ को प्रतिवेदनले नेपाल अझै पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको सूचीमा १०८औं स्थानमा रहेको देखाएको छ । सार्वजनिक प्रशासनका हरेक पत्रमा व्याप्त भ्रष्टाचार र नीतिगत विचलनले गर्दा नै सर्वसाधारणले राज्य हुनुको बोध गर्न पाएका थिएनन् ।

अहिलेको चुनावी परिणामले स्पष्ट पारेको छ कि नागरिक अब ‘ठूला माछा’ हरूलाई संरक्षण गर्ने संयन्त्र र बिचौलियाको सेटिङ पूर्णतः भत्केको हेर्न चाहन्छन् । नयाँ सरकारले सुशासनलाई केवल लोकप्रिय नाराका रूपमा मात्र होइन, बरु पद्धतिका रूपमा स्थापित गर्न शून्य सहनशीलताको नीतिलाई कठोरताका साथ लागू गर्नुपर्छ ।

सरकारी सेवा प्रवाहमा प्रविधिको पूर्ण अंगीकार र भ्रष्टाचारमा संलग्न जोसुकैलाई कानुनी कठघरामा उभ्याउने नैतिक साहस नै यो निर्वाचनपछिको वास्तविक निकास हुनेछ । मुलुकको अर्को मुख्य समस्या बेरोजगारी र ऊर्जाशील जनशक्तिको पलायन हो, जसले देशको भविष्यलाई नै अनिश्चित बनाउँदै लगेको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार दैनिक औसत २ हजारदेखि २ हजार ५ सयको हाराहारीमा नेपाली युवाहरू श्रमका लागि अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिरहेका छन् ।

यो लर्को कुनै रहर होइन, बरु राज्यले स्वदेशमा अवसर सिर्जना गर्न नसक्नुको बाध्यता हो ।  अब रास्वपाको सरकारले वितरणमुखी कार्यक्रम र सस्तो लोकप्रियतामा अल्झिनुको साटो ‘स्टार्टअप’ इकोसिस्टम, औद्योगिक क्रान्ति र कृषिको व्यवसायीकरणमा केन्द्रित हुनुपर्छ । संविधानद्वारा नै सुनिश्चित रोजगारीको हकलाई सरकारले प्रबन्ध मिलाउनुपर्छ ।

जबसम्म मुलुकको अर्थतन्त्र रेमिट्यान्सको भरमा मात्र टिकिरहन्छ, तबसम्म दिगो विकास सम्भव छैन । हामीले अब केवल आश्वासन होइन, आफ्नै माटोमा पसिना बगाउन सक्ने मर्यादित र सुरक्षित श्रम बजारको प्रत्यक्ष अनुभूति खोजिरहेका छौं ।  अर्को मुख्य विषय, सामाजिक न्यायको प्रश्न पनि केवल संवैधानिक दस्ताबेज र समावेशिताको कोटामा मात्र सीमित रहेर पुग्दैन ।

विश्वप्रख्यात विधिशास्त्री अमर्त्य सेनले आफ्नो न्यायसम्बन्धी सिद्धान्तमा भनेझैं, ‘न्याय केवल नियमहरूको औपचारिक पालना होइन, बरु मानिसको वास्तविक स्वतन्त्रता र क्षमताको विकास पनि हो ।’ सेनको ‘क्षमता दृष्टिकोण’ अनुसार वास्तविक न्याय तब मात्र सम्भव हुन्छ, जब राज्यले हरेक नागरिकलाई आफ्नो जीवनस्तर सुधार्न सक्ने समान कानुनी आधार र अवसर प्रदान गर्छ ।

नेपालको सन्दर्भमा सामाजिक न्याय भनेको दलित, जनजाति, महिला र सीमान्तकृत समुदायका आवाजहरूलाई केवल संख्यामा गन्नु होइन, उनीहरूलाई नीति निर्माण र स्रोतको बाँडफाँटमा निर्णायक बनाउनु हो । मुख्य रूपमा अझ तत्तत् समुदायका सशक्तीकरणका लागि काम गर्नु हो । नयाँ नेतृत्वले अब नातावाद र कृपावादको साटो योग्यताले शिर उठाउन पाउने पद्धति बसाल्नुपर्छ, जहाँ पछाडि पारिएका वर्गले राज्य ‘मेरो पनि हो’ भन्ने अनुभूति गर्न सकून् ।

किनभने राज्य कुनै निश्चित समुदायको मात्र नभएर हरेक देशवासीको हो र सबैका अधिकार सुनिश्चित हुन आवश्यक छ । २१ फागुनको यो ऐतिहासिक मतादेश नागरिकले राजनीतिक दलहरूलाई दिएको अन्तिम अवसर हो । पटक–पटकका आन्दोलन र विशेषगरी २३ र २४ भदौको विद्रोहले नागरिकमा जुन राजनीतिक सचेतना र सुशासनको तीव्र भोक जगाएको थियो, त्यसैको जगमा यो नयाँ शक्तिले विजयको शिखर चुमेको हो ।

यदि यो सरकारले पनि विगतकै जस्तो भ्रष्टाचारको जालो नतोड्ने, युवा पलायनको लर्को नरोकिने र सुशासनका कुरा केवल भाषण र घोषणापत्रमै खुम्च्याउने हो भने मुलुक अझ गहिरो संवैधानिक र राजनीतिक दुर्घटनातर्फ धकेलिने निश्चित छ । निर्वाचन सम्पन्न भयो, ठूलो दल पनि बन्यो, तर अबको असली परीक्षा डेलिभरीमा छ । हामीलाई एउटा अर्को सरकार मात्र होइन, सुशासनको जगमा उभिएको एउटा स्पष्ट र भरोसायोग्य राष्ट्रिय निकास चाहिएको छ । सुशासन नै अबको समृद्धिको पहिलो र निर्विकल्प सर्त हो । 

रन्जित वडले जेन-जीको प्रतिनिधित्व गर्छन्।

Link copied successfully