घोषणापत्रका ज्वलन्त राजनीतिक एजेन्डा

ज्वलन्त राजनीतिक एजेन्डाहरूमा पार्टीहरूको दृष्टिकोण के हो ? यसबारेमा स्पष्ट दृष्टिकोण र समाधानको ठोस मार्गचित्र पार्टीहरूले घोषणापत्रमा उल्लेख गर्नु आवश्यक छ । यदि यस्ता एजेन्डामा स्पष्ट दृष्टिकोण आएन भने घोषणापत्र अपूर्ण हुनेछन्

माघ २३, २०८२

गेजा शर्मा वाग्ले

The manifesto's burning political agenda

What you should know

(२१ फागुनको निर्वाचनका लागि उम्मेदवारहरू आफ्नो घोषणापत्र लिएर जनतासमक्ष पुगिरहेका छन् । उनीहरू आफ्नो एजेन्डा सुनाइरहेका छन् । यतिबेला कान्तिपुरले भने जनताको एजेन्डा दल र उम्मेदवारलाई सुनाउनका लागि विशेष शृंखला 'कान्तिपुर विमर्शः घोषणापत्र’ सुरु गर्दैछ । तपाईंहरूले पनि खास क्षेत्रमा केन्द्रित रहेर यस शृंखलाका लागि घोषणापत्र लेख्न सक्नुहुनेछ । तथ्य, तथ्यांक र तर्कयुक्त घोषणापत्रलाई हामी स्थान दिनेछौँ ।)

 आसन्न २१ फागुनको निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक पार्टीहरूको एजेन्डा र घोषणापत्रबारे ताजा बहस सुरु भएको छ । नेपाली राजनीति अत्यन्त संवेदनशील मोडबाट गुज्रिरहेको समयमा हुन गइरहेको निर्वाचनको पूर्वसन्ध्यामा यस्तो बहस हुनु स्वाभाविक हो । विगतको समीक्षा गर्दा औपचारिकताका लागि पार्टीहरूले कर्मकाण्डी घोषणापत्र जारी गर्ने तर निर्वाचन सकिएपछि ती घोषणापत्र बेवारिसे हुँदै आएका छन् । त्यसैले घोषणापत्रलाई ‘श्राद्धमा बिरालो बाँध्ने’ नेपाली समाजको बहुचर्चित उखानसँग तुलना गर्दै पार्टीहरूप्रति तिखो र कठोर व्यंग्य गर्दै आइएको छ । घोषणापत्र भनेको कुनै पनि पार्टीले पाँच वर्षको अवधिमा डेलिभर गर्ने स्पष्ट नीति, योजना र कार्यक्रमसहितको भिजन हो । तर पार्टीका घोषणापत्र कि कर्मकाण्डी कि सपनाको व्यापार गर्ने पुलिन्दाजस्ता हुन्छन् । घोषणापत्रमा संकल्पभन्दा सपना, भिजनभन्दा भ्रम र नीति र योजनाभन्दा प्रोपोगान्डा बढी हुन्छन् । 

पपुलिजमको विश्वव्यापी लहरको प्रभाव नेपालमा पनि उल्लेखनीय रूपमा परिरहेको घडीमा हुन गइरहेको निर्वाचनमा घोषणापत्र र भिजनभन्दा नेताको देवत्वकरण गरी तिलस्मी छवि र लोकप्रियताको नाममा जनतामा भ्रमको व्यापार गर्ने पपुलिस्ट प्रवृत्ति हाबी भएको देखिन्छ । अहिले एजेन्डा होइन, अनुहार र भिजन होइन, भ्रामक भाष्यका आधारमा बहस र आरोप–प्रत्यारोप चलिरहेको छ । अर्कोतिर कार्यान्वयन नै नहुने भएका कारणले जनताले पनि घोषणापत्रलाई महत्त्व दिन छाड्दै गएको देखिन्छ । कुनै पनि पार्टीले हालसम्म निर्वाचनका प्रमुख राजनीतिक एजेन्डा सार्वजनिक गरेका छैनन् । तर आजको आवश्यकता के हो भने विद्यमान ज्वलन्त राजनीतिक, संवैधानिक, आर्थिक, सामाजिक, व्यापारिक, सांस्कृतिक एजेन्डाहरूका बारेमा स्पष्ट दृष्टिकोणसहित ठोस प्रस्ताव लिएर जनतासमक्ष जानुपर्छ । पंक्तिकार राजनीतिशास्त्रको विद्यार्थी भएको कारणले घोषणापत्रमा अनिवार्य रूपमा समेट्नुपर्ने प्रमुख राजनीतिक एजेन्डाका बारेमा आलेख केन्द्रित छ ।

जनताको बलिदानीपूर्ण संघर्ष तथा ऐतिहासिक जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार र समावेशी प्रणालीका रूपमा विकसित गर्दै समुन्नत, समन्यायिक र समतामूलक समाज स्थापना आजको आवश्यकता हो ।कस्तो संविधान, कस्तो संशोधन ? 
ऐतिहासिक संविधानसभामार्फत बनेको संविधान लोकतान्त्रिक, गणतान्त्रिक, उदार, बहुलवादी, संघीय, प्रगतिशील, समावेशी, धर्मनिरपेक्ष, अधिकारमैत्री छ । यो संविधानले जनतालाई वास्तविक रूपमा सार्वभौमसत्तासम्पन्न बनाएको छ र नेपाललाई राष्ट्र–राज्यको रूपमा विकसित गरेको छ । लोकतान्त्रिक, उदारवादी र अधिकारमैत्री सिद्धान्तका दृष्टिले विश्वमा प्रचलित उत्कृष्ट संविधानमध्ये नेपालको संविधान पनि एक मानिन्छ । तर केही राजनीतिक पार्टीका साथै महिला, मधेशी, जनजाति, दलित, अल्पसंख्यक तथा सीमान्तकृत समुदायको संविधानप्रति केही असहमति र गुनासा छन् । त्यसैले उनीहरूले संविधान संशोधन गरी आफ्ना माग सम्बोधन गर्न आवाज उठाउँदै आएका छन् । जेन–जी विद्रोहपछि केही जेन–जी समुदायले पनि यस्तो माग गर्दै आएका छन् । संविधान गतिशील र परिवर्तनशील दस्ताबेज भएको कारणले जनताको भावनाअनुसार समयानुकूल संशोधन, परिमार्जन र अद्यावधिक हुँदै जानु स्वाभाविक लोकतान्त्रिक प्रक्रिया हो । त्यसैले संविधानका लोकतान्त्रिक सिद्धान्तलाई आत्मसात् गर्दै यसको उदारवादी र प्रगतिशील संशोधनमार्फत सम्पूर्ण जनताले अपनत्व र स्वामित्व ग्रहण गर्ने साझा र समृद्ध दस्ताबेजको रूपमा विकसित गर्न आवश्यक छ । 

यो लोकतान्त्रिक प्रणालीलाई कसरी कार्यमूलक, परिणाममुखी र उत्तरदायी प्रणालीका रूपमा रूपान्तरित गर्न सकिन्छ भन्ने आजको अहम् प्रश्न हो । नागरिक सर्वोच्चता, नागरिक अधिकार, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, आवधिक निर्वाचन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन, मानवअधिकार लोकतन्त्रका आधारभूत विश्वव्यापी सिद्धान्त हुन् । यी सिद्धान्त कुनै पनि लोकतान्त्रिक प्रणालीका पूर्वसर्त हुन् । जनताको बलिदानीपूर्ण संघर्ष तथा ऐतिहासिक जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार र समावेशी प्रणालीका रूपमा विकसित गर्दै समुन्नत, समन्यायिक र समतामूलक समाज स्थापना आजको आवश्यकता हो । त्यसैले अपेक्षाकृत डेलिभरी गर्न नसकेको प्रश्न उठिरहेको घडीमा यो लोकतन्त्रलाई डेलिभरी गर्ने लोकतन्त्रका रूपमा रूपान्तरण गर्नु अपरिहार्य छ ।

कस्तो निर्वाचन प्रणाली, कस्तो संशोधन ?
निर्वाचन प्रणाली अर्को विवादित र जटिल एजेन्डा हो । २०७२ मा जारी भएको संविधानमा प्रत्यक्ष र समानुपातिक गरी मिश्रित निर्वाचन प्रणाली अनुसरण गरिएको छ । तर २०७४ र २०७९ मा भएका दुई निर्वाचनमा संघदेखि प्रदेशसम्म कुनै एक पार्टीको बहुमत नआएको पृष्ठभूमिमा विश्लेषण गर्दा भविष्यमा एकल बहुमत आउने सम्भावना क्षीण भएको वास्तविकता पुष्टि भइसकेको छ । संघदेखि प्रदेशसम्म पटकपटक सरकार परिवर्तन हुने राजनीतिक अस्थिरताको चक्रव्यूह, सत्ता र शक्तिका लागि पार्टीहरूबीच अपवित्र गठबन्धन र घृणित खेल तथा प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्री उत्पादनको दुष्चक्र चलिरहेको छ । यही कारणले जनतामा व्यापक वितृष्णा सिर्जना भएपछि केवल निर्वाचन प्रणालीका बारेमा मात्रै होइन, संविधानमाथि समेत प्रश्नहरू उठेका छन् । त्यसैले निर्वाचन प्रणाली नै अस्थिरताको स्रोत भएको निष्कर्ष निकाल्दै संविधान संशोधन गरी स्थिर सरकारको प्रत्याभूति हुने प्रणाली अनुसरण गर्न राजनीतिक पार्टीदेखि जनस्तरसम्म सशक्त रूपमा आवाज उठ्दै आइरहेको छ । 

तर कुनै पनि निर्वाचन प्रणाली निरपेक्ष रूपमा स्थिरता वा अस्थिरताको स्रोत होइन र हुँदैन । जनताको अभिमत, शक्ति सन्तुलन, पार्टीहरूको नीति, रणनीति र संस्कारमा पनि निर्भर रहन्छ । तर निर्वाचन प्रणाली पुनरावलोकन गर्नुपर्ने सैद्धान्तिक प्रस्ताव र राजनीतिक धारणाबाहेक हालसम्म कुनै पनि पार्टीको तर्फबाट ठोस प्रस्ताव सार्वजनिक भएको छैन । प्रतिनिधिसभालाई प्रत्यक्ष निर्वाचित र राष्ट्रिय सभालाई समानुपातिक बनाउने, समानुपातिकको संख्या घटाएर थ्रेसहोल्ड बढाउने, संघीय तथा प्रादेशिक मन्त्रालय तथा सांसद संख्या घटाउनेलगायतका अनौपचारिक प्रस्ताव बहसका रूपमा आएका छन् । तर अर्को वास्तविकता के हो भने एउटा पार्टीले बहुमत हासिल गर्दा पनि राजनीतिक स्थायित्व हुन नसकेको इतिहास जीवित छ । २०४८ र २०५६ को निर्वाचनमा कांग्रेसको स्पष्ट बहुमत थियो । तर स्थिर सरकार नभएको मात्रै होइन, दुवै पटक संसद् विघटन गरेर अस्थिरताको खेल सुरु गरेको थियो । यसैगरी २०७४ मा पनि तत्कालीन नेकपाको बहुमत थियो । तर आन्तरिक विवाद र शक्ति–संघर्षको कारणले एकातिर दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरिएको थियो भने अर्कोतिर नेकपा नै विभाजित भयो । त्यसैले कांग्रेस, एमाले दुवैले बहुमत पाए पनि स्थिरता कायम गर्न असफल भए ।

नेपाल जस्तो बहुधार्मिक, बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक देशमा मिश्रित प्रणाली उपयुक्त हो । केही पार्टीहरूले चित्रित गरे जस्तो समानुपातिक प्रणाली समस्या होइन । संविधानको आधारभूत स्तम्भ मानिने समानुपातिक प्रणालीको विकल्प खोजियो भने अर्को जटिल विवाद सिर्जना हुन सक्छ । त्यसैले समानुपातिक प्रणाली पुनरावलोकन गरी राजनीतिक स्थायित्व र समानुपातिक प्रतिनिधित्व गरी दुवैको सन्तुलन नै अहिलेको निकास हो । अभ्यासका क्रममा देखिएका विकृति–विसंगतिलाई सम्बोधन गरी समानुपातिक र समावेशी प्रणालीको मूल्य–मान्यता तथा संविधानको भावनाअनुसार संकुचित होइन, यसको दायरा थप फराकिलो बनाउनुपर्छ । त्यसैले केवल समानुपातिकमा मात्रै होइन, प्रतिनिधिसभा र प्रदेशसभामा महिला, मधेशी, जनजाति, दलित, अल्पसंख्यक तथा सीमान्तीकृत समुदायको प्रत्यक्ष निर्वाचनमा पनि थप प्रतिनिधित्व सुनिश्चित गरी परिमार्जन र संशोधन गर्नु आवश्यक छ ।

मानौं, संघीयता खारेज गरियो । के समस्याको समाधान होला ? पंक्तिकारको विचारमा हुँदैन । संघीयताको विकल्प थप उन्नत, उदार र जनमुखी संघीयता हो । तर संघीयताको विकल्प एकात्मक र केन्द्रीकृत प्रणाली होइन र हुन सक्दैन ।कस्तो संघीयता, कस्तो संशोधन ? 
राजनीतिक आन्दोलन, संविधान र शासकीय प्रणालीबारे विगत लामो समयदेखि प्रयोगशाला हुँदै आएको नेपालमा घोषणा भएको मितिदेखि नै संघीयताको आवश्यकता र औचित्यका बारेमा विवादास्पद बहस हुँदैआएको छ । २०६५ मा घोषणा गरे पनि २०७२ मा संविधान जारी भएपछि मात्रै संघीयता कार्यान्वयन प्रारम्भ भएको हो । तर संघीयता यति विवादित र अलोकप्रिय भएको छ कि संघीयताकै कारणले लोकतान्त्रिक गणतन्त्र र संविधानका बारेमा समेत नकारात्मक भाष्य बन्दै गएको देखिन्छ । संघीयतालाई ‘अनवान्टेड बेबी’ तथा विदेशीद्वारा लादिएको प्रणालीको संज्ञा दिँदै जनस्तरका संवाद, सामाजिक सञ्जाल तथा डिजिटल माध्यममा तीव्र आलोचना र व्यापक नकारात्मक टिप्पणी हुँदै आएको छ । नेपालको सन्दर्भमा संघीयता एकात्मक र केन्द्रीकृत राज्यलाई पुनःसंरचना गर्ने प्रक्रिया हो । तर सार्वजनिक जनमत कस्तो सिर्जना भएको छ भने– ‘यथास्थितिमा संघीय प्रणाली र प्रदेशको औचित्य छैन । कि डेलिभरी गर्नुपर्‍यो, होइन भने खारेज गरे हुन्छ । यो भन्दा तेस्रो विकल्प छैन ।’

मानौं, संघीयता खारेज गरियो । के समस्याको समाधान होला ? पंक्तिकारको विचारमा हुँदैन । संघीयताको विकल्प थप उन्नत, उदार र जनमुखी संघीयता हो । तर संघीयताको विकल्प एकात्मक र केन्द्रीकृत प्रणाली होइन र हुन सक्दैन । संघीय प्रणालीमार्फत तल्लो तहका सरकार र जनतामा अधिकारको निक्षेपण गर्नु अपरिहार्य छ । यदि संघीयता खारेज गरियो भने अवाञ्छित राजनीतिक जटिलता मात्रै सिर्जना हुने छैन, कल्पनातीत राजनीतिक द्वन्द्वसमेत निम्त्याउन सक्छ । तर यथास्थितिमा पनि संघीयताको भविष्य छैन । संविधानको भावना र संघीयताको सिद्धान्तलाई आत्मसात् गरेर थप अधिकार तथा साधन–स्रोत सम्पन्न, जनतामुखी, कार्यमूलक र प्रभावकारी प्रणालीका रूपमा रूपान्तरण गर्नुपर्छ । प्रदेश सरकारलाई सुधार र सबलीकरण गर्नुपर्छ । संघीयतालाई सफल र प्रदेश संरचनालाई प्रभावकारी बनाउन अविलम्ब संविधानप्रदत्त अधिकार बिनासर्त निक्षेपण गरिनुपर्छ । संविधानको अक्षर र भावना पनि यही हो, नेपालका लागि उपयुक्त मोडल पनि यही हो । जनतालाई राजनीतिक, आर्थिक तथा प्राकृतिक साधन–स्रोतमा अधिकारसम्पन्न बनाउने मात्रै होइन, सामाजिक, सांस्कृतिक तथा भाषिक अधिकार र पहिचानसमेत सुनिश्चित गर्ने लोकतान्त्रिक र जनमुखी प्रणाली हो । संघीयताको मूलभूत सिद्धान्त र प्रमुख उद्देश्य भनेकै सबै तहका सरकारमा जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गरी सरकारलाई उत्तरदायी बनाउनु हो । संघीयतामा राज्यको सार्वभौमसत्ता तथा अधिकार संविधानमा नै स्पष्ट रूपमा उल्लेख गरी सबै तहका सरकारलाई बाँडफाँट गरिएको हुन्छ । एकल अधिकारको अभ्यास गर्न सम्बन्धित तहका सरकार स्वायत्त हुन्छन् भने साझा अधिकारका विषयमा सबै तहबीच समन्वय र सहकार्य गर्नुपर्छ । त्यसैले स्वशासन तथा साझा शासनको अवधारणाबाट अभिप्रेरित संघीयता सबै तहका सरकारबीच समन्वय, सहअस्तित्व र सहकार्य गर्ने प्रणाली हो । 

समाजमा विद्यमान धार्मिक, सामाजिक, सांस्कृतिक, भाषिक, भौगोलिक तथा जातीय बहुलता तथा विविधतालाई सम्बोधन गर्ने दृष्टिले एकात्मकभन्दा संघीय प्रणाली उपयुक्त मानिन्छ । सबैको पहिचान, पहुँच, प्रतिनिधित्व, प्रतिष्ठा सुनिश्चित गर्ने उदार मूल्य–मान्यता संघीयताले आत्मसात् गरेको हुन्छ । एकात्मकभन्दा संघीयता जनताको सहभागिता, प्राकृतिक साधन–स्रोतमाथिको अधिकार तथा सांस्कृतिक–भाषिक पहिचानका दृष्टिले श्रेष्ठ मानिन्छ । नेपालको सन्दर्भमा कुनै पनि सरकार र कुनै पनि पार्टीले संघीयता पूर्ण रूपमा लागू गर्न इमान्दार प्रयास गरेनन् । प्रदेश संरचना नयाँ भएका कारणले प्रदेशसभा पनि प्रभावकारी भएनन् र प्रदेश सरकारले पनि डेलिभरी गर्न सकेनन् । जनभावनाअनुसार डेलिभरी गरेर प्रदेशको औचित्य पुष्टि गर्ने अवसर पार्टी र प्रदेश सरकारले पाएका थिए, तर गुमाए । जनताको विचार र प्रतिक्रियाका आधारमा विश्लेषण गर्दा प्रदेशप्रति जनताको विश्वास, स्वामित्व र अपनत्व नै नभएको जस्तो देखिन्छ । त्यसैले संघीयकरणको प्रक्रिया सोचेभन्दा लामो, जटिल र विवादास्पद भयो ।

बेलायतलाई संसदीय लोकतन्त्रको जननी मानिन्छ । बेलायतको वेस्टमिन्स्टरमा संसद् भवन भएको कारणले संसदीय लोकतन्त्रलाई वेस्टमिन्स्टर प्रणाली पनि भनिन्छ । संसदीय प्रणाली अप्रत्यक्ष लोकतन्त्र र प्रतिनिधिमूलक प्रणाली हो भने राष्ट्रपतीय प्रणाली प्रत्यक्ष र सहभागितामूलक प्रणाली हो ।कस्तो शासकीय स्वरूप, कस्तो शासकीय प्रणाली ?
जेन–जी आन्दोलन सफल भई अन्तरिम सरकार बनेपछि शासकीय स्वरूपका बारेमा पुनः बहस सुरु भएको छ । अहिले केही जेन–जी समुदाय र केही पार्टीहरूले संसदीय प्रणाली असफल भएको संज्ञा दिँदै प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा आवाज उठाउँदै आएका छन् । पहिलो र दोस्रो संविधानसभामा शासकीय स्वरूपबारे व्यापक छलफल, बहस र विवाद भएको थियो । तर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा सहमति हुन नसकेपछि अन्ततः सुधारिएको संसदीय व्यवस्था र मिश्रित निर्वाचन प्रणालीमा सम्झौता भएको थियो । के संसदीय प्रणाली असफल भएर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली अनुसरण गर्ने अवस्था सिर्जना भएकै हो ? भन्ने प्रश्न उठेको छ ।

बेलायतलाई संसदीय लोकतन्त्रको जननी मानिन्छ । बेलायतको वेस्टमिन्स्टरमा संसद् भवन भएको कारणले संसदीय लोकतन्त्रलाई वेस्टमिन्स्टर प्रणाली पनि भनिन्छ । संसदीय प्रणाली अप्रत्यक्ष लोकतन्त्र र प्रतिनिधिमूलक प्रणाली हो भने राष्ट्रपतीय प्रणाली प्रत्यक्ष र सहभागितामूलक प्रणाली हो । संसदीय प्रणालीमा जनताले सांसद निर्वाचित गर्छन् र संसद्ले प्रधानमन्त्री निर्वाचित गर्छ । संसदीय प्रणालीमा प्रधानमन्त्री संसद्मार्फत जनताप्रति उत्तरदायी हुन्छ । संसदीय सर्वोच्चताको मूल्य र मान्यतालाई आत्मसात् गरिने यो प्रणालीमा मात्रै संसद् वास्तविक रूपमा सार्वभौम हुन्छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली पक्षधर पार्टी, समूह र व्यक्तिले केही तर्क, बहस र प्रस्ताव गर्दै आएका छन् । संसद्बाट प्रधानमन्त्री निर्वाचित हुने प्रणाली नै राजनीतिक अस्थिरता र संकटको प्रमुख स्रोत हो । यस्तो असफल र अस्थिर प्रणालीको सट्टा राजनीतिक स्थायित्वका लागि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली अंगीकार गर्नु आवश्यक छ । नेपाली राजनीतिको विद्यमान संकटको एकमात्र समाधान यही हो र यस्तो निर्णय गर्ने उपयुक्त घडी पनि अहिले नै हो । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले मात्रै जनभावनाअनुसार जनताप्रति उत्तरदायी भएर राज्य सञ्चालन गर्छ र विकास, सुशासन र डेलिभरीको पनि प्रत्याभूति गर्छ । यस्ता बहस, प्रस्ताव र निष्कर्षप्रति जनता पनि अर्थपूर्ण रूपमा आकर्षित भएको पाइन्छ ।

तर राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रयोग र परिणामका आधारमा विश्लेषण गर्दा नेपालका लागि संसदीय प्रणाली नै उपयुक्त हो । संसदीय प्रणालीका विद्यमान समस्या, विकृति र विसंगतिको संविधान संशोधन गरी समाधान गर्नुपर्छ र यही प्रणालीलाई नै थप परिष्कृत, उत्तरदायी र प्रभावकारी बनाउनुपर्छ । राजनीतिक अस्थिरताको चक्रव्यूहबाट मुक्तिका लागि राजनीतिक स्थिरताको नाममा अर्को अधिनायकवादी तथा सर्वसत्तावादी प्रणाली अपनाउनु भनेको ‘तावाबाट उम्केको माछा भुंग्रोमा पर्ने’ नेपाली उखानजस्तै हो । त्यसैले शासकीय स्वरूपका साथै शासकीय प्रणाली पनि सुधार र परिमार्जन गर्नु आवश्यक छ ।

लोकतान्त्रिक प्रणालीका आधारस्तम्भ मानिने यस्ता संस्थालाई अवाञ्छित दलीय हस्तक्षेपबाट मुक्त गरी स्वतन्त्र र स्वायत्त ढंगले कार्यसम्पादन गर्ने संवैधानिक प्रत्याभूति गर्नु आजको आवश्यकता हो । दलीयकरणको अन्त्य कसरी ?
लोकतान्त्रिक प्रणालीमा राज्य र राज्यका संस्थाहरूलाई लोकतन्त्रीकरण गरिनुपर्छ । तर नेपालमा लोकतन्त्रीकरणको नाममा अवाञ्छित राजनीतीकरण र विकृत दलीयकरण गरिएको कारणले लोकतान्त्रिक प्रणाली नै बदनाम र अलोकप्रिय भएको छ । विगतमा न्यायपालिका, संवैधानिक निकाय, प्राज्ञिक तथा शिक्षण संस्था, निजामती प्रशासन तथा सुरक्षा निकायहरूमा समेत दलीयकरण, हस्तक्षेप र भागबन्डा गरिएको छ । त्यसैले त्यस्ता संवैधानिक, न्यायिक, प्राज्ञिक, स्वायत्त र संवेदनशील संस्थाहरूको संस्थागत साख र विश्वसनीयमाथि समेत गम्भीर प्रश्नचिह्न खडा भएको छ । लोकतन्त्रका नाममा यति विकृत दलीकरणको नमुना विश्वका अन्य लोकतान्त्रिक देशमा सायदै होला । नेपालको लोकतन्त्रका लागि योभन्दा ठूलो दुर्भाग्य अरू के हुन सक्छ ?

लोकतान्त्रिक प्रणालीका आधारस्तम्भ मानिने यस्ता संस्थालाई अवाञ्छित दलीय हस्तक्षेपबाट मुक्त गरी स्वतन्त्र र स्वायत्त ढंगले कार्यसम्पादन गर्ने संवैधानिक प्रत्याभूति गर्नु आजको आवश्यकता हो । शक्ति पृथकीकरण, विधिको शासन, संस्थागत स्वायत्तता र नागरिकको न्यायोचित अधिकार सुनिश्चित गर्न ती संस्थालाई राजनीतिक प्रभाव, दबाब र सौदाबाजीबाट मुक्त गर्नु अनिवार्य भएको छ । ती संस्थाहरू अझै सबल, सक्षम, स्वायत्त र निष्पक्ष हुनुपर्छ । दलीय सिफारिस र बफादारिताका आधारमा त्यस्ता संस्थाहरूमा नियुक्ति गर्दा संस्थागत विश्वसनीय, कार्यसम्पादन र उत्तरदायित्वमा गम्भीर आँच भएको कठोर वास्तविकतालाई दलहरूले स्वीकार गर्नुपर्छ । यदि दलहरू लोकतान्त्रिक मूल्य–मान्यता र लोकतान्त्रिक तथा संवैधानिक संस्थाको अस्तित्व, पवित्रता र साखप्रति प्रतिबद्ध छन् भने यस्तो विकृत र अवाञ्छित दलीयकरण अन्त्य गर्न ठोस नीतिगत र संरचनागत सुधारका स्पष्ट मार्गचित्र सार्वजनिक गर्नु आवश्यक छ ।

निष्कर्ष 
जुन प्रणालीले जनताको चाहनाअनुसार डेलिभरी गर्न सक्दैन र जुन प्रणालीप्रति जनताको विश्वास र अपनत्व हुँदैन, जनताको दृष्टिमा त्यो प्रणालीको औचित्य पनि हुँदैन र आवश्यकता पनि हुँदैन । यस्ता ज्वलन्त राजनीतिक एजेन्डाहरूमा पार्टीहरूको दृष्टिकोण के हो ? यसबारेमा स्पष्ट दृष्टिकोण र समाधानको ठोस मार्गचित्र पार्टीहरूले घोषणापत्रमा उल्लेख गर्नु आवश्यक छ । यदि यस्ता एजेन्डामा स्पष्ट दृष्टिकोण आएन भने घोषणापत्र अपूर्ण हुनेछन् । घोषणापत्रमा उल्लेखित दृष्टिकोण र प्रस्तावका आधारमा सञ्चारमाध्यम, सामाजिक सञ्जाल, चौतारा, चिया पसलका साथै घर–घरमा समेत व्यापक बहस गरिनुपर्छ । जनताले पनि घोषणापत्र पढेर यस्ता एजेन्डामा दृष्टिकोण बनाउनुपर्छ र सोही आधारमा मतदान गर्नुपर्छ । यदि यस्तो प्रक्रिया अनुसरण गरियो भने सुसूचित बहस हुनेछ र जनताले पनि उपयुक्त र विवेकसम्मत निर्णय गर्नेछन् । होइन भने निकट भविष्यमा सार्वजनिक हुने घोषणापत्र पनि विगतका जस्तै कर्मकाण्डी र सपनाको व्यापार तथा भ्रमको खेती गर्ने पपुलिजमको पुलिन्दा हुनेछन् । त्यस्ता घोषणापत्रको न आवश्यकता छ, न औचित्य नै हुनेछ । @GejaWagle

गेजा गेजा शर्मा वाग्ले राजनीति, भूराजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध मामिलाका विषयमा लेख्छन् । उनी बेलायतको बर्मिंघम विश्वविद्यालयमा नेपालको राजनीतिक संक्रमण र शान्ति प्रक्रियासम्बन्धी अनुसन्धान फेलो समेत रहेका थिए ।

Link copied successfully