निर्वाचन संस्कृति रूपान्तरण गर्ने अवसर

पुरानै शैली र अनुहार दोहोर्‍याइरहे दलहरूलाई युवाले अब सजिलै स्वीकार गर्ने अवस्था छैन । दलहरूले आफ्नो स्वार्थ नहेरी सक्षम नेतृत्व र युवा पुस्तालाई ठाउँ दिनुपर्छ ।

पुस १५, २०८२

सागर घले

An opportunity to transform electoral culture

What you should know

यतिबेला देश निर्वाचनको बाटोमा छ । जेन–जी आन्दोलनपछि गठन भएको आन्तरिम सरकार २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन गराउने मुख्य उद्देश्यमा केन्द्रित भएको छ ।

सरकारसँगै आम राजनीतिक दल, जेन–जी समूह र जनसमुदाय पनि निर्वाचनलाई चर्चाको विषय बनाइरहेका छन् । कतिपय स्थानमा विभिन्न राजनीतिक दलहरूले उम्मेदवारको नामसमेत सिफारिस गरिसकेका छन् । नवगठित दलहरू जनतामाझ विभिन्न चुनावी अभियान र कार्यकर्ता बटुल्ने काममा लागेका छन् ।

नेपालको इतिहासमा पहिलो पटक जेन–जीले गरेको आन्दोलनले राजनीतिक दललाई सचेत बनाइदिएको छ भने नागरिकमा राजनीतिक चेतनास्तर पनि वृद्धि गराएको छ । आफूलाई लोकतान्त्रिक ठहर गर्ने दलहरूभित्र आन्तरिक लोकतन्त्र नदेखिनु, निर्वाचनका लागि तय गरिएको घोषणपत्रका प्रतिबद्धताहरू कार्यन्वयन नहुनु, जनताको घरदैलोमा निर्वाचनको समयमा मात्र पुग्नु, संसद्मा जनताको एजेन्डाभन्दा पनि एकअर्कालाई आरोप–प्रत्यारोप लगाउने कुराले प्राथमिकता पाउनु जस्ता पुराना राजनीतिक संस्कारले नागरिक वाक्क र दिक्क भएका छन् ।

२१ फागुनमा तोकिएको निर्वाचनमा आफ्नो जित हासिल गर्न कतै दलहरूले पुरानै प्रवृत्ति त पछ्याइरहेका छैनन् ? विभिन्न आर्थिक र पदीय लाभ देखाएर फेरि पनि मत बटुल्ने बाटोमा त छैनन् ? कतै हिजो सरकारमा बसेर आलोचना खेपेकै उम्मेदवारहरूले अवसर पाइरहेका त छैनन् ? यी सम्पूर्ण पक्षको जानकारी नागरिकले राख्नुपर्छ । किनभने नागरिकको हातमा भएको मतले नै उनीहरू भोलि पनि सरकारमा पुग्न सक्छन् । अस्थिरताको निरन्तरतालाई टेवा पुर्‍याउन सक्छन् ।

नेतृत्वलाई भन्दा पनि दल हेरेर मतदान गर्ने हाम्रो पुरानो संस्कारको अन्त्य हुन जरुरी छ । राम्रालाई भन्दा हाम्रालाई मतदान गर्ने, कामभन्दा धेरै भाषण गर्ने नेतृत्वलाई जिताउने हो भने हिजोको जस्तै राजनीतिक अस्थिरता ननिम्तेला भन्न सकिन्न । दलहरूले पनि नागरिकले उनीहरूप्रति विश्वास गुमाइसकेका छन् भन्ने कुरा मनन गर्नुपर्छ । यसकारण सक्षम उम्मेदवार अघि सार्नुपर्छ । अझै पनि हाम्रो वर्चस्व कायम नै छ भन्ने भ्रममा दलहरू लागे भने भोलि पछुतो हात लाग्न सक्छ ।

निर्वाचन प्रणाली सुधारको बहस चलिरहँदा हामीले निर्वाचन संस्कृति रूपान्तरणमा पनि उत्तिकै ध्यान दिनुपर्छ । किनकि, निर्वाचनमा दलको मात्र प्रतिस्पर्धा रहँदैन, त्यहाँ नागरिकको अपेक्षा, इच्छा र प्रतीक्षाको प्रतिस्पर्धा पनि हुने गर्छ । यसको मतलब नागरिकले आफूले मतदान गरेको उम्मेदवार या दलले भोलिका दिनमा के कस्ता परिवर्तन ल्याउन सक्छ भन्ने कुरालाई मध्यनजर गर्ने गर्छन् । दलहरूले जनतासामु मत माग्न गएको बेला देखाएको प्रतिबद्धतालाई भोलि सरकारमा पुगेपछि कार्यान्वयन गर्नुपर्छ भन्ने कुरा बुझ्न पनि आवश्यक देखिन्छ । त्यस्तै, राजनीतिक नेतृत्वमा समावेशिताको अभाव छ । महिला र जातीय अल्पसंख्यकलगायत सीमान्तकृत समुदायको प्रतिनिधित्व प्रवर्द्धन गर्ने संवैधानिक व्यवस्थालाई सम्बोधन गर्नुपर्छ । निर्णय प्रक्रियामा उनीहरूको सहभागिता बढाउनुपर्छ । 

निर्वाचन संस्कृतिमा रूपान्तरण ल्याउन सबैभन्दा पहिले मतदाताको सोच परिवर्तन आवश्यक छ । मत हाल्नु भनेको व्यक्तिगत फाइदाका लागि होइन, देशको भविष्य निर्माणका लागि हो भन्ने भावना स्थापित हुनुपर्छ । शिक्षित र सचेत मतदाताले गलत प्रवृत्तिलाई अस्वीकार गर्दा मात्रै राजनीतिक दलहरू पनि सुधारको बाटोमा जान बाध्य हुन्छन् । निर्वाचनमा स्वच्छ प्रचारप्रसारलाई प्रोत्साहन गरी नागरिकको सूचनासम्बन्धी हकलाई सुनिश्चित गरिनुपर्छ ।

जेन–जी आन्दोलनपछि उथलपुथल भएको नेपालको राजनीति निर्वाचनपछि लयमा फर्किने होडमा छ । दलहरू गठबन्धनको प्रक्रियामा छन् । आफ्नो शाख नघटोस् भनेर विभिन्न क्षेत्रमा दलहरूले युवा पुस्तालाइ ठाउँ दिदै छन् । यसले निर्वाचनलाई थप उत्साहजनक बनाउने निश्चित देखिन्छ ।

जेन–जी आन्दोलनले निर्वाचन संस्कृतिको रूपान्तरण गर्ने अवसर दिएको छ । हिजो जनताबाट चुनिएर गएका प्रतिनिधिहरूले आफ्नो गाउँठाउँमा के कस्ता परिवर्तनहरू ल्याउन सके भन्ने कुरालाई नजिकबाट नियाल्ने र महसुस गर्ने क्षमता भनेकै नागरिकसँग हुन्छ । नागरिकको मतले फेरि भोलि को सरकारमा आउँछ भन्ने कुराको निर्णय गर्छ । आमनागरिकले आफ्ना जनप्रतिनिधिलाई जवाफदेही बनाउन प्रश्न उठाउनुपर्छ । जसले गर्दा जनतामा राजनीतिप्रतिको विश्वसनीयता वृद्धि गर्ने मात्र होइन, राजनीतिमा मौलाइरहेको सत्ता स्वार्थ–केन्द्रित विकृति नियन्त्रणमा समेत सघाउ पुर्‍याउन मद्दत गर्छ ।

राजनीतिक दलहरूले पनि अब समयको माग बुझ्न आवश्यक छ । जेन–जी पुस्ताको विद्रोहले दलहरूलाई पारदर्शिता, जवाफदेहिता र योग्यता आधारित राजनीतितर्फ धकेलिरहेको छ । पुरानै शैली र अनुहार दोहोर्‍याइरहे दलहरूलाई युवाले अब सजिलै स्वीकार गर्ने अवस्था छैन । दलहरूले आफ्नो स्वार्थ नहेरी सक्षम नेतृत्व र युवा पुस्तालाई ठाउँ दिनुपर्छ, जसले नेपाली समाज बुझेको छ, देशको अर्थनीति बुझेको छ, शिक्षा प्रणाली बुझेको छ, नागरिकको अपेक्षा बुझेको छ, देशको माटो बुझेको छ, त्यस्तै नेतृत्वको पहिचान गरी उम्मेदवार बनाउनुपर्ने आवश्यकता देखिन्छ । युवा पुस्ताले परम्परागत मान्यताहरूलाई चुनौती दिँदै, परिवर्तनको बहस गर्दै राजनीतिमा नयाँ दृष्टिकोण र विचार ल्याउँछन्, त्यसैले अब राजनीतिक दलले नेतृत्वको पुस्तान्तरण गरी युवा पुस्तालाई स्थान दिनुपर्छ ।

अझै पनि देशका विभिन्न दुर्गम बस्तीका नागरिकलाई निर्वाचनको मुख्य आशय नै थाहा छैन । उनीहरूले दिने एक मतले कति महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने साक्षरता अझै पुगेको छैन । सरकारले पनि निर्वाचनसम्बन्धी सम्पूर्ण जानकारी देशको कुनाकन्दरामा पुर्‍याउनु आवश्यक देखिन्छ । यसमा स्थानीय तह, नागरिक समाज, युवा, विद्यालयका शिक्षक र कर्मचारीहरूले पनि मद्दत गर्न सक्छन् । यससँगै निर्वाचनमा धाँधलीले सताउने गरेको छ । उम्मेदवार हुनबाट रोक्ने, निगरानी गर्ने निकायहरूलाई कमजोर पार्ने अभ्यास निर्वाचनअघि हुने गर्छ । निर्वाचनको दिन मत किन्ने, मतदातालाई धम्क्याउने, गलत सूचना फैलाउने, बुथ क्याप्चर गर्ने, मतगणनामा हेराफेरी र गलत विजेता घोषणा गर्ने आदिजस्ता धाँधली हुने गर्छन् ।

निर्वाचन आयोगजस्ता संवैधानिक निकायले पनि आफ्नो निष्पक्षता, पारदर्शिता र कडाइ अझ मजबुत बनाउनुपर्छ । दल तथा उम्मेदवारलाई आचारसंहिताको घेरामा राखेर निगरानी गर्नुपर्ने आवश्यकता देखिन्छ । प्रविधिको प्रयोग, मतदाता शिक्षा कार्यक्रम तथा आचारसंहिता कार्यान्वयनले निर्वाचनप्रति जनविश्वास बढाउन सक्छ । सभ्य निर्वाचन संस्कृतिको विकास र प्रवर्द्धन राजनीतिक दलहरूले मात्र गर्न सक्छन् । निर्वाचन आचारसंहिताको कार्यान्वयनको पहिलो र महत्त्वपूर्ण सूत्र राजनीतिक इमानदारिता हो । निर्वाचनमा सहभागी हुने सबै राजनीतिक दलले निर्वाचन आचारसंहिता पालना गरेर निर्वाचनको गरिमालाई बढाउनुपर्छ ।

निर्वाचन संस्कृतिको रूपान्तरण कुनै एक पक्षको जिम्मेवारी मात्र होइन । मतदाता, राजनीतिक दल, राज्य संयन्त्र, सञ्चारमाध्यम र नागरिक समाज सबैको सामूहिक प्रयासबाट मात्रै स्वस्थ, निष्पक्ष र मर्यादित निर्वाचन सम्भव हुन्छ । यदि आज हामीले सही निर्णय र व्यवहार अपनायौं भने यही निर्वाचन प्रक्रिया भोलिको सुदृढ लोकतन्त्र निर्माण गर्ने सुनौलो अवसर बन्न सक्छ । सभ्य नागरिक, जिम्मेवार सरकार र मर्यादित दल एक ठाउँमा भएमा देशमा हुने आमनिर्वाचनले सफलता पाउनेछ । निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड मानिन्छ । नेपाल जस्तो विकासोन्मुख देशका लागि निर्वाचन झनै महत्त्वपूर्ण छ । जुन देशमा निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र समयावधिमा हुन्छ, त्यस देशमा विधिको शासन र सुशासन बलियो बन्छ ।

सागर घले घलेले जेन-जीको प्रतिनिधित्व गर्छन्।

Link copied successfully