आफैंसँगको अन्तरविरोधमा जेन-जी

यो पुस्तामा एउटा ठूलो विरोधाभास छ । आफूहरू छिट्टै भावुक हुन्छन्, भावनामा तानिन्छन्, तर अरूको भावनाको सम्मान गर्न भने धेरै चासो देखाउँदैनन् । सामाजिक सञ्जालमा ‘ट्रेन्ड’ हुने विषयमा भावनात्मक प्रतिक्रिया दिन्छन्, तर नजिकैको मानिसको पीडाप्रति धेरै संवेदनशील देखिँदैनन् ।

पुस १०, २०८२

रोशनराज दाहाल

Gen-G in conflict with himself

What you should know

जेन–जीका बारेमा अहिले यस्तो कुरा गरिँदै छ, मानौं उनीहरू अर्कै लोकबाट आएका हुन् । मानौं, यहाँका अरू मानिससँग हाम्रो कुनै साइनो सम्बन्ध नै छैन । मानौं, जेन–जीले जानेका विषय अरूले जानेकै छैनन्, उनीहरूको ज्ञानेन्द्रीय र कर्मेन्द्रीय नै फरक छन् ।

मानौं, जेन–जीले उठाएका भ्रष्टाचारका मुद्दा उनीहरूको मात्र हो । जेन–जी मात्रै क्रान्तिकारी वर्ग हो । सुशासन उनीहरूलाई मात्र आवश्यक छ ।

अर्कोतिर, केही मानिसहरू यो पुस्तालाई इतिहासबाट बेखबर, परिवार र सामाजिक सम्बन्धहरूबारे उदासीन, धर्म–संस्कृतिबाट टाढा रहेका, व्यवहारशून्य, मोबाइलका कीरा, मानवीय चेत र हृदय नभएका वज्रस्वाँठ ठान्छन् ।

जेन–जीका विषयमा आउने यी दुवै विचार र मान्यता सर्वथा गलत छन् । हो, देश र दुनियाँमा आएका राजनीतिक, प्राविधिक, सामाजिक, आर्थिक लगायतका क्षेत्रमा आएका प्रायः नियमित र केही विशेष परिवर्तनले अहिलेका मानिसको सोचाइ र सोच्ने तरिकामा परिवर्तन आएको छ, जुन स्वाभाविक हो ।

अहिले जनताका माग र मुद्दा फेरिएका छन् । उहिलेका साधनस्रोत अहिलेका लागि पर्याप्त नहुनु/नलाग्नु स्वाभाविक हो । यसअघिका आन्दोलनले फेरिएका सकारात्मक अवस्था अहिले अपुग भएका छन् । पहिले बाटो, बिजुली, खानेपानी, यातायातका न्यूनतम व्यवस्था थिएन, अघिल्लो पुस्ताले त्यही माग्यो र त्यही पायो । पहिले स्कुल, कलेज थिएन, त्यही नै माग र मुद्दा थियो ।

अहिले बिजुलीको उज्यालोमा बसेर, घर नजिकैको स्कुल–कलेजमा पढेर, घरभित्रै पुगेको धाराको पानीमा नुहाएर, आँगनकै ढुंगासम्म पुगेको कालोपत्रे वा ढलान बाटोमा यातायातको साधन प्रयोग गर्न पाएकाहरूले थप नयाँ कुरा सोच्नु, खोज्नु कत्ति पनि अस्वाभाविक विषय होइन ।

हिजो राजा–महाराजा, सामन्त, ठालु, महाजनहरूको थिचोमिचो र तजबिजी व्यवस्थामा साँगुरिनुपर्दाको माग–मुद्दा र लोकतान्त्रिक गणतन्त्रको फराकिलो क्षितिजमा खोजिने माग–मुद्दामा फरक आउनु बिल्कुल सकारात्मक हो । काग कराएको भरमा सूचना तथा सञ्चारको अनुमान गर्नुपर्ने, बिहानमा पूर्व र बेलुका पश्चिमको बादल हेरेर मौसमको भर पर्नुपर्ने अवस्थाबाट हाम्रो समाज धेरै अगाडि बढिसकेको छ ।

परदेश गएको आफन्तको मृत्युको खबर कैयौं दिनमा धागोले बाँधेको चिठी आएपछि सूचित हुने जमाना छैन । यी र यस्ता अनेकौं विकास र परिवर्तनले नयाँ चेतना, नयाँ जागरण ल्याइदिएको छ । यसले नयाँ माग र मुद्दा उठाउन सघाएको छ, नयाँ समाधान खोजेको छ । यसले पुरानो पुस्ताका कतिपय अगुवाहरूमा आश्चर्यको सञ्चार भएको होला, तर अहिले परिवर्तनको गति मन्द होइन, तीव्र हुने पूर्वाधार छन् । यसतर्फ हामी सबैले ध्यान दिनु आवश्यक छ ।

जेन–जी प्रविधिमैत्री, छिटो प्रतिक्रिया दिने तर उपभोगतर्फ बढी आकर्षित भएको पुस्ता हो । भावुक तर भावनाप्रति उदासीन, सजिलै प्रभावित हुने यिनको सक्रियता समाजका लागि अवसर र चुनौती दुवै हो ।

जेन–जीको आन्दोलनपछि केही मानिसहरूलाई लाग्यो, जेन–जी भनेको त आन्दोलनकारी हो, क्रान्तिकारी हो । जे गर्छ, यसैले गर्छ भन्ने भ्रम पनि धेरैमा रहेको हुन सक्दछ । तर जेन–जी भनेको निश्चित समयावधिमा जन्मेका मानिस मात्रै हुन् ।

केही अपवादबाहेक जेन–जी र अघिल्लो पुस्ता विरोधी पुस्ता होइन, हुनै सक्दैन । उनीहरूले पाउने अधिकारमा सबैका अधिकार काटिँदैनन् । उनीहरूले प्राप्त गर्ने निर्बाध अधिकार नै अघिल्लो पुस्ताका लागि सबैभन्दा ठूलो सुखको विषय हो ।

समाजमा जहिले पनि दुई वर्गबीच संघर्ष चलिरहेको पाइन्छ । हरेक कालखण्डमा शासक र शासित वर्ग भिन्न हुने गरेको देखिन्छ । युगअनुसार दास र मालिक, सामन्त र कृषक, रजौटा र प्रजा, पुँजीपति वर्ग र श्रमिक आदि बीचमा अन्तर्विरोध रहेको देखिन्छ । बौद्धिक श्रम गर्ने सुकिला श्रमजीवी र शारीरिक श्रम गर्ने मलिन श्रमजीवीबीचको भिन्नता पनि एक प्रकारको सवालका रूपमा रहेकै छ ।

जेन–जी इतरको पुस्ताले बुझ्न आवश्यक छ कि, जेन–जी त्यस्तो समयमा जन्मिएको हो, जब मोबाइल, कम्प्युटर, इन्टरनेट, सामाजिक सञ्जाल र सूचना प्रविधि तीव्र गतिमा विस्तार भइरहेको थियो । यसकारण यो पुस्ताले प्रविधिलाई मात्र सिकेन, बरु प्रविधिमै जन्मिएको र हुर्किएको पुस्ता बन्यो । छोटकरीमा भन्ने हो भने यो पुस्ताले ‘डिजिटल अफिस’ होइन, ‘डिजिटल जीवन’ अनुभव गरेको छ ।

यो पुस्ता छिटो बुझ्ने, छिटो प्रतिक्रिया दिने, छिटो प्रभावित हुने र छिट्टै निष्कर्ष निकाल्ने प्रवृत्तिका कारण परिचित छ । टिकटक, इन्स्टाग्राम, फेसबुकजस्ता प्लाटफर्ममा छोटकरी जानकारी, छोटकरी मनोरन्जन र छोटकरी प्रतिक्रिया दिने अभ्यासले यो पुस्तालाई द्रुत वा छिटो बनाएको छ । तर, यही छिटो बुझ्ने र छिटो प्रतिक्रिया दिने क्षमताले कहिलेकाहीँ गहिरो सोच, धैर्यता र दीर्घकालीन दृष्टिकोण कमजोर बनाइदिन्छ ।

जेन–जी प्रविधिको प्रयोगमा सफल देखिए पनि नयाँ अनुसन्धान, गहिरो अध्ययन र मौलिक आविष्कारमा योगदान गरेको खासै देखिँदैन । सायद यो पुस्ताले उपभोक्ताको भूमिकामा बढी सहजता पाएको छ । अरूले बनाएको प्रविधि, सिर्जना र सेवाको उपयोग गर्ने र त्यसमा छिटो अनुकूलन हुने यो पुस्ताको ठूलो क्षमता हो । तर मौलिक सिर्जना, अनुसन्धान र नयाँ सम्भावनाको विकासमा भने अपेक्षित योगदान नदेखिनु चिन्ताको विषय हो ।

यो पुस्तामा एउटा ठूलो विरोधाभास छ । आफूहरू छिट्टै भावुक हुन्छन्, भावनामा तानिन्छन्, तर अरूको भावनाको सम्मान गर्न भने धेरै चासो देखाउँदैनन् । सामाजिक सञ्जालमा ‘ट्रेन्ड’ हुने विषयमा भावनात्मक प्रतिक्रिया दिन्छन्, तर नजिकैको मानिसको पीडाप्रति धेरै संवेदनशील देखिँदैनन् । यसरी भावुक र निर्मम दुवै विशेषता एउटै पुस्तामा देखिनु सामाजिक अध्ययनका लागि रोचक पक्ष हो ।

यो पुस्ताको एउटा सकारात्मक पक्ष भनेको उनीहरू आन्दोलनमा आउन थालेका छन् । सामाजिक सञ्जाल बन्दविरुद्ध हालै देखिएको युवाको सडक उपस्थिति यसको उदाहरण हो । नयाँ पुस्ताले सामाजिक, राजनीतिक मुद्दामा प्रत्यक्ष चासो देखाउनु लोकतन्त्र र परिवर्तनका लागि आशाजनक संकेत हो ।

यो पुस्ताले आफ्नो अधिकारका लागि मात्र होइन, समाज र देशको हितका लागि पनि आवाज उठाउन थालेको देखिन्छ । तर यहाँ पनि प्रश्न उठ्छ– के यो पुस्ता आन्दोलनमा ‘भाग (उपभोग)’ का लागि मात्रै आउँछन् कि ‘भूमिका’ का लागि पनि ? आन्दोलनलाई ‘ट्रेन्ड’, फोटो, भिडियो वा लोकप्रियताको साधन बनाउने कि वास्तविक परिवर्तनको साधन बनाउने भन्ने कुराले उनीहरूको सक्रियताको मूल्य निर्धारण गर्नेछ ।

जेन–जी सचेत र छिटो प्रतिक्रिया दिने भए पनि सामाजिक जिम्मेवारी वहन गर्न भने अझै ढिलो र कमजोर देखिन्छ । उदासीनता, अकर्मण्यता र व्यक्तिगत आरामतर्फको आकर्षणले उनीहरूलाई लामो समयसम्म जिम्मेवार भूमिकामा देखिन कठिन बनाएको छ । तर, सही नेतृत्व, अवसर र वातावरण पाएमा यही पुस्ताले समाजलाई नयाँ दिशा दिन सक्ने सम्भावना पनि प्रबल छ ।

जेन–जी पुस्ता अवसर र चुनौती दुवै हो । प्रविधिमैत्री, छरितो, सजग र भावुक यो पुस्ताले ठूलो ऊर्जा बोकेको छ । उनीहरूले प्रविधिको उपभोग मात्र होइन, सिर्जना र अनुसन्धानमा पनि योगदान दिन थाले भने देशको सामाजिक र आर्थिक भविष्य उज्यालो हुन सक्छ । अन्ततः जेन–जीलाई मार्गदर्शन दिने, अवसर दिने र जिम्मेवारी दिलाउने दायित्व पाका पुस्ता, नेतृत्व र समाजकै काँधमा छ । यदि यो पुस्ता भूमिकासहित अगाडि बढ्न सक्यो भने नेपालको भविष्य परिवर्तनको दिशातर्फ अघि बढ्नेछ ।

जेन-जी अभिमत

रोशनराज दाहालले जेन-जीको प्रतिनिधित्व गर्छन्।

Link copied successfully