अबको समय सामाजिक असन्तोष, विभाजन, अविश्वास, ध्रुवीकरण र हिंसा निर्मूलतर्फको हो । सामाजिक–राजनीतिक सद्भाव, संयम र सहिष्णुता वृद्धितर्फको हो ।
What you should know
हाम्रो पुस्ता केही यस्ता निर्णायक क्षणहरूको साक्षी भएको छ, जसले तत्कालीन सत्ता संरचनामा मात्र होइन, दीर्घकालीन रूपमा नागरिक चेतना तथा राज्य–नागरिक सम्बन्धको स्वरूपमा समेत पुनःसंरचना गर्ने क्षमता राख्छन् । जेन–जी आन्दोलन (जनआन्दोलन)– २०८२ त्यस्तै ऐतिहासिक राजनीतिक घटनाक्रमका रूपमा दर्ज भएको छ ।
लामो बहस, छलफल, सहकार्य, समन्वय तथा सुझबुझपूर्ण संवादको प्रक्रियापछि आन्दोलनकारी पक्ष र सरकारबीच सम्पन्न दसबुँदे सम्झौता भएको छ । आन्दोलनको राजनीतिक तथा नीतिगत महत्त्व औपचारिक रूपमा संस्थागत भएको छ ।
सम्झौतामा सुशासन, मानवअधिकार र सर्वपक्षीय विकाससँग सम्बन्धित विषय छन् । केही बुँदा संविधान संशोधनमा पनि जोडिएका छन्, जसको कार्यान्वयन आगामी संसद् तथा निर्वाचित सरकारको क्षेत्राधिकारसँग सम्बन्धित छन् । त्यसका लागि राजनीतिक वृत्तको एकीकृत सहमति आवश्यक छ । कतिपय विषय समयक्रममा सम्बोधन हुँदै जाने यथार्थ, विद्यमान परिस्थिति र मागको विविधताको चुनौतीलाई स्वीकार गर्नु बुद्धिमानी हुन्छ ।
सम्झौताले नागरिक आवाजलाई औपचारिक रूपमा स्वीकार गरेको, दमनका घटनामा उत्तरदायी बन्ने प्रतिबद्धता देखाएको र न्यायिक तथा संरचनात्मक सुधारको मार्ग खुला भएको संकेत गर्छ । राजपत्रमा यसको प्रकाशनले यो दस्तावेजलाई पूर्णरूपमा सरकारी मान्यता प्राप्त ऐतिहासिक अभिलेख बनाइदिएको छ ।
भदौको आन्दोलनपछि अन्तरिम सरकार बनेको तीन महिनासम्म जेन–जी प्रतिनिधिहरूको निरन्तर दौडधुप, स्वाभाविक दबाब, सार्वजनिक बहस र छलफलपछि मात्र सरकारले औपचारिक रूपमा सम्झौता अनुमोदन गरेको हो । आन्दोलनकारी पक्षका केन्द्रीय मागहरू स्पष्ट थिए– घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन, दमनका लागि जिम्मेवार सबै तह–तप्काको स्पष्ट पहिचान र जवाफदेहिता सुनिश्चित, घाइते तथा पीडित परिवारलाई प्रभावकारी न्याय प्रदान र युवाहरूले दिएको बलिदानको सम्मान । सम्झौतामा यी मागहरूलाई संस्थागत रूपमा समावेश गरिनु आन्दोलनको आंशिक सफलता मात्र होइन । बरु, मौलिक नागरिक अधिकारको पुनःस्थापनातर्फको महत्त्वपूर्ण कदम हो ।
तथापि, आन्दोलनले पाएको यो औपचारिकता अन्तिम जित भने होइन । नेपालले विगतमा थुप्रै सम्झौताहरू देखेको छ, तर तिनको कार्यान्वयन असफल हुँदा जनविश्वासमा आघात पुगेको छ । उदाहरणका लागि, मल्लिक आयोग र रायमाझी आयोगका प्रतिवेदन यत्तिकै थन्किएर बसेका छन् । कागजमा हस्ताक्षरित सम्झौता मात्र पर्याप्त हुँदैन, व्यावहारिक कार्यान्वयन नै यसको वास्तविक मूल्य हो । जेन–जी आन्दोलनको मूल्यांकन अब सम्झौता कति प्रभावकारी रूपमा लागू हुन्छ भन्ने आधारमै हुनेछ ।
मुख्यतः विध्वंसकारी तत्त्व, आपराधिक कृत्य र वास्तविक आन्दोलनकारीबीच स्पष्ट तथा वस्तुगत सीमांकन गर्नु जारी अनुसन्धानको एक आधारभूत मान्यता हो । यस सन्दर्भमा कुनै पनि प्रकारको सम्झौता वा अस्पष्टता स्वीकार्य मानिँदैन । यसका लागि नागरिकको निरन्तर सक्रियता आवश्यक छ । राज्यसत्ताले बारम्बार देखाएको संरचनागत कमजोरी र राजनीतिक हस्तक्षेपले निष्पक्ष छानबिन तथा अभियोजन प्रक्रिया प्रभावित पार्ने जोखिम सधैं रहन्छ । राज्य संयन्त्रभित्रको दण्डहीनतालाई रूपान्तरण गर्नु एकै दिनको काम होइन, तर यसको प्रस्थानविन्दु २४ मंसिरको सम्झौता हुनुपर्छ ।
आज जेन–जी आन्दोलन राज्यको आधिकारिक स्मृतिमा अभिलेखित भइसकेको छ । नेपालको नागरिक आन्दोलनहरूको अनुक्रममा यसले नयाँ ढाँचाको उदाहरण स्थापित गरेको छ । युवापुस्ताले देखाएको राष्ट्रिय मुद्दाप्रतिको गम्भीरताले नेपालको भविष्यको राजनीतिक संस्कृतिलाई नै नयाँ मोडतर्फ धकेल्ने संकेत गरेको छ । यसैले, यो सम्झौता केवल सरकार र आन्दोलनकारीबीचको सहमति होइन, यो मुलुकको समग्र राजनीतिक संस्कृतिमा परिवर्तन ल्याउने दस्तावेज हो र हुनुपर्छ । यसलाई सफल बनाउनु कुनै एउटा निकाय, व्यक्ति वा संस्थाको मात्रै दायित्व होइन । सरकार, नागरिक समाज, बौद्धिक समुदाय र प्रत्येक सचेत नागरिकको साझा जिम्मेवारी हो ।
यदि यो सम्झौता सफलतापूर्वक लागू भयो भने समग्र नागरिक र आगामी पुस्ताका युवाहरूले राज्यसँग संवाद गर्ने शैली, शासनसँगको सम्बन्ध र लोकतान्त्रिक अभ्यासको अर्थ नै फेरिनेछ । जेन–जी—सरकारबीचको सम्झौता दस्तावेज मात्रै नभएर भविष्यलाई सुरक्षित बनाउने एउटा संरचनात्मक आधार हो । जेन–जी आन्दोलनले नेपाललाई एउटा महत्त्वपूर्ण पाठ पढाएको छ– राज्य शक्तिशाली हुन सक्छ, तर जनता सचेत हुँदा मात्र त्यो शक्ति वैध हुन्छ र नागरिकको अर्थपूर्ण आवाजले राज्यलाई दिशानिर्देशन गर्ने सामर्थ्य राख्दछ । यस आन्दोलन र सम्झौताको ऐतिहासिक महत्त्व त्यतिबेला अझ मजबुत हुनेछ, जब हामी सबै नागरिक, सरकार, सार्वजनिक संस्थाहरू सम्झौताका बुँदाहरू कार्यान्वयन गराउन एकजुट भई जिम्मेवारीपूर्वक अघि बढ्छौं । नेपालले आज परिवर्तनको एउटा ढोका खोलेको छ । अब प्रश्न यो मात्र हो— के हामी त्यो ढोका पूर्ण रूपमा खोल्न तयार छौं ? कि फेरि पनि विगतजस्तै ढिलाइ, उदासीनता र अस्थिरतामा अल्झिरहनेछौं ?
अन्त्यमा, जेन–जी आन्दोलन आंशिक रूपमा असंगठित, नेतृत्वविहीन तथा स्वस्फूर्त चरित्रको थियो । त्यसलाई ध्यानमा राख्दा, सरकार र आन्दोलनकारी पक्षबीच सम्पन्न सम्झौता सबै सरोकारवाला समूहहरूको अपेक्षा र आकांक्षालाई पूर्ण रूपमा सम्बोधन गर्ने आदर्श तथा सर्वस्वीकार्य दस्तावेज नहुन सक्ने सम्भावना स्वीकार गर्नैपर्छ ।
आन्दोलनको बहुआयामिक संरचना, विविध मागहरू तथा प्रतिनिधित्वको अस्पष्टताका कारण सम्झौता प्रक्रियामा केही सीमा र अपूर्णता रहनु स्वाभाविक हो । तथापि, शक्ति सन्तुलनको वर्तमान अवस्था, विद्यमान राजनीतिक संरचना, संस्थागत सीमाहरू तथा समकालीन सामाजिक–राजनीतिक सन्दर्भको यथार्थपरक मूल्यांकनका आधारमा हेर्दा यो सम्झौता एक महत्त्वपूर्ण तथा प्रगतिशील राजनीतिक उपलब्धिका रूपमा स्वीकार गरिनुपर्छ ।
यस सम्झौताले राज्य र नागरिक आन्दोलनबीच संवाद सम्भव छ भन्ने सन्देश मात्र दिएको छैन, बरु दबाब, नागरिक सचेतना र लोकतान्त्रिक अभ्यासमार्फत शासन प्रणालीलाई सुधारको दिशामा उन्मुख गराउन सकिने सम्भावनालाई समेत पुष्टि गरेको छ । त्यस्तै, भविष्यमा नागरिक आन्दोलन र राज्य सत्ताबीच हुने अन्तर्क्रियाका लागि एउटा सान्दर्भिक ढाँचा निर्माण गरेको छ । यसको वास्तविक ऐतिहासिक मूल्य त्यतिबेला अझ स्पष्ट हुनेछ, जब यसका प्रावधानहरू प्रभावकारी रूपमा कार्यान्वयन हुनेछन् र यसले दण्डहीनताको संस्कृतिलाई चुनौती दिँदै उत्तरदायी शासन प्रणालीको आधार सुदृढ गर्नेछ ।
त्यसैले, यस सम्झौतालाई केवल सीमित उपलब्धिका रूपमा होइन, लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गर्ने दिशातर्फको एक महत्त्वपूर्ण चरणका रूपमा मूल्यांकन गर्नु समयसापेक्ष र विवेकपूर्ण हुनेछ । अबको समय सामाजिक असन्तोष, विभाजन, अविश्वास, ध्रुवीकरण र हिंसा निर्मूलतर्फको हो । सामाजिक–राजनीतिक सद्भाव, संयम र सहिष्णुता वृद्धितर्फको हो ।
