संविधान जोगाउने कि फाल्ने ?

सन्तुलित राज्य सञ्चालनका लागि बनाइएका संरचनालाई भागबन्डा र निहित स्वार्थसिद्ध गर्ने साधन बनाउने प्रवृत्तिलाई विस्थापित गर्नु संविधानका व्यवस्था र संरचनागत सुधारभन्दा महत्त्वपूर्ण र अत्यावश्यक काम हुन् ।

मंसिर २८, २०८२

निशान्तबाबु खड्का

Save or destroy the constitution?

What you should know

जेन–जीदेखि माथिल्लो उमेर समूहमा पर्ने सबैका गफगाफ अनि ‘छलफल’ मा आजभोलि संविधान संशोधन, सुधार तथा परिवर्तनको विषयले प्राथमिकता पाइरहेको छ । चुनाव त हुँदै गर्छ तर संविधानका केही विषयहरूमा खासखास परिवर्तन नगरेसम्म हामीलाई चाहिएको रूपान्तरण आउन सक्दैन भन्ने विचार जेन–जीमाझ झाँगिँदै गइरहेको देखिन्छ ।

प्रारम्भबाटै वर्तमान संवैधानिक व्यवस्थाको विरोधमा रहेका निश्चित राजनीतिक ध्रुवका राजनीतिकर्मीहरू, संविधानसम्बद्ध केही विज्ञहरू, जेन–जी आन्दोलन र आन्दोलनपछिका दिनमा अग्रमोर्चामा रहेका केही जेन–जी वर्तमान संविधानको परिवर्तन वा सुधार नै प्राथमिक कार्य मान्छन् ।

अहिलेको राजनीतिक संक्रमणको तत्कालीन समाधान निर्विकल्प रूपमा २१ फागुनको निर्वाचन नै हो तर निर्वाचन हुनुलाई मात्र ठूलो उपलब्धि मान्न सकिँदैन । जेन–जीमा रहेको संविधानसँग सम्बन्धित प्रश्न र असन्तुष्टिहरूलाई अतार्किक र औचित्यहीन भनेर अवैध करार गर्दै उचित सम्बोधन नगर्नु भनेको विद्रोहको अर्को बीउ रोप्नुसरह हुन सक्छ । त्यसैले हामी सबैले खोजेको र विशेषतः जेन–जीले खोजेको रूपान्तरणमा संविधान बाधक हो वा मार्गनिर्देश गर्ने स्वीकार्य दस्तावेज हो भन्ने प्रश्नको जवाफ खोज्न हामी सबैले सामूहिक प्रयास गर्नुपर्ने भएको छ ।

सुशासन र भ्रष्टाचारमुक्त राज्य निर्माणमा संविधानले बाधा अड्चन थापेको छ वा छैन ? लगायतका प्रश्नहरूमाथि पर्याप्त छलफल र विमर्श नगरी सार्वजनिक वृत्तमा संविधान सुधारका सम्बन्धमा हाल कायम तीन थरीका छलफलजन्य धारणाहरू अपूर्ण रहेका देखिन्छन् । पहिलो, संविधान सुधारका सन्दर्भमा उठेका जेन–जीका आवाजलाई निरर्थक ठान्ने ।

दोस्रो, निहित स्वार्थप्रेरित समूह र व्यक्तिले अघि सारेका धारणालाई नै जेन–जीको धारणा भन्दै ‘ब्रान्डिङ’ गर्दै संविधान(मा) परिवर्तनतर्फ अग्रसर हुने । तेस्रो, वर्तमान राज्यसंरचना र संविधानलाई धार्मिकस्थल र धर्मग्रन्थसरह नै अटल ठानी शिरोधार्य गरिरहने व्यक्ति र समूहहरूकै धारणालाई आधार मानेर वर्तमानकै निरन्तरतालाई नै विकल्पहीन ठान्ने ।

त्यसैले वर्तमान समाजले हासिल गरेका राजनीतिक र सामाजिक उपलब्धिहरू साथै सिर्जित भएका विकृतिहरूमा संविधानको भूमिका कस्तो रह्यो भन्नेतर्फ सबै पुस्ताको सक्रिय सहभागितासहितको वस्तुगत छलफलले मात्र हामीलाई आवश्यक सुधारतर्फ डोहोर्‍याउन सक्छ ।

संविधान बन्नुको कारण, औचित्य र कमजोरीका ज्ञान हस्तान्तरणको अभाव

२००४ को वैधानिक कानुनदेखि २०६३ को अन्तरिम संविधानसम्मलाई जुन आँखाले हेरिन्छ, वर्तमान संविधानलाई हेरिने दृष्टिकोण विलकुलै भिन्न हुनुपर्छ । अझ वर्तमान संविधानले त यो संविधानको अन्तर्यसँगै विमति राख्ने र यसको औचित्यमा नै विश्वास नगर्न पाउने सुरक्षित ठाउँलाई समेत स्विकार्दछ । तर संविधानलाई कानुनी, सैद्धान्तिक र प्राविधिक प्रयोजनार्थ लेखिएको दस्तावेजका रूपमा मात्र लिने हालसम्मको स्थिर धारणाको कारण आम नागरिक, विशेषगरी बहुसंख्यक युवा पुस्तामा वर्तमान संविधानप्रति कुनै भिन्न अथवा विशिष्ट खालको दृष्टिकोण वा भावनाको विकास भएको पाइँदैन ।

केही राजनीतिकर्मी, संविधानविद्, कानुन व्यवसायीहरू वा नागरिक समाजका प्रबुद्ध व्यक्तिहरू आफू नै संविधानको असल र सक्कल बुझकी भएको ठान्छन् । संविधान जोगाइदिने एकाधिकारसमेत आफैंमा भएजस्तो गरी प्रस्तुत हुँदा त्यसले नियमित सकारात्मकता त कायम रहला तर त्यसको नसोचिएको पाटोका रूपमा संविधान थप कुलीन दस्तावेज रहेको आम धारणा वृद्धि हुन सक्छ । त्यतिबेला संविधानप्रतिको युवापुस्ताको दृष्टिकोण झन् नकारात्मकतातर्फ धकेलिन र संविधानसँग आफूलाई विच्छेद गर्ने प्रवृत्ति विकसित हुन सक्छ ।

हामीसँग रहेका जुनसुकै वस्तुको निर्माणको तत्कालीन कारण, ऐतिहासिक परिवेशजस्ता विषयको उचित ज्ञान नयाँ पुस्तामा नियमित ढंगले हस्तान्तरण हुन सकेन भने उक्त वस्तु बाहिरिया जस्तै लाग्नु स्वाभाविक हुन्छ । संविधानको हकमा त्यही अवस्था देखिन्छ । राज्य सञ्चालनसँग जोडिएका जोकोहीले यस संविधानको परिवेश, आवश्यकता, औचित्य, उपयोग र यसले निर्माण गर्न खोजेको समतामूलक समाजको ज्ञानलाई आफूअनुकूलको व्याख्या नगरी संविधानको वास्तविक मर्म र अझ यसका कमजोरी र यसले समेट्न नसकेका केही जटिल विषयसमेतलाई नयाँ पुस्तासम्म क्रमिक रूपमा पुर्‍याउन भूमिका खेलेको भए संविधानमाथि खतरा छ भनिराख्नु पर्दैनथ्यो । सुधारको मार्गचित्रमा अलमल पर्नु पनि पर्दैनथ्यो ।

त्यसैले संविधानमा देखिएको भनिएको खतरा संविधान जोगाउन लागिपरेका हामी सबैको कमजोरी हो । संविधान निर्माण गर्ने प्रक्रिया र संविधान निर्माणपूर्वको राजनीतिक आन्दोलनमा जेन–जी प्रत्यक्ष रूपमा संलग्न भएको पुस्ता होइन । तर, प्रत्येक पुस्ताको आफ्नै राजनीतिक र संवैधानिक क्षण हुन्छन् । यी क्षणहरूले निश्चित छनोटको अधिकार सिर्जना गर्दछन् । अहिलेको विद्रोहपश्चात् यस्तै छनोटका अधिकार प्रतिबिम्बित हुने अवसर सतहमा आएका छन् । तर, अवसरजन्य समयलाई अन्योल र अनिश्चितताले संकुचित गरिरहेको छ । तसर्थ, वर्तमान संविधानको प्रगतिशील सुधारका लागि यसको औचित्य, निर्माणको परिवेश र उद्देश्यमा सुसूचित हुने अवसरको निरन्तर सिर्जना गरिरहनु अपरिहार्य छ ।

अपजस खाइदिने हाम्रो संविधान

हामीले आज भोगिरहेको दुर्गतिको एकल र निश्चयात्मक कारण संविधान होला त ? संविधानमा के लेखिएको छ भन्ने कुरालाई सामाजिक, आर्थिक विकास र राजनीतिक संस्कारसँग पूर्णरूपमा अलग्याउन सकिँदैन । तर, संविधानभन्दा पनि संविधानलाई क्रियाशील बनाउने संस्था र पात्रहरूको भूमिकालाई छायामा राखेर संविधानका व्यवस्थालाई विकास, समृद्धि र सुशासनको प्रधान शत्रु घोषित गर्नुले वास्तविक सुधारका सम्भावनालाई सीमित गर्छ । 

परिवर्तित पद्धतिमा समेत यथास्थितिकै निरन्तरतालाई बढावा दिन्छ । संविधान निर्माणमा अग्रणी भूमिका खेल्नेहरू पनि संविधानलाई अपजस दिन पछाडि हट्दैनन् । हालको संविधान कुनै एक व्यक्तिको इच्छा वा एक वर्ग समुदायको आकांक्षाबाट प्रेरित भएर बनेको होइन । यसमा एकपक्षीय प्रावधानहरू पक्कै छैनन् । वास्तवमै राजनीतिक र सामाजिक सम्झौताको परिणामका रूपमा हालको संविधान रहेको छ । सुशासन र विकासका उद्देश्यहरूलाई हासिल गर्न असफल हुँदा तथा राजनीतिक, प्रशासनिक अकर्मण्यताका परिणामलाई 

ढाकछोप गर्न संवैधानिक खोटतर्फ औंला देखाउनुभन्दा संविधानलाई चलायमान बनाउने पात्रहरूको नियत र कार्यशैलीप्रति प्रश्न गर्नु तार्किक र बुद्धिमतापूर्ण हुन्छ । संवैधानिक संरचनालाई आफूअनुकूल प्रयोग गर्ने–गराउने, सन्तुलित राज्य सञ्चालनका लागि बनाइएका संरचनालाई भागबन्डा र निहित स्वार्थसिद्ध गर्ने साधन बनाउने प्रवृत्तिलाई विस्थापित गर्नु संविधानका व्यवस्था र संरचनागत सुधारभन्दा महत्त्वपूर्ण र अत्यावश्यक काम हुन् ।

जोगाउनतिर मात्रै लाग्दा परिवर्तनको आवाज दबिएला

यो सबै भनिरहँदा संवैधानिक संरचनामा कुनै पनि सुधार आवश्यक छैन भन्ने निष्कर्ष निकाल्न खोजिएको होइन । संरचनागत सुधारहरू आवश्यक छन्, तर के विषयमा सुधार आवश्यक छ ? हाम्रो राजनीतिक, सामाजिक, आर्थिक परिवेशमा कार्यात्मक हुन सक्ने सुधारका उपायहरू के–के हुन सक्छन् ? आदि विषयमा पर्याप्त छलफल र उचित विमर्शबिना परिवर्तनको आधार तयार गर्दा सीमित स्वार्थप्रेरित व्यक्ति तथा समूहहरूले यसबाट फाइदा लिन सक्ने खतरा थपिन जान्छ ।

राज्य सञ्चालनको पद्धतिमा परिवर्तनको आवश्यकता महसुस भएकै कारण विद्रोहले स्वरूप पाएको हो । वर्तमान संविधानले हासिल गरेका उपलब्धि गुम्न लाग्यो भनी सबै प्रयासहरू संवैधानिक निरन्तरतालाई जोगाउनतर्फ मात्र केन्द्रित हुँदा युवा पुस्ताको संवैधानिक क्षण र छनोटको अवसर खेर जान्छ । तर संविधानमा परिवर्तनको आवश्यकताको लेखाजोखा गर्नुपूर्व संविधानले निर्माण गर्न खोजेको समाज र यसले अँगालेका आधारभूत मान्यतासँग नयाँ पुस्तालाई हरेक तवरबाट परिचित गराइनु आवश्यक छ । त्यसपश्चात् उठ्ने परिवर्तन र सुधारको आवाज झनै तार्किक, बलियो र 

दूरगामी हुनेछ । ती परिवर्तनका आवाजलाई संस्थागत गर्नेतर्फ लाग्दै गर्दा सुधारका प्रक्रियालाई विशुद्ध प्राविधिक र कुलीन अभ्यासमा सीमित गराउनु हुँदैन । सीमित भएको खण्डमा परिवर्तनको वास्तविक चाहना फेरि किनाराकृत हुन पुग्छ र अर्को पुस्तासमेत संविधानका शब्द र मर्म दुवैसँग विच्छेद भई राज्य सञ्चालनका आधारभूत रूपरेखामा नै अपनत्वको अभाव सिर्जना हुन्छ ।

जेन-जी अभिमत

निशान्तबाबु खड्का कानुनका विद्यार्थी हुन् ।

Link copied successfully