हजुरबाहरू ! अब पुग्यो– राजनीति छोड्नुस्

ओली, देउवा, प्रचण्ड, नेपाल र खनालहरूले राजनीतिबाट संन्यास लिनुस्, आराम गर्नुस्, सल्लाहकार हुनुस् । कृपया ‘स्टेप डाउन’ गर्नुस् ।

मंसिर २३, २०८२

रिदिमा निरौला

Grandfathers! Enough is enough – leave politics behind.

What you should know

देशमा संविधान आएपछि सकारात्मक परिवर्तन होला र विकासको मूल फुट्ला भन्ने आम अपेक्षा थियो । तर जनताका आशामाथि केही थान वृद्ध नेताले तुषारापात गरे ।

उनीहरूबाट योग्यताभन्दा नातावाद र कृपावाद लाद्ने काम भयो । देशको सबै संस्था दलीयकरण गरियो । राजाविरुद्ध आन्दोलन गरेकाहरू पछि आफैं राजा हुन थाले । 

हाम्रा नेता बूढा भए पनि सोच र व्यवहारले परिष्कृत हुने वा बदलिँदो समयको मागअनुसार चलेको भए आलोचना हुने थिएन । तर त्यस्तो सम्भावना देखिएन । त्यसैले केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड लगायतले समयको माग अनुसार राजनीतिबाट स्वैच्छिक अवकाश लिनु नै देशका लागि हितकार हुन्छ ।

हामीले पटक–पटक ओली, देउवा र प्रचण्डको शासन भोग्यौं । तर, देशभन्दा उनका आसेपासे, नातापाता र कार्यकर्ता लाभान्वित भए । देशमा अझै २० प्रतिशत गरिब छन् । विभिन्न भेगमा सडक पुगेको छैन । बेरोजगारीदर उच्च छ । कर्मचारीतन्त्र हाबी छ । सरकारी सेवा लिन झन्झट छ । जताततै भ्रष्टाचार छ । र, जनतामा निराशा छ ।

२३ भदौमा युवाले असन्तुष्टि र आक्रोश व्यक्त गर्दा सरकारले आन्दोलन दबाउन शक्ति प्रयोग गर्‍यो । त्यसले ओली नेतृत्वको एमाले–कांग्रेस सरकारको निरंकुश र आतंक मच्चाउने चरित्र प्रकट भयो । त्यसैले २४ भदौमा अन्य पुस्ताका जनतासमेत कर्फ्युको अवज्ञा गर्दै सडक प्रदर्शनमा आएका थिए । ओलीको मपाइँत्व, घमण्ड र अपरिपक्वताले गर्दा दुई दिनको घटनामै ७५ बढीले मृत्युवरण गर्नुपर्‍यो ।

अझै पनि ओली, देउवा र प्रचण्ड लगायतका नेताहरू सच्चिने संकेत देखिएको छैन । एक महिनायता मधेश प्रदेशमा दलहरूले देखाएको लीलाले त्यसलाई प्रस्ट पार्छ । ओलीको पछिल्लो बोलीले पनि प्रस्ट पार्छ ।

ओली, देउवा र प्रचण्ड असफल पात्रहरू हुन्, जो पटक–पटक सरकारमा जान अनेक तिकडम गर्छन् । सच्चिन खोज्दैनन् । कुण्ठा पोख्छन् । 

आफ्नालाई अनेक गरेर जोगाउँछन् । जताततै दलीयकरण गरेका छन् । जहिल्यै सरकारमा कसरी पुग्ने मात्र ध्याउन्न गर्छन् । उनीहरूको यस्तै कार्यशैलीले नै युवामा असन्तुष्टि सिर्जना भएको हो । जसले विध्वंस निम्त्यायो । यो यथार्थ उनीहरूले कहिले बुझ्लान् ?

इन्टरनेटमा जन्मेका र हुर्केका पुस्ताले अन्य देशको परिवर्तन देखेर यहाँ पनि प्रणाली बसोस्, युवाले अवसर पाऊन्, भ्रष्टाचारप्रति सरकार निर्मम होस्, सरकारी क्षेत्रमा सुधार होस् र सरकारको काम गराइमा पनि सुधार होस् भन्ने चाहेका हुन्, तर त्यस्तो भएन ।

जेन–जी आन्दोलनपछि नेतृत्व र प्रवृत्ति परिवर्तन चाहना अझै बढी अभिव्यक्त भए पनि एमाले, कांग्रेस तथा नेपाली कम्युनिस्ट पार्टीमा ओली, देउवा वा प्रचण्ड प्रवृत्ति नै व्याप्त छ । अरू पार्टीमा पनि यस्तै अवस्था छ । युवाले ओलीको विकल्प महेश बस्नेत र शंकर पोखरेल जस्ता पात्र पनि खोजेका होइनन् । ओलीको विकल्प ओली प्रवृत्तिलाई बोकेका नेता होइन, बरु सुहाङ नेम्वाङहरू हुन् । देउवाको विकल्प तत्काललाई गगन थापाहरू हुन् । प्रचण्डको विकल्प जनार्दन शर्माहरू थिए ।

तर नेतृत्व हस्तान्तर र पुस्तान्तरणको सम्भावना कमजोर बनेको छ । संविधान आएपछि केपी ओली मात्र चार पटक प्रधानमन्त्री भइसकेका छन् । अहिले यत्रो विध्वंस भएपछि पनि उनी एमालेको अध्यक्षको कुर्सीमा टाँसिएकै छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि युवालाई पार्टी समाल्न नदिएकाले बूढा नेताहरूकै रजगज देख्नुपर्ने अवस्था छ । दस वाम पार्टी/समूहले बनाएको भनिएको नेपाली कम्युनिस्ट पार्टीमा पनि प्रचण्ड एन्ड टिमले देखाउन लायकको युवा पनि पाएन ।

जबकि, २४ गतेको घटना यहाँ चर्चायोग्य छ । २३ र २४ भदौको घटनापछि छलफलका लागि जंगीअड्डा पुगेका जेन–जी प्रतिनिधिले आफैं प्रधानमन्त्री खान खोजेनन् । यो सुझबुझ पुराना पार्टीका सत्तालोलुप नेताहरूलाई समेत सन्देश थियो ।

त्यसैले हजुरबुबा पुस्ताका नेताहरूलाई पार्टीमा सल्लाहकार भएर युवाहरूलाई राज्यको मूल धारमा ल्याउने प्रयास गर्न कुन दम्भ वा घमण्डले छेक्छ ? युवाले देशमा सुशासन र आफ्नो प्रतिनिधित्व खोजेका हुन् । अब दलहरूले स्वच्छ छवि भएका युवालाई टिकट दिएर जिताउन लाग्नुपर्छ । देश समाल्ने बागडोर युवालाई दिनुपर्छ । दलमा लागेका युवा पनि दलको दास वा झोलेमै सीमित हुँदैनन् ।

नेपाली जनता नै पुराना नेताहरूको शासन देखेर वाक्कदिक्क भइसकेका थिए र छन् । त्यसैले ओली, देउवा, प्रचण्ड, माधव नेपाल र झलनाथ खनालहरूले राजनीतिबाट संन्यास लिनुस्, आराम गर्नुस्, सल्लाहकार हुनुस् । कृपया ‘स्टेप डाउन’ गर्नुस् । अब तपाईंहरू कोही आएर देश बन्दैन भन्ने प्रस्ट भइसक्यो । त्यसैले अब पुग्यो ।

तपाईंहरू ओली, देउवा वा प्रचण्ड नहुँदा पनि देश बच्छ । तपाईंहरू नजन्मिँदा पनि देश थियो, अब तपाईंहरू नरहँदासमेत देश रहन्छ । देश जोगाउन हामी सक्षम छौं । बरु बुढेसकालमा आराम गर्नुस् ।

जेन-जी अभिमत

रिदिमा

Link copied successfully