जेन–जीको सामाजिक सञ्जालका बानीहरू बुझ्नु भनेको उनीहरूले कुन प्लाटफर्महरू प्रयोग गर्छन् भनेर जान्नु मात्र होइन । डिजिटल परिदृश्यमा उनीहरूको प्रभाव पहिचान गर्नु पनि हो । उनीहरू आफ्ना उद्देश्य, भावना र नैतिकता जस्ता पक्षमा कसरी प्रभावित हुन्छन् र पार्छन् भनेर पनि अनुसन्धान आवश्यक छ ।
What you should know
सन् २०२५ मा ‘स्प्राउट सोसल इन्डेक्स’ ले गरेको एक अध्ययनअनुसार, जेन–जीका ८९ प्रतिशत सामाजिक सञ्जाल प्रयोगकर्ताहरू इन्स्टाग्राममा छन्, ८४ प्रतिशत युट्युबमा छन् र ८२ प्रतिशत टिकटकमा छन् । जसले गर्दा यी प्लाटफर्महरू जेन–जीका लागि सबैभन्दा लोकप्रिय बनेका छन् । जेन–जीले मनोरञ्जन, साथीभाइ र परिवारसँग जोडिन सञ्जालको प्रयोग गर्ने गरेका छन् ।
वर्तमान परिवेशमा सामाजिक सञ्जाल जेन–जीको दैनिक गतिविधि बन्दै गइरहेको छ । आफ्ना तस्बिर र विचारसहित जीवनका विधि पक्षलाई निरन्तर पोस्ट गरिरहेका छन् । ‘प्यु रिसर्च सेन्टर’ का अनुसार, १३ देखि १७ वर्ष उमेरका अधिकांश किशोरकिशोरी निरन्तर अनलाइनमा रहने गरेका छन् । यद्यपि, के यो दैनिक गतिविधि स्वस्थ छ ?
सन् १९९७ र २०१२ को बीचमा जन्मिएको पुस्ता (जेन–जी) लाई डिजिटल संसारमा एक महत्त्वपूर्ण र प्रभावशाली पुस्ता मानिन्छ । ७५ प्रतिशतभन्दा बढी जेन–जी प्रयोगकर्ताले सामाजिक सञ्जालका प्लाटफर्महरूमा दिनको दुई घण्टाभन्दा बढी समय बिताउने भएकाले उनीहरूद्वारा अनलाइनमा गरिने गतिविधि र प्राथमिकता बुझ्न आवश्यक छ ।
जेन–जी कुनै न कुनै प्रकारको प्रविधिसँगै हुर्किएका छन् । चाहे त्यो भिडियो क्यामेरा होस् वा सेल फोन वा ट्याब्लेट होस् । यो पुस्ता सामाजिक सञ्जालमा अन्य पुस्ताभन्दा नजिक रहेका छन् ।
बढ्दो प्रयोगकर्ताका बीच असुरक्षित बन्दै गइरहेकाले सामाजिक सञ्जाल जेन–जीका लागि थप घातक बन्दै गएको छ । सामाजिक सञ्जालको निरन्तर प्रयोगका कारण विभिन्न व्यक्तिले मानसिक–शारीरिक स्वास्थ्य, आत्मसम्मान, शैक्षिक उपलब्धि जस्ता पक्षमा समस्या झेल्नुपरेको छ । धेरै अध्ययनले अत्यधिक सामाजिक सञ्जाल प्रयोग गर्दा डिप्रेसन, चिन्ता, एक्लोपन, आत्म–हानि र आत्महत्या गर्ने विचारहरूको बढ्दो जोखिम रहेको परिणाम निकालेका छन् ।
जेन–जी प्रविधिमा निपूर्णताका लागि परिचित छन्, किनभने उनीहरू इन्टरनेट र स्मार्टफोन सर्वव्यापी भएको युगमा हुर्केका छन् । सञ्जालमा भेटिएका र देखिएका दृश्यगत वस्तुलाई बढी प्राथमिकताका साथ हेर्ने गर्छन् । जुन इन्स्टाग्राम, टिकटक र युट्युब जस्ता प्लेटफर्मका लागि उनीहरूको प्राथमिकतामा पर्ने गरेको पाइन्छ । उनीहरूले साथीभाइ र परिवारसँग सम्पर्कमा रहन मात्र नभई आत्म–अभिव्यक्ति, मनोरञ्जन र वरपरको संसारका बारेमा जानकारी राख्न पनि सामाजिक सञ्जालको प्रयोग गर्ने गरेका छन् ।
सामाजिक सञ्जालमा समय बिताउँदा पारिवारिक तथा सामुदायिक कार्यहरूमा बिरलै आबद्ध हुन्छन् । यसबाट पारिवारिक तथा सामाजिक मूल्य मान्यता सिक्ने सिकाउने प्रक्रिया नै अवरुद्ध हुन पुग्छ । परिवारका सदस्यलगायत अन्य व्यक्तिसँग आत्मीय सम्बन्ध स्थापित हुन सक्दैन । जसका कारण यो पुस्तालाई डर र असुरक्षाको भावना वृद्धि हुन्छ । समयमै उनीहरूले उचित निर्देशन, सल्लाह र परामर्श प्राप्त गर्न सक्दैनन् ।
फलस्वरूप गलत बानी व्यवहार र संगतको सिकार हुन पुग्ने सम्भावना रहन्छ । अत्यधिक रूपमा सामाजिक सञ्जालमा सक्रिय हुने भएकाले परिवारका सदस्यहरूको आफन्त र साथीभाइसँग प्रत्यक्ष अन्तरक्रिया अत्यधिक कम हुन्छ । जसले गर्दा उनीहरूलाई अरूको अवस्था, समस्या र आवश्यकताबारे जानकारी हुँदैन । दिनभरि आफूले भोगेका, गरेका काम तथा अनुभवहरू पनि परिवारका सदस्यसँग साझा गर्न पाउँदैनन् । जसले गर्दा आफ्नै सन्तानका राम्रा, नराम्रा क्रियाकलापबारे परिवारका सदस्यसमेत अनभिज्ञ हुन्छन् ।
सामाजिक सञ्जालका प्लाटफर्ममार्फत परिचित, अपरिचित विभिन्न व्यक्तिहरूबाट आउने धम्कीका कारण डरत्रासको मनोदशाले अहिलेको पुस्ता बाँचिरहेको पाइन्छ । विभिन्न प्रलोभनमा परेर वा झूटा आश्वासन तथा प्रेमका कारण यौनजन्य क्रियाकलापमा संलग्न हुने र पछि त्यसैलाई आधार बनाएर हुने ‘ब्ल्याकमेलिङ’ का कारण आर्थिक, मानसिक तथा यौन शोषणमा परेको पाइन्छ ।
आज ह्याकरहरू र असामाजिक गतिविधि गर्ने अन्य अपराधीहरूका लागि सामाजिक सञ्जाल रोजाइको प्लाटफर्म बन्दै गइरहेको छ । व्यक्तिको जन्म मिति, बसोबास स्थान, काम, व्यवसायको स्थानदेखि लिएर परिवार र अन्य व्यक्तिगत गतिविधिहरूका बारेमा जानकारीका रूपमा ठूलो मात्रामा डेटा हुने भएकाले सामाजिक सञ्जाल ह्याक भएसँगै त्यस्ता डेटा ह्याकरकहाँ पुग्छन् ।
सामाजिक सञ्जालको प्रभाव सामाजिकस्तरमा पनि व्याप्त छ । सकारात्मक पक्षहरूलाई नियाल्दा जस्तै युट्युब, फेसबुक जस्ता धेरै सामाजिक सञ्जालका प्लाटफर्मले अहिले स्वास्थ्य र सरसफाइ, बालबालिकाको शिक्षा, उपभोक्ता जागरुकता र अन्य महत्त्वपूर्ण सामाजिक मुद्दालाई कुशलतापूर्वक प्रसारण पनि गरिरहेका छन् । जसले समाजमा विशेषगरी किशोरकिशोरी र युवाहरूमा चेतना सिर्जना गर्न मद्दत गरेको छ । यसको विपरीत, मानिसहरूले नकारात्मक भावनाहरूको सामना पनि गरिरहेका छन् । जसकारण सुरक्षा सुनिश्चित गर्न उचित कानुनी प्रबन्धको आवश्यकता पर्दछ ।
यस पुस्ताको सामाजिक सञ्जालको प्रयोगले सार्वजनिक र राजनीतिक प्रतिबद्धता, गोपनीयता र साम्प्रदायिक सुरक्षा जस्ता क्षेत्रहरूमा सामाजिक स्तरमा सचेतना जगाउन सक्छ । समाजमा रहेका बेथिति, अन्धविश्वास र राजनीतिक संरचनामा देखिएको भ्रष्टाचार, अनियमितताविरुद्ध उनीहरूले सामाजिक सञ्जालमा बहस र आवाज उठाउने गर्छन् । जसले सम्बन्धित निकायलाई जवाफदेहिताको घेरामा राख्न भूमिका खेल्छ ।
जेन–जीको सामाजिक सञ्जालका बानीहरू बुझ्नु भनेको उनीहरूले कुन प्लाटफर्महरू प्रयोग गर्छन् भनेर जान्नु मात्र होइन । डिजिटल परिदृश्यमा उनीहरूको प्रभाव पहिचान गर्नु पनि हो । उनीहरू आफ्ना उद्देश्य, भावना र नैतिकता जस्ता पक्षमा कसरी प्रभावित हुन्छन् र पार्छन् भनेर पनि अनुसन्धान आवश्यक छ ।
सामाजिक सञ्जालले मानिसको समय मात्र बर्बाद गर्छ भन्ने बुझाइ पनि छ । तर कतिपयलाई कमाउने अवसर पनि दिएको छ । यसको सहयोगमा धेरैले घरमै बसेर राम्रो आम्दानी गरिरहेका छन् । कोही आफ्नो सीप र कोही आफ्नो प्रतिभाबाट कमाइरहेका छन् । अनलाइन शिक्षक, स्वतन्त्र लेखक, भ्वाइस ओभर आर्टिस्ट, टाइपिस्ट वा अनुवादक बनेर घरमै बसेर पैसा कमाउने गरेका छन् ।
टाढा रहेकोलाई जोड्ने तर नजिक रहेकालाई टाढा बनाउने भनिएको सामाजिक सञ्जालको सही प्रयोग गरिएन भने यसले हाम्रो जीवनमा ठूलो क्षति पनि ल्याउन सक्छ । सामाजिक सञ्जालको प्रयोग गरिरहँदा प्रयोगकर्ताले गोपनीयतालाई उच्च प्राथमिकतामा राख्नुपर्छ । आफ्नो पहिचान सुरक्षा गर्नुपर्छ । नत्र अरू कसैले हाम्रो व्यक्तिगत डाटा दुरुपयोग गर्न सक्छ ।
सामाजिक सञ्जाल एक माध्यम मात्र हो । यसलाई सदुपयोग गर्ने कि दुरुपयोग गर्ने प्रयोगकर्ताको हातमा हुन्छ । प्रविधि र सञ्जालले विश्व समाजलाई ओगटिरहेको मात्र छैन, हाम्रो समय पनि लुटिरहेको छ । यसलाई सबैभन्दा बढी प्रयोग गर्ने जेन–जी भएकाले उनीहरूको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा विभिन्न भूमिका खेलेको हुन्छ । सञ्जालको दुरुपयोग गरेमा ठूलो क्षति व्यहोर्नुपर्ने हुन सक्छ । सदुपयोग गरेमा हाम्रो जीवनलाई सरल, सहज र छरितो बनाउन सकिन्छ ।
