जब जनता शक्तिशाली, विवेकशील र जिम्मेवार हुन्छन्, तब राज्यशक्तिले आफ्नो शक्तिलाई उचित ढंगले प्रयोग गरी दायित्व पूरा गर्न बाध्य हुन्छ । देश सबल र सफल बन्न सके नै हरेक जनता सफल हुने हो ।
What you should know
जुन प्रवृत्तिका कारणले देशमा निर्दोष व्यक्तिले ज्यान गुमाउन पुगे, देश अझै पनि त्यही प्रवृत्तिमै अलमलिरहेको छ । नेताहरूले परिस्थितिलाई साँच्चिकै विश्लेषण गरी अगाडि बढ्न खोजका छैनन् । जनताले पनि जेन–जी आन्दोलनबाट पाठ सिकेका छन् । परिणामतः नयाँ चेतनाको आयाम समाजले पाउन सकेको छैन ।
जेन–जी शब्द आफैं मुद्दा बनेको छ । तर जुन कारणले जेन–जी आन्दोलन भएको थियो, त्योचाहिँ त्यसै विलिन हुँदै गइरहेको छ । सामाजिक सञ्जालमा चर्को स्वरले कराउँदैमा समस्याको निकास निस्किँदैन । जे कुरामा अडान लिनुपर्ने हो, त्यसलाई पर राखेर आफ्नै दुनो सोझ्याउने प्रवृत्ति देखिएको छ । यतिबेला जेन–जीको नाम लिएर दल, दलका नेता, विभिन्न क्षेत्रका सरोकारवालाहरू सबै आफ्नो नाम सोझो पार्नतिर लागेका छन् ।
दल, नेता र सरकार मात्र समस्या होइनन् । समस्या बढाउन उनीहरूको हात छ, यसमा दुईमत छैन । तर, हरेक क्षेत्रमा आफू हुनुपर्ने र आफ्नो सट्टा अरू कसैप्रति विश्वास गर्न नसकिने प्रवृत्ति बढ्दो छ । नाम, शक्ति, पद र पैसाका लागि मरिमेट्ने तर समाज र देशको, कुनै निश्चित वर्ग वा समूहको हितका लागि प्रतिनिधित्व गर्दै छु भन्ने प्रवृत्ति पनि छ । जसले गर्दा, कामभन्दा धेरै भाषण, ब्यानर, नारा देखाएका छन् । राजनीतिक दल, नेता, गैरसरकारी संस्था, बौद्धिक समूह सबैबाट यस्तै भइरहेको छ । यद्यपि, देश त ती व्यक्तिहरूले धानिरहेका छन्, जो आफ्नो काममा ध्यान दिई आफ्नै काम इमानदारिताका साथ गरिरहेका छन् ।
आफूभन्दा आउँदो पुस्तालाई नियन्त्रणमा राख्न खोज्ने प्रवृत्ति पनि देखिएको छ । अघिल्लो पुस्ताले नयाँ पुस्तालाई पद र शक्ति हस्तान्तरण गर्नै चाहेका छैनन् । बरु आफ्नो पकड बनाइरहन खोजेको देखिन्छ । यद्यपि उनीहरूलाई थाहा छ, हस्तान्तरण गर्ने हो भने नयाँ पुस्ता उनीहरूभन्दा योग्य छन् । यसले गर्दा विद्यार्थी संगठन बिग्रिँदै गइरहेका छन् । त्यहाँ स्वतन्त्रता छैन । निकटता र चाप्लुसी प्रभावी बन्ने गरेको छ ।
सम्झौताको भ्रम
केही समययता युवाको आवाजलाई जोड दिइएको छ । पुस्ता हस्तान्तरण भनी सबैले पहल गर्न खोजेको जस्तो पनि देखिएको छ । केही हिसाबमा राम्रो सन्देश पनि हो । तर युवाको आवाज भनी सीमित व्यक्ति र समूहको आवाज सुनेर बृहत् आवाज र मुद्दालाई सीमित गरिन हुँदैन ।
यतिबेला युवालाई देश र समाजको दायित्वबारे उचित किसिमको संरक्षण, शिक्षादीक्षा, अवसर र आडभरोसा दिनुपर्ने समय हो । युवा अवस्था स्वतन्त्र हुने समय हो, तर समाज र देशले नैतिकताको पाठ भनी संकुचित बनाई नियन्त्रण गर्न खोजेमा झन् धेरै बरालिन सक्छ । शिक्षा पद्धति एउटा, आर्थिक सुरक्षा र जिम्मेवारी अर्को, पारिवारिक र सामाजिक आकांक्षाको अझ अर्को र व्यक्तिगत चाहना झन् अर्को भएकाले युवा पुस्ता दबाबमा छन् । युवाहरूले देश त्यत्तिकै छोडिरहेका होइनन् । जहाँ आफू हुनुको मूल्य हुँदैन, त्यहाँ किन कोही बस्छ र ?
२३ र २४ भदौपछि देश फेरि सामान्य अवस्थामा पुगेको छ । तर कसैले पनि यो सोच्न भूल नगरून् कि आन्दोलन सकिएको छ । अहिले मानिसलाई आफूतिर तान्ने गरिएको छ । जसले बढी तान्छ, त्यतातिर बढी देखिएका छन् । तर धेरैले नेपाली समाजको ठेट संघर्षसमेत बुझेका छैनन् । जसले संघर्ष बुझेका छन्, उनीहरूलाई यसरी अगाडि आउने अवसर कम छ, विकल्प पनि कम छ ।
जब परिवर्तनका लागि युवाले आवाज उठाउनेछन्, हरेक सरोकारवाला जवाफ दिन बाध्य हुनेछन् । त्यतिबेला फेरि संघर्ष हुनेछ । तर काठमाडौंमा मात्रै सीमित हुनेछैन । अब जसको आवाज ठूलो उसैको कुरो ठीक र उसैको सुन्ने भन्ने तरिकाले परिवर्तन ल्याउन सकिँदैन । जब संघर्ष गर्ने युवाहरू आफैं अगाडि आउन बाध्य हुनेछन्, तब त्यहाँ परिवर्तनको वास्तविक पहिचान हुनेछ । त्यहाँ साँच्चै नै संकल्पसहितका सफल अगुवा अगाडि आइपुग्नेछन् ।
अबको बाटो
देश नियम र कानुनले चल्छ । विधिको शासनमा चल्नु सबैको जिम्मेवारी पनि हो । तर कानुन र विधि भने समाजअनुसार बन्दछ, समाज अनुसार नै चल्दछ । तर विधिको शासनलाई विकास गर्नुपर्छ, परिपक्व बनाउनुपर्छ, उचित मलजल गर्नुपर्छ, व्यवस्था र सुरक्षा गर्नुपर्दछ । यो गर्ने जनताले नै हो ।
त्यसैले जनताले पनि आफूलाई जिम्मेवार बनाउन अत्यावश्यक छ । र, त्यसरी जिम्मेवारी लिँदा आफूअनुकूल नभई देश र समाज अनुकूल हुन जरुरी छ । यो सबैले जान्नु जरुरी छ कि देशको राज्यसत्ता र शक्ति जनताबाट नै निर्माण हुने हो । त्यसैले तिनलाई जनताले नै जिम्मेवार बनाइरहनुपर्छ ।
जब जनता शक्तिशाली, विवेकशील र जिम्मेवार हुन्छन्, तब राज्यशक्तिले आफ्नो शक्तिलाई उचित ढंगले प्रयोग गरी दायित्व पूरा गर्न बाध्य हुन्छ । देश सबल र सफल बन्न सके नै हरेक जनता सफल हुने हो ।
