हामी जेन–जीले जुन एकता २३ र २४ भदौमा सडकमा देखाएका थियौं, त्यही एकता अब राजनीतिक रूपमा देखाउन अत्यन्त जरुरी देखिन्छ ।
What you should know
देश परिवर्तनको अत्यन्त संवेदनशील मोडमा छ । त्यतिबेलाका भ्रष्टाचार, विकासका काममा हुने गरेको अनियमितता, कुशासन तथा राष्ट्रका प्रमुख पदमा बस्नेहरूको गैरजिम्मेवार अभिव्यक्तिका कारण सुरु भएको जेन–जी आन्दोलनमा देशका कर्णाधारले ज्यान गुमाउनुपर्यो । आन्दोलनपछि अन्तरिम सरकार बनेको छ । यद्यपि, अझै पनि आमजनता तथा नयाँ पुस्ताको आवाज सुनिएको छैन ।
यतिबेला देशका विभिन्न ठाउँमा विभिन्न नामले जेन–जी समूह गठन भइरहेका छन् । यी समूहका केही मागमा भिन्नता छन् । तर पनि देशमा सुशासन कायम गर्ने तथा २३ र २४ भदौका घटनाको छानबिन गर्ने जस्ता मागमा भने समानता देखिन्छ । जनता र युवाको आवाज बलियो बनाउनका लागि सबै जेन–जी समूहका साझा माग तथा एजेन्डाहरू एकै ठाउँमा राखेर अघि बढ्नुपर्ने देखिन्छ ।
युवा तितरबितर भइरहने हो भने उनीहरूको आवाज सुनिने सम्भावना न्यून हुन्छ । तर सबै युवाको आवाजलाई एकमुष्ट बनाउँदा सत्ता नै पल्टिने गरेको विगत हामीले देखिसकेका छौं । अहिले नेपालमा जेन–जी उमेर समूहको हिस्सा ठूलो छ । यद्यपि, उनीहरूको आवाज राष्ट्रियस्तरका नीति निर्मातासमक्ष पुगेको कमै देखिन्छ । जेन–जी समूहमा एकता नभएकैले यस्तो भएको हो । थोपाथोपा जोडेर समुद्र बन्छ भनेझैं सबै जेन–जी समूहका माग समेटेर युवाको साझा आवाज बनाउनुपर्ने अहिलेको आवश्यकता छ ।
युवाको सामूहिक प्रयत्नबाट राष्ट्रको नीति निर्माणमा समेत प्रभाव पार्न सक्ने शक्ति बनाउन सकिन्छ । त्यसका लागि पनि जेन–जी समूहबीच एकता अति आवश्यक देखिन्छ । सबै जेन–जी समूह एक भएर देशलाई अत्यावश्यक पर्ने मुद्दा अघि सार्ने हो भने कुनै पनि शक्तिले बेवास्ता गर्न सक्दैनन् । अहिलेको अवस्थामा सबै जेन–जी समूहका साझा मुद्दा निम्नअनुसार हुन सक्छन्–
१) प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री
२) प्रवासी नेपालीलाई मतदान गर्ने अधिकार
३) २३ भदौको आन्दोलनमा भएको दमनको जाँचबुझ र त्यसअनुसारको सजाय
४) पुराना नेताहरूको सम्पत्ति छानबिन
जेन–जी समूहबीचको सहमतिमा उल्लेखितभन्दा अन्य मुद्दा पनि थप्न सकिन्छ ।
सबै जेन–जी समूह एक हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आवाज पुर्याउन सकिन्छ । एक भइसकेपछि हाम्रा आवाज विश्वसामु सुनाउने, देखाउने माध्यम थपिन जान्छन् । देशमा भएको राजनीतिक कथा बाहिरी संसारलाई सुनाउन सकिन्छ । अन्तर्राष्ट्रिय रूपमा सल्लाह, सुझाव संकलन गर्ने मौका मिल्छ ।
एकता भन्दैमा मात्र पनि सजिलो नहुन सक्छ । सबैका माग र आवाज फरक हुन सक्छन् । नेतृत्वका विषयमा विवाद आउन सक्ने सम्भावना पनि देखिन सक्छ । हामीलाई पूर्ण भरोसा छ, देश विकासमा टेवा पुर्याउने हेतुले गठन गरिएको जेन–जी समूहमा पदमोह छैन र नेतृत्व गर्ने क्षमता सबैमा भरिभराउ छ ।
जेन–जी समूहको एकताले देशभर युवालाई सामाजिक क्षेत्रमा अग्रसर हुन प्रेरणा दिनेछ । जेन–जी एकता युवाका लागि अभिभावकसरह रहनेछ र सुरक्षा प्रदान गर्नेछ । कुनै पनि युवा समाजमा हुने असंवैधानिक तथा अन्यायप्रति चुप रहने छैनन् र आफ्नो अभिभावकलाई सम्झेर आवाज उठाउन डराउने छैनन् । हामी जेन–जीले जुन एकता २३ र २४ भदौमा सडकमा देखाएका थियौं, त्यही एकता अब राजनीतिक रूपमा देखाउन अत्यन्त जरुरी देखिन्छ ।
नेपाल अब जेन–जीको उत्प्रेरणाबाट नयाँ युगतिर प्रवेश गर्न सक्छ, यदि हामीले हाम्रा आवाजलाई एकत्रित गराउन सक्यौं भने । जेन–जीसँग व्यावसायिक क्षमता, डिजिटल दक्षता, सिर्जनशीलता तथा जग बदल्न सक्ने हिम्मत छ । सरकार र समाजलाई जिम्मेवार र राष्ट्रलाई भविष्यमुखी बनाउने दायित्व हाम्रै काँधमा छ र यस कामका लागि सबै जेन–जी समूहबीच हातेमालो हुनैपर्ने देखिन्छ ।
जेन–जी समूह एक नभएको खण्डमा पुनः पुरानै भ्रष्टाचारीहरू सरकारमा आउन सक्छन् । त्यस्तो स्थितिमा हाम्रा आवाजलाई दबाइनेछ र बिस्तारै उठ्न लागेको देशलाई पुनः लडाइनेछ । त्यसैले सोच्ने समय छ, सोचौं । सबै जेन–जी समूह एक होऔं र देश विकासका लागि जुटौं ।
यो देशका हामी कर्णाधार
देश बनाउने र बचाउने जिम्मा हाम्रो
जति हामी एकजुट हुन्छौं
त्यति हाम्रो नेपाललाई राम्रो ।
