देश बदल्न चाहने हो भने पहिले सोच बदल्नुपर्छ । पहिले मत बदल्नुपर्छ । पहिले आफू बदलिनुपर्छ । भोलिको नेपाल कसैको चर्किएको नारामा होइन, सचेत नागरिकको विवेकमा टेकेर उभिनेछ ।
What you should know
नेपाल अहिले चुनौतीपूर्ण मोडमा उभिएको छ । युवाहरू परिवर्तन चाहिरहेका छन् । मध्य–वयका नागरिक स्थिरताको खोजीमा छन् । पुरानो पुस्ताका मानिस आफ्नो अनुभवमा भरोसा गरिरहेका छन् । तर कुनै राष्ट्र अनुभवले मात्र होइन, जागरुकता र जवाफदेहिताले परिवर्तन हुन्छ । यही सत्य वर्तमान समयले फेरि स्मरण गराएको छ ।
देशले आज असल नेतृत्व र असल प्रणाली छुट्याउन गहिरो सोचको माग गरेको छ । किनकि राष्ट्र कसैले आएर बनाइदिँदैन । हामी स्वयंको निर्णय, मत र आवाजले नै बन्छ ।
आगामी चुनाव नेपाललाई पुरानो सोचमै बाँध्ने कि नयाँ आकांक्षातिर लैजाने भन्ने उत्तरको खोजी हो । त्यसैले चुनावलाई मत दिने प्रक्रिया होइन, देश बचाउने र बनाउने प्रक्रियाका रूपमा लिनुपर्छ । राष्ट्र जागेर उठेका नागरिकको प्रयत्नले बन्ने हो । हामी चुप बस्यौं भने इतिहास दोहोरिन्छ । हामी उठ्यौं भने उज्ज्वल भविष्य लेखिन्छ । त्यसैले सडक मात्रै होइन, मतपेटिकाको कोठालाई पनि विवेकसम्मत् प्रयोग गर्नुपर्छ ।
दशकौंदेखि हामी एउटै घुम्तीमा अड्किएको राष्ट्र हौं— जहाँ आशा र निराशा एउटै छातामुनि बस्छन् । देश सुन्दर छ, तर सपना निरन्तर विदेश पलायन भइरहेका छन् । तैपनि, इतिहासभरि हामीले धेरै पटक राजनीतिक भाषण र लोकप्रिय नारालाई देशप्रतिको जिम्मेवारीभन्दा अगाडि राख्यौं ।
यसैबीच आजको पुस्ताले सडकमा उभिएर कडा स्वरमा भनेको छ, ‘हामी परिवर्तन खोज्दै छौं, व्यवस्थामा सुधार चाहन्छौं ।’ विद्यालयकै पोसाकमा गोली खानुपरेका, अश्रुग्यासमा ढल्नुपरेका युवाहरूको बलिदान नाराका लागि थिएन, सुन्दर भविष्यका लागि थियो । ती बलिदानको सार एउटै छ– पुरानै गल्ती नदोहोरियोस् ।
आजको युवापुस्ता नारा होइन, सत्य बोल्छन् । सपना होइन, प्रश्न सोध्छन् । उनीहरू कुर्सी होइन, नीति खोज्छन् । अनुगमन होइन, उत्तरदायित्व माग्छन् । स्कुलमा भूगोल पढ्दै गरेका बालकहरू राष्ट्रको भूगोलमा विकास र समृद्धि ल्याउने दृढतासहित अघि बढिरहेका छन् । तर देशको राजनीतिक चित्र भने दशकौंदेखि उस्तै छ । उस्तै अनुहार, उस्तै बोली, उस्तै प्रतिबद्धता र उस्तै गल्ती । दल फेरिए, घोषणा फेरिए, चिह्न फेरिए तर नियत र परिणामका रंग उस्तै रहे । पुरानो सोच र पुरानो विधिले नयाँ राष्ट्र बन्छ ? नयाँ भविष्य आउँछ ? यस्तो प्रश्न अवश्य उठ्छ । देश घरजस्तै हो, जग कमजोर भयो भने संरचना बलियो बन्दैन ।
देशप्रेम झन्डा बोक्नु मात्र होइन, सही निर्णय लिन सक्ने परिपक्वता हो । सपना देख्नु मात्र होइन, सपना पूरा गर्न जिम्मेवारी हो, साहस हो । यदि आज हामीले सही बाटो रोज्न सक्यौं भने भोलिको पुस्ताले गर्व गर्नेछ । यदि आज जिम्मेवारीयुक्त नेतृत्व छानिएन भने भोलि गुनासो गर्ने नैतिक अधिकार पनि हामीसँग रहने छैन ।
देश बदल्न चाहने हो भने पहिले सोच बदल्नुपर्छ । पहिले मत बदल्नुपर्छ । पहिले आफू बदलिनुपर्छ । भोलिको नेपाल कसैको चर्किएको नारामा होइन, सचेत नागरिकको विवेकमा टेकेर उभिनेछ ।
