न्यायपालिका एक्लैको प्रयासले मात्र न्यायपालिकाको स्वतन्त्रता सम्भव छैन । सक्षम, सुदृढ र भरोसायोग्य न्यायप्रणालीको स्थापना गर्न न्यायपालिकालाई राज्यको सहयोग चाहिन्छ ।
What you should know
जेन–जी विद्रोहपछि राज्यसंरचनामा सुधारको विषय अहिले बहसको शिखरमा छ । सोही परिप्रेक्ष्यमा राज्य संरचनाभित्रको सबभन्दा निर्णायक अंग तथा संविधान र विधिको शासनको संरक्षक न्यायपालिकामा पनि परिवर्तन आवश्यक छ । प्रस्तुत लेखमा जेन–जी विद्रोहपश्चात् न्याय जगत्मा गरिनुपर्ने सुधारका विविध आयाममाथि विश्लेषण गरिनेछ ।
नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार तथा लोकतान्त्रिक मूल्य र मान्यतालाई जीवन्त राख्न न्यायपालिकाको प्रमुख भूमिका हुन्छ । सैद्धान्तिक रूपमा शक्ति पृथकीकरणको मान्यताबमोजिम न्यायपालिकाले संविधान र कानुनको रोहमा न्यायिक अधिकारको प्रयोगमार्फत लोकतन्त्रको सबलीकरण तथा सुदृढीकरण गर्न योगदान गर्छ । अपितु, न्यायिक अधिकारको प्रयोग निरपेक्ष विषय होइन । न्यायपालिका स्वतन्त्र, सक्षम तथा निष्पक्ष हुनुपर्छ ।
त्यसका साथै न्याय प्रशासनको कार्यावधिगत पक्ष पनि छिटोछरितो, सर्वसुलभ, मितव्ययी, प्रभावकारी तथा जनउत्तरदायी पनि हुनुपर्छ । तर, संवैधानिक मान्यताको विपरीत हाम्रो देशको न्यायालयको हविगत उदेकलाग्दो छ । न्यायपालिकाप्रतिको जनविश्वास गिर्दो छ । यसका लागि कुनै फेहरिस्त पेस गरिराख्नु पर्दैन ।
सम्मानित सर्वोच्च अदालतकै पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको ‘न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचारबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन, २०७८’ ले नै न्यायालयभित्र भ्रष्टाचार संस्थागत भएको तथ्य उजागर गरेको सर्वविदितै छ । प्रतिवेदनले न्यायपालिकामा व्याप्त राजनीतिक प्रभावलाई उजागर गर्दै नीतिगत, कानुनी, संरचनागत तथा कार्यगत तहमा समस्याहरूको चाङ रहेको देखाएको थियो ।
संविधानमा संशोधन
संविधानमा केही गम्भीर त्रुटिपूर्ण व्यवस्थाहरू राखिएका छन्, जसले न्यायपालिकालाई स्वतन्त्र हुन नदिने वैधानिक आधार नै तयार पारेको देखिन्छ । संविधानको धारा १५३ मा रहेको न्याय परिषद्को त्रुटिपूर्ण व्यवस्था समस्याको बीउका रूपमा रहेको छ । न्यायाधीशको नियुक्ति, सरुवा, अनुशासनसम्बन्धी कारबाही, बर्खास्तगी र न्याय प्रशासनसम्बन्धी विषयको सिफारिस गर्न प्रधानन्यायाधीशको अध्यक्षतामा गठित न्याय परिषद्मा बहुमत सदस्यहरू राजनीतिक पृष्ठभूमिका हुने प्रावधान छ, न्यायाधीशहरू अल्पमतमा छन् । जसकारण न्यायाधीश नियुक्तिको सिफारिस गर्दा दलीय भागबन्डा तथा मनोगत आधारमा हुने गरेको छ ।
कतिपय अवस्थामा नातावाद, कृपावाद, संरक्षणवादका आधारमा अक्षम तथा अपरिपक्व न्यायाधीशहरू छनोट भएका छन् । न्याय परिषद्को सम्बन्धमा संविधानमा आवश्यक संशोधन गरेर परिषद्लाई ‘न्यायिक मन’ भएका न्यायाधीशहरूको बाहुल्यता भएको निकायका रूपमा पुनःसंरचना गर्नुपर्छ । राजनीतिक पहुँच तथा आबद्धताका आधारमा होइन, योग्यता र क्षमताका आधारमा न्यायाधीशको नियुक्ति गर्ने पद्धति बसाल्नुपर्छ । यसका साथै, न्यायपालिकालाई राष्ट्रिय विविधता झल्किने गरी समावेशीसमेत बनाउनु पनि उत्तिकै जरुरी छ ।
नेपालको संविधानको धारा २८४ ले प्रधानन्यायाधीश र संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिको सिफारिसका लागि संवैधानिक परिषद्को व्यवस्था गरेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको संवैधानिक परिषद्मा प्रधानन्यायाधीशलाई पदेन सदस्यको हैसियतमा रखिएको छ । उक्त व्यवस्थाका कारण राजनीतिक नियुक्तिहरूमा प्रधानन्यायाधीश पनि भागबन्डाको ‘स्टेकहोल्डर’ भइरहेको अनेक दृष्टान्तहरू सर्वविदितै छन् ।
यस व्यवस्थाले न्यायमूर्तिमा कार्यकारिणी मोह बढाएको छ । यस व्यवस्थालाई सच्याएर प्रधानन्यायाधीशको कार्यपालिकासँगको दूरी बढाउनुपर्छ । सर्वोच्च अदालतका न्यायाधीश नियुक्तिमा हुने संसदीय सुनुवाइसम्बन्धी व्यवस्था पनि हाम्रो संसदीय अभ्यासको मान्यताको विपरीत रहेको छ । राष्ट्रपतीय प्रणालीमा मात्र सान्दर्भिक हुने संसदीय सुनुवाइको प्रणालीमा हाम्रो व्यवस्थामा जबर्जस्ती घुसाउनुले न्यायाधीशहरूप्रति अघोषित विधायिकी नियन्त्रण हुन पुगेको छ । त्यसैले, न्यायधीशहरूलाई कार्यकारिणी प्रभावमा राख्ने दूषित उद्देश्यबाट अभिप्रेरित भई राखिएको उक्त विरोधाभासपूर्ण व्यवस्थालाई पनि खारेज गर्नुपर्छ ।
पछिल्ला अप्रिय घटनाक्रमहरूले न्यायपालिकासँग प्रत्यक्ष रूपमा जोडिएको महान्यायाधिवक्ता पदको नियुक्ति प्रक्रिया र भूमिकाका सम्बन्धमा पनि सुधारको आवश्यकता देखाएको छ । संविधानअनुसार प्रधानमन्त्रीको इच्छाबमोजिम महान्यायाधिवक्ताको नियुक्ति हुन्छ । महान्यायाधिवक्ताले फौजदारी न्याय प्रशासनमा अभियोजनको अन्तिम निर्णय गर्नुका साथै प्रधानमन्त्रीको कानुनी सल्लाहकारको दोहोरो भूमिका निर्वाह गर्नुपर्छ । यसका कारण महान्यायाधिवक्ताको कार्यशैलीमा राजनीतिक आस्थाका प्रभावहरू पटकपटक सतहमा आएका छन् ।
महान्यायाधिवक्ता सविता भण्डारी विवादित बनेका ‘डिम्ब प्रकरण’ त्यसकै निरन्तरता हो । आफ्नो निजी, दलगत तथा अन्य प्रकारको स्वार्थका कारण मुद्दा चलाउने वा नचलाउने भनी विषयगत निर्णय महान्यायाधिवक्ताले गर्ने गरेका छन् । यस अभ्यासलाई निस्तेज गर्न महान्यायाधिवक्तासँगै महाअभियोजनकर्ताको व्यवस्था गरी राजनीतिक र न्यायिक भूमिका दुई फरकफरक संस्थाहरूलाई प्रदत्त गर्नुपर्छ । यसबाट फौजदारी मुद्दालाई राजनीतीकरण गर्न पाउने विद्यमान परम्परालाई अंकुश लगाउन सकिन्छ ।
व्यवहारमा सुधार
संविधानका त्रुटिपूर्ण व्यवस्था मात्र न्यायपालिकाको असफलताको कारक होइन, अदालती व्यवहारका कारण पनि न्यायपालिका बिग्रेको हो । न्यायपालिकामा ढिलासुस्ती तथा अकर्मण्यताका व्याप्त छ । एउटा मुद्दाका कारण जीवनको समयको ठूलो हिस्सा अदालती प्रक्रियामै व्यतित गर्नुपरेको छ । ‘ढिलो न्याय पाउनु, न्याय नपाउनु सरह हो’ भन्ने मान्यतालाई ‘बाइपास’ गरेर शीघ्र न्याय प्राप्त गर्ने न्यायको उपभोक्ताको हकको धज्जी उडाइएको छ । फलतः सेवाग्राहीले हैरानी भोग्नुपरेको छ । अदालत जनताको संस्था बन्न सकेको छैन ।
राज्यको न्यायप्रणाली महँगो भएकाले बहुमत जनसंख्याको न्यायमा पहुँच (एक्सेस टु जस्टिस) हुन सकेको छैन । न्यायको खुलेआम किनबेच हुने भएकोबाट कतिपय गरिब निर्दोषहरू जेल पुगेका छन् भने पैसा र पावरको बलमा अपराधीहरू न्यायपालिकाबाट पुरस्कृत भएका छन् । पैसा तिरेर धनी जेल जानु नपर्ने जस्ता अनुपयुक्त व्यवस्थाहरू अभ्यास गरिएका छन् । त्यसैले अदालतमा सक्षम प्रतिनिधित्व पुग्ने सुनिश्चित गर्नुपर्छ ।
अदालतको शुल्क तथा कानुन व्यवसायीलाई तिर्नुपर्ने शुल्कलाई न्यायको उपभोक्ताको आर्थिक हैसियतमुताबिक बनाइनुपर्छ । गरिब तथा असहायलाई नेपालको संविधानको धारा २०(१०) बमोजिम निःशुल्क कानुनी सहायता उपलब्ध गराउने व्यवस्थालाई पूर्णरूपमा प्रभावकारी ढंगले देशैभर कार्यान्वयनमा ल्याउनुपर्छ । कानुन व्यवसायीको व्यावसायिक संगठन नेपाल बार एसोसिएसनले समेत प्रो–बोनोको अभ्यासलाई प्रोत्साहन गर्नुपर्छ ।
न्यायपालिका एक्लैको प्रयासले मात्र न्यायपालिकाको स्वतन्त्रता सम्भव छैन । सक्षम, सुदृढ र भरोसायोग्य न्यायप्रणालीको स्थापना गर्न न्यायपालिकालाई राज्यको सहयोग चाहिन्छ । त्यसैले राष्ट्रिय बजेटको कम्तीमा एक प्रतिशत न्याय क्षेत्रमा विनियोजन गर्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालले पनि अनुसरण गर्नुपर्छ । न्यायिक जनशक्ति तथा पूर्वाधार पनि पर्याप्त हुनुपर्छ । न्यायपालिकामा कार्यरत न्यायाधीश एवम् कर्मचारीको तलबको सम्बन्धमा ‘जुडिसियल पे कमिसन’ गठन गरी उचित तलब उपलब्ध गराउनुपर्छ । फैसला कार्यान्वयनको चरणमा सक्रियताका साथ सरकारले सहजीकरण गर्नुपर्छ ।
सञ्चारमाध्यमले मिडिया ट्रायलमार्फत न्यायसम्पादनमा प्रभाव पार्ने वर्तमान अभ्यास पनि रोकिनुपर्छ । न्यायपालिकाको प्रशासन उपभोक्तामैत्री बनाइनुपर्छ । अन्त्यमा, जेन–जी विद्रोहका क्रममा अदालतहरू जलाइनु प्रथम दृष्टिमै अपराधजन्य कार्य रहेकोमा विवाद नभए पनि उक्त कार्य अदालतको भूमिकाप्रतिको नैराश्यताको पनि प्रकटीकरण थियो भन्ने अर्थमा बुझेर न्यायपालिकाको पुनःसंरचना तथा सुदृढीकरण गर्नेतर्फ अर्थपूर्ण प्रयास हुनुपर्छ ।
