जेन-जीको हातमा छ देशको भविष्य

नेपाल परिवर्तन चाहन्छ । जेन–जी परिवर्तन गर्न सक्षम छ । अब केवल कार्यशैलीलाई उनीहरूले कसरी निर्धारण गर्छन्, त्यसैबाट नेपालको अर्को दशकको इतिहास तय गर्नेछ ।

मंसिर ५, २०८२

विक्रम धामी

The future of the country is in the hands of Gen-G.

What you should know

नेपाल अहिले तीव्र रूपान्तरणको मोडमा उभिएको छ । एकातिर पुराना राजनीतिक संस्कार छ । अर्कोतिर, उदाउँदै गरेको डिजिटल पुस्ता छ । दुवैका बीचमा देशको सामाजिक र आर्थिक यथार्थ छ । २३ भदौमा देशभर देखिएको आन्दोलन र २४ भदौमा देखिएको विध्वंस केवल दुई दिनका घटना मात्र थिएनन् ।

यी घटनाले नेपालको राजनीतिक मानसिकताको अन्तस्करणमा रहेका असन्तोष, आकांक्षा र अनिश्चिततालाई एकैसाथ सतहमा ल्याइदिएका थिए । विशेषतः जेन–जीको भूमिका, आक्रोश, आकांक्षालगायतका पक्षलाई बुझ्नु अहिले अनिवार्य बनेको छ ।

जेन–जीको राजनीतिक मनोविज्ञान

जेन–जीको चेतना डिजिटल गतिमा चल्छ । उनीहरूले सूचना छिटो पाउँछन्, तत्काल मूल्यांकन गर्छन् र यथास्थितिलाई प्रश्न गर्छन् । यो प्रवृत्ति अघिल्ला पुस्ताभन्दा धेरै तीक्ष्ण हुन्छ । उनीहरू भाषणभन्दा नतिजालाई प्राथमिकता दिन्छन् । परम्परावादी आश्वासनभन्दा संरचनागत सुधारको खोजी गर्छन् । दलगत निष्ठाभन्दा करिअर, अवसर, जीवनस्तर र पारदर्शितामा आधारित मूल्य प्रणाली बनाउँछन् ।

जेन–जीको राजनीतिक धारणालाई छोटा भिडियो क्लिप, रिल अथवा अल्गोरिदमले देखाएको ट्रेन्डले पनि धेरै प्रभावित गर्छ । यही कारण जेन–जी शक्तिशाली पनि छ, किनकि उनीहरूले आफ्नो धारणा छिट्टै बनाउँछन् । तर समान रूपमा जोखिमयुक्त पनि छ । किनकि उनीहरू कुनै विषयलाई गहिरो अध्ययनभन्दा पनि भावनात्मक विस्फोटसँग जोड्छन् ।

अमेरिकामा ‘बीएलएम’ आन्दोलन होस् अथवा चिली, फ्रान्स, हङकङ, दक्षिण कोरिया वा श्रीलंकाका युवा आन्दोलनहरू, त्यहाँ यही विशेषता देखिन्छन् । छिटो उठ्ने ऊर्जा, छिटो नै तातिने आक्रोश र दीर्घकालीन रणनीतिभन्दा तत्कालिक प्रतिक्रियाको प्रभाव । नेपाल पनि यसै चक्रको बाहिर छैन ।

सामाजिक सञ्जालको राजनीतिक प्रभाव

नेपालको राजनीतिक विमर्श अहिले सामाजिक सञ्जालमा नै केन्द्रित छ । धेरै युवाका लागि टिकटक, युट्युब, इन्स्टाग्राम र फेसबुक नै राजनीतिक कक्षा हो भन्दा फरक नपर्ला । यसले राजनीतिक सचेतनालाई छिटो फैलाउँछ । जस्तै, भ्रष्टाचारको विरोध, गलत नीतिको आलोचना, जनताको अधिकारबारे जागरण । तर यसकै अर्को पाटो अत्यन्त संवेदनशील छ । जस्तै, अर्धसत्य, काटिएको क्लिपबाट प्रभावित ।

फ्रान्समा ‘यल्लो भेस्ट’ आन्दोलनमा केही हप्तासम्म न्यायका लागि उत्रिएकाहरूको बाहुल्य थियो । तर सामाजिक सञ्जालमा फैलिएको केही उत्तेजक सामग्रीपछि हिंसा बढ्यो र जनमत उल्टियो । अमेरिका, ब्राजिल, बेलायत, भारत सबै ठाउँमा सञ्जालले युवाको राजनीतिक दिशा निर्धारण गरिरहेको छ । नेपालमा पनि यही प्रभाव देखापरिरहेको छ ।

८ सेप्टेम्बर

८ सेप्टेम्बरमा देशभर देखिएको आक्रोश केवल कुनै दलविरुद्धको प्रतिक्रिया होइन । यो युवाहरूमा थुप्रिएको निराशा, असन्तोष, बेरोजगारी, भ्रष्टाचार, अवसरको अभाव र राज्यप्रतिको गहिरो अविश्वासको अभिव्यक्ति थियो । ती युवाहरू सडकमा उत्रनुको कारण केवल ‘कसैले बोलाए’ भन्ने थिएन, यो लामो समयदेखि थामिन नसकेको सामाजिक ऊर्जा थियो ।

पुराना पुस्ताले देखेका आन्दोलनहरू निश्चित नेतृत्वको परिणाम हुन्थे, तर यो पुस्ता सामाजिक सञ्जालका अल्गोरिदम, सामूहिक आक्रोश र साझा निराशाबाट प्रेरित थियो । ८ सेप्टेम्बरले देशलाई बुझाइदियो– अब युवा अब मौन बस्दैनन् । उनीहरूको आवाज अब संसद्का माइक्रोफोनले होइन, मोबाइलका लेन्सले उठाउँछ । उनीहरूको प्रश्न अब दलगत निष्ठाले होइन, व्यक्तिगत भविष्यले निर्देशित गर्छ । यसले एउटा नयाँ राजनीतिक युग सुरु भएको संकेत दियो, जहाँ ‘राजनीति’ लाई अब नेताले होइन, जनताले परिभाषित गर्छन् ।

९ सेप्टेम्बर

९ सेप्टेम्बरमा देशका विभिन्न स्थानहरूमा देखिएको विध्वंस, आगजनी, निजी व्यवसायमा भएको क्षति, सार्वजनिक संरचनामा आक्रमण र अराजक दृश्यहरूले आन्दोलनको नैतिक पक्षमा ठूलो प्रश्न उब्जायो । जसरी राज्यको सुरक्षा निकायहरूले ८ सेप्टेम्बरमा गरेको अत्यधिक बल प्रयोगले नागरिकलाई आक्रोशित बनायो, त्यसैगरी ९ सेप्टेम्बरमा केही समूहहरूले देखाएको अनियन्त्रित रिसले आन्दोलनको नैतिक उचाइ कमजोर बनाइदियो ।

दर्जनौंको मृत्यु र सयौं घाइते भएको दृश्य कुनै पनि लोकतान्त्रिक समाजले बिर्सन सक्दैन । त्यसपछि देखिएको अनिश्चितता, आरोप प्रत्यारोप, भ्रम फैलाउने सामग्री र सामाजिक विभाजनले एउटा कुरा स्पष्ट गर्छ– क्रान्ति कहिल्यै सफा हुँदैन । तर जिम्मेवारी भने अवश्य निभाउनुपर्छ ।

यदि आन्दोलन ‘हाम्रो’ हो भने, त्यसबाट उठेको विध्वंसको छानबिन, सत्य र निष्कर्ष पनि ‘हाम्रो’ नै स्वीकार हुनुपर्छ । यही नागरिक परिपक्वता विश्वका सबै सफल जनविद्रोहहरूको मूल सूत्र हो ।

नेपालमा भ्रष्टाचारको जड

नेपालमा भ्रष्टाचार केवल नेताको समस्या होइन । यो बृहत् संरचनामा फैलिएको छ । सरकार फेरिन्छन्, मन्त्री बदलिन्छन्, नारा नयाँ हुन्छ, तर राज्यका फाइलहरू चलाउने मानसिकता उस्तै रहन्छ । यही कारण सुधारका नारा पटकपटक उठे पनि संस्थागत सुधार कहिल्यै स्थायी हुन सकेको छैन ।

दक्षिण कोरियामा ९० को दशकमा भएका व्यापक सुधारहरू युवाको आक्रोशका कारण सुरु भएको थियो । तर दीर्घकालीन संरचनागत परिवर्तन युवा ऊर्जा होइन, ब्युरोक्रेसी सुधारकै कारण सम्भव भयो । सिंगापुरमा भ्रष्टाचार नियन्त्रण सम्भव हुनुको कारण नेताको इच्छा मात्र होइन, प्रशासनिक सुधार हो । हङकङमा शासनको आधार ‘स्वच्छ प्रशासन’ थियो । यी विश्वका उदाहरणहरूले देखाउँछ, सुधारको घोषणा नेतृत्वले गर्छ, तर कार्यान्वयन गर्ने जिम्मेवारी राज्य–संरचनाको हो । नेपालमा पनि वास्तविक परिवर्तन त्यतिबेलामात्र सम्भव हुन सक्छ, जतिबेला नयाँ पुस्ताले ब्युरोक्रेटिक भ्रष्टाचारविरुद्ध दीर्घकालीन आन्दोलन चलाउँछन्– केवल सडकमा होइन, नीति, अध्ययन, संवाद र निर्वाचनको माध्यमबाट ।

पुराना दल र नयाँ पुस्ता

जेन–जीका धेरै युवाले पुराना दलहरूलाई अविश्वसनीय ठान्छन् । दशकौंदेखि उस्तै नेतृत्व, उस्तै भाषा, उस्तै वाचा । यी सबैले वैकल्पिक राजनीतिक संस्कृतिको माग बढाएको छ । तर पुराना दलहरू हटाउनैपर्छ, नयाँ पुस्तालाई सम्पूर्ण रूपमा सडकमा उतार्नुपर्छ भन्ने धारणा पनि पूर्णतः स्वीकार्य भने नहुन सक्छ । लोकतन्त्रमा सुधारिएको पुरानो नेतृत्व र उदाउँदै गरेको नयाँ पुस्ताले सहअस्तित्वमा काम गर्न सक्छन् ।

जर्मनीमा पुराना दलहरूले नयाँ पुस्तालाई स्थान दिए । त्यसैले राजनीतिक स्थायित्व सम्भव भयो । फ्रान्समा इमानुयल म्याक्रोंजस्ता नयाँ नेतृत्वले पुरानालाई चुनौती दिए । तर तिनै पार्टीका सुधारवादी नेताहरूले सहकार्य गरे । दक्षिण कोरियामा पुराना र नयाँबीचको टकरावले नै भ्रष्टाचारविरुद्धको कठोर सुधार सम्भव गराएको इतिहास छ । यी सबै उदाहरणले देखाउँछन्– पुराना दल सुध्रेर आउँछन् भने स्थान दिन सकिन्छ ।

चुनावी व्यवहार र भुइँ–राजनीतिक यथार्थ

अहिले नेपालमा जेन–जीको आवाज ठूलो छ । तर निर्वाचनको परिणाम कहिल्यै सामाजिक सञ्जालमा देखिए जस्तो हुँदैन । किनकि नेपालका धेरै मतदाताले ग्रामीण समाजशास्त्र, परिवारको राजनीतिक परम्परा, स्थानीय शक्ति–सन्तुलन र सामाजिक सम्बन्धमा आधारित भएर निर्णय गर्छन् । यही कारण टिकटकले बनाएको लोकप्रियता चुनावी परिणाममा सधैं प्रतिबिम्बित नहुन सक्छ । अमेरिका, भारत, ब्राजिल जस्ता सबै देशमा डिजिटल लोकप्रियता र भुइँ–राजनीतिक यथार्थबीच अन्तर देखिएको छ । नेपालमा त यो अन्तर अझ गहिरो छ ।

युवाहरू एकताबद्ध छैनन् । तिनै युवाहरूको ऊर्जा कहिलेकाहीँ विपरीत दिशामा जाने डर हुन्छ । यही विभाजन पुराना दलहरूको शक्तिको स्रोत बनेको छ ।

नेपाल अब नयाँ दिशातर्फ

नेपाल अहिले निर्णायक चरणमा प्रवेश गरेको छ । ८ सेप्टेम्बरले युवाको ऊर्जा देखायो, ९ सेप्टेम्बरले जिम्मेवारीको कडा पाठ सिकायो । परिवर्तनको चाहना विशाल छ, निराशा गहिरो छ, अवसरको खोजी तीव्र छ । अब निर्णायक प्रश्न छ, जेन–जी एक ढिक्का हुन्छन् कि छुट्टिन्छन् ? यदि उनीहरू एउटै उद्देश्यमा उभिए, दीर्घकालीन रणनीति बनाए, नीति, नेतृत्व तय गरे भने नेपालले नयाँ राजनीतिक सभ्यता निर्माण गर्नेछ । यदि उनीहरूले भावनामा मात्र होइन, दृष्टि र धैर्यमा आधारित राजनीति सिके भने देशको भविष्य कुनै दलको हातमा होइन, यही पुस्ताको हातमा सुरक्षित हुनेछ ।

नेपाल परिवर्तन चाहन्छ । जेन–जी परिवर्तन गर्न सक्षम छ । अब केवल कार्यशैलीलाई उनीहरूले कसरी निर्धारण गर्छन्, त्यसैबाट नेपालको अर्को दशकको इतिहास तय गर्नेछ ।

विक्रम धामी धामीले जेन-जीको प्रतिनिधित्व गर्छन्।

Link copied successfully