सामाजिक ‘डच डिजिज’

विश्वविद्यालयहरू केवल पढ्ने ठाउँ होइनन् । ती समाजका अन्तर्मन हुन् । देश संकटमा हुँदा, राजनीति दिशाहीन हुँदा र जनता भ्रममा परेका बेला विश्वविद्यालयले नै बाटो देखाउन सक्छन् । तर जब विश्वविद्यालय मौन रहन्छन्, देश पनि दिशाहीन हुन्छ ।

मंसिर ३, २०८२

विमर्श दाहाल

Social 'Dutch Disease'

What you should know

ग्रिक विद्वान् हेराक्लिटसको एउटा भनाइ छ– ‘यु कान्ट स्टेप इन्टु द सेम रिभर ट्वाइस ।’ अर्थात्, ‘तिमी एउटै नदीमा दुई पटक पस्न सक्दैनौ ।’ तर, हामीले भने बाँध लगाएरै भए पनि एउटै नदीमा, उही पानीमा पटक–पटक पस्ने दुस्साहस गरिरह्यौं । समयको आवश्यकताले ल्याएका बहावहरूलाई बेवास्ता गरिरह्यौं । कुनै दिन बाँध फुट्न सक्छ भनेर सोच्ने फुर्सदै पाएनौं । एक दिन बाँध फुट्यो ।

नदीले आफ्नो बाटो आफैं बनायो, पहिलेको भन्दा फरक र फराकिलो । नदीले आफ्नो बाटो बनाउँदै गर्दा बाटोमा पर्ने कोही बाँकी रहेनन् । सुरुमा त बाँधका अवशेष नै रहेनन्, काँडा र वनमाराका झ्याङहरू रहेनन्, बगरका बस्तीहरू रहेनन्, माझीका दुवाली पनि रहेनन् र हुँदाहुँदा सन्तका कुटीहरू पनि रहेनन् । यी सबै कुराहरू नरहनुका बीच केही गीतहरू भने बाँकी रहे । नदीको वेगमा आशा र ऊर्जाका गर्जनहरू प्रस्टै सुनिन्थे र तलबेसीमा पुगेर पनि नदी निरन्तर सुसाइरहेथ्यो– 

‘यु कान्ट स्टेप इन्टु द सेम रिभर ट्वाइस... ।’

अर्थशास्त्रमा एउटा पदावली छ– डच डिजिज । सन् १९७० ताका नेदरल्यान्डले आफ्नो देशमा ठूलो मात्राको प्राकृतिक ग्यासको भण्डारण फेला पार्‍यो । यसले नेदरल्यान्डलाई धनी त बनायो, साथसाथै त्यहाँको मुद्रा ‘डच गिल्डर’ को विनिमय दर बलियो भयो । बलियो मुद्राका कारण नेदरल्यान्डका उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा महँगो हुन पुगे । देश मूलतः ग्यास आम्दानीमै निर्भर हुन थाल्यो र अन्य क्षेत्रहरू कमजोर हुन थाले । यसले नेदरल्यान्डको अर्थतन्त्रमा उच्च महँगी तथा शिथिलता देखायो । र, अर्थतन्त्र बिरामी पर्न थाल्यो । यही विरोधाभासलाई ‘डच डिजिज’ को नामले चिन्न थालियो ।

‘डच डिजिज’ अर्थशास्त्रमा मात्र नभई समाजशास्त्रमा पनि उत्तिकै सान्दर्भिक पदावली बन्न सक्छ । अर्थतन्त्रका विभिन्न पाटाजस्तै समाजका पनि विभिन्न पाटा र आयाम हुन्छन् । देशको सम्पूर्ण शक्ति, स्रोत, ध्यान, ऊर्जा एकै पाटोमा मात्र पर्दा अरू पाटोको अवसान निश्चितप्रायः हुन्छ । नेपालको सन्दर्भमा गैरराजनीतिक शक्ति केन्द्रहरू उत्ति छैनन् । जसरी समाजका करिबकरिब सम्पूर्ण संस्थाहरू राजनीतीकरण भए वा भनौं, समाजका संस्थाहरूमा शक्तिको विविधीकरण भएन, त्यसपछि विद्रोहका अवयवहरू स्वाभाविक तवरले विभिन्न ठाउँहरूबाट उम्रिए । देशले असल र गैरराजनीतिक संस्थाहरूको आवश्यकता आज जसरी सायदै पहिले कहिल्यै खोजेको थियो ।

उदाहरणका लागि, हाम्रै विश्वविद्यालय हेरौं । विश्वविद्यालयहरू ज्ञान, विचार र विवेकका मन्दिर हुनुपर्ने हो । तर आज ती मन्दिरहरू मौन छन् । विद्यालय पोसाकमै सडकमा ओर्लिएका बालकहरू मारिँदा पनि विश्वविद्यालयहरू मौन छन् । परिणामतः शिक्षा र चेतनाको अर्थमाथि प्रश्न उठेको छ । कुनै समयमा यही विश्वविद्यालयहरूबाट नेतृत्व जन्मिन्थ्यो, आन्दोलनका बीज उम्रिन्थे र देशले नयाँ दिशा पाउँथ्यो ।

२०३६ सालको विद्यार्थी आन्दोलनले जनमत संग्रहसम्मको बाटो खोल्यो, २०४६ र २०६२/६३ का जनआन्दोलनहरूमा पनि विद्यार्थीहरू अग्रपंक्तिमा थिए । तर आज ती संस्थाहरू विचारको प्रयोगशाला होइनन्, दलहरूको अखडा बनेका छन् । ज्ञान उत्पादन गर्ने ठेगानाहरू पार्टीको सिफारिसमा प्रशासन चलाउने केन्द्र बनेपछि स्वतन्त्र विचारहरू बिस्थापित भएका छन् ।

आफ्नै समाजमा भएका यत्तिका क्रान्ति र विद्रोहलाई नजरअन्दाज गरेर अब पनि समयसापेक्ष नेतृत्व निर्माणमा नलाग्ने हो भने हाइस्कुल र विश्वविद्यालयबीचको अन्तर्य प्रस्ट हुँदैन । र, आउँदो पुस्ताहरूले नेतृत्वविहीन र अन्योलग्रस्त विद्रोहहरू गरिरहनेछन्, निरन्तर । तर विश्वका केही विश्वविद्यालयहरू भने समयले परिवर्तन खोजिरहेका बेला मौन रहिरहन सकेनन् ।

सन् १९७१ को मुक्ति आन्दोलनमा ढाका विश्वविद्यालय स्वतन्त्रताको केन्द्र बनेको थियो । सेनाले विश्वविद्यालयमा आक्रमण गर्दा धेरै विद्यार्थी र शिक्षक मारिएका पनि थिए । त्यसबखत प्राध्यापकहरूका शब्द र विद्यार्थीहरूका स्वर देशको आवाज बनेका थिए । जब राज्य मौन र निरंकुश रहँदा पनि विश्वविद्यालयले बोल्न सक्छ, तब ज्ञानको घर नै न्यायको आवाज बन्न पुग्छ ।

त्यसैगरी सन् १९७५ को आपत्कालमा, भारतको दिल्ली विश्वविद्यालय स्वतन्त्रता र अभिव्यक्तिको आवाज बनेको थियो । इन्दिरा गान्धीले आपत्काल घोषणा गर्दा प्रेस स्वतन्त्रता र नागरिक अधिकारहरू खोसिएका थिए । त्यस समयमा दिल्ली विश्वविद्यालयका विद्यार्थीहरूले सडकमा उत्रिएर लोकतन्त्रको पक्षमा आन्दोलन गरे ।

त्यही विद्यार्थी आन्दोलनबाट अरुण जेट्लीजस्ता नेता उदाए, जसले पछि राष्ट्रिय राजनीति र नीतिनिर्माणमा ठूलो भूमिका खेले । विश्वविद्यालयले कहिलेकाहीं राजनीतिक मात्र होइन, लोकतान्त्रिक चेतनाका नायकहरू पनि जन्माउँछ । नेपालकै सन्दर्भमा, त्रिभुवन विश्वविद्यालय कुनै बेला विचारको केन्द्र थियो ।

देशले पढेको पहिलो पुस्ता त्यहींबाट निस्कियो । तर समयसँगै विश्वविद्यालय विचार होइन, विचारभन्दा बढी राजनीतिक वाद र उपवादका उपकरण बने । र, त्यो नै ‘सामाजिक डच डिजिज’ को एक रूप हो– जब शक्ति, स्रोत र चेतना सबै एकै दिशामा केन्द्रित हुन्छन्, तब समाजका अरू अंगहरू गल्न थाल्छन् ।

तर संसारका धेरै विश्वविद्यालयहरूले यसको उपचार देखाएका छन् । हिरोसिमा र नागासाकीमा परमाणु बमको हमलापछि जापानका विश्वविद्यालयहरू देशको वैज्ञानिक र नैतिक पुनर्निर्माण गर्ने केन्द्र बने । टोकियो विश्वविद्यालयका शिक्षाविद्हरूले शान्ति, विज्ञान र सामाजिक पुनर्जागरणको नारा दिए । विश्वविद्यालयहरूले नयाँ पाठ्यक्रम, अनुसन्धान र नीतिहरूमार्फत युद्धपछिको जापानको आत्मा पुनर्जागृत गरे । जब देश भौतिक रूपमा नष्ट भयो, विश्वविद्यालयहरूले त्यसलाई बौद्धिक रूपमा पुनर्जीवित गरे ।

सन् १९३० को दशकताका संयुक्त राज्य अमेरिकामा पनि महामन्दीको समयमा विश्वविद्यालयका अर्थशास्त्रीहरूले सरकारलाई नीतिगत सल्लाह दिए । हार्बर्ड र येलका प्रोफेसरहरूले आर्थिक स्थायित्वका लागि बैंक नियमन र वित्तीय पुनःसंरचनासम्बन्धी सुझाव दिए । विश्वविद्यालयहरूले नयाँ आर्थिक सिद्धान्तहरू जस्तै– केन्जिएन अर्थशास्त्रलाई नीति निर्माणमा लागू गर्न सहयोग गरे । यसरी, जब देश आर्थिक रूपमा थिलथिलो परेको थियो, त्यतिबेला विश्वविद्यालयहरू अध्ययनका केन्द्र मात्र बनेनन्– तिनीहरू राष्ट्रको नीति र पुनर्जागरणका लागि ‘थिंक ट्यांक’ बने ।

यी उदाहरणहरूले एउटा साझा कुरा भन्छन्– विश्वविद्यालयहरू केवल पढ्ने ठाउँ होइनन् । ती समाजका अन्तर्मन हुन् । देश संकटमा हुँदा, राजनीति दिशाहीन हुँदा र जनता भ्रममा परेका बेला विश्वविद्यालयले नै बाटो देखाउन सक्छन् । तर जब विश्वविद्यालय मौन रहन्छन्, देश पनि दिशाहीन हुन्छ ।

यसरी विचारको स्रोत सुक्दै जाँदा, विद्रोहहरू असंयमित र नेतृत्वविहीन बन्छन्– जसरी बाँध फुट्दा नदीले बाटो त बनाउँछ, तर दिशा हराउँछ । कुरो एउटै आयामको मात्र होइन, एकै संस्थाको मात्र पनि होइन, यसमा हाम्रा सम्पूर्ण तह र तप्काको सामूहिक भूमिका छ । मेरो, तपाईंको र हाम्रो हात छ । हिस्सा थोरै वा धेरैको न हो, समयले यसको लेखाजोखा पक्कै गर्ला ।

जेन-जी अभिमत

विमर्श दाहालले जेन-जीको प्रतिनिधित्व गर्छन्।

Link copied successfully