१६५ निर्वाचन क्षेत्रलाई नै समावेशी बनाउने उपाय

१६५ निर्वाचन क्षेत्रमध्ये ८५ वटा निर्वाचन क्षेत्र खुला र ८० वटा आरक्षित गर्न सकिन्छ । यसो गर्दा समानुपातिक समावेशिता पनि सुनिश्चित हुने र समावेशी समूहका सशक्त आवाज प्रत्यक्षबाटै निर्वाचित भई संसद्‌मा पुग्न सक्छन्।

कार्तिक ३०, २०८२

माजिद अन्सारी

165 Ways to make constituencies inclusive

सेप्टेम्बरको सुरुवातदेखि नै सामाजिक सञ्जालमा ‘नेपो बेबी ट्रेन्ड’ चलिरहेको थियो । तर सो ‘ट्रेन्ड’ सुरु भएलगत्तै सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो । परिणामतः जेन–जी उमेर समूहका युवाहरूलाई टिकटकमार्फत सुशासनको मागसहित विशाल जनआन्दोलन खडा गर्ने एउटा संयोग सिर्जना भयो ।

८ र ९ सेप्टेम्बर अर्थात् २३ र २४ भदौको जेन–जी विद्रोहपश्चात् नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी हुने गरी शासकीय स्वरूपको मागमा जोडदार समर्थन मिलेको देखिन्छ । तर म स्वयं नै २३ र २४ भदौकै आन्दोलनमा सरिक भएको थिएँ । २३ भदौका लागि आह्वान गरिएको आन्दोलनका बारेमा टिकटकमार्फत उठेका एजेन्डालाई पनि सुरुवातदेखि नै नजिकबाट हेरिरहेको थिएँ ।

मेरो बुझाइमा प्रत्यक्ष निर्वाचित कार्यकारीसम्बन्धी मुद्दा पहिलो पटक ७ सेप्टेम्बर (२२ भदौ) मा हाल जेन–जी अगुवाका रूपमा देखिएका मिराज ढुंगानालगायतले टिकटकमा ‘गाइज अबको हाम्रो आन्दोलन टु एजेन्डा आन्दोलन हुनेछ, पहिलो भ्रष्टाचार अन्त्य र दोस्रो प्रत्यक्ष निर्वाचित कार्यकारी’ भन्दै उठाएका थिए ।

२३ भदौमा म स्वयं माइतीघर मण्डलदेखि एभरेस्ट होटलसम्म पुग्दा प्रत्यक्ष निर्वाचित कार्यकारीबारे नारा वा पोस्टर देखिएको थिएन । २३ गते राज्यद्वारा गरिएको नरसंहार र २४ गते प्रतिकारका क्रममा भएको स्वाभाविक घुसपैठले तत्कालीन सत्ता ढलेपछि विभिन्न समूह र व्यक्तिहरूद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारीको माग उठेको देखिन्छ ।

नेपालको समग्र विकासमा अवरोध गर्ने मूल कारक नै वर्तमान शासकीय स्वरूपभित्र रहेको निर्वाचन प्रणाली हो भन्ने आम बुझाइ स्वाभाविक देखिन्छ । त्यसैले अहिलेकै संसदीय व्यवस्थाभित्र स्थिरताका लागि सुधारको प्रयास गर्नुपर्छ र प्रत्यक्ष निर्वाचित कार्यकारीसम्बन्धी विकल्पलाई संविधान संशोधनमार्फत सम्बोधन गर्नुपर्छ । तर नेपालको संविधानको धारा २७४ बमोजिम संविधान संशोधन गर्न संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभा दुईवटै सदनको दुई तिहाइ बहुमत चाहिन्छ । तर हाल प्रतिनिधिसभा विघटन भएकाले निर्वाचनपश्चात् प्रतिनिधिसभा आएपश्चात् मात्रै संविधान संशोधन गर्न सकिन्छ ।

संसदीय व्यवस्थाकै शासकीय स्वरूपमा पनि स्थिरता पाउने गरी सुधार गर्न पनि सकिन्छ । त्यसका लागि अहिलेको निर्वाचन प्रणालीलाई बुझ्न जरुरी छ । संविधानको धारा ८४ मा पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत १६५ वटा निर्वाचन क्षेत्रबाट आउने १६५ सदस्य र बन्दसूचीमा आधारित समानुपातिक निर्वाचन प्रणालीबाट आउने ११० सदस्य गरी कुल २७५ सदस्यीय प्रतिनिधिसभा रहने व्यवस्था छ । संविधानको धारा ७६ बमोजिम त्यस्तो प्रतिनिधिसभामा बहुमत ल्याउने सदस्य प्रधानमन्त्री हुने र निजकै अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने व्यवस्था छ ।

समानुपातिक निर्वाचन प्रणाली नै अहिलेको अस्थिरताको कारक रहेको धेरैको बुझाइ देखिन्छ । साथै यस्तो प्रणालीमार्फत कांग्रेस, एमाले र माओवादी लगायतका पार्टीका शीर्ष नेताले चाहेको र चिताएको बफादार व्यक्ति नै प्रतिनिधिसभामा पुग्ने गरेकाले समावेशिताको आवाज सदनमा उठेको देखिँदैन । समानुपातिक समावेशी समूहको वितरण २७५ नभई ११० भित्रै सीमित गरिएकाले समेत समावेशिताको मर्मलाई अहिलेको समानुपातिक निर्वाचन प्रणालीले सम्बोधन गर्न सकेको देखिँदैन । तसर्थ बन्दसूचीमा आधारित समानुपातिक निर्वाचन प्रणालीबारे पुनर्विचार गर्नुपर्ने देखिन्छ ।

तर समानुपातिक समावेशिताको मुद्दालाई पूरै नकार्ने प्रयास भएमा समावेशिताको मुद्दाहरू थप बल्झिने र विद्रोह भई जातीय, वर्गीय, लैंगिक तथा क्षेत्रीय जटिलताहरूसमेत बढ्न सक्ने देखिन्छ ।

तसर्थ, नेपालको संविधानको धारा ८४ मा संशोधन गर्दा समानुपातिक समावेशितालाई सुनिश्चित गर्नु पनि आवश्यक देखिन्छ । यसका लागि २७५ प्रतिनिधिसभा सदस्यमध्ये ११० निर्वाचित हुने बन्दसूचीमा आधारित समानुपातिकतर्फबाट निर्वाचित हुने व्यवस्थालाई हटाएर आरक्षित सिट (रिजर्भ कोटा) तर्फ जान सकिन्छ । यसो गर्नका लागि संविधानसभाद्वारा नै व्यवस्थित भइसकेको पहिलो हुने निर्वाचित हुने प्रत्यक्षतर्फको १६५ लाई नै कुल सदस्य कायम गरिनु उपयुक्त हुन्छ ।

यसो गर्दा निर्वाचन क्षेत्र पुनःसंरचनाको विवादसमेत उठ्दैन । १६५ निर्वाचन क्षेत्रमध्ये ८५ वटा निर्वाचन क्षेत्र खुला र ८० वटा आरक्षित गर्न सकिन्छ । ८० वटा आरक्षित क्षेत्रलाई प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा २८ र अनुसूची १ मा रहेका खस–आर्य, महिला, आदिवासी/जनजाति, दलित, मधेशी, थारू, मुस्लिम, अल्पसंख्यक, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपांगता भएका व्यक्ति, विपन्नसमेतका लागि निर्धारण गर्नुपर्ने हुन्छ ।

उदाहरणका लागि कुनै निर्वाचन क्षेत्र खस–आर्यका लागि आरक्षित भएको खण्डमा उक्त निर्वाचन क्षेत्रमा केवल खस–आर्य समुदायका उम्मेदवारहरूको बीचमा मात्र प्रतिस्पर्धा हुने व्यवस्था गर्नुपर्ने हुन्छ । जस्तै, हाल प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी ऐन, २०७४ को अनुसूची १ मा खस–आर्यका लागि ३१.२ प्रतिशत आरक्षण कायम छ, त्यस अर्थमा ८० वटा आरक्षित क्षेत्रमध्येको सोहीबमोजिमको अनुपातको सिट खस–आर्यका लागि आरक्षित गर्न सकिन्छ । दलित समुदाय, मधेशी, थारू, मुस्लिम लगायतका लागि पनि जनसंख्याको अनुपातमा सोहीबमोजिमको सिट आरक्षित गर्नुपर्छ । तर यसरी आरक्षित क्षेत्रलाई चक्रीय प्रणालीमा निर्धारण गर्न सकिन्छ ।

चक्रीय प्रणालीमा आधारित आरक्षित क्षेत्र भनेका पनि बुझौं । उदाहरणका लागि, काठमाडौं जिल्लामा १० वटा निर्वाचन क्षेत्र कायम रहेकोमा पहिलो निर्वाचनमा काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १, ३, ५, ७ र ९ लाई आरक्षित गर्न सकिन्छ । त्यसपछिको अर्को निर्वाचनमा यी आरक्षित क्षेत्रहरू खुला हुनेछन् । पहिलो निर्वाचनमा जुन क्षेत्रहरू खुल्ला थिए, त्यसलाई आरक्षित गर्न सकिन्छ । खासमा आरक्षित कोटा यसैलाई भनिन्छ । हाम्रो छिमेकी मुलुक भारतमा यही आरक्षित कोटा दशकौंदेखि चक्रीय प्रणालीमा अनुसूचित जाति (दलित समुदाय) र अनुसूचित जनजाति (आदिवासी) का लागि कायम रहिआएको छ । यसलाई सफल उदाहरणका रूपमा लिन सकिन्छ ।

यसो गर्दा अस्थिरताको कारकका रूपमा रहेको बन्दसूचीमा आधारित समानुपातिक निर्वाचन प्रणाली (जसले समावेशी समूहको वास्तविक प्रतिनिधित्व र आवाज सम्बोधन गर्न सकेको देखिँदैन) लाई हटाएर आरक्षित कोटा कायम गरेमा अस्थिरताको कारक पनि हटाउन सकिने, समानुपातिक समावेशिता पनि सुनिश्चित गर्न सहज हुने र समावेशी समूहका सशक्त आवाजहरू प्रत्यक्ष रूपमा निर्वाचित भई संसद्मा पुग्न सक्ने देखिन्छ ।

साथै १६५ निर्वाचन क्षेत्रलाई नै जस्ताको त्यस्तै कायम राखेमा निर्वाचन क्षेत्र पुनःसंरचनाको विवादसमेत नउठ्ने, २७५ मध्ये बन्दसूचीमा आधारित समानुपातिकतर्फको ११० सदस्य हटाएर १६५ कायम गर्दा खर्चसमेत घट्ने देखिन्छ । प्रतिनिधिसभाको जस्तै अभ्यास प्रदेशसभामा पनि अपनाउन सकिन्छ । जसले गर्दा प्रदेश संरचनामा समेत खर्च घट्ने र स्थिरता कायम गर्न सकिने देखिन्छ ।

यो सबै सम्भावनामाथि थप छलफल हुन जरुरी छ । प्रत्यक्ष निर्वाचित कार्यकारी नेपाल जस्तो संवेदनशील भू–अवस्थिति र विविधता भएको मुलुकका लागि उपयुक्त हुने वा नहुने भन्ने हकमा पनि चर्चा हुन जरुरी छ । यो चर्चा आउँदो प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दलहरूको घोषणापत्र, छलफल र आमसभाहरूमा हुनु जरुरी छ । जुन जनताबाट अनुमोदित भएको खण्डमा आउँदो प्रतिनिधिसभासहितको संघीय संसद्मा गहन छलफल भई उपयुक्त तवरले शासकीय स्वरूपलाई अवलम्बन गर्न आवश्यक देखिन्छ ।

जेन-जी अभिमत

माजिद अन्सारीले जेन-जीको प्रतिनिधित्व गर्छन्।

Link copied successfully