प्रत्युत्पादक हुन सक्छ प्रत्यक्ष निर्वाचित कार्यकारी

हतारमा गरिएको निर्णयले सत्ताको स्वरूप मात्र होइन, राज्यको लोकतान्त्रिक आधार र सामाजिक सन्तुलनमै गम्भीर असर पार्न सक्छ । त्यसैले यो विषय राजनीतिक आकांक्षा होइन, राष्ट्रिय हित र संवैधानिक दूरदृष्टिको सवालका रूपमा गहिरो र विवेकपूर्ण छलफलको पात्र हुनुपर्छ ।

कार्तिक २७, २०८२

यादव अर्याल

Directly elected executive may be counterproductive

What you should know

जेन–जी आन्दोलनको पृष्ठभूमिलाई सूक्ष्म रूपमा अवलोकन गर्ने हो भने त्यसको मूल लक्ष्य शासन प्रणाली परिवर्तन वा राज्य संरचनासम्बन्धी कुनै ठोस एजेन्डामा आधारित रहेको थिएन । आन्दोलनले जतिसुकै व्यापक सामाजिक असन्तुष्टि र राजनीतिक अविश्वासको रूप ग्रहण गरेको देखिए पनि प्रत्यक्ष कार्यकारी व्यवस्था स्थापना गर्ने विषय यसको औपचारिक र मूर्त एजेन्डा थिएन ।

यद्यपि पछिल्ला राजनीतिक परिवर्तन र बहसका क्रममा यो विषय सतहमै आएर बहसको केन्द्रबिन्दु बनेको छ, जसलाई अबको राजनीतिक विमर्शको महत्त्वपूर्ण विषयका रूपमा लिन सकिन्छ ।

प्रत्यक्ष कार्यकारीको मुद्दा अन्तरिम सरकारको कार्यक्षेत्रअन्तर्गत पर्दैन । यसमा आम स्पष्टता आवश्यक छ । प्रत्यक्ष कार्यकारी प्रणालीको अवधारणालाई नेपालमा विभिन्न दलहरूले समय–समयमा अघि सारेका छन् । विशेषतः तत्कालीन माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीले यसको औचित्य र सम्भावनाको प्रसंग उठाउँदै आएका छन् । तथापि, यो विषय केवल राजनीतिक नारा वा तत्कालीन सत्ताप्राप्तिको माध्यमका रूपमा होइन, गहिरो वैचारिक, संवैधानिक र ऐतिहासिक दृष्टिले विश्लेषण गर्नुपर्ने एउटा संवेदनशील विषय हो ।

सम्बन्धित समाचार

नेपालको सामाजिक संरचना, भूराजनीतिक अवस्थिति र राज्यको सन्तुलनयुक्त सत्ताविन्यासका सन्दर्भमा यसको सम्भावित प्रभावबारे पर्याप्त अध्ययन र विमर्शको आवश्यकता छ । हाम्रो पुस्ताले बुझ्नुपर्ने एउटा मुख्य पक्ष के हो भने, नेपाल जस्तो जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक दृष्टिले अत्यन्त विविधायुक्त देशमा प्रत्यक्ष कार्यकारी प्रणाली राजनीतिक दृष्टिले प्रत्युत्पादक हुन सक्ने सम्भावना बलियो छ । शक्तिको अत्यधिक केन्द्रीकरणले सत्ता दुरुपयोगको जोखिम बढाउँछ र लोकतान्त्रिक उत्तरदायित्व कमजोर पार्छ । जब सारा शक्ति 

एउटै व्यक्तिमा केन्द्रित हुन्छ, त्यस्तो व्यक्ति लोकप्रियताको लहरमा त सत्तामा पुग्न सक्छ तर राज्य सञ्चालनका लागि आवश्यक राजनीतिक दूरदृष्टि, समावेशी दृष्टिकोण र संवैधानिक अनुशासन देखाउन सायदै सक्षम हुन सक्छ । यस्तो अवस्थाले नेपालको बहुआयामिक विविधतालाई सन्तुलित सम्बोधन गर्न कठिनाइ सिर्जना गर्छ । 

जहाँसम्म भ्रष्टाचार न्यूनीकरणको सबाल छ, विभिन्न मुलुकहरूको तुलनात्मक अध्ययनले प्रत्यक्ष कार्यकारी प्रणाली अपनाएका देशहरूमा भ्रष्टाचारको सूचक तुलनात्मक रूपमा उच्च देखिन्छ । दक्षिणपूर्वी एसियाको फिलिपिन्स यसको प्रमुख उदाहरणका रूपमा लिन सकिन्छ, जहाँ प्रत्यक्ष कार्यकारीको संरचनाले शक्ति नियन्त्रणमा आवश्यक सन्तुलन राख्न सकेको छैन ।

मुख्यतः शक्ति पृथकीकरण र सन्तुलनको सैद्धान्तिक अवधारणा प्रत्यक्ष कार्यकारी प्रणालीमा अपेक्षाकृत कमजोर हुन्छ । नेपालका लागि, विद्यमान संसदीय व्यवस्थाभित्रै सुधारका नवीन उपायहरू खोज्नु नै दीर्घकालीन दृष्टिले बढी हितप्रद हुने देखिन्छ । संसद्बाटै कार्यकारी चयन हुने प्रणालीले नीतिगत स्थायित्व र राजनीतिक उत्तरदायित्व दुवै कायम राख्न सहयोग पुर्‍याउँछ ।

त्यसका लागि आगामी निर्वाचनबाट बन्ने संसद्ले संविधान संशोधनमार्फत प्रधानमन्त्रीका लागि कम्तीमा ‘दुई कार्यकालको सीमा’ तोक्ने व्यवस्था गर्न सकिन्छ । यसले शासनको एकाधिकारलाई रोक्ने मात्र होइन, नेतृत्वमा नयाँ पुस्ताको प्रवेशलाई पनि प्रोत्साहित गर्नेछ, जसले जेन–जी आन्दोलनको ऐतिहासिक उपलब्धिलाई पनि संस्थागत गर्न सहयोग पुर्‍याउँछ ।

भूराजनीतिक सन्दर्भलाई सधैं चुनौतीका रूपमा मात्र परिभाषित गर्नु वास्तवमा सीमित राजनीतिक दृष्टिकोण हो । नेपाल जस्तो भौगोलिक, सांस्कृतिक र ऐतिहासिक विविधताले सम्पन्न राष्ट्रले आफ्ना कूटनीतिक प्राथमिकताहरू स्पष्ट गर्दै आत्मनिर्भर सोच र दूरदर्शी राजनीतिक दृष्टिकोण प्रदर्शित गर्न सक्दा भूराजनीति नै समृद्धि, सन्तुलन र कूटनीतिक स्थायित्वको मूल आधार बन्न सक्छ ।

स्विट्जरल्यान्डको उदाहरणले देखाउँछ कि भूराजनीति कुनै अवरोध होइन, बरु परिपक्व र अर्थपूर्ण राष्ट्रिय क्षमता हो । तसर्थ, नेपालको सामाजिक विविधता र राजनीतिक संक्रमणकालीन अवस्थालाई दृष्टिगत गर्दै प्रत्यक्ष कार्यकारी प्रणाली जस्तो गहिरो संरचनात्मक परिवर्तनमा अघि बढ्नुअघि व्यापक, तथ्यपरक र दीर्घकालीन राष्ट्रिय हितमा आधारित बहस–विमर्श आवश्यक छ ।

हतारमा गरिएको निर्णयले सत्ताको स्वरूप मात्र होइन, राज्यको लोकतान्त्रिक आधार र सामाजिक सन्तुलनमै गम्भीर असर पार्न सक्छ । त्यसैले यो विषय राजनीतिक आकांक्षा होइन, राष्ट्रिय हित र संवैधानिक दूरदृष्टिको सवालका रूपमा गहिरो र विवेकपूर्ण छलफलको पात्र हुनुपर्छ ।

जेन-जी अभिमत

यादव अर्यालले जेन-जीको प्रतिनिधित्व गर्छन्।

Link copied successfully