चल्दैन पुरानै तरिका

राजनीतिक दलहरू जनताका प्रश्नको जवाफ नदिई भागिरहेका छन्, त्यसले जनमतमै अपरिहार्य परिवर्तन जन्माउँदै छ, आजको नागरिक शान्त छ, तर अनभिज्ञ छैन, मौन छ, तर अक्षम छैन 

मंसिर ९, २०८२

विशाल लम्साल

The old way doesn't work.

What you should know

अर्थशास्त्रीहरूका पारम्परिक सूचकांक वा अंक जादुले मानिसको जीवनको यथार्थ बदल्न सक्दैन । मानिसको विपन्नताको यथार्थलाई सम्बोधन गर्ने सामर्थ्यको विकासद्वारा मात्र परिवर्तन हुन सक्छ । भाष्य विभेदीकरणभन्दा माथि यथार्थभित्रको नवीन सोच र कार्यशैली नै परिवर्तनको सूचक हो ।

स्वतन्त्रता र विकासको मोडेल परिवर्तन गरी नेपाललाई केही वर्षमै विकसित देश बनाउने उद्देश्य लोकतान्त्रिक व्यवस्थाको थियो । ज्यानको बलिदानको पर्वाह नगरी कैयौं मानिस लोकतान्त्रिक शासन व्यवस्था स्थापनार्थ खटे । तर प्राप्त व्यवस्थाले सम्भ्रान्तहरूको राजनीतिक हैसियतलाई वैधानिकीकरण गर्‍यो । सत्ताको फोहोर खेलमा लोकतन्त्रको मुना निमोठियो ।

लोकतान्त्रिक मूल्य मान्यता र जनताको अधिकारको संरक्षण हुन सकेको छैन । भ्रष्टाचार र राजनीतिक नेतृत्वको उत्तरदायित्वहीनता नेपाली समाजका लागि गम्भीर चुनौती बनेको छ । आर्थिक उन्नति र समुन्नत समाजको परिकल्पना पूर्ण रूपमा प्राप्त हुन सकेको छैन । राजनीतिक नेतृत्वको भाषाशैली बदलिए पनि जनजीवनको वास्तविकता पुरानै छ । यही परिपाटीको हिसाबकिताब आज समयले मागिरहेको छ ।

विकासका लागि अनेकन् सन्धि–सम्झौता भएका छन् । विदेशी लगानीका ठूला परियोजनामा समझदारी पनि भएका छन् । तर राजनीतिक ओत र शक्तिको बलमा अर्बौंको भ्रष्टाचार भइरहेको छ । देशमाथि ऋणको भार बढ्दो छ ।

अर्बौं रकमका भ्रष्टाचार काण्डमा जोडिएका बिरलै कानुनको दायरामा आउँछन् । जनतालाई भने कानुनकै अनेकौं बन्धन छ । अब खुला आँखाले न्याय दिने बेला आएको छ ।

आफूलाई लोकतन्त्रका संरक्षक ठान्नेहरूकै हातबाट लोकतान्त्रिक मूल्यहरूको उपहास भइरहेको छ । लोकतान्त्रिक देशमा सूचनाको हक पाउनु नैसर्गिक अधिकार हो । सूचनाको हक जोगिनुपर्ने र जोगाउनुपर्ने ठाउँमा मिडिया बन्द गरिन्छ । आलोचनालाई मतभेद होइन, शत्रुता ठानिन्छ । जनताका सवालहरूलाई टारिन्छ, प्रश्न उठाउनेलाई दुस्मन ठानिन्छ । सत्यका अघि कमजोर शासन सधैं डराउँछ ।

लोकतान्त्रिक देशमा जनता नै शासक हुन् र जनताद्वारा चुनिएका प्रतिनिधिहरू जनताको सेवक । त्यसैले जुनसुकै समयमा राज्यको नेतृत्व गर्नेहरूले आफू जनताको सेवक भएको सम्झेर सेवा गर्नुपर्छ । नत्र जनताले एकएक हिसाबकिताब गर्नेछन् । 

कृषि, उद्योग वा नवप्रवर्तनका लागि आवश्यक स्रोतको अभाव छ । हरेक वर्ष अर्बौं बजेट फ्रिज हुन्छ । अर्बौं बजेट भ्रष्टाचार हुन्छ । उद्यमीहरू नै अविश्वास, प्रशासनिक जटिलता र नीतिगत अनिश्चिततामा जकडिएका छन् । आफ्नै नागरिकलाई संरक्षण, प्रोत्साहन र काम गर्ने वातावरण दिन नसक्ने नेतृत्वले विदेशी लगानी ल्याउनेछ भनेर कसरी पत्याउने ? यस्तो तरिकाले लोकतन्त्रमाथि प्रत्यक्ष आक्रमण मात्र भएको छैन, विश्व समुदायसमक्ष समेत नेपाली जनताको मानमर्दन भएको छ ।

देशमा आर्थिक सूचक मात्रै कमजोर भएको छैन, शासन क्षमताको विफलता, नीति निर्माणको दिशाहीनता र राजनीतिक नेतृत्वको नैतिक दिवालियापनको संयुक्त परिणाम पनि प्रस्फुटित भएको छ । वर्षौंदेखि चिया पसलदेखि संसद्सम्म एउटै कुरा दोहोरिन्छ– नीति राम्रो हो तर कार्यान्वयन कमजोर भयो । तर सत्य के हो ? नीति नै लहडमा बनाइन्छ । अनि जनताले कतिञ्जेल मूल्य चुकाउने ?

राजनीतिक नेतृत्वले बुझ्नुपर्ने कुरा छ– जनता सधैं मूकदर्शक बन्नेवाला छैनन् । जसरी राजनीतिक दलहरू जनताका प्रश्नको जवाफ नदिई भागिरहेका छन्, त्यसले जनमतमै अपरिहार्य परिवर्तन जन्माउँदै छ । आजको नागरिक शान्त छ, तर अनभिज्ञ छैन । मौन छ, तर अक्षम छैन ।

आजको प्रश्न, कसले नेतृत्व गर्छ भन्ने होइन, कसले कसरी जनताको विश्वास फर्काउन सक्छ भन्ने हो । नेतृत्वका लागि एउटै मापदण्ड छ– साहस, सत्य र कार्यक्षमता । देश भाषणले होइन, नीति, तत्परता, पारदर्शिता र जिम्मेवारीले बन्छ ।

जेन-जी अभिमत

विशाल लम्साल युवा उद्यमी तथा विद्यार्थी हुन्।

Link copied successfully