राजनीति बदल्न ऊर्जा, राज्य बदल्न विधि र प्रक्रिया

परिवर्तनको चाहना र परिवर्तनको पद्धतिबीच सन्तुलन कायम गर्नु नै आजको नेपालको सबैभन्दा ठूलो चुनौती हो । यही चुनौती समाधान गर्न सक्ने सम्भावना भएको पुस्ता जेन–जी नै हो र जेन–जी पुस्ताले बुझ्न जरुरी छ कि परिवर्तनको गति सुस्त देखिए पनि, जब जनइच्छा, प्रतिरोध र समयको तालमेल मिल्छ, तब मात्र नयाँ युगको प्रारम्भ हुन्छ ।

मंसिर ११, २०८२

सुशान्त तिवारी नेपाली

Energy to change politics, methods and processes to change the state

What you should know

२००७ सालमा प्रजातन्त्रका लागि चलाइएको संघर्ष, २०३६ को विद्यार्थी आन्दोलन, २०४६ र २०६२/६३ का जनआन्दोलन, माओवादी जनयुद्ध, मधेश आन्दोलन जस्ता सबै संघर्षमा एउटा समानता भेटिन्छ– ती सबै आन्दोलनहरू संगठनबद्ध थिए, एजेन्डा स्पष्ट थियो, नेतृत्व पहिचानयोग्य थिए, माग एकीकृत थिए र आन्दोलनको राजनीतिक–कानुनी मार्गचित्र पनि प्रस्ट थियो । उनीहरूको उद्देश्य पनि व्यापक थियो– व्यवस्था परिवर्तन, संरचना पुनर्गठन वा राज्यको स्वरूप परिवर्तन ।

तर हालै भएको जेन–जी आन्दोलन यस ऐतिहासिक निरन्तरता बाहिरको एउटा अनौठो, नयाँ र जटिल मोडका रूपमा उदायो । झन् आन्दोलनपश्चात् वार्ता आह्वान हुँदा न नेतृत्व स्पष्ट देखियो, न संगठनात्मक ढाँचा, न साझा एजेन्डाहरू थिए । मागहरू एकअर्कासँग विसंगत देखिए । यही कारण यो आन्दोलनलाई एकै शब्दमा वर्णन गर्न कठिन हुन्छ, तर निश्चित रूपमा भन्न सकिन्छ, यो आन्दोलन अघिल्ला सबैभन्दा अलग थियो ।

मागहरू पनि एक–आपसमा विसंगत देखिन्छन्, कसैले संविधान जलाउनुपर्ने बताउँछन्, कसैले जोगाउनुपर्ने, कसैले तत्काल संशोधनको मागिरहेका छन्, कसैलाई हालको संसदीय व्यवस्था हटाएर प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति चाहिएको छ । कतिपयले केपी ओली वा रमेश लेखकजस्ता नेताहरूलाई तुरुन्त जेल हालिनुपर्ने माग गरेका छन्, कतिले ‘अहिलेको व्यवस्था नै गलत छ’ भन्ने असन्तोष व्यक्त गरिरहेका छन् ।

युवाहरूका मागहरू विखण्डित भए पनि उनीहरूको भावनात्मक ऊर्जा भने साझा थियो र अहिले पनि त्यही रहेको छ – भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, सुशासन, र दण्डहीनताको अन्त्य । तर, सबै मागका बीचमा रहेको छ– ‘रातारात परिवर्तन खोज्ने’ तत्क्षणवादी मनोविज्ञान । जेन–जीको दृष्टिकोणमा बुझ्नुपर्ने मूल कुरा छ, उनीहरू रातारात परिणाम चाहन्छन्, किनकि उनीहरूको जीवन नै रातारात परिवर्तन सम्भव हुने द्रुत गतिको संसारले घेरिएको छ । सामाजिक सञ्जालको ‘एल्गोरिदम’, तुरुन्त लाइक/सेयर/भाइरल हुने प्रवृत्ति जस्ता डिजिटल वातावरणले उनीहरूको सोच निर्माण गर्ने गरेको छ । यही कारणले उनीहरू राजनीति र शासनप्रति पनि तत्काल परिणामको अपेक्षा राख्दछन् ।

२०३६ सालमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनले व्यवस्था परिवर्तनको बिगुल फुकेको थियो तर त्यसको परिणाम आउन पनि लगभग १० वर्ष लागेको थियो । २०६२/६३ को आन्दोलनले राजतन्त्रको अन्त्य सम्भव बनायो, तर यसको बीउ त २०५० को दशकभरि चलेका संघर्ष, माओवादी विद्रोह, राज्य र जनताको सम्बन्धमा देखिएका चिरा र मधेशी, दलित तथा सीमान्तकृत समुदायका आवाजहरूले रोपेका थिए ।

जेन–जीले पनि २०८२ सालको २३ र २४ भदौमा अवस्था परिवर्तनको बिगुल फुके र तत्पश्चात् लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित, भ्रष्टाचाररहित, पारदर्शी, जवाफदेही, समावेशी, प्रभावकारी र नागरिकमैत्री सरकार र राज्यको निर्माणका लागि अन्तरिम सरकारलाई सघाउन निरन्तर लागिरहेका छन् । जेन–जी चलायमान त छन् तर धैर्यताको कमी भने अवश्य रहेको छ, ऊर्जावान् छन् तर विधि–प्रक्रियामाथि भने शंका गर्ने स्वभावको विकास भएको छ । यस कारणले जेन–जीको सहनशीलता घट्दै गइरहेको छ, परिणाम चाहने गति भने बढ्दै गइरहेको छ ।

यही मनोविज्ञानले जेन–जी आन्दोलनलाई अघिल्ला आन्दोलनभन्दा पूर्णतः भिन्न बनायो । आन्दोलनको केन्द्रमा भ्रष्टाचार, दण्डहीनता, असक्षम शासन र राज्यप्रतिको गहिरो निराशा थिए तर समाधानका प्रस्तावहरू एकरूप थिएनन् । साझा समस्या थियो, तर उपचारका तरिका सयौं । एकै आन्दोलनभित्र असंख्य नारा, हजारौं व्याख्या र लाखौं व्यक्तिगत भावनाहरू प्रवाहित भए । यही असंगति जेन–जी आन्दोलनको विशेषता पनि बन्यो र कमजोरी पनि, पुराना आन्दोलनहरूमा देखिने एकमुखी नेतृत्व र एकमुखी नाराको ठाउँमा यस पटक बहुविविधता, भावनात्मक आवेग र द्रुत परिवर्तनको आकांक्षाले नेतृत्व गरिरहेको थियो ।

आन्दोलनपछि देखिएको खतरनाक प्रवृत्तिहरूमध्ये एक विधि र प्रक्रियामाथिको अविश्वास हो । नेता मात्र होइन, परिवर्तन माग्ने जेन–जी, आम नागरिक र निगरानी गर्ने नागरिक समाज, सबैमा कानुनले निर्धारण गरेको उचित प्रक्रिया अर्थात् पद्धति र विधिप्रतिको भरोसा क्रमशः कमजोर हुँदै गएको छ । यसमा वर्षौंवर्षदेखि देशले भोगेको राजनीतिक अस्थिरता, मन्त्रिमण्डल जोडघटाउ, गठबन्धन जुट्ने र टुट्ने खेल तथा नेताहरूको पदमोह, नेता र कर्मचारीले गर्दै आएको भ्रष्टाचार र दण्डहीनताको अवस्थाले गर्दा नयाँ पुस्ताले विधि र प्रक्रियामा विश्वास गुमाएको छ ।

सुदन गुरुङ लगायतका नयाँ नेतृत्वकर्ताहरूले समयसमयमा केपी ओली लगायतका पुराना नेताहरूलाई चुनावमा उठ्न नदिने, नेताहरूलाई पक्राउ नगरे आन्दोलन गर्ने, अन्तरिम सरकारका प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्ने जस्ता आवेशपूर्ण अभिव्यक्तिहरू दिइरहेका हुन्छन् । तर उनीहरूले यो बुझ्न जरुरी छ कि निर्वाचन भनेको एक महत्त्वपूर्ण लोकतान्त्रिक पद्धति हो, यस प्रक्रियामा हामीले कसैलाई भाग लिनबाट रोक्न सक्दैनौं ।

कसलाई पक्राउ गर्ने/नगर्ने कुरा छानबिन समितिको प्रतिवेदनबाट देखिएला । यी विधि र प्रक्रियामै विश्वास नराखी सरकारले कुनै कदम चाल्यो भने त्यो भविष्यका लागि निकै घातक नजिरका रूपमा स्थापित हुन जान्छ र निरंकुशतालाई बढावा दिन सक्छ । देशमा असन्तुष्टि र आक्रोश त गहिरो छ तर समाधान विधि र प्रक्रियाबाट नै खोज्ने वातावरणको निर्माण गर्नुपर्नेछ ।

राज्यका संरचनात्मक परिवर्तनहरू रातारात हुने विषय पनि होइनन् । संविधान, कानुन र शासन प्रणाली जस्ता मूलभूत संरचना दीर्घ छलफल, सहमति र औपचारिक प्रक्रियाबाट नै विकसित हुन्छन् । राजालाई बिदा गरेर नयाँ संविधान बनाउन पनि ७–८ वर्ष र दुई संविधानसभा लागेका थिए । अन्तरिम संविधान छिटै बने पनि स्थायी संविधान केवल विस्तृत राजनीतिक वार्ताबाट सम्भव भएको थियो । साथै, संविधानले आफूलाई समयसँगै परिमार्जन र सुधार गर्न सकिने, आवश्यक परेको खण्डमा संशोधन वा पुनःसंरचना गर्न संघीय संसद्लाई अधिकार दिएको छ ।

यसले संविधान कडा र अपरिवर्तनीय होइन, तर समयअनुसार परिमार्जनशील बन्ने व्यवस्था गरेको देखाउँछ । यही यथार्थ अहिलेको सार्वजनिक भावनामा बिर्सिंदै गएको छ । जेन–जीको गुनासो जायज छ, देश प्रशासनिक अव्यवस्थादेखि राजनीतिक निर्णय प्रक्रियासम्म थाकिसकेको छ, माथिल्लो तहमा दण्डहीनता छ, तल्लो तहमा निराशा । युवाहरूको आवाज प्रखर र आवश्यक छ, तर आवाज मात्र अपर्याप्त हुन्छ ।

यदि संविधान भावनामा जलाउन थालियो, कानुन रिसमा बदलिन थालियो, सरकार हल्लामा ढलाउन थालियो र राजनीतिक प्रणाली ट्रेन्डको लहरमा परिवर्तन गरिन थालियो भने त्यस्ता परिवर्तन स्थायी हुँदैनन्, बरु खतरनाक बन्न जान्छन् । राजनीति बदल्न ऊर्जा चाहिन्छ, तर राज्य बदल्न विधि र प्रक्रिया अनिवार्य हुन्छ ।

जे होस्, २०८२ को जेन–जी आन्दोलनले एउटा महत्त्वपूर्ण सत्य उजागर गर्‍यो, युवाहरू अब मौन बस्दैनन् । यो लोकतन्त्रका लागि ठूलो उपलब्धि हो । तर यसले अर्को गम्भीर प्रश्न पनि उठाएको छ, के जेन–जी प्रक्रियालाई सुधार्ने नेतृत्व बन्नेछ वा प्रक्रियामाथि अविश्वास बढाउँदै देशलाई अराजकता तर्फ धकेल्नेछ ? भ्रष्टाचारविरुद्धको संघर्ष, नेतृत्व परिवर्तन, सबै अत्यन्त महत्त्वपूर्ण छन् र यी कुराहरूको सम्बोधन बिस्तारै विभिन्न सरोकारवालाहरूले 

गरिरहेका छन् । नेपाली कांग्रेस, एमालेजस्ता पुराना पार्टीहरूमा नेतृत्व परिवर्तनका लागि संघर्ष जारी छ, कति पार्टीहरू एकीकृत भइरहेका छन्, जेन–जीहरू खुलेर राजनीति र राज्य संयन्त्रमा सहभागी भइरहेका छन् । युवा र जेन–जी पुस्तामाझ यो नयाँ ऊर्जा सकारात्मक र आवश्यक छ । र, त्यत्तिकै आवश्यक छ, विधि र प्रक्रियामाथिको विश्वास ।

परिवर्तनको चाहना र परिवर्तनको पद्धतिबीच सन्तुलन कायम गर्नु नै आजको नेपालको सबैभन्दा ठूलो चुनौती हो । यही चुनौती समाधान गर्न सक्ने सम्भावना भएको पुस्ता जेन–जी नै हो र जेन–जी पुस्ताले बुझ्न जरुरी छ कि परिवर्तनको गति सुस्त देखिए पनि, जब जनइच्छा, प्रतिरोध र समयको तालमेल मिल्छ, तब मात्र नयाँ युगको प्रारम्भ हुन्छ ।

जेन-जी अभिमत

सुशान्त तिवारी जेन-जीको प्रतिनिधित्व गर्छन्।

Link copied successfully