परिवर्तनको चाहना र परिवर्तनको पद्धतिबीच सन्तुलन कायम गर्नु नै आजको नेपालको सबैभन्दा ठूलो चुनौती हो । यही चुनौती समाधान गर्न सक्ने सम्भावना भएको पुस्ता जेन–जी नै हो र जेन–जी पुस्ताले बुझ्न जरुरी छ कि परिवर्तनको गति सुस्त देखिए पनि, जब जनइच्छा, प्रतिरोध र समयको तालमेल मिल्छ, तब मात्र नयाँ युगको प्रारम्भ हुन्छ ।
What you should know
२००७ सालमा प्रजातन्त्रका लागि चलाइएको संघर्ष, २०३६ को विद्यार्थी आन्दोलन, २०४६ र २०६२/६३ का जनआन्दोलन, माओवादी जनयुद्ध, मधेश आन्दोलन जस्ता सबै संघर्षमा एउटा समानता भेटिन्छ– ती सबै आन्दोलनहरू संगठनबद्ध थिए, एजेन्डा स्पष्ट थियो, नेतृत्व पहिचानयोग्य थिए, माग एकीकृत थिए र आन्दोलनको राजनीतिक–कानुनी मार्गचित्र पनि प्रस्ट थियो । उनीहरूको उद्देश्य पनि व्यापक थियो– व्यवस्था परिवर्तन, संरचना पुनर्गठन वा राज्यको स्वरूप परिवर्तन ।
तर हालै भएको जेन–जी आन्दोलन यस ऐतिहासिक निरन्तरता बाहिरको एउटा अनौठो, नयाँ र जटिल मोडका रूपमा उदायो । झन् आन्दोलनपश्चात् वार्ता आह्वान हुँदा न नेतृत्व स्पष्ट देखियो, न संगठनात्मक ढाँचा, न साझा एजेन्डाहरू थिए । मागहरू एकअर्कासँग विसंगत देखिए । यही कारण यो आन्दोलनलाई एकै शब्दमा वर्णन गर्न कठिन हुन्छ, तर निश्चित रूपमा भन्न सकिन्छ, यो आन्दोलन अघिल्ला सबैभन्दा अलग थियो ।
मागहरू पनि एक–आपसमा विसंगत देखिन्छन्, कसैले संविधान जलाउनुपर्ने बताउँछन्, कसैले जोगाउनुपर्ने, कसैले तत्काल संशोधनको मागिरहेका छन्, कसैलाई हालको संसदीय व्यवस्था हटाएर प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति चाहिएको छ । कतिपयले केपी ओली वा रमेश लेखकजस्ता नेताहरूलाई तुरुन्त जेल हालिनुपर्ने माग गरेका छन्, कतिले ‘अहिलेको व्यवस्था नै गलत छ’ भन्ने असन्तोष व्यक्त गरिरहेका छन् ।
युवाहरूका मागहरू विखण्डित भए पनि उनीहरूको भावनात्मक ऊर्जा भने साझा थियो र अहिले पनि त्यही रहेको छ – भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, सुशासन, र दण्डहीनताको अन्त्य । तर, सबै मागका बीचमा रहेको छ– ‘रातारात परिवर्तन खोज्ने’ तत्क्षणवादी मनोविज्ञान । जेन–जीको दृष्टिकोणमा बुझ्नुपर्ने मूल कुरा छ, उनीहरू रातारात परिणाम चाहन्छन्, किनकि उनीहरूको जीवन नै रातारात परिवर्तन सम्भव हुने द्रुत गतिको संसारले घेरिएको छ । सामाजिक सञ्जालको ‘एल्गोरिदम’, तुरुन्त लाइक/सेयर/भाइरल हुने प्रवृत्ति जस्ता डिजिटल वातावरणले उनीहरूको सोच निर्माण गर्ने गरेको छ । यही कारणले उनीहरू राजनीति र शासनप्रति पनि तत्काल परिणामको अपेक्षा राख्दछन् ।
२०३६ सालमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनले व्यवस्था परिवर्तनको बिगुल फुकेको थियो तर त्यसको परिणाम आउन पनि लगभग १० वर्ष लागेको थियो । २०६२/६३ को आन्दोलनले राजतन्त्रको अन्त्य सम्भव बनायो, तर यसको बीउ त २०५० को दशकभरि चलेका संघर्ष, माओवादी विद्रोह, राज्य र जनताको सम्बन्धमा देखिएका चिरा र मधेशी, दलित तथा सीमान्तकृत समुदायका आवाजहरूले रोपेका थिए ।
जेन–जीले पनि २०८२ सालको २३ र २४ भदौमा अवस्था परिवर्तनको बिगुल फुके र तत्पश्चात् लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित, भ्रष्टाचाररहित, पारदर्शी, जवाफदेही, समावेशी, प्रभावकारी र नागरिकमैत्री सरकार र राज्यको निर्माणका लागि अन्तरिम सरकारलाई सघाउन निरन्तर लागिरहेका छन् । जेन–जी चलायमान त छन् तर धैर्यताको कमी भने अवश्य रहेको छ, ऊर्जावान् छन् तर विधि–प्रक्रियामाथि भने शंका गर्ने स्वभावको विकास भएको छ । यस कारणले जेन–जीको सहनशीलता घट्दै गइरहेको छ, परिणाम चाहने गति भने बढ्दै गइरहेको छ ।
यही मनोविज्ञानले जेन–जी आन्दोलनलाई अघिल्ला आन्दोलनभन्दा पूर्णतः भिन्न बनायो । आन्दोलनको केन्द्रमा भ्रष्टाचार, दण्डहीनता, असक्षम शासन र राज्यप्रतिको गहिरो निराशा थिए तर समाधानका प्रस्तावहरू एकरूप थिएनन् । साझा समस्या थियो, तर उपचारका तरिका सयौं । एकै आन्दोलनभित्र असंख्य नारा, हजारौं व्याख्या र लाखौं व्यक्तिगत भावनाहरू प्रवाहित भए । यही असंगति जेन–जी आन्दोलनको विशेषता पनि बन्यो र कमजोरी पनि, पुराना आन्दोलनहरूमा देखिने एकमुखी नेतृत्व र एकमुखी नाराको ठाउँमा यस पटक बहुविविधता, भावनात्मक आवेग र द्रुत परिवर्तनको आकांक्षाले नेतृत्व गरिरहेको थियो ।
आन्दोलनपछि देखिएको खतरनाक प्रवृत्तिहरूमध्ये एक विधि र प्रक्रियामाथिको अविश्वास हो । नेता मात्र होइन, परिवर्तन माग्ने जेन–जी, आम नागरिक र निगरानी गर्ने नागरिक समाज, सबैमा कानुनले निर्धारण गरेको उचित प्रक्रिया अर्थात् पद्धति र विधिप्रतिको भरोसा क्रमशः कमजोर हुँदै गएको छ । यसमा वर्षौंवर्षदेखि देशले भोगेको राजनीतिक अस्थिरता, मन्त्रिमण्डल जोडघटाउ, गठबन्धन जुट्ने र टुट्ने खेल तथा नेताहरूको पदमोह, नेता र कर्मचारीले गर्दै आएको भ्रष्टाचार र दण्डहीनताको अवस्थाले गर्दा नयाँ पुस्ताले विधि र प्रक्रियामा विश्वास गुमाएको छ ।
सुदन गुरुङ लगायतका नयाँ नेतृत्वकर्ताहरूले समयसमयमा केपी ओली लगायतका पुराना नेताहरूलाई चुनावमा उठ्न नदिने, नेताहरूलाई पक्राउ नगरे आन्दोलन गर्ने, अन्तरिम सरकारका प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्ने जस्ता आवेशपूर्ण अभिव्यक्तिहरू दिइरहेका हुन्छन् । तर उनीहरूले यो बुझ्न जरुरी छ कि निर्वाचन भनेको एक महत्त्वपूर्ण लोकतान्त्रिक पद्धति हो, यस प्रक्रियामा हामीले कसैलाई भाग लिनबाट रोक्न सक्दैनौं ।
कसलाई पक्राउ गर्ने/नगर्ने कुरा छानबिन समितिको प्रतिवेदनबाट देखिएला । यी विधि र प्रक्रियामै विश्वास नराखी सरकारले कुनै कदम चाल्यो भने त्यो भविष्यका लागि निकै घातक नजिरका रूपमा स्थापित हुन जान्छ र निरंकुशतालाई बढावा दिन सक्छ । देशमा असन्तुष्टि र आक्रोश त गहिरो छ तर समाधान विधि र प्रक्रियाबाट नै खोज्ने वातावरणको निर्माण गर्नुपर्नेछ ।
राज्यका संरचनात्मक परिवर्तनहरू रातारात हुने विषय पनि होइनन् । संविधान, कानुन र शासन प्रणाली जस्ता मूलभूत संरचना दीर्घ छलफल, सहमति र औपचारिक प्रक्रियाबाट नै विकसित हुन्छन् । राजालाई बिदा गरेर नयाँ संविधान बनाउन पनि ७–८ वर्ष र दुई संविधानसभा लागेका थिए । अन्तरिम संविधान छिटै बने पनि स्थायी संविधान केवल विस्तृत राजनीतिक वार्ताबाट सम्भव भएको थियो । साथै, संविधानले आफूलाई समयसँगै परिमार्जन र सुधार गर्न सकिने, आवश्यक परेको खण्डमा संशोधन वा पुनःसंरचना गर्न संघीय संसद्लाई अधिकार दिएको छ ।
यसले संविधान कडा र अपरिवर्तनीय होइन, तर समयअनुसार परिमार्जनशील बन्ने व्यवस्था गरेको देखाउँछ । यही यथार्थ अहिलेको सार्वजनिक भावनामा बिर्सिंदै गएको छ । जेन–जीको गुनासो जायज छ, देश प्रशासनिक अव्यवस्थादेखि राजनीतिक निर्णय प्रक्रियासम्म थाकिसकेको छ, माथिल्लो तहमा दण्डहीनता छ, तल्लो तहमा निराशा । युवाहरूको आवाज प्रखर र आवश्यक छ, तर आवाज मात्र अपर्याप्त हुन्छ ।
यदि संविधान भावनामा जलाउन थालियो, कानुन रिसमा बदलिन थालियो, सरकार हल्लामा ढलाउन थालियो र राजनीतिक प्रणाली ट्रेन्डको लहरमा परिवर्तन गरिन थालियो भने त्यस्ता परिवर्तन स्थायी हुँदैनन्, बरु खतरनाक बन्न जान्छन् । राजनीति बदल्न ऊर्जा चाहिन्छ, तर राज्य बदल्न विधि र प्रक्रिया अनिवार्य हुन्छ ।
जे होस्, २०८२ को जेन–जी आन्दोलनले एउटा महत्त्वपूर्ण सत्य उजागर गर्यो, युवाहरू अब मौन बस्दैनन् । यो लोकतन्त्रका लागि ठूलो उपलब्धि हो । तर यसले अर्को गम्भीर प्रश्न पनि उठाएको छ, के जेन–जी प्रक्रियालाई सुधार्ने नेतृत्व बन्नेछ वा प्रक्रियामाथि अविश्वास बढाउँदै देशलाई अराजकता तर्फ धकेल्नेछ ? भ्रष्टाचारविरुद्धको संघर्ष, नेतृत्व परिवर्तन, सबै अत्यन्त महत्त्वपूर्ण छन् र यी कुराहरूको सम्बोधन बिस्तारै विभिन्न सरोकारवालाहरूले
गरिरहेका छन् । नेपाली कांग्रेस, एमालेजस्ता पुराना पार्टीहरूमा नेतृत्व परिवर्तनका लागि संघर्ष जारी छ, कति पार्टीहरू एकीकृत भइरहेका छन्, जेन–जीहरू खुलेर राजनीति र राज्य संयन्त्रमा सहभागी भइरहेका छन् । युवा र जेन–जी पुस्तामाझ यो नयाँ ऊर्जा सकारात्मक र आवश्यक छ । र, त्यत्तिकै आवश्यक छ, विधि र प्रक्रियामाथिको विश्वास ।
परिवर्तनको चाहना र परिवर्तनको पद्धतिबीच सन्तुलन कायम गर्नु नै आजको नेपालको सबैभन्दा ठूलो चुनौती हो । यही चुनौती समाधान गर्न सक्ने सम्भावना भएको पुस्ता जेन–जी नै हो र जेन–जी पुस्ताले बुझ्न जरुरी छ कि परिवर्तनको गति सुस्त देखिए पनि, जब जनइच्छा, प्रतिरोध र समयको तालमेल मिल्छ, तब मात्र नयाँ युगको प्रारम्भ हुन्छ ।
