विधिको शासनको पक्षमा

पुराना दलबाट आउने कार्यकर्ताहरूलाई विधिलाई सम्मान गरेर हिँड्न सक्ने सफा नियतको बनाउनुपर्छ । युवा पुस्तालाई पार्टीको नेतृत्व लिएर अघि बढाउन दिनुपर्छ ।

मंसिर १७, २०८२

सौरभ न्यौपाने, सागर बेल्बासे

In favor of the rule of law

What you should know

देशमा बेथितिहरू छन् । ती दिनानुदिन बढ्दै पनि गएका छन् । यसले युवा पुस्तालाई निराश बनाउन थालेको छ । बाध्यता, अवसरको खोजी र निराशा— यी तीन कारणले हजारौं युवाहरू विदेशतिर पलायन भइरहेका छन् ।

अर्कोतर्फ, देशमै बसेर केही गर्नुपर्छ भन्ने सोच भएका युवाले बेथितिविरुद्ध आवाज उठाइरहे पनि उनीहरूको आवाज बेवास्ता हुँदै आएको थियो । तर, भदौ २३/२४ का दिन युवापुस्ताको नयाँ लहर— जेन–जी सडकमा शान्तिपूर्ण विरोधसहित उत्रियो । व्यवस्था सुधारको अपेक्षासहित गरिएको आन्दोलनमा सरकार दमनकारीका रूपमा उत्रियो । आन्दोलनमा आएका युवालाई गोली प्रहार नै गर्‍यो । धेरै युवाले ज्यान गुमाए, धेरै घाइते पनि भए ।

राजनीतिमा विधि र नियतको प्रश्न उठ्नु नौलो विषय होइन । हरेक सरकारका विपक्षी, शुभचिन्तक बौद्धिक र आमनागरिकले विधिको केन्द्रीयतामा सरकार चल्नुपर्ने वकालत गर्छन् । तर किन हाम्रा दल र नेताहरू विधिभन्दा उल्टो बाटो हिँड्न रुचाउँछन्, प्रश्नयोग्य विषय छ ।

शासन प्रक्रियामा पूर्वाग्रह, विभेद, असमानता, अन्याय, शोषण, स्वेच्छाचारिता आदि हुन्छ भन्ने कुरा हजारौं वर्षको शासन पद्धतिको अनुभव र विश्लेषणबाट सिद्ध भएको छ । ठूला–ठूला क्रान्ति, बलिदान र लोकतान्त्रिक दर्शनबाट विधिको शासन अनुसरण गरिनुपर्छ भन्ने स्थापित भएको छ । जेन–जी आन्दोलन विधिको शासनको खोजी थियो ।

विधि मिचेर हिँड्ने सबालमा केपी ओलीले नेतृत्व गरेको सरकार अरूभन्दा अगाडि थियो । उनले तानाशाही र प्रतिशोधको राजनीति गरी लोकतन्त्रलाई नै निमोठेर फाल्न खोज्दा जनतामा निराशा बढेको थियो । सत्ताको कुर्सी जोगाउन तानाशाही प्रवृत्ति र प्रतिशोधको राजनीति अवलम्बन गर्दा जनतामा फैलिएको निराशालाई उनले अनुभूत नै गरेनन् । लोकतन्त्रको मूल मूल्यलाई चुनौती दिने कदमहरूले देशको राजनीति बिथोलिँदै आएको थियो ।

बीपी कोइरालादेखि मनमोहन अधिकारीसम्म कैयौं नेता थिए/छन्, ज–जसले कानुन, विधान, नैतिकता, आदर्श, मानवतालाई शिरमा वरण गरे । तर त्यस्तो प्रवृत्ति ओली नेतृत्वको सरकारमा देखिएन । उनमा त आज पनि अहमता र अहंकार छ । वर्तमान अवस्थामा जनताले तीव्र रूपको विकास खोजिरहेका छन् । अमेरिका, चीन र युरोपियन देशहरूमा विकासका सबालमा उदाहरणीय काम भइरहेका छन् । तर हाम्रो देशमा दीर्घकालीन विधि नभएकै कारण र समयमा हुनुपर्ने योजना सकाउने इच्छाशक्ति र नियतकै खडेरी लागेका कारणले समयमा कामसमेत सम्पन्न हुँदैन । 

खासमा यहाँ विधिको शासनमै समस्या छ । अदालतमा समस्या छ, अदालतभित्रका न्यायाधीशमा छ । राजनीतिक दलमा समस्या छ । जताततै समस्या छ । जवाफदेहितामा समस्या छ । यस्ता समस्याको समाधान नगरेसम्म हामीले खोजेका सकारात्मक परिवर्तन आउनै सक्दैन ।

विधि र नियम बनाउने तर कुल्चने हो भने हाम्रो पुस्ताले पनि विकसित नेपाल देख्न पाउने छैनन् । विधिलाई सम्मान गरेर हिँड्न सक्ने नियत हुनुपर्छ । अनि मात्र द्रुत गतिमा विकास हुन्छ । अमनचयन कायम हुन्छ । समयले दिएको अवसरको सदुपयोग हुन्छ ।अब पुराना राजनीतिक दलले बोक्ने र अंगीकार गर्ने शताब्दीऔंअघिको विचार र सिद्धान्त तथा संगठनात्मक शैलीले देशले निकास पाउँदैन । अब नयाँ पुस्तालाई पनि समेटेर लैजाने राजनीतिक दल चाहिएको छ ।

राजनीतिमा जनतामाथि राज गर्ने होइन, जनताको सेवक बन्ने नेतृत्व चाहिएको छ । हिजो राजा र राणाहरू निकै शक्तिशाली हुँदा रआफ्नो मनमौजी तरिकाले देश चलाउँदासमेत पतन भए । अहिले त हामी लोकतन्त्रको बाटोमा छौं । स्वार्थ र अहंकारको बाटोमा कोही पनि लामो समय टिक्नै सक्दैन । त्यसैले पनि विधिलाई सम्मान गरेर हिँड्न सक्ने नियत हुनुपर्छ ।

जबसम्म आफ्ना नेताको अन्धभक्त कार्यकर्ता बनिन्छ, तबसम्म राजनीति र देशको हालत बिगि्रँदै जानेछ । कांग्रेस, एमाले, माओवादीदेखि वैकल्पिक शक्ति भनिएका नयाँ पार्टीहरू बिग्रँदै जानुको मुख्य कारण नै नेताहरूले आफैंले बनाएको विधि कुल्चिएका कारणले हो । नियत सही नराखेकाले हो । राजनीतिमा लागेका नयाँ पुस्ताले पनि नेताको चाकरी गर्ने बानी छोड्नुपर्छ । नत्र भने आगामी पुस्ताले पनि विकसित नेपाल भएको देख्न पाउने छैन ।

आफूलाई वैकल्पिक शक्ति हुँ भन्ने नयाँ पार्टीहरूले यो समय सरकारलाई हेरेर धेरै कुराहरू सिक्न सक्नुपर्छ । वैकल्पिक शक्ति सुधार केन्द्र जस्तो हुनुपर्छ । पुराना दलबाट आउने कार्यकर्ताहरूलाई विधिलाई सम्मान गरेर हिँड्न सक्ने सफा नियतको बनाउनुपर्छ । युवा पुस्तालाई पार्टीको नेतृत्व लिएर अघि बढाउन दिनुपर्छ । बाहिर चिल्ला र भावनात्मक कुरा गर्ने तर आन्तरिक रूपमा एकले अर्कोलाई गाली गर्ने, नेताकै चाकरी गर्ने, नेताले गल्ती नै गर्दा पनि बचाउ मात्र गर्ने हो भने पुरानै दलको जस्तो हविगत हुनेछ ।

विधि र सकारात्मक नियतले नडोरिने राजनीति दुर्घटनातर्फ उन्मुख रहन्छ । व्यक्तिकेन्द्रित सोचले सबैलाई घाटा पुर्‍याउँछ । नियतको सफा छु भनेर मात्रै पुग्दैन, व्यवहारमा देखिनुपर्छ ।

जेन-जी अभिमत

सौरभ न्यौपानेले जेन-जीको प्रतिनिधित्व गर्छन्।

सागर बेल्वासेले जेन-जीको प्रतिनिधित्व गर्छन्।

Link copied successfully