कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सुदूरपश्‍चिमलाई ध्यान देऊ

सम्पादकीय

मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दोस्रो चरणमा प्रवेश गरिसकेकाले यसलाई थप फैलनबाट रोक्न सरकार र सम्बद्ध सबै पक्षले युद्धस्तरमा कार्य गर्नुको विकल्प छैन । खासगरी, पछिल्लो समय हजारौं व्यक्ति भारतबाट फर्किएको सुदूरपश्चिम प्रदेशमा विशेष रणनीति नै अवलम्बन गर्नुपर्ने खाँचो छ ।

सुदूरपश्‍चिमलाई ध्यान देऊ

आवश्यक सावधानी अपनाइएन भने उक्त क्षेत्रमा ठूलो जोखिम निम्तिन सक्ने देखिन्छ । किनभने, अहिलेसम्म मुलुकमा संक्रमित पाइएकामध्ये चार जना त्यहाँकै छन् । तिनमा पनि, भारतबाट फर्किएका दुई जना छन् भने एक स्थानीय व्यक्तिमा पनि संक्रमण सरेको छ । संक्रमण विस्तारको सम्भावनाका दृष्टिले यी दुवै अवस्था जोखिमपूर्ण हुन् । त्यसैले, विदेशबाट आएका सबै जनालाई निगरानीमा राखेर परीक्षणको संख्या तीव्र गतिमा बढाउनुपर्ने आवश्यकता छ ।


डरलाग्दो पक्ष के छ भने, भारतमा संक्रमण फैलिइसकेपछि हूलका हूल स्वदेश फर्किएका नेपालीको उचित स्वास्थ्य जाँच र निगरानी गरिएकै छैन । उनीहरू स्वनिगरानीमा बसे–नबसेको पनि अनुगमन हुन सकेको छैन । कति त स्थानीय स्तरमा बनाइएका क्वारेन्टिन गृहहरूमा बस्न नमानेका र घरमा पनि अलग्गै नबसेका खबरहरू आएका छन् । कतिपय सामूहिक क्वारेन्टिनस्थल पनि विश्व स्वास्थ्य संगठन तथा सरकारको न्यूनतम मापदण्डबिनै सञ्चालित भएकाले कतै यिनले जोखिम घटाउनेभन्दा बढाउने काम त गरिरहेका छैनन् भन्ने प्रश्न पनि उठेका छन् । यसबीचमा उता भारतमा चार हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ भने ज्यान गुमाउनको संख्या सय नाघिसकेको छ । त्यसैले भारतबाट आएका नेपालीका हकमा सरकारले विशेष सतर्कता अपनाउनैपर्छ । किनभने, फागुन दोस्रो सातायता कैलालीको गौरीफन्टा रकञ्चनपुरको गड्डाचौकी नाकाबाट स्वदेश फर्किएका दुई लाखमध्ये अधिकांश सुदूरपश्चिमकै हुन् । महाकाली तरेर भित्रिने क्रम अहिले पनि रोकिएको छैन । यस्तो अवस्थामा आवश्यक स्रोत–साधनका लागि संघीय सरकारसित समन्वय गरी सुदूरपश्चिम प्रदेश र त्यहाँका स्थानीय तहहरूले तुरुन्त प्रभावकारी योजना बनाएर अघि बढ्नुपर्छ । यसमा नागरिकस्तर, त्यसमा पनि खासगरी विदेशबाट फर्किएका व्यक्ति र तिनका आफन्तले विशेष साथ दिनुपर्छ ।


सुदूरपश्चिम सरकारले क्वारेन्टिनको अवधि थप एक साताका लागि बढाइसकेको छ । अरूलाई संक्रमण सर्न नदिन यो भरपर्दो उपाय हो, तर पर्याप्त परीक्षणबिना क्वारेन्टिन अवधि बढाउनु मात्रै सम्पूर्ण समस्याको समाधान होइन । विडम्बना त, सुदूरपश्चिममा क्वारेन्टिनमा बसेका दुई हजार जनाको दुई साता बितिसक्दा पनि परीक्षण भएकै छैन । संक्रमित भए पनि स्वस्थ युवामा लक्षण नदेखिने र उसले अरूलाई सारिरहेको हुन सक्ने भएकाले त्यत्तिकै ढुक्क भएर बस्न मिल्दैन । दोस्रो चरणमा प्रवेश गरेको यो सुरुआती अवस्थामै हामीले पर्याप्त सावधानी अपनाएनौं भने मुलुक तेस्रो चरणमा पुग्ने निश्चित छ । त्यस्तो स्थिति आएर संक्रमण धेरैमा फैलिएमा हाम्रा अस्पतालहरूलाई धान्न मुस्किल पर्छ । त्यही भएर, बुद्धिमानी उपाय भनेको यसको रोकथामकै लागि सक्दो कदम चाल्नेहो । त्यो भनेको निगरानी र परीक्षणको दायरा बढाउने हो । हामीसँग दोस्रो चरणकै संक्रमण फैलिन नदिने समय थियो । ती दुबईबाट आएका व्यक्तिलाई उचित निगरानी/स्वनिगरानीमा राख्न सकेको भए संक्रमण दोस्रो चरणसम्म फैलिन पाउँदैनथ्यो ।


अब हामीलाई तेस्रो चरणमा फैलिनबाट रोक्ने समय छ, सबै मिलेर त्यसको सदुपयोग गर्नुपर्छ । त्यसका लागि मुलुकका आठै स्थानमा परीक्षण दर बढाउनुपर्छ । अहिले दैनिक औसत सय जनाभन्दा कमको परीक्षण भइरहेको छ, यसलाई संख्यात्मक र गुणात्मक रूपमा नबढाई सुख छैन । जति धेरैमा परीक्षण गर्‍यो त्यति प्रभावकारी ढंगले रोकथाम मात्र होइन, मृत्युदर पनि कम गर्न सकिन्छ भन्ने उदाहरण कतिपय देशको अनुभवले देखाइसकेको छ । अरूकै देखेर सिक्न सकिने यो ज्ञानको प्रयोग गर्न हामीले कन्जुस्याइँ नगरौं ।


राज्यले गर्ने व्यवहारलाई लिएर ‘घाम पनि अस्ताउन मात्रै पुग्ने’ भनिएको सुदूरपश्चिम यसै पनि स्रोत र साधनले कमजोर छ । अस्पतालहरूमा न पर्याप्त पूर्वाधार छ न जनशक्ति नै । भोलि धेरैमा रोग फैलिएमा उपचारको प्रबन्ध कसरी मिलाउने भन्ने पनि स्पष्ट आकलन र योजना चाहिन्छ । पूर्वाधार विस्तार र जनशक्तिको जोहोदेखि उनीहरूलाई चाहिने व्यक्तिगत सुरक्षाका साधनहरूको व्यवस्थापन अविलम्ब गरिनुपर्छ । अहिले प्रदेशस्तरमा स्वास्थ्यकर्मीका ‘केस इन्भेस्टिगेसन’ र ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी दुई समिति क्रियाशील छन्, यिनलाई पनि स्रोत–साधन र जनशक्तिले सम्पन्न बनाइनुपर्छ । संक्रमण बढी देखिएकाले स्वाभाविक रूपमा उक्त क्षेत्रमा त्रास बढेको छ ।


स्थानीय सरकारहरूको दायित्व नागरिकलाई नआत्तिन आग्रह गर्ने पनि हो । संक्रमण भएको छ भने उपचारपछि निको हुन्छ र स्वनिगरानीका नियमहरू पालना गरेमा अरूलाई सर्दैन भन्ने विश्वास आम नागरिकलाई दिलाउन सक्नुपर्छ । संघीय मन्त्रिपरिषद्को शनिबारको बैठकले गण्डकी प्रदेशको बागलुङसहित सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा क्वारेन्टिनमा रहेका र उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको परीक्षण गर्ने निर्णय गरेको छ । अब सबै मिलेर यसको कार्यान्वयन अविलम्ब गर्न/गराउन ढिला गर्नु हुँदैन ।

प्रकाशित : चैत्र २५, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?