पहिलोपटक संसदीय निर्वाचन लडेका ३६ वर्षीय सुशीलकुमार कानु यसअघि वीरगन्ज महानगरपालिका–१० का वडाध्यक्ष थिए । उनी उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट वडाध्यक्ष निर्वाचत भएका थिए ।
पर्सा — पर्सा–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुशीलकुमार कानु विजयी भएका छन् । कानुले ३० हजार ७४० मत प्राप्त गरी विजयी हुँदा उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार पूर्वकानुनमन्त्री अजयकुमार चौरसियालाई १८ हजार ८५० मतको फराकिलो अन्तरले पराजित गरेका छन् । चौरसियाले ११ हजार ८९० मत प्राप्त गरे ।
पहिलोपटक संसदीय निर्वाचन लडेका ३६ वर्षीय कानु यसअघि वीरगन्ज महानगरपालिका–१० का वडाध्यक्ष थिए । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट चुनाव लडेर उनी वडाध्यक्षमा निर्वाचत भएका थिए । उक्त पदबाट राजीनामा दिएर कानु संसदीय चुनाव लड्न पुगेका थिए । यसअघि उनी एक कार्यकाल वीरगन्ज महानगरपालिकाको कार्यपालिका सदस्य पनि रहिसकेका छन् । रोजगारी सिर्जना, शिक्षामा सुधार, सुशासन, स्वास्थ्य सेवा विस्तार, भौतिक पूर्वाधार विकास र नीतिगत सुधार जस्ता एजेण्डा अघि सारेर उनी चुनावी मैदानमा उत्रिएका थिए ।
मदनप्रसाद कानुका छोरा सुशीलले १२ कक्षा उत्तिर्ण गरेका छन् । वीरगन्जको घडीअर्वा क्षेत्रका रैथाने बासिन्दा कानु राजनीतिमा आउनुअघि विभिन्न क्लबहरूमार्फत सामाजिक सेवामा पनि सक्रिय थिए । उनी जिल्लाकै सबैया साझेदारी वनको प्रतिनिधि रहिसकेका छन् ।
पहिले निश्चित वडामा सिमित कानु अब अब पुरै संसदीय क्षेत्रका जनता नेता भएका छन् । जेन–जी आन्दोलनपछि जनताले परिवर्तन चाहेको र युवा शक्तिलाई नेतृत्वमा देख्न चाहेकाले आफ्नो विजय सम्भव भएको उनी बताउँछन् । कानुका छिमेकी बालसखा प्रणयकुमार कानु सानैदेखि नेतृत्व गर्न रुचाउने स्वभाव भएका र सोही क्षमताले संघीय संसदमा प्रवेश पाएको बताउँछन् ।
कानुका निकटतम प्रतिद्वन्द्वी चौरसियाले कानुलाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका छन् । उनले कानुले जनताले चाहे जस्तो परिवर्तन र अपेक्षा पूरा होस् कामना व्यक्त गरेका छन् ।
