ड्रोनबाट पनि हुनेछ सुरक्षा निगरानी, हिंसा र अफवाह फैलाउन खोज्ने केही समूहलाई कानुनको दायरामा ल्याइसकिएको गृहमन्त्री अर्यालको भनाइ
काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बुधबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले मतदानका लागि देशमा जटिल सुरक्षा चुनौती नभएको निष्कर्ष निकालेको छ । अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, मुख्यसचिव सुमनराज अर्याल र प्रधानसेनापति अशोक सिग्देललगायत अधिकारी सहभागी बैठकले निर्वाचनका लागि सुरक्षा अवस्था दुरुस्त रहेको निष्कर्ष निकालेको हो ।
रक्षा मन्त्रालयका सचिवसमेत रहेका परिषद्का सदस्यसचिव केदारनाथ शर्माका अनुसार बैठकमा देशको सुरक्षा अवस्थाको समीक्षा गर्दै निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भएकाले निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगले सम्पन्न गराउने विषयमा छलफल भएको छ । ‘निर्वाचनमा शान्तिसुरक्षा र अमनचयन कायम गर्न सम्बन्धित सुरक्षा निकायलाई थप प्रभावकारी र समन्वयात्मक रूपमा परिचालन गर्ने छलफल भयो,’ शर्माले भने ।
बैठकमा गृहमन्त्री अर्यालले निर्वाचनमा हिंसा र अफवाह फैलाउन खोज्ने केही समूहलाई कानुनको दायरामा ल्याइसकिएको भन्दै ढुक्कले मतदान गर्न सक्ने अवस्था रहेको सुनाए । कतिपयले हिंसात्मक गतिविधि गर्न खोजेको भए पनि केहीसँग समयमै संवाद त केहीलाई नियन्त्रणमा लिएर शान्तिपूर्ण रूपमा निर्वाचन हुने वातावरण बनाएको उनको भनाइ थियो ।
सरकारले सुरुमा निर्वाचनका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति बचाउ महाअभियान, उनका सहयोगी माधव खतिवडाले दर्ता गरेको नागरिक बचाउ दल, धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा बहुमतसहित जेनजीकै केही समूह चुनौती बन्नसक्ने विश्लेषण गरेको थियो । त्यसअनुसार सुरुमा प्रसाईंसँग सरकारले वार्तासमेत गरेको थियो ।
गृहमन्त्री अर्यालका अनुसार प्रसाईंलाई त्यसबेला आफ्ना माग राजनतीकि हिसाबबाट सम्बोधन गर्ने बाटोमा जानुपर्छ भन्ने सन्देश दिन खोजिएको थियो । ‘त्यसबेला हामीले उहाँलाई बाटो देखाइदिएका थियौं, संसद्मा जानुस्, त्यसपछि संख्या पुर्याएर तपाईंहरूले भने जस्तो जनमत संग्रह चाहिएको भए पनि जानसक्नु हुन्छ भनेका थियौं,’ उनले भने, ‘पछि उहाँका गतिविधि राष्ट्र विप्लव गर्ने, हिंसा र अफवाह फैलाउने किसिमका भए ।’ प्रसाईंलाई प्रहरीले १७ फागुनमा भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ ।
प्रसाईंसहित धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका नेतासहितलाई हिंसा भड्काउन खोज्ने गतिविधि गरेको भन्दै प्रहरीले कम्तीमा ३५ हिरासतमा छन् । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार निर्वाचनविरोधी गतिविधि र सामाजिक सञ्जाल दुरुपयोग गरी अफवाह फैलाएको आरोपमा उनीहरूलाई फरकफरक जिल्लाबाट पक्राउ गरिएको हो । निर्वाचन सुरक्षालाई प्रतिकूल असर पुग्ने गरी गतिविधि गर्ने र एआईको दुरुपयोग गरी सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, झूटा प्रचारप्रसार गर्नेलगायत कसुरमा उनीहरू पक्राउ परेको काफ्लेको भनाइ छ ।
गृहमन्त्री अर्यालका अनुसार चुनावलाई भयरहित वातावरणमा सम्पन्न गराउन प्रदेशको सुरक्षा समितिलाई समेत सक्रिय बनाइएको छ । ‘प्रदेशका प्रमुख सचिवको नेतृत्वमा हुने कमाण्ड पोष्टलाई सक्रिय बनाएर समन्वयलाई भरपर्दो बनाइएको छ,’ अर्यालले भने, ‘त्यो समितिमा सेनाका पृतनापति, आन्तरिक मामिला मन्त्रालयका सचिवदेखि सबै सुरक्षा निकायका प्रमुखसमेत हुन्छन् ।’
तत्काललाई कुनै चुनौती नभए पनि निर्वाचनका समयमा आइपर्नसक्ने चुनौतीलाई तत्काल आपसी समन्वयमा परिचालन गर्ने परिषद्को निर्णय छ । बैठकमा सहभागी एक सदस्यका अनुसार मतदानपछिको सम्भावित सुरक्षा चुनौतीबारे समेत छलफल भएको छ । ‘मतगणना सुरु भएर प्रारम्भिक नतिजा आइरहँदा आइपर्नसक्ने चुनौतीलाई समेत विश्लेषण गरेर अन्तिम परिणाम आउँदासम्मको परिस्थितिलाई शान्त बनाउने विषयमा कुराकानी भए,’ ती सदस्यले भने, ‘त्यो हिसाबमा तत्काललाई कुनै चुनौती देखिएका छैनन् ।’
प्रधानसेनापति सिग्देलले समेत सबै सुरक्षा संयन्त्रसँग समन्वयमा भयरहित ढंगले चुनाव हुने अवस्था तयार भएको ब्रिफिङ बैठकमा गरेको उनको भनाइ छ । नेपाली सेनाले चुनावपूर्वको अवस्थामा सामाजिक सञ्जाल निगरानीमा सहयोग गर्नेबाहेक मतपत्र छपाइको सुरक्षा, ढुवानी र महत्वपूर्ण संरचना सुरक्षामा काम गरेको थियो भने निर्वाचनका बेला नेपाल प्रहरी र सशस्त्र प्रहरीपछि तेस्रो घेरामा बसेर सेनाले निर्वाचन अधिकृत, स्थानीय प्रशासन र अरू सुरक्षा निकायको समन्वयमा काम गर्नेछ ।
‘विभिन्न बेस बनाएर संयुक्त गस्तीहरू पनि हुनेछन्, निर्वाचनपछि पुनः मतपेटिका ढुवानी, मतगणना स्थलको सुरक्षाको काममा सेनाले सहयोग गर्नेछ,’ सैनिक प्रवक्ता राजाराम बस्नेत भन्छन्, ‘सेनाबाट मात्र चुनावमा ७९ हजार सुरक्षाकर्मी खटिनेछन् ।’ उनका अनुसार सेनाले निर्वाचनलाई सुरक्षित ढंगले सम्पन्न गर्न निर्वाचन आयोग, अरु सुरक्षा अंगसहित सबै निकायसँग समन्वय र सहकार्य गरेर सुरक्षित वातावरण तयार गर्ने काम गरेको छ । कुनै किसिमको अप्रिय घटना नहोस् भनेर देशभरि ८ सय बम डिस्पोजल टोलीसमेत परिचालन गरिएको बस्नेतको भनाइ छ ।
‘कुनै पनि खबर प्राप्त हुनासाथ तुरुन्त गएर सुरक्षित ढंगले डिस्पोजसँगै नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने हिसाबले यसरी तैनाथ गरिएको हो,’ सहायक रथी बस्नेतले भने । हालसम्म सेनाले १४ वटा शंकास्पद वस्तु डिस्पोज गरिसकेको छ । तर, ती सबै तर्साउनलाई राखिएका बम जस्तो देखिने वस्तु मात्र भएको अधिकृतहरूको भनाइ छ ।
अधिकृतहरूका अनुसार कुनै अप्रिय गतिविधि नहोस् भनेर १६५ निर्वाचन क्षेत्रमै सेना र सशस्त्रका एक–एक वटा अस्थायी बेस बनाइएको छ । सेनालाई सोही बेसमार्फत लामो दूरी, मध्यम दूरी र छोटो दूरी गरी तीन भागमा पैदल गस्ती, स्ट्राइकिङ फोर्स, मोबाइल गस्तीलगायतका लागि खटाइएको छ ।
नेपाल प्रहरीका अनुसार, निर्वाच्नलाई शान्तिपूर्वक सम्पन्न गर्न सीसी टीभी र ड्रोनमार्फतसमेत निगरानी गरिनेछ ।
‘निर्वाचन आचारसंहिता उल्लंघन, सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रत्येक जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, उपत्यका प्रहरी कार्यालय, साइबर ब्यूरो र प्रहरी प्रधान कार्यालयमा समेत सोसल मिडिया मनिटरिङ डेस्कले काम गरिरहेको छ,’ प्रहरी प्रवक्ता काफ्लेले भने, ‘त्यसैले ढुक्कले मतदान गर्नसक्ने अवस्था छ ।’
निर्वाचन आयोगले देशभर ११ हजार ९ सय १ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र तोकेको छ । तीमध्ये ४ हजार १ सय १४ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । संवेदनशीलताका आधारमा सुरक्षाकर्मीलाई खटाइएको छ । मन्त्रालयका अनुसार, देशभर ४ हजार ४ सय ४२ मतदानस्थल संवेदनशील र २ हजार ८ सय ४५ सामान्य सुरक्षा चुनौतीको सूचीमा छन् ।
काठमाडौं उपत्यकामा २ सय ७८ मतदानस्थल सामान्य, २ सय ३७ मतदानस्थल संवेदनशील र १२ मतदानस्थल अति संवेदनशील सूचीमा छन् । कोशीमा ६ सय ४७ मतदानस्थल सामान्य, २ सय ३७ संवेदनशील र १२ अति संवेदनशील सूचीमा समेटिएका छन् । मधेशमा १ सय ५९ सामान्य, ७ सय ५५ संवेदनशील र १ हजार २ सय ४६ अति संवेदनशील सूचीमा राखिएका छन् । बागमती (उपत्यकाबाहेक) मा ४ सय ३७ सामान्य, ४ सय ९७ संवेदनशील र १ हजार २ सय ८८ अति संवेदनशील सूचीमा राखिएका छन् ।
गण्डकीमा ३ सय ९२ सामान्य, ५ सय ७७ संवेदनशील र ३ सय २८ अति संवेदनशील, लुम्बिनीमा ४ सय ७१ सामान्य, ७ सय ३८ संवेदनशील र ३ सय ५८ अति संवेदनशील छन् । कर्णालीमा १ सय ६१ सामान्य, ४ सय २२ संवेदनशील र ३ सय ५८ अति संवेदनशील तथा सुदूरपश्चिममा ३ सय सामान्य, ३ सय ९४ संवेदनशील र ४ सय ८१ मतदानस्थल अति संवेदनशील सूचीमा छन् ।
