मौन अवधिमा भ्रामक सूचनाको बाढी

उम्मेदवारबारे तथ्य तोडमोड गरेर तथा ‘डिपफेक’ अडियो र भिडियो तयार गरेर सामाजिक सञ्जालमा अफवाह फैलाइँदै, साइबर ब्युरोको पहलमा हटाइयो ४ सय ४९ वटा भ्रामक तथा अप्रासंगिक सामग्री

फाल्गुन २०, २०८२

दया दुदराज

A flood of misleading information during the silent period

काठमाडौँ — ३४ हजार फलोअर भएको ‘नन्दप्रसाद भट्ट’ नामको फेसबुक अकाउन्टबाट मंगलबार साँझ ६ः०९ मा २७ सेकेन्डको भिडियो पोस्ट भयो । भिडियोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जस्तो देखिने व्यक्तिले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई शुभकामना दिएका छन् । ती व्यक्तिले हिन्दीमा भनेका छन्, ‘मैं नरेन्द्र मोदी मेरे प्रिय पडोसी देश नेपाल के सभी भाइयों और बहनों को हार्दिक शुभकामनाएं देता हूं । मैं बालेन शाह जी को आगामी चुनाव के लिए शुभकामनाएं देता हूं । युवा नेतृत्व अपनी नई सोच और सकारात्मक ऊर्जा लोकतंत्र को मजबूत करती है । नेपाल निरंतर प्रगति करे, यही मेरी कामना है ।’

भिडियोको सत्यता परीक्षणका लागि कान्तिपुरले एआई ‘डिटेक्सन’ टुल ‘हाइभ मोडरेसन’ प्रयोग गर्दा उक्त भिडियो एआईबाट सिर्जित भएको सम्भावना ०.७ प्रतिशत देखियो, अडियो एआईमार्फत तयार पारिएको सम्भावना भने ९९.७ प्रतिशत देखियो । थप पुष्टि गर्न ‘इनभिड’ टुलको सहायतामा भिडियोका ‘की–फ्रेम’ हरू निकालेर विश्लेषण गर्दा मोदी भनिएका व्यक्तिको अनुहारको भाव र ओठको चालमा अस्वाभाविकता देखियो ।

भिडियोमा आवाज मोदीको जस्तो सुनिए पनि भाव, विराम र उच्चारणमा कृत्रिमता देखिन्छ, जुन ‘एआई लिपसिंक’ प्रविधिबाट तयार पारिएका सामग्रीमा सामान्यतया देखिने विशेषता हो । त्यसैले त्यो भिडियो भ्रामक थियो ।

कान्तिपुरले तथ्य जाँच गर्दासम्म उक्त भिडियो १२ लाखभन्दा बढी पटक हेरिएको थियो । त्यसमा ८८ हजार रियाक्ट, १७ सयभन्दा बढी प्रतिक्रिया र ४१ सय पटक सेयर भएको थियो । त्यही भिडियोका कारण भरतपुर महानगरपालिका–१६ का नन्दप्रसाद भट्ट पक्राउ परिसकेका छन् ।

भिडियोमार्फत अफवाह फैलाउने र निर्वाचन गतिविधिलाई प्रत्यक्ष असर गर्ने खालको काममा संलग्न भएको देखिएकाले विद्युतीय कारोबार ऐनअनुसारको कसुरमा उनलाई पक्राउ गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिए । ‘प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोको प्राविधिक सहयोग लिएर अध्ययन गर्दा भट्टको संलग्नता पत्ता लाग्यो । उनलाई भरतपुर–१० बाट पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ,’ उनले भने । भट्ट पक्राउपछि भिडियो हटाइएको छ ।

निर्वाचनको सम्मुखमा भ्रामक सूचना फैलाइएको यो पहिलो घटना होइन । राजनीतिक दल र उम्मेदवारका विषयमा तथ्य तोडमोड गरेर, ‘डिपफेक’ अडियो र भिडियो तयार गरेर सामाजिक सञ्जालमा अफवाह फैलाउने क्रम चलिरहेको छ । कतिपयले कानुनी दफाको आंशिक उद्धरण र अधुरो व्याख्या गरेर भ्रमपूर्ण सामग्री फैलाइरहेका छन् ।

बुधबार मात्रै रास्वपाका तर्फबाट धादिङ–१ बाट उम्मेदवारी दिएकी ‘आसिका तामाङको उम्मेदवारी खारेज हुने’ दाबी गरिएको समाचार केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलियो । तामाङले जर्मनीको स्थायी आवासीय अनुमति (पीआर) लिएको दाबी समाचारमा गरिएको थियो ।

‘केटीएभ दैनिक’ नामक फेसबुक पेजले बुधबार दिउँसो १२ः१२ बजे ‘आसिकाको उम्मेदवारी खारेज हुन सक्ने’ शीर्षकमा पोस्ट गरेको थियो । त्यसमा जर्मनीको पीआरलाई ‘त्यहाँको नागरिकसरह’ मानिने दाबी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ र निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा १४ उद्धृत गरिएको थियो । अधिवक्ता रामचन्द्र कोइरालाको भनाइ राख्दै ‘मतदान गर्न नपाउने व्यक्ति उम्मेदवार हुन नसक्ने’ तर्क गरिएको थियो ।

प्रदेश खबर डटकमले पनि उही शीर्षकमा सामग्री प्रकाशन गरेको थियो । प्राइम टीभीको फेसबुक पेजबाट पनि त्यही शीर्षकको सामग्री राखिएको थियो । तर निर्वाचन आयोगकी सहायक प्रवक्ता सीता श्रीस पुनले ती सामग्रीमा गरिएको दाबीमा कुनै सत्यता नरहेको बताइन् । उनका अनुसार तामाङविरुद्ध उम्मेदवारी खारेजीसम्बन्धी कुनै उजुरी दर्ता भएको छैन । ‘अहिले आइरहेका समाचार सबै अफवाह हुन्,’ उनले भनिन् । केही सञ्चारमाध्यमले भने तामाङका विषयमा गलत समाचार प्रकाशन गरेको स्वीकार गर्दै माफी मागेका छन् ।

चितवन–२ की रास्वपा उम्मेदवार सोविता गौतमले थारू र गुरुङ समुदायलाई ‘पैसामा बिक्ने’ भनेको दाबीसहितको भिडियो पनि सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भयो । जनआस्थालगायतका अनलाइन पोर्टल र फेसबुक प्रयोगकर्ताले भिडियो सेयर गर्दै गौतमले आदिवासी समुदायलाई अपमान गरेको उल्लेख गरेका थिए ।

चुनावी समयमा अन्य दलले पैसा बाँड्न आउँदा त्यसमा सामेल नहुन गौतमले आग्रह गरेको भिडियोलाई तोडमोड गरी राखिएको थियो । कान्तिपुरले तथ्य जाँच गर्दा भिडियोमा काटकुट र तोडमोड गरेर भ्रम सिर्जना गरिएको पत्ता लाग्यो । यसबारे टेकपानाले पनि तथ्य जाँच गरेको छ ।

यहीबीचमा कांग्रेस सभापति गगन थापाको भाषणको भिडियो पनि निश्चित अंश काटेर भ्रम फैलाउने गरी पोस्ट गरिएको थियो । ‘गगन थापाले जनजाति समुदायप्रति अपमानजनक टिप्पणी गर्दै ब्राह्मण–क्षेत्रीका पक्षमा बोलेको दाबी गरिएको ३७ सेकेन्डको भिडियो ‘ग्लोबलमिडिया००९८’ प्रयोगकर्ताले टिकटक, फेसबुक र एक्स लगायतमा सेयर गरेका थिए । उक्त भिडियोमा गगनले भनेका छन्, ‘जनजातिहरूले नेपालमा आफूले आफूलाई के भन्ठानेका छन् ? सबै कुरा अधिकार मागेर, यो चाहियो त्यो चाहियो भनेर, यिनीहरूले गर्न के खोजेको ? नेपालमा क्षेत्री–ब्राह्मण नभएको भए कुनै पार्टी चल्थ्यो ?’

सात वर्षअघि सार्वजनिक भएको २७ मिनेटभन्दा लामो भाषणको छोटो अंश काटेर उक्त भिडियो तयार पारिएको थियो । थापाले मूल भाषणमा आफ्नै धारणा व्यक्त गरेका छैनन् । उनले तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालको भनाइ उद्धृत गरेका थिए । यसबारे ‘नेपाल फ्याक्ट चेक’ले पनि तथ्य जाँच गरेको छ ।

३७ सेकेन्डको आंशिक भिडियो फैलिएपछि कांग्रेस सभापति थापाले ‘सामाजिक सञ्जालमा मेरो नाम जोडेर फैलाइएका भ्रमहरू पूर्णतः निराधार छन् । मेरो विचार र व्यवहार सधैं सबै जाति र समुदायप्रति सम्मानजनक छ । म जातीय श्रेष्ठतामा होइन, मानवीय समानता र भाइचारामा विश्वास गर्छु । कृपया कुनै पनि भ्रामक प्रचारको पछि नलाग्न विनम्र अनुरोध गर्दछु,’ लेखेका थिए । उनले पूरा भिडियोको युट्युब लिंक पनि त्यसमा राखेका थिए ।

थापाकै विषयमा अर्को असान्दर्भिक सामग्री पनि यसैबीच फैलिएको छ, जसमा थापाले खुट्टामा पैसा राखेर ढोगिरहेको दाबी गरिएको छ । ७३ हजार फलोअर भएको ‘अवरल बिसौनी’ नामक फेसबुक प्रयोगकर्ताले १७ फागुनमा एक तस्बिर पोस्ट गर्दै त्यसमा देखिएका व्यक्ति गगन थापा भएको दाबी गरेका छन् । त्यस तस्बिरमा एक पुरुषले एक महिलाको खुट्टामा पैसा राखेर ढोगिरहेको देखिन्छ तर दुवैको अनुहार स्पष्ट देखिँदैन ।

तथ्य जाँचका लागि कान्तिपुरले तस्बिरलाई ‘रिभर्स सर्च’ गर्दा त्यो २९ वैशाख २०७९ मा प्रकाशित समाचारसँग सम्बन्धित भेटियो ।

समाचारअनुसार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० मा कांग्रेसका तर्फबाट वडा अध्यक्ष उम्मेदवार रहेका अमृत खनालले फुपू दिदी चेतकुमारी कार्कीलाई ढोग्दा १ हजार रुपैयाँ राखेका थिए । यसबारे निर्वाचन आयोगले स्पष्टीकरण सोधेको र जवाफ चित्तबुझ्दो नभएको भन्दै सचेत गराएको समाचार रातोपाटी र उज्यालो अनलाइनले प्रकाशन गरेका थिए ।

रास्वपाबाट समानुपातिक उम्मेदवार बनेका रमेश प्रसाईं एमालेमा प्रवेश गरेको मिथ्या सूचना फैलिएको थियो । यसबारे कान्तिपुरले फोन गर्दा प्रसाईंले भने, ‘यो जन्ममा मात्रै होइन, अर्को जन्ममा पनि केपी ओलीको एमालेमा जान्नँ । भोलि सरकार बनाउन रास्वपाले केपी ओलीसँग सहकार्य गर्‍यो भने पनि म रास्वपाबाट राजीनामा दिन्छु ।’

पत्रकार तथा तथ्य जाँचक उमेश श्रेष्ठका अनुसार निर्वाचनको मौन अवधिमा उम्मेदवारले बोल्न नपाउने हुनाले त्यसको फाइदा उठाउँदै भ्रामक सूचना फैलाउने गरेको पाइन्छ । ‘मौन अवधिमा उम्मेदवारी खारेज भयो वा अर्को उम्मेदवारलाई समर्थन गरियो भन्ने जस्ता भ्रमपूर्ण हल्ला फैलाउने गरिन्छ,’ उनी भन्छन् । मौन अवधिमा चुनावी प्रचार, भाषण, भेला, छलफल जस्ता निर्वाचनलाई प्रभाव पार्ने गतिविधि गर्न पाइँदैन ।

तथ्य जाँचक श्रेष्ठका अनुसार अघिल्लो चुनावको तुलनामा यसपालि ‘डिपफेक’ र एआईको प्रयोग केही बढेको देखिन्छ । ‘विशेष गरी राजनीतिक दलका नेताहरूको भिडियो र अडियोलाई एआईमार्फत तोडमोड गरेर मानिसलाई झुक्याउने प्रयास भइरहेको छ,’ उनले भने, ‘टिकटक र रिल्सका छोटो भिडियोमा सबै सन्दर्भ नअट्ने हुनाले मतदाता सजिलै भ्रममा पर्न सक्छन् ।’

सामाजिक सञ्जालमा भ्रामक सामग्री फैलिएको पाए निर्वाचन आयोगले तिनलाई हटाउन साइबर ब्युरो र दूरसञ्चार प्राधिकरणलाई प्रस्ताव गर्छ । साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार हालसम्म ४ सय ४९ वटा भ्रामक तथा अप्रासंगिक सामग्री हटाइएको छ । ‘निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक सामग्रीको निगरानी र कारबाहीलाई गम्भीरतापूर्वक अघि बढाएका छौं,’ उनले भने ।

यस्ता भ्रामक सामग्री हटाउन टिकटकले छिटो प्रतिक्रिया दिने गरेको तर फेसबुकको माउ कम्पनी ‘मेटा’बाट ढिलो प्रतिक्रिया दिने गरेको पनि अवस्थीले बताए । ‘टिकटकले छिटो र प्रभावकारी सहकार्य गरिरहेको छ । तर मेटाको रेस्पोन्स निकै ढिलो छ,’ उनले भने, ‘भ्रामक सामग्रीले समाजमा क्षति पुर्‍याइसकेपछि मात्र प्रतिक्रिया दिँदा खासै अर्थ हुन्न ।’

‘नेपाल फ्याक्ट चेक’ का सम्पादकसमेत रहेका उमेश श्रेष्ठका अनुसार मतदानको दिन पनि भ्रामक सूचना धेरै फैलिन सक्छ । ‘मतदानस्थलमा असुरक्षाका भ्रामक सूचना धेरै आउन सक्छन्,’ उनी भन्छन्, ‘पाठक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले देखेका सूचनालाई झट्टै पत्याउनु हुँदैन । आफ्नो भावनालाई उत्तेजित बनाउने वा सनसनीपूर्ण खालका सामग्री आए त्यसलाई आलोचनात्मक दृष्टिकोणले हेर्नुपर्छ । विश्वसनीय मिडियाका सूचनालाई मात्र पछ्याउनुपर्छ ।’

प्रतिनिधिसभा निर्वाचन २०८२

दया दुदराज कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully