मतदानको पूर्वसन्ध्यामा विदेशिन बाध्यहरू भन्छन्- ‘चुनावपछि स्वदेशमै काम गर्ने वातावरण बनोस्’

नागरिकले विरलै पाउने मतदानको अवसर गुमेकोमा दुःखी हुँदाहुँदै पनि निर्वाचनमार्फत् मुलुकमा शान्ति, स्थायित्व र आर्थिक समृद्धि ल्याउने नेतृत्व आउनेमा उनीहरू विश्वस्त छन् ।

फाल्गुन २०, २०८२

आरती पौडेल

On the eve of the election, those forced to go abroad say - 'Let's create an environment for working in our country after the election'

काठमाडौं — प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहलले पुरै मुलुक उत्सवमय बनेको छ । आममतदाता बिहीबार हुने मतदानमा सहभागी हुन आतुर छन् । तर, केही मतदाता भने चुनावकै पूर्वसन्ध्यामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘डिपार्टर’ लाइनमा छन् । वैदेशिक रोजगारी, उच्च शिक्षा तथा अन्य प्रयोजनका लागि नेपाल छाड्नुपर्ने बाध्यताले उनीहरूले मतदान गर्न नपाउने भएका हुन् ।

नागरिकले विरलै पाउने यो अवसर गुमेकोमा दुःखी हुँदाहुँदै पनि निर्वाचनमार्फत् मुलुकमा शान्ति, स्थायित्व र आर्थिक समृद्धि ल्याउने नेतृत्व आउनेमा उनीहरू विश्वस्त छन् । अर्को चुनावका बेला विदेशिन नपरोस् र स्वदेशमै रोजगारी, गुणस्तरीय शिक्षा र व्यवसाय गर्ने वातावरण बनोस् भन्ने उनीहरूको कामना छ । 

तिनैमध्येका एक हुन् कुलदेव पुरी । ठूलो सुटकेस र रातो भिर्ने झोला छेउमा राखेर विमानस्थलको टर्मिनल परिसरमा भेटिएका वीरगन्ज निवासी पुरी मलेसिया जान लागेका हुन् । २७ वर्षका पुरी ३ वर्ष मलेसियामा काम गरेर दुई महिनाको बिदामा घर आएका थिए । उनी बुधबार साँझ ९ बजेको उडानबाट मलेसिया जान लागेका थिए । चुनावको अघिल्लो दिन विदेशिनु पर्दा दुःख लागेको उनले बताए । कम्पनीले नै टिकट काटिदिएकाले अघिल्लो दिन नै देश छाड्न बाध्य भएको उनले बताए । उनी जुन पार्टीले जिते पनि देश विकास हुनुपर्ने बताउँछन् । उनले भने, ‘जो सुकैले जितोस् तर हामीलाई नेपालमै जागिर मिलोस् । आमाबुबासँगै बस्न पाइयोस् ।’ 

             ०००

नेपालगन्जका राधेश्याम पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै भेटिए । २२ वर्षीय राधेश्याम पनि वैदेशिक रोजगारीका लागि जाँदै थिए । दुई वर्षपछि एक महिनामा बिदामा घर आएका राधेश्याम देशमै जागिर नपाएका कारण विदेश गएको बताउँछन् । ‘नेपालमै काम खोजेको थिए । जति खोज्दा पनि भनेको जस्तो काम पाइन,’ उनले भने, ‘बाध्यताले गएको हो । अर्काको देशमा खुशीले काम गर्न जान कसलाई मन हुन्छ ?’

On the eve of the election, those forced to go abroad say - 'Let's create an environment for working in our country after the election'

राधेश्याम आफूले भोट हाल्न नपाए पनि राम्रोले जितोस् भन्ने चाहन्छन् । साथै महंगी घटोस्, हरेक व्यक्तिले देशमै केही गर्नेसक्ने वातावरण बनोस् भन्ने चाहना राख्छन् ।               

                      ०००

ताप्लेजुङ–३ का २४ वर्षीय छवि विश्वकर्मा पनि लगेज र मादल छेउमै राखेर साथीसँग फोटो खिचिरहेका थिए । उनी २० वर्षकै उमेरमा मलेसिया गएका थिए । ४ वर्ष मलेसियामा काम गरेर २ महिनाको छुट्टीमा घर आएका उनी बुधबार फर्किँदै थिए । उनले पनि मतदानको पूर्वसन्ध्यामा विदेश जानुपर्दा दुःख लागेको सुनाए । ‘साथीहरू चुनाव लागेर रमाइलो गर्दैगर्दा आफू भने विदेश जान पर्‍र्या, मन त दुेखेको छ नी,’ उनले भने, ‘फेरि परिवार पनि पाल्नै पर्‍यो । चुनाव भनेर रोकिने कुरा पनि भएन् ।’ 

On the eve of the election, those forced to go abroad say - 'Let's create an environment for working in our country after the election'

११ कक्षा पढ्दै गर्दा विदेश पुगेका छवि पढेपछि युवाहरूले आफ्नै देशमा जागिर पाउँन् भन्ने चाहन्छन् । उनले भने, ‘आगामी दिनमा सबैले आफ्नै देशमा जागिर, व्यवसाय गर्न पाउन । बाध्यताले विदेश जान नपरोस् ।’

                      ०००

उच्च शिक्षा हासिल गर्न विदेश जानेहरू पनि देशमा सकारात्मक परिर्वतन आवोस् भन्ने चाहन्छन् । उनीहरू आगामी दिनमा राम्राले जितुन र युवाले देशमै रोजगारी पाउँन् भन्ने चाहन्छन् । त्यसैमध्येकी एक हुन् नवलपुर कावासेती–३ की १९ वर्षीया अरूणा सुवेदी । राष्ट्रिय झण्डा काँधमा राखेर परिवारसँग फोटो खिच्दै गर्दा उनी पनि विमानस्थलमा भेटिइन् । उच्च शिक्षाका लागि उनी दक्षिण कोरीया जान लागेकी थिइन् । उनले भनिन्, ‘भविष्य उज्ज्वल होस् भनेर विदेश जान लागेकी हुँ । कम उमेरमै विदेशीनु पर्दा नरमाइलो लागेको छ ।’ मतदानको अघिल्लो दिन विदेशिन पर्दा दुःख लागेको उनले सुनाइन् ।

On the eve of the election, those forced to go abroad say - 'Let's create an environment for working in our country after the election'

‘पहिलोपटक मतदान गर्दै थिए । त्यहि पनि दिन पाइन,’ उनले भनिन्, ‘ज्यान विदेशमा भए पनि मन आफ्नै देशमा हुन्छ ।’ उनले उच्च शिक्षा, साथै रोजगारको लागि आगामी दिनमा कोही पनि विदेश जान नपरोस् भन्ने चाहेको सुनाइन् । 

छोरीलाई विदेश पठाउन आएकी उनकी आमा भगवती सुवेदीले सन्तानले देश छोडेर विदेश रोज्दा निकै दुःख लागेको सुनाइन् । आँशु पुछ्दै उनले भनिन्, ‘छोरी सानै छिन् । जति सम्झाउँदा पनि विदेश जाने भनेपछि पठाउन लागेका हौँ ।’ ३ महिना अगाडि छोरालाई पनि उच्च शिक्षाको लागि विदेश पठाएको उनले सुनाइन् । उनले भनिन्, ‘विदेश नजाओ भनेर कति सम्झाए तर यहाँ बस्ने वातावरण नै भएन भन्छन् ।’ 

               ०००

तिलोत्तमा–१० घर भएका २० वर्षीय पुरन चौधरी पनि उच्च शिक्षाका लागि दक्षिण कोरीया जान लागेका थिए । छोरालाई विदेश पठाउन उनकी आमा पनि काठमाडौं आएकी छन् । पुरनको छेउमै बसेकी आमा छोरोलाई अर्काको देश पठाउनुपर्दा दुःखी मुद्रामा देखिन्थिन् ।

On the eve of the election, those forced to go abroad say - 'Let's create an environment for working in our country after the election'

पुरन पनि मतदानको अघिल्लो दिन विदेश जानु परेकोमा दुःखी देखिन्थे । उनी भन्छन्, ‘भोट दिन त मन थियो नी । उता पढाइ सुरु भइसक्यो । टिकट पनि यही बेलाको छ । परिस्थिति हेर्दा चुनावभन्दा ठूलो आफ्नो भविष्य हो जस्तो लाग्यो ।’ उनी बुधबार बेलुकाको फ्लाइटबाट कोरिया जाँदै थिए ।

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully