एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार रहेको जिल्ला झापामा सुरक्षा व्यवस्था ‘हाई अलर्ट’मा राखिएको छ ।
विराटनगर — बिहीबार हुने निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सम्भावित जोखिमका आधारमा प्रदेशका सयौँ मतदान स्थललाई अति संवेदनशील सूचीमा राख्दै सुरक्षा रणनीति थप चुस्त पारिएको प्रदेशको सुरक्षा श्रोतले जनाएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेका अनुसार प्रदेशभर १ हजार ९ सय ७ मतदान स्थलमध्ये ४ सय ३९ मतदान स्थल अति संवेदनशील सूचीमा छन् । ती मतदान स्थलअन्तर्गत ४ हजार २ सय ७० मतदान केन्द्र छन् । जसमध्ये १ हजार १६ केन्द्र उच्च जोखिमको सूचीमा छन् ।
विगतका घटनाको समीक्षा, अन्तर्राष्ट्रिय सीमा नजिकको अवस्था, मतदाता संख्या, राजनीतिक गतिविधिको तीव्रता, भौगोलिक दुर्गमता तथा सम्भावित जोखिमको विश्लेषणका आधारमा सुरक्षा वर्गीकरण गरिएको डीआईजी घिमिरेले जनाएका छन् ।
सुरक्षा स्रोतका अनुसार ८ सय २१ मतदान स्थल (१ हजार ८ सय ६९ केन्द्र) संवेदनशील र ६ सय ४७ मतदान स्थल (१ हजार ३ सय ८५ केन्द्र) सामान्य सूचीमा राखिएको छ ।
निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन तीन तहको सुरक्षा घेरा लागू गरिएको छ । पहिलो घेरामा नेपाल प्रहरी तथा निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल तथा तेस्रो तथा बाहिरी घेरामा नेपाली सेनाको तैनाथ रहने छ ।
कोशीमा करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाल प्रहरी १२ हजार छन् भने निर्वाचन प्रहरीको संख्या २५ हजार हाराहारी छ । सशस्त्र र नेपाली सेना पनि करिब १० हजार हाराहारीमा परिचालन भएका छन् । सबै मतदान केन्द्रहरूमा सुरक्षाकर्मी परिचालन भइसकेका छन् ।
कोशीका १४ जिल्लामा २८ निर्वाचन क्षेत्र रहेका छन् । मोरङमा सबैभन्दा बढी ६, झापामा ५ र सुनसरीमा ४ क्षेत्र छन् । इलाम र उदयपुरमा २/२ तथा ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, सोलुखुम्बु, खोटाङ र ओखलढुंगामा समान १/१ निर्वाचन क्षेत्र छन् ।
कोशीमा चुनावी सुरक्षा अनुगमन र समन्वयका लागि नेपाल प्रहरीका तीन जना प्रहरी वरिष्ठ उपरीक्षकहरू (एसएसपी) परिचालन गरिएको छ । मोरङ–सुनसरी क्षेत्रमा ज्ञानेन्द्र फुयाँल, झापा–इलाममा गोविन्द अधिकारी तथा उदयपुर–खोटाङ क्षेत्रमा योगेन्द्रसिंह थापा खटिएका छन् ।
कोशी प्रदेशमा कुल ३५ लाख ७४ हजार ३ सय १० मतदाता छन् । जसमध्ये १८ लाख २८ हजार २ सय १३ पुरुष, १७ लाख ४६ हजार ७३ महिला र २४ जना अन्य मतदाता छन् ।
झापामा ‘हाई अलर्ट’
एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार रहेको जिल्ला झापामा सुरक्षा व्यवस्था ‘हाई अलर्ट’ मा राखिएको छ ।
केपी–बालेन्द्रबीच चुनावी प्रतिस्पर्धा हुने हुँदा समग्र जिल्लाको सुरक्षा सतर्कता कडा तुल्याइएको हो ।
झापामा मात्रै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरी गरी करिब ९ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । गुप्तचर निकाय राष्ट्रिय अनुसन्धानका प्रहरीहरू र अन्य पनि सादा पोसाकमा खटाइएको छ । बम डिस्पोजल टोली मात्रै एक दर्जन हाराहारीमा परिचालित छन् ।
झापाका २ सय ८५ मतदानस्थलमध्ये ९५ अति संवेदनशील, १ सय ४७ संवेदनशील र ४३ सामान्य सूचीमा छन् । सोही आधारमा सुरक्षा व्यवस्थापन गरिएको झापाका एसपी वसुन्धरा खड्काले जनाइन् ।
