मतदानस्थलमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मी महिलाहरू छन्
चितवन — भरतपुर महानगरपालिका–१० को भरतपुर मावि मतदानस्थलमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मी महिलाहरू छन् । त्यहाँ चारवटा मतदान केन्द्र छन् । प्रत्येक केन्द्रमा ६ जना कर्मचारी र तीन जना स्वयंसेवक रहनेछन् ।
त्यसैगरी सुरक्षाका लागि खटेका जनपद प्रहरीका नौ र निर्वाचन प्रहरीका १६ जना पनि सबै महिलाहरू नै हुन् ।
भरतपुर माविका चारवटा मतदान केन्द्रमा कुल तीन हजार ७२७ मतदाता छन् । अघिल्लो पटक २०७९ सालको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा पनि भरतपुर माविमा सबै महिलाहरू नै खटिएका थिए भन्ने ‘क’ केन्द्रका मतदान अधिकृत सुशीला वाग्लेले बताइन् । अघिल्लो पटक खटिएका तीन जना मतदान अधिकृत यो पटक पनि छन् ।
‘अघिल्लो निर्वाचनमा पनि राम्रो तरिकाले सफलतापूर्वक मतदान गराएका थियौँ । यस पटक पनि महिलाहरू नै छौँ । मतदान केन्द्र मिलेर तयार गरिसकेका छौँ । मतदान राम्रोसँग सम्पन्न हुनेछ,’ वाग्लेले भनिन् ।
चितवनमा १६२ मतदान स्थलमा ४९२ मतदान केन्द्र छन् । तीन निर्वाचन क्षेत्र रहेको चितवनमा कुल मतदाता चार लाख ४२ हजार ८२ छन् । जसमा महिला मतदाता धेरै छन् ।
चितवन जिल्लाका कुल मतदान स्थलमध्ये २५ अति संवेदनशील, ९३ संवेदनशील र ४४ सामान्य अवस्थाका छन् । चितवनमा क्षेत्र नम्बर १ मा तीन स्वतन्त्रसहित १८ जना र क्षेत्र नम्बर २ र ३ मा ६/६ जना स्वतन्त्रसहित २३/२३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । मतदान केन्द्र तयार हुनुका साथै तीनवटै क्षेत्रमा गणनास्थल निर्माणको काम पनि सम्पन्न हुँदै गएको छ ।
