हेलिकप्टरमा मतपेटिका हालेपछि साटिन्छ भन्ने निराधार हल्ला : निर्वाचन आयोग

मतदान सम्पन्न भएपछि राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिहरूको रोहबरमा मतपेटिका सिल गरिन्छ : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

फाल्गुन २०, २०८२

कान्तिपुर संवाददाता

Baseless rumor that ballot boxes will be exchanged after being placed in helicopter: Election Commission

काठमाडौँ — निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हेलिकप्टरबाट ढुवानी गर्दा मतपेटिका साटिने भनी चलाइएका हल्लाहरू पूर्णतः निराधार र भ्रामक रहेको स्पष्ट पारेका छन् । 

बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनका क्रममा भण्डारीले मतपेटिकाको सुरक्षामा कुनै पनि सम्झौता नहुने बताएका हुन् । परम्परागत रूपमै त्रिस्तरीय सुरक्षा घेराभित्र मतपेटिका राखिने उनको भनाइ छ ।

उनले मतदान सम्पन्न भएपछि राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिहरूको रोहबरमा मतपेटिका सिल गरिने र त्यसमा प्रतिनिधिहरूको आफ्नै चिह्न अंकित लाहाछाप लगाइने बताए । मतपेटिका सुरक्षाका लागि बाहिरी घेरामा नेपाली सेना, बीचको घेरामा सशस्त्र प्रहरी बल र भित्री घेरामा नेपाल प्रहरी रहने पुरानै व्यवस्था कायम रहेको उनले जानकारी दिए ।

‘कतिपय ठाउँमा हेलिकोप्टरमा मतपेटिका हालेपछि मतपेटिका नै परिवर्तन हुन्छ रे भन्ने सुनेको छु, त्यो किञ्चित होइन, कुनै हालतमा हुँदैन । मतगणना गर्ने बेलामा दलका प्रतिनिधिहरूले आफ्नो लाहाछाप ठीक छ कि छैन भनेर हेरेर मुचुल्का बनाएपछि मात्र मतगणना सुरू हुन्छ । त्यसैले यस्ता शंका र उपशंकामा कुनै सत्यता छैन,’ उनले भने । 

दुर्गम क्षेत्रबाट मतपेटिका ल्याउन नेपाली सेनाको भरपर्दो र सुरक्षित हेलिकोप्टर प्रयोग गर्न लागिएको भन्दै उनले सेनाले छुट्टै मतपेटिका ल्याउने भन्ने हल्लामा विश्वास नगर्न आग्रह गरे । 

प्रतिनिधिसभा निर्वाचन २०८२

कान्तिपुर

Link copied successfully