चुनावको उत्साह : काठमाडौं उपत्यकाबाट ८ लाख ८४ हजार यात्रु बाहिरिए

काठमाडौं उपत्यकाबाट २० दिनमा ८ लाख ८४ हजार ९५ जना यात्रु बाहिरिएका छन् ।

फाल्गुन २०, २०८२

कान्तिपुर संवाददाता

Election excitement: 884,000 passengers leave Kathmandu Valley

काठमाडौँ — काठमाडौं उपत्यकाबाट २० दिनमा ८ लाख ८४ हजार ९५ जना यात्रु बाहिरिएका छन् । होली र निर्वाचनको उत्साहले गर्दा पछिल्लो समय उपत्यका छाड्नेको संख्या बढेको हो । जसले गर्दा अहिले उपत्यकाका सडकहरू प्रायः सुनसान छन् ।

निर्वाचनले गर्दा धेरै यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिसकेका छन्, ट्राफिक व्यवस्थापनमा केही दिनयता समस्या छैन - सुनीलजंग शाह, डीएसपी, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय सडकमा सार्वजनिक र निजी सवारीसाधन कम गुडेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी सुनीलजंग शाहले बताए । ‘निर्वाचनले गर्दा धेरै यात्रु बाहिरिसकेका छन्,’ उनले भने, ‘ट्राफिक व्यवस्थापनमा केही दिनयता समस्या छैन, उपत्यकामा गुड्ने सवारीसाधनको संख्या धेरै कम छ ।’ अधिकांश ट्राफिक प्रहरी निर्वाचन सुरक्षामा खटिएकाले सीमित जनशक्तिबाट उपत्यकामा ट्राफिक व्यवस्थापन भइरहेको छ । कतिपय ठाउँमा निर्वाचन प्रहरीले ट्राफिक व्यवस्थापनमा सघाइरहेका छन् ।

डीएसपी शाहका अनुसार उपत्यकाबाट बाहिरिने सवारीसाधनलाई ट्राफिक प्रहरीले काठमाडौंको नागढुंगा, बालाजु, सामाखुसी, भक्तपुरको जगाती, ललितपुरको फर्पिङ र चापागाउँ नाकामा जाँच गरेर यात्रुलाई यात्राबारे सचेत गराएर मात्र पठाउने गरिएको छ । ‘विशेषतः मोटरसाइकल र स्कुटरमा जाने यात्रुलाई तीव्र गतिका कारण हुने दुर्घटनाबारे सचेत गराएका छौं,’ उनले भने, ‘मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन र तीव्र गतिमा नचलाउन भनेर मात्र पठाउने गरेका छौं ।’

ट्राफिक प्रहरीका अनुसार बुधबार उपत्यकाबाट बाहिरिने यात्रु र सवारीसाधनको संख्या पातलिएको छ । बिहीबार हुने निर्वाचनले गर्दा बुधबार राति १२ बजेबाट सवारीसाधन चलाउन नमिल्ने भएकाले मध्यम दूरीका सवारीसाधन मात्र उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीको भनाइ छ । मोटरसाइकल र स्कुटरमा बाहिरिने यात्रुको संख्या भने ट्राफिक प्रहरीसँग छैन ।

१७ फागुनमा सबैभन्दा धेरै यात्रु लिएर सवारीसाधन बाहिरिएको गोंगबुको नयाँ बसपार्कस्थित ल्होत्से बहुउद्देश्यीय प्रालिका पंकज मल्लले बताए । ‘आइतबार मात्र ४ सय ८० यात्रुवाहक गाडी बसपार्कबाट बाहिरिएका थिए, अघिपछि सामान्य अवस्थामा दैनिक ३ सयदेखि साढे ३ सय गाडी बाहिरिने गर्छन्,’ उनले भने, ‘बुधबार बिहान केही सवारीसाधन बाहिरिएका छन्, राति १२ बजेबाट सवारीसाधन चलाउन नमिल्ने भएकाले बुधबार मध्याह्नबाट बसपार्कको काउन्टर मतदान अवधिभरका लागि बन्द गरेका छौं, बसपार्क अहिले सुनसान छ ।’

विगत वर्षहरूमा जस्तो यो पटक कुनै पनि पार्टीका उम्मेदवारले महासंघलाई गाडी चाहिन्छ भनेर मागेका छैनन् -सरोज सिटौला, कार्यवाहक अध्यक्ष, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ शुक्रबारयता बसपार्कबाट डेढ लाख यात्रुले टिकट काटेको उनको भनाइ छ । मतदान सकिएपछि बिहीबार साँझबाट मात्र सवारीसाधन सञ्चालन गर्न पाइनेछ । ‘विभिन्न जिल्ला जाने यात्रुको भीड दसैंमा जस्तै थियो, यो पटक धेरै सार्वजनिक बिदा पनि पर्‍यो,’ उनले भने, ‘बाहिरिने यात्रु अधिकांश मतदान गर्न जानेहरू नै थिए ।’ उनका अनुसार मंगलबार बसपार्कबाट ३ सय यात्रुवाहक सवारीसाधन बाहिरिएका छन् । बुधबार बिहान पोखरा, बुटवल र भैरहवाका लागि १५ वटा मात्र यात्रु बस छुटेको उनको भनाइ छ ।

यो पटक निर्वाचनका लागि स्वस्फूर्त रूपमा यात्रुहरू आआफ्नो जिल्लामा गाडी रिजर्भ गरेर गएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले बताए । ‘अघिपछिका निर्वाचनभन्दा अहिलेको निर्वाचनमा धेरैको चासो छ, उत्साह छ,’ उनले भने, ‘त्यसैले विगत वर्षहरूमा जस्तो यो पटक कुनै पनि पार्टीका कुनै पनि उम्मेदवारले गाडी चाहिन्छ भनेर मागेनन् ।’ आफ्नै हिसाबले धेरै व्यक्ति काठमाडौं उपत्यकाबाट बाहिरिएको उनको भनाइ छ । ‘हाम्रो अनुमान मोटरसाइकल र स्कुटरमा गएका सहितको संख्या करिब १० लाख हो,’ उनले भने, ‘निर्वाचनमा गएकाहरू सहज रूपमा पुगेका छन्, कहीँ कतै अप्ठ्यारो र सास्ती यात्रु र चालकले भोग्नु परेन ।’

कान्तिपुर

Link copied successfully