प्रधानमन्त्री कार्की चुनावी तयारी र वस्तुस्थिति बुझ्न बुटवलमा

शनिबार बिहान लुम्बिनी प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुख, निर्वाचनमा खटिने सुरक्षाकर्मी, सरोकारवालाहरूसँग प्रधानमन्त्री सुशीला कार्कीले बुटवलमा छलफल गर्ने कार्यक्रम तय भएको छ ।

फाल्गुन ८, २०८२

घनश्याम गौतम

Prime Minister Karki in Butwal to understand election preparations and situation

बुटवल — चुनावी माहोल बुझ्न र आवश्यक सुरक्षा रणनीति तयार गर्न प्रधानमन्त्री सुशीला कार्की शुक्रबार साँझ बुटवल आइपुगेकी छन् । गण्डकी प्रदेशको मुस्ताङस्थित मुक्तिनाथको दर्शन गरी स्थानीय स्तरमा चुनावी अवस्था बुझ्दै प्रधानमन्त्री कार्की शुक्रबार नै बुटवल झरेकी हुन् । 

प्रधानमन्त्री कार्कीले शुक्रबार नै पोखरामा गण्डकी प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरूसँग चुनावी तयारी, संवेदनशीलता र आवश्यक रणनीतिको विषयमा जानकारी लिनुका साथै छलफल गरेकी थिइन् । शनिबार बिहान लुम्बिनी प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुख, निर्वाचनमा खटिने सुरक्षाकर्मी, सरोकारवालाहरूसँग बुटवलमा छलफलको कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले चुनावी वातावरणको समग्र रूपमा अध्ययन, निरीक्षण, निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारीको मनोबल वृद्धि, सरकारको चुनावी सन्देश तल्लो तहसम्म पुर्‍याउने र निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने माहोल तयार गर्नका लागि प्रधानमन्त्रीको अध्ययन निरीक्षणको कार्यतालिका अनुसार बुटवल आइपुगेको बताए । ‘शुक्रबार मुस्ताङसहित गण्डकी प्रदेशस्तरीय निरीक्षण र छलफल सकेर बुटवल आइपुगेका हौं,’ उनले भने, ‘शनिबार बुटवलमा चुनावी तयारी र सुरक्षा योजनाको विषयमा लुम्बिनी प्रदेश स्तरीय छलफल हुनेछ ।’

यसअघि प्रधानमन्त्री कार्कीले कोशी प्रदेशका सोलुखुम्बु, ताप्लेजुङ, भोजपुर, इटहरीलगायतका जिल्लामा पुगेर चुनावी तयारी अध्ययन गरेर फर्केको र अन्य प्रदेशमा पनि पुग्ने गरी तयारी भएको उनले बताए । प्रधानमन्त्री कार्की शुक्रबार बुटवलस्थित नेपाली सेनाको मध्यपश्चिम पृतनाको कार्यालयमा बस्ने र शनिबारको छलफल सकेर काठमाडौं फर्किने रावलले जानकारी दिए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully