दोलखाका मतदाता भन्छन्- ‘चुनावका दिन कुटामारी गर्छन्, हातैबाट भोट खोस्छन्’

निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु गाउँ-टोलमा मतदाता रिझाउन व्यस्त छन् । मतदाता भने विगतका निर्वाचनझैँ हिंसात्मक झडप र ढुंगामुढा हुने चिन्तामा छन् ।

फाल्गुन ८, २०८२

केदार शिवाकोटी

Voters in Dolakha say - 'They harass them on election day, snatch their votes from their hands'

What you should know

दोलखा — विगु गाउँपालिका–१ को दुर्गम ठाडी बस्ती पुग्दा स्थानीय कोही मकै छर्न बारी जोत्दै थिए, कोही आलु रोप्न व्यस्त थिए । बारीमा मल सार्दै गरेकी ५३ वर्षीया सोममई तामाङ भने चुनावमा भोट हाल्न जाने/नजाने दोधारमा थिइन् ।

दुर्गमको यो बस्तीमा तामाङ समुदायको मात्रै बसोबास छ । करिब २ सय ८० भन्दा बढी घर तामाङ मतदाताका छन् । 

हरेक निर्वाचनमा भोट हाल्न एक घण्टा पैदल हिँडेर मतदानस्थल पुगे पनि झै–झगडा र झडपले गर्दा उनको मत खोसिएका कारण उनलाई चुनावको खासै उत्साह छैन । ‘चुनावमा भोट खसाल्न जान पनि थुरथुर काम्नुपर्छ,’ उनले भनिन्, ढुंगामुढा गरेर कुटामारी खेल्छन्, हाम्रो हातको मत खोसेर लैजान्छन्, आफुले हाल्नै नपाउने भोट खसाल्न किन जाने ?’ उनले चुनावमा आफ्नै हातले भोट हाल्ने ईच्छा रहेको बताइन् । 

हातमा हसिया लिएर लेकतिर घाँस खोज्न हिँडेका ठाडीकै ६७ वर्षीय बाथुर तामाङ पनि चुनावका दिन हुने झडप र कुटामारीबाट आजित बनेका रहेछन् । आफैले मतदान गर्न मन भए पनि असुरक्षा लागिरहेको उनले बताए । ‘चुनाव आयो की कुटामारी ढुंगामुढा हुन्छ,’ उनले भने, ‘हामी बुढाबुढी, महलिा, केटाकेटी पिल्सन्छौं, भाग्न सक्दैनौं, तिघ्रेमुङ्घ्रेले हातैबाट भोट खास्छन्, उनीहरुले नै हाल्दिन्छन् ।’ फागुन २१ को चुनावमा हामी जस्ताको भोटको सुरक्षा कसले गरिदिन्छ भनेर उनले प्रश्न गरे । 

दुर्गम गाउँमा गाउँको विकासका प्रतिवद्धतासहितका नारा दिने उम्मेदवारको कुरा भन्दा पनि मतदाताहरु मतदानका बेला आफ्नो र मतको सुरक्षाको चिन्तामा रहेको देखिन्छन् । जसरी पनि चुनाव जित्ने होडबाजीमा गाउँमा मतदातालाई नै असुरक्षा हुने गतिविधि हुने गरेको एक स्थानीयले बताए । ‘हामी मतदाताको मन जित्न छाडेर पैसाको आडमा मत खोसिन्छ, गुण्डागर्दी गरेर भोट खसाल्छन्, यस्तो चुनावको के अर्थ,’ उनले भने, ‘यसरी भोटमा जबरजस्ती गरेकै कारण हाम्रो गाउँमा न बर्षभरि चल्ने सडक छ, सिटामोल किन्न घण्टौं हिँड्नुपर्ने बाध्यता, छोराछोरी पढाउन गाउँ नै छाडेर जानुपर्छ ।’

सधैं चुनावमा अशान्त रहने दोलखा आसन्न प्रतिनिधधिसभा निर्वाचनमा शान्त हुन्छ कि हुँदैन भन्ने कौतुहलता आम मतदातामा छ । यहाँ हरेक निर्वाचनमा गोली चल्नु र बुथ कब्जा हुनु सामान्य जस्तै छ । २०४८ सालयता भएका निर्वाचनमा दोलखामा सधैं हिंसात्मक घटना भएका छन् । 

हरेक निर्वाचनमा बुथ कब्जा र झडपका श्रृंखला भएका छन् । २०७४ को स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा गौरीशंकर गाउँपालिका–२ मा एमाले र माओवादीका कार्यकर्ताबीच झडपमा एक एमाले कार्यकताको मृत्यु भएपछि तनाव बढेको थियो । सोही निर्वाचनमा मतदान सकिएपछि मेलुङ गाउँपालिका–१ मा कांग्रेस कार्यकर्ताले धाँधली भएको भन्दै शिल गरेको मतपेटिका फुटाएर मतपत्र फालेपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो । प्रहरीले दर्जनौं राउण्ड गोली चलाएको थियो । त्यतिबेला आधा दर्जन बढीलाई गोली लागेको थियो । 

०७९ सालको स्थानीय तह निर्वाचनमा बैत्यश्वर र तामाकोशी गाउँपालिका तनावग्रस्त बनेको थियो । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा २३ वटा मतदानस्थलमा झडप, कुटपिटलगायतका घटना भएका थिए । उक्त निर्वाचनमा मतदाता आतंकित भएर मत खसाल्न जान समेत सकेनन् । कतिपय मतदातालाई बाटोमा ढुकेर कुटपिट गरेपछि मतदानबाट बञ्चित भएका थिए । सोही निर्वाचनमा पहिलो पटक मतदाताले बुथ कब्जाको प्रतिवाद बैत्यश्वर–६ को मतदानस्थलमा एक बृद्ध मतदाताले मत खसाल्न नपाएपछि रिसले मतपेटिका फुटाईदिएका थिए । 

मत कब्जा गरेर मतदानस्थल हिंसात्मक हुने गर्दा आम मतदाताले असुरक्षित गरेका हुन् । कतिपय मतदानस्थलमा मतदाताले वर्षौंदेखि आफूले मतदान गर्न नपाएको बताउने गरेका छन् । विगतमा एक/दुई मतदानस्थल मात्रै अशान्त हुने गरेकोमा यो त्रम २०७९ को निर्वाचनमा बढेको थियो ।

निर्वाचनको समय नजिकिएसँगै मतदाताले शान्तिपूर्ण रुपमा मतदानमा सहभागी हुन पाउँछाैं त भन्ने प्रश्न पुनः गर्न थालेका छन् । जिल्लाको बैत्यश्वर, तामाकोशी, गौरीशंकर, विगु, मेलुङ, कालिञ्चोक, शैलुङ गाउँपालिका र जिरी नगरपालिका २५ वटा मतदानस्थलमा गएका निर्वाचनमा झडप र बुथ कब्जा भएपछि गोली चलेको थियो।

आसन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता र मतदानस्थलको सुरक्षा सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले गर्ने तयारी गरिएको छ । विगतको निर्वाचनमा जस्तो मतदातालाई मत खसाल्न बञ्चित गर्ने समूह पहिचान भइसकेको र त्यही अनुसार रणनिीति बनाइएको सुरक्षा स्रोतले जानकारी दिएको छ । ‘असुरक्षित मानिएका मतदानस्थलका मतदातालाई मत खसाल्ने वातावरण बनाउन घरैबाट सुरक्षाकर्मीले सुरक्षित तरिकाले ल्याउने र घरसम्म पुर्‍याईदिनेसम्मको व्यवस्थापन हुने छ,’ जिल्लास्थित सुरक्षा स्रोतले दाबी गर्यो, ‘यो पटक कुनै पनि हालतमा मतदाता त्रसित बनाउने र बुथ कब्जा हुन दिइने छैन्, ढुक्क भएर मत खसाल्न आउन आग्रह गर्छौं, असुरक्षित महशुष भएमा सम्पर्क गर्न पनि भन्छौं ।’ 

तर विगतका चुनावमा भएका हिंसात्मक घटनाका कारण मतदाता अझैं विश्वस्त हुन सकेका छैनन् । गौरीशंकर गाउँपालिकामा भेटिएका एक मतदाताले भोटको सुरक्षा नभएका कारण मत खसाल्न नजाने निर्णयमा पुगेको बताए । ‘आफु गए पनि नगए पनि मेरो नामको भोट ०६४ सालबाटै खस्दै आएको छ,’ ती मतदाताले भने, ‘०६४ मा भोट खसाल्न मतदानस्थल मात्रै पुगेको थिए, भोट हाल्न दिएनन् खोसेर आफैले हाले । पछिल्लो पटक ०८१ को निर्वाचनमा पहिलो पटक आफैले भोट खसाले, त्यस्तै सुरक्षा भएमा भोट खसाल्न जान्छु ।’ 

दुर्गमका गाउँमा मतदातालाई सुरक्षाको प्रत्याभूति दिन तीन साता अघिबाटै सेना, प्रहरी र सशस्क्रले संयुत्त गस्ती गरिरहेको छ । दुर्गमकै गाउँमा सुरक्षाकर्मीको बेसक्याम्प राखिएको छ । मतदातामा सुरक्षाप्रति सकारात्मक प्रभाव पर्ने गरी रणनीति बनाइएको सुरक्षा समितिले जनाएको छ । विगतका घटनालाई सुक्ष्म अध्ययन गरेकाले बुथ कब्जा र फर्जी मत खसाल्न नदिने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । 

प्रतिनिधिसभा निर्वाचन २०८२

केदार

Link copied successfully