२०४८ सालयताका हरेक निर्वाचनमा हिंसात्मक घटना भएको दोलखामा मतदानको समय निजिकिएसँगै शान्तिपूर्ण रुपमा निर्वाचनमा सहभागी हुन पाउँछौँ त भन्ने प्रश्न मतदाताले गर्न थालेका छन्। बुथ कब्जा हुने कुरा दलहरु स्वीर्काछन्, तर कुनै पनि दलले जिम्मा लिन चाहँदैनन् ।
What you should know
दोलखा — हरेक निर्वाचनमा अशान्त रहने दोलखा आसन्न प्रतिनिधिसभा निर्वाचनबारे मतदातामा कौतुहलता छ । यहाँ हरेक निर्वाचनमा गोली चल्नु र बुथ कब्जा हुनु सामान्य जस्तै छ ।
२०४८ सालयता भएका हरेक निर्वाचनमा दोलखामा हिंसात्मक घटना भएका छन् । २०४८ सालदेखि २०५६ को निर्वाचनसम्म कांग्रेस र एमाले बीच बुथ कब्जा र झडपका श्रृखला भए । २०६४ सोही रोग तत्कालीन माओवादीमा सर्यो । त्यसबेला माओवादीले एमालेको सभा बिथोल्नेदेखि बुथ कब्जा गरेको आरोप लाग्यो । कतिपय स्थानमा कांग्रेसकोसमेत सभा माओवादी विबथोलेको थियो । उक्त निर्वाचनमा सभा सकेर फर्कने क्रममा माओवादीले एमाले नेता कार्यकर्ता चढेको बस र गाडीमाथि आक्रमण गर्दा सुरक्षाकर्मीले गोली चलाउँदा २ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो । धेरै जना घाइते भएका थिए ।
२०७० को संविधानसभा निर्वाचनमा त्रिपक्षीय भिडन्त भएको थियो कतै माओवादी–कांग्रेस । कतै माओवादी–एमाले । कतै कांग्रेस–एमाले कार्यकर्ताको बीचमा झडप भए । झडप नियन्त्रण लिन सुरक्षाकर्मीले दैनिकजसो गोली चलाउनु परेको थियो ।
०७० मा मतदानको दिन जिल्लाका एक दर्जन भन्दाबढी मतदानस्थलमा झडप भएपछि सय राउण्ड भन्दा बढी गोली सुरक्षाकर्मीले चलाएको तथ्यांक छ । त्यो समयमा कांग्रेस र माओवादीले एमालेले एक दर्जन भन्दाबढी मतदानस्थलमा बुथ कब्जा भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका थिए । मतगणना ५ दिनसम्म रोकिएको थियो । अन्नतः दलहरुले सहमति गरेर मतगणनामा सहभागी भएका थिए ।
२०७४ को स्थानीय तहको निर्वाचनको प्रचारप्रसारका क्रममा गौरीशंकर गाउँपालिका–२ मा एमाले र माओवादीका कार्यकर्ता बीच झडप एक एमाले कार्यकताको मृत्यु भएपछि तनाव बढेको थियो । सोही निर्वाचनमा मतदानका दिन मेलुङ गाउँपालिका–१ मा मतदान सकिएपछि कांग्रेसका कार्यकर्ता धाँधली भएको भन्दै मतपेटिका कब्जा गरेर शिल गरेको मत पेटिका फुटाएर मतपत्र फालेपछि प्रहरीले चलाएको गाली लागेर एक जनाको मृत्यु भएको थियो । आधा दर्जन बढीलाई गोली लागेको थियो ।
२०७४ को निर्वाचन केही शान्त बने पनि आधा दर्जन मतदानस्थलमा झडप भएका थिए । प्रहरीले दर्जनौं राउण्ड गोली चलाएको थियो । उक्त निर्वाचनमा कांग्रेसले एमाले– माओवादी गठबन्धनले दर्जनौं स्थानमा बुथ कब्जा गरेको भन्दै उजुरी गरेको थियो । ०७९ सालमै भएको स्थानीय तहको निर्वाचनमा वैत्यश्वर र तामाकोशी गाउँपालिका तनावग्रस्त बनेको थियो । वैत्यश्वरका ४ वटा वडामा बुथ कब्जा गरेर ९८ प्रतिशतसम्म मत खसालिएको थियो ।
यो क्रम २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमासमेत रोकिएन । यो वर्ष कांग्रेस–माओवादी गठबन्धनले ११ वटा बुथ कब्जा गरेको एमालेले आरोप लगाएको थियो । वैत्यश्वरको–६ को मतदानस्थलमा एक वृद्ध मतदाताले मत खसाल्न नपाएपछि मतपेटिका फुटाईदिएका थिए । निर्वाचन आयोगले छानबिन गरेपछि ४ वटा मतदानस्थमा बुथ कब्जा भएको प्रमाण फेला पारेपछि यी स्थानमा पुनः निर्वाचन भएको थियो ।
निर्वाचनमा गोली चल्नु र मत कब्जा गरेर मतदानस्थल हिंसात्मक हुने गर्दा असुरक्षाका बीच मतदान गर्दै आएका छन् । कतिपय मतदानस्थलमा मतदाताले वर्षौदेखि मतदान गर्न नपाएको बताउने गरेका छन् । निर्वाचनको समय निजिकिएसँगै मतदाताले शान्तिपूर्ण रुपम निर्वाचनमा सहभागी हुन पाउँछन् त भन्ने प्रश्न पुनः गर्न थालेका छन् । बुथ कब्जाको आरोपप्रत्यारोप लगाए पनि दलहरु अझै पनि यस्तो गतिविधिको जिम्मा भने लिन चाँहदैनन् । बुथ कब्जा हुने कुरा दलहरु स्वीर्काछन्, तर कुनै पनि दलले जिम्मा लिन चाँहदैनन् ।
दलहरुले जनताको मतको सम्मान गर्नुपर्ने पूर्वप्रतिनिधिसभा तथा संविधानसभा सदस्य आनन्दप्रसादले बताए। ‘जनतालाई मत खसाल्नबाट रोकेर कुनै पनि हालतमा चुनाव जित्न जस्तोसुकै हत्कण्डा अपनाउने शैली दलहरुले त्याग्नुपर्छ,’ उनले भने, ‘विगतका घटनाबाट पाठ सिक्नुपर्छ दलहरुले, यस्का लागि यो पटक म आफै जिल्लामा सबै उमेदवार र दलहरुका प्रतिनिधि राखेर यस्ता गतिविधि बन्द गर्ने सहमति जनाउने प्रयत्नमा लाग्छु। सर्वदलीय रुपमा सहमति गरेर जनताको मत सुरक्षित गर्ने सन्देश दिनुपर्ने उनले बताए । जिल्लालै राष्ट्रिय रुपमा लागेको बुथ कब्जाको दाग मेटाउने ०८२ निर्वाचन दलहरुलाई मौका रहेको उनले बताए ।
जिल्लाका ९५ मतदानस्थल मध्ये ५२ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । यस्तै २८ मतदानस्थल संवेदशील र १५ वटालाई सामान्य सूचीमा राखिएको छ । निष्पक्ष निर्वानका लागि दलहरुबीच नै एक प्रकारको समभदारी हुनपर्ने पूर्व प्रतिनिधिसभा सदस्य गंगा कार्कीले बताए । ‘निष्पक्ष निर्वाचनका लागि दलहरु र पूर्वप्रतिनिधिसभाका सदस्यहरु बीच छलफल भैरहेको छ, विगतका निर्वाचन भन्दा निष्पक्ष बनाउने कुरामा सहमति हुने मैले विश्वास लिएको छु,’ उनले भने, ‘इतिहासमै म उठेको निर्वाचन सबै भन्दा शान्तिपूर्ण भयो, भलै निर्वाचन केही स्थानमा दोहारिए पनि परिणाम फरक भएन ।’
गत निर्वाचनबाट पनि दलहरुले केही सिकेको उनले बताए । प्रशासनले यो पटक दोलखामा शान्तिपूर्ण निर्वाचन गराउन निर्वाचन लक्षित विशेष सुरक्षा योजना बनाएको दाबी गरेको छ । यो पटक कुनै पनि हालतमा बुथ कब्जा र फर्जी मत खसाल्न नदिने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए ।
मतदातको सुरक्षाका लागि नेपाली सेनासहितको सुरक्षा बेसक्याम जिल्लाका विभिन्न ठाउँमा बसिसकेको उनले बताए । 'निर्वाचन शान्तिपूर्ण बनाउन र निष्पक्ष बनाउन सर्वदलिय सहमति पनि भैसकेको छ,’ उनले भने, ‘दलहरुले हामीसँग गरेको सहमति कार्यान्वय गर्नेमा विश्वस्त छौं, संवेदनशील क्षेत्रका मतदानस्थलको विषेश सुरक्षा रणनीति अपनाएका छौं, कोही मतदाताले मत खासाल्न नपाएको गुनासो हुन दिँदैनौं ।’ विगतमा भएका घटनाको अवस्था हेरेर मतदाता र मतदानस्थलसहित मतपेटिको सुरक्षाको रणनीति बनाइएको उनले बताए ।
