निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा निर्वाचनमा हुने खर्च पारदर्शी बनाउनका लागि उम्मेदवारहरुले बैंक खाता खोली सोही खाताबाट खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।
काठमाडौँ — निर्वाचन आयोगले बैंक खाता खोल्ने कामका ढिलाइ नगर्न प्रतिनिधिसभाका उम्मेदवारलाई ताकेता गरेको छ ।
शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले निर्वाचनको प्रचारप्रसारसम्बन्धी सबै खर्च सोही खाताबाट हुनुपर्ने भएकाले बाँकी रहेका उम्मेदवारहरुलाई तत्काल खाता खोल्न सचेत गराएको हो ।
सार्वजनिक बिदाका कारण पनि सो खाता खोल्ने काममा उम्मेदवारहरुलाई असहज हुनसक्ने देखिएको र अब यसलाई ढिलो नगर्न पनि सचेत गराइएको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले बताइन् । उनले उम्मेदवारहरुलाई खाता खोल्ने काममा बैंकहरुलाई सहजीकरण गर्न पनि आयोग भनिसकेको बताइन् ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा निर्वाचनमा हुने खर्च पारदर्शी बनाउनका लागि उम्मेदवारहरुले बैंक खाता खोली सोही खाताबाट खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।