काठमाडौंका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराई भन्छन्- निर्वाचनलाई सुरक्षित र मर्यादित रुपमा सम्पन्न गराउन मतदान केन्द्र, मतदाता तथा राजनीतिक दलहरूसँग निरन्तर नजिकबाट समन्वय गर्दै आएका छौँ ।
What you should know
काठमाडौँ — काठमाडौंका १० निर्वाचन क्षेत्रमा ३ सय २० मतदानस्थल र ८ सय १७ मतदान केन्द्र छन् । देशकै सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ७ लाख १० हजारभन्दा बढी मतदाता छन् । यस्तै, ३५० उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मतदानको मिति नजिकिँदै गर्दा निर्वाचन तयारी, मतदाता शिक्षा, आचारसंहिता र सुरक्षा व्यवस्थापनका विषयमा जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईसँग कान्तिपुरकर्मी विवेक पोख्रेलले गरेको कुराकानी :
काठमाडौं जिल्लामा निर्वाचनको तयारी कस्तो छ ?
मतदानको मिति नजिकिँदै गर्दा समानान्तर रुपमा विभिन्न काम रिरहेका छौं । जिल्ला जनशक्ति व्यवस्थापन समितिमार्फत मतदानस्थलमा खटिने कर्मचारीहरूको विवरण संकलन गरी निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ । निर्वाचन अधिकृतहरू आवश्यक सामाग्रीसहित मतदान केन्द्रमा मतदान हुनुभन्दा तीन दिनअघि नै पुग्ने व्यवस्था छ । त्यसअघि मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि निर्वाचन लक्षित तालिम तयारी भइरहेको छ ।
समानुपातिकतर्फ मात्र मतदान गर्ने व्यवस्थाअन्तर्गत काठमाडौंका दुई कारागार, सुरक्षा निकाय तथा सिंहदरबारस्थित कर्मचारीहरूका लागि सोही ठाउँमा अस्थायी मतदान केन्द्र स्थापनासम्बन्धी सिफारिस निर्वाचन आयोगमा पठाइसकिएको छ । निर्वाचन सामाग्री व्यवस्थापनको काम जारी छ । उम्मेदवारहरूको बैंक खाता खोल्ने तथा घोषणापत्र बुझाउने प्रक्रिया पनि जारी छ । साथै, आचारसंहिता अनुगमनलाई पनि निरन्तरता दिएका छौं । मुख्य कार्यका रुपमा हामीले मतदाता शिक्षालाई प्राथमिकतामा राखेका छौं ।
मतदाता शिक्षाका लागि के–कस्ता अभियान चालिएको छ ?
मतदाता शिक्षालाई यसपटक विशेष प्राथमिकतामा राखिएको छ । निर्वाचन आयोगको निर्देशिकाअनुसार प्रत्येक वडामा स्वयंसेवक खटाइएका छन्, जसले घरदैलोमार्फत मतदाता शिक्षा प्रदान गरिरहेका छन् । हाम्रो लक्ष्य मतदान प्रतिशत बढाउनु र बदर मत न्यून गर्नु हो । काठमाडौंमा बसोबास गर्ने मतदाताले यहाँ प्राप्त गर्ने मतदाता शिक्षा आफ्नो जिल्लामा गएर पनि उपयोगी हुने विश्वास लिएका छौँ ।
काठमाडौंमा निर्वाचन आचारसंहिता पालनाको अवस्था कस्तो छ ?
विगतका निर्वाचनको तुलनामा यसपटक आचारसंहिता पालनाको अवस्था सन्तोषजनक देखिएको छ । राजनीतिक दल तथा उम्मेदवारहरू थप जिम्मेवार र संयमित देखिनु सकारात्मक पक्ष हो । प्राप्त निवेदन तथा उजुरीहरूको सूक्ष्म अध्ययन र अनुगमन निरन्तर रूपमा भइरहेको छ । हालसम्म उल्लेख्य वा गम्भीर प्रकृतिका गुनासा प्राप्त भएका छैनन् । सामाजिक सञ्जालसम्बन्धी आचारसंहिता अनुगमन भने निर्वाचन आयोगले केन्द्रीय तहबाटै गर्दै आएको छ । सबैलाई आचारसंहिता पालना गर्न अनुरोध पनि गर्दै आएका छौं ।
सुरक्षाको दृष्टिले काठमाडौंका मतदान केन्द्रहरू कति संवेदनशील छन् ?
सुरक्षा व्यवस्थापन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समितिले समन्वय गर्दै आएको छ । काठमाडौंका मतदाताहरू सचेत र अनुशासित भएकाले निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुनेमा विश्वस्त छौँ । समग्र रूपमा काठमाडौंलाई संवेदनशील जिल्लाका रूपमा लिइएको छैन ।
काठमाडौंबाट सुरु भएको जेन–जी आन्दोलन कै कारण यो निर्वाचन हुँदैछ । यस्तो अवस्थामा काठमाडौं संवेदनशील छैन भन्न मिल्छ ?
यस विषयमा विस्तृत र प्रष्ट उत्तर त प्रमुख जिल्ला अधिकारीले अझ राम्रोसँग दिनसक्नु हुन्छ । जिल्ला सुरक्षा समितिको सदस्यका रूपमा भन्नु पर्दा म स्वयं पनि विगतका निर्वाचनहरूदेखि नै यहाँ छु । ती निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएका अनुभव छ । सोही अनुभवका आधारमा आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको छ । निर्वाचनलाई सुरक्षित र मर्यादित रुपमा सम्पन्न गराउन मतदान केन्द्र, मतदाता तथा राजनीतिक दलहरूसँग निरन्तर नजिकबाट समन्वय गर्दै आएका छौँ ।
मतदान केन्द्रहरूलाई अपांगता–मैत्री बनाउन के गर्नु भएको छ ?
निर्वाचन सबैको सहभागितासँग जोडिएको विषय हो । त्यसैले मतदान केन्द्रहरूलाई अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला, गर्भवती तथा अन्य अशक्त मतदाताका लागि सहज र पहुँचयोग्य बनाउने व्यवस्था गरिएको छ । मतदानस्थल समावेशी बनाउने प्रयास हुन्छ । हालको संरचनामा आवश्यक सुधारसहित थप सुसज्जित बनाइनेछ, जसले कुनै मतदातालाई मतदान गर्दा अप्ठ्यारो नहोस् ।
अन्तमा, मतदाता र सरोकारवालाहरूलाई के सन्देश दिन चाहनु हुन्छ ?
हामी विशेष परिस्थितिमा निर्वाचनमा छौं । निर्वाचन लोकतन्त्रको महत्वपूर्ण अभ्यास हो । कर्मचारीहरू उच्च मनोबलका साथ खटिनुभएको छ । उम्मेदवार र राजनीतिक दलहरूले आचारसंहिता पूर्ण रूपमा पालना गर्नु हुनेछ भन्ने अपेक्षा छ । मतदातालाई निर्धक्क भई मतदानमा सहभागी हुन र मतदानपछि अनावश्यक भिडभाड नगरि घर गइदिन आग्रह पनि गर्दछु । हामी सबैले शान्तिपूर्ण निर्वाचन लागि काम गरौं । सबैले आफ्नो ठाउँबाट सहयोग गरौं । यो ऐतिहासिक अवसर पनि हो ।
