पूर्वअर्थमन्त्रीहरु को-कहाँबाट भिड्दै ?

अर्थमन्त्री हुँदै प्रधानमन्त्री बनेका बाबुराम भट्टराई, पाँच पटक अर्थमन्त्री बनिसकेका विष्णु पौडेल, दुई पटक अर्थमन्त्री बनेका वर्षमान पुन र जनार्दन शर्मा, एक/एक पटक अर्थमन्त्री बनेका प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्कीलगायत आधा दर्जन पूर्वअर्थमन्त्रीहरु २१ फागुनको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका हुन् ।

माघ ६, २०८२

यज्ञ बञ्जाडे

Who and where are the former finance ministers fighting?

काठमाडौँ — विगतमा अर्थतन्त्रको ढुकुटी सम्हालिसकेका आधा दर्जनभन्दा बढी पूर्वअर्थमन्त्रीहरु आसन्न प्रतिनिधिसभा निर्वाचनमा पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।

यसअघि अर्थमन्त्री हुँदै प्रधानमन्त्री बनेका बाबुराम भट्टराई, पाँच पटक अर्थमन्त्री बनिसकेका विष्णु पौडेल, दुई पटक अर्थमन्त्री बनेका वर्षमान पुन र जनार्दन शर्मा, एक/एक पटक अर्थमन्त्री बनेका प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्कीलगायत आधा दर्जन पूर्वअर्थमन्त्रीहरु २१ फागुनको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका हुन् । यी पूर्वअर्थमन्त्रीहरुले मुलुकको आर्थिक नीति निर्माणमा गरेको अनुभवलाई मतदातामाझ प्रमुख एजेन्डा बनाउँदै आ–आफ्नो पकड मानिएको निर्वाचन क्षेत्रबाटै उम्मेदवारी दर्ता गराएका बताएका हुन् ।

यसअघि चुनाव नउठ्ने घोषणा गरेका पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री बाबुराम भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा–२ बाट उम्मेदवारी दिएका छन् । यो उनको पुरानै निर्वाचन क्षेत्र हो । अघिल्लो निर्वाचनमा उनले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका लागि आफ्नो निर्वाचन क्षेत्र छोडिदिएका थिए । यसपटक भने आफै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । अर्थमन्त्री हुँदा भट्टराईले खासगरी राजस्व संकलनमा उल्लेखनीय काम गरेका थिए ।

पूर्वअर्थमन्त्री वर्षमान पुनले पनि रोल्पाबाट उम्मेदवारी दर्ता गराएका छन् । २०७४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रले एमालेसँग र २०७९ मा कांग्रेससँग गठबन्धन गरेर प्रतिस्पर्धा गरेको थियो । दुवै गठबन्धबाट पुन विजयी भएका थिए । २०७९ मा कांग्रेससँगको चुनावी तालमेलमा पुन ४१ हजार ७ सय १४ मत प्राप्त गर्दै विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका पूर्ण बुढामगरले १६ हजार ४ सय ८५ मत ल्याएका थिए । २०७३ मा निर्वाचन क्षेत्र  पुनःसंरचनापछि रोल्पा एक मात्र निर्वाचन क्षेत्र बनेको थियो । त्यसपछि पुन निर्वाचित हुँदै आएका छन् । पूर्वअर्थमन्त्री पुनले यस पटक पनि रोल्पामा नेकपाबाट उम्मेदवारी दर्ता गराएका हुन् । पुन बाबुराम भट्टराई र पुष्पकमल दाहाल प्रधानमन्त्री भएको समयमा गरी दुई पटक अर्थमन्त्री बनेका थिए ।

अर्का पूर्व अर्थमन्त्री जनार्दन शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गराएका छन् । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टिएका शर्मा रुकुम पश्चिमबाटै चारपटक निर्वाचित भइसकेका छन् । अर्थमन्त्री रहँदा बजेट निर्माण प्रक्रियामा प्रश्न उठेपछि विवादित पनि बनेका थिए । शर्मा ऊर्जामन्त्री हुँदै दुई पटक अर्थमन्त्री बनेका थिए ।

यस्तै, पूर्वअर्थमन्त्री विष्णु पौडेलले रूपन्देही–२ बाटै उम्मेदवारी दर्ता गराएका छन् । केही दिनअघिसम्म पाल्पा–२ बाट उम्मेदवारी दिने तयारी रहे पनि अन्ततः रुपन्देही–२ बाटै उम्मेदवारी दिएका हुन् ।  एमालेबाट लगातार ४ वटा निर्वाचन पौडेलले रूपन्देही–२ बाट जित्दै आएका छन् । पौडेल २०६४, २०७०, २०७४ र ०७९ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । अहिले पनि सोही क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

पौडेल पटकपटक गरी पाँच पटक अर्थमन्त्री भइसकेका छन् । खासगरी निजी क्षेत्रमैत्री अर्थमन्त्रीका रुपमा उनी चिनिन्छन् ।

रूपन्देही–२ का लागि अहिलेसम्म कांग्रेसबाट चुन्नप्रसाद पौडेल, नेपाली कम्युनिष्ट पार्टीबाट सुवास पाण्डे, राप्रपाबाट कर्भिका थापा, प्रलोपाबाट नारायण नागिलासहित २४ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले बताए ।

नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले पनि नुवाकोट–१ बाट उम्मेदवारी दिएका छन् । माओवादी केन्द्र र कांग्रेसको गठबन्धनमा बनेको सरकारका उनी अर्थमन्त्री थिए । त्यतिबेला उनी समानुपातिक सूचीबाट सांसद बनेका थिए ।

सुनसरी–४ मा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि २०७९ को निर्वाचनमा कार्की यही क्षेत्रबाट विजयी भएका थिए । यसअघि अर्थमन्त्री र सञ्चारमन्त्रीसमेत रहेका कार्की एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई पराजित गर्दै विजयी भएका थिए । 

यस्तै, निर्वाचनका प्रत्यासी रहे पनि एमालेबाट टिकट नपाएपछि पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे भने आसन्न निर्वाचनमा प्रतिस्पर्धी बन्न पाएनन् । यसअघि २०७९ को निर्वाचमा पाण्डेले रास्वपाका हरि ढकालसँग चितवन क्षेत्र–१ बाट पराजित भएका छन् ।

यज्ञ बञ्जाडे बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully