उदयपुर-१ बाट १८ जनाको उम्मेदवारी

क्षेत्र नं. १ मा १ लाख ४२ हजार ८०४ जना मतदाता छन् ।

माघ ६, २०८२

राकेश नेपाली

18 candidates from Udayapur-1

उदयपुर — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागी उदयपुर क्षेत्र नं. १ बाट १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार मनोनयन गर्ने समय सकिएको र १८ जनाले उम्मेदवारी गराएका छन् ।

नेपाली काङ्ग्रेसका तर्फबाट पूर्व जिल्ला सभापति विदुर बस्नेतले मनोनयन दर्ता गरेका छन् । नेकपा एमालेका तर्फबाट बेलका नगरपालिकाका पूर्व मेयर दुर्गाकुमार थापा (स्वस्ति) र नेपाली कम्युनिस्ट पार्टीबाट बलदेव चौधरीले उम्मेदवारी दिएका छन् । त्रियुगा नगरपालिकाका पूर्व मेयर समेत रहेका चौधरी नेकपाका केन्द्रीय सदस्य हुन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी फुटेर माधव नेपालसहितले नेकपा (एस) बनाएपछि चौधरी पार्टीको केन्द्रीय सचिव बनेका थिए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पारसमणि गेलालले उम्मेदवारी दिएका छन् । 

उज्यालो नेपाल पार्टीका अर्जुन तामाङ, श्रम संस्कृति पार्टीका राजेश कुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुभाषचन्द्र खड्का, राष्ट्रिय जनमोर्चाका लिलकुमार राईले मनोनयन दर्ता गराएका छन् । यस्तै, जनता समाजवादी पार्टीका गणेशकुमार राई, नेकपा (माओवादी) का अमृतबहादुर खत्री, नेपाली जनता दलका कुशेश्वर चौधरी, नेपाल जनमुक्ति पार्टीका गोकर्ण राई, नागरिक सर्वोच्चता पार्टीका प्रशान्तकुमार राई, मंगल नेस्नल अर्गनाईजेशनका बद्रीविक्रम राई, आम जनता पार्टीका मनोजकुमार पौडेल, नेपाल मजदुर किसान पार्टीका विष्णुबहादुर खत्री, संयुक्त नागरिक पार्टीका सुरेस राई र डा. देवराज रोका (कल्याण)ले स्वतन्त्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उदयपुर संघीय निर्वाचन क्षेत्र नं. १ मा १ लाख ४२ हजार ८०४ जना मतदाता छन् । बेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिकाका ३५ ओटा वडामा ५२ मतदानस्थल र १६० ओटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

राकेश नेपाली राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully