एमालेले उम्मेदवार तोकेका पूर्वमुख्यमन्त्री सिंह भन्छन्, ‘स्वाभिमान पार्टीबाट लड्छु, एमालेको समर्थन रहनेछ’

‘उहाँ (एमालेका नेता)हरु पार्टीमा प्रवेश गर्न भन्दै हुनुहुन्थ्यो । तर, म आफ्नै पार्टीबाट चुनाव लड्छु भनेपछि उहाँहरु मान्नुभयो,’ पूर्वमुख्यमन्त्री सिंहले भने ।

माघ ४, २०८२

विद्यानन्द राम

Former Chief Minister Singh, who was nominated by UML, says, ”I will contest from Swabhiman Party, I will have UML's support.”

राजविराज — फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले सप्तरी–२ बाट उम्मेदवार छनोट गरेका मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतीशकुमार सिंहले स्वाभिमान पार्टीबाट चुनाव लड्ने बताएका छन्।

उनले त्रुटिवश एमालेबाट आफ्नो नाम उम्मेदवारका रूपमा छनोट भएको बताए । ‘उहाँ (एमालेका नेता)हरू पार्टीमा प्रवेश गर्न भन्दै हुनुहुन्थ्यो । तर, म आफ्नै पार्टीबाट चुनाव लड्छु भनेपछि उहाँहरूले मान्नुभयो,’ पूर्वमुख्यमन्त्री सिंहले भने, ‘एमालेको समर्थन चाहिँ रहने नै हो । एमालेबाट उम्मेदवार बनाएको विषयमा थाहा पाएपछि मैले केन्द्रीय समितिमा पनि बुझेँ, त्रुटिवश सूचीमा आफ्नो नाम गएको कुरा जानकारीमा आएको छ ।’

उनले आफूले सप्तरी–२ मा स्वाभिमान पार्टीबाट उम्मेदवारी दिने बताए। त्यसका लागि सोमबार प्रदेशसभा सदस्यबाट राजीनामा दिने तयारी गरेको उनले बताए । ‘भोलि सभामुखज्यूसँग समय लिएको छु,’ उनले भने, ‘भोलि नै राजीनामा दिएर चुनावको तयारीमा लाग्छु ।’ 

सिंह २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट  तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए । २०७४ मा २ हजार ९८७ मत ल्याएर चुनाव जितेका उनले २०७९ मा पुनः तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट गाउँपालिका अध्यक्षमा चुनाव लड्दा ३ हजार ५७५ मत ल्याएर पराजित भएका थिए।

सोही वर्ष भदौमा उनी जनमत पार्टीमा प्रवेश गरेर सप्तरी क्षेत्र नम्बर २ प्रदेश सभा (क) बाट उम्मेदवार बनेका थिए । १६ हजार ७३४ मत ल्याएर जितेका उनी मधेश प्रदेश सरकारका मुख्यमन्त्री बनेका थिए । 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully