रौतहटबाट विशेष महाधिवेशनमा सहभागीबारे आ–आफ्नै दाबी

कांग्रेसका एक नेताका अनुसार बदलिँदो परिस्थिति बुझ्न नसक्नेहरू विशेष महाधिवेशनमा भाग लिन गएनन् । ‘उनीहरू पछि पछुतो गरेर बस्छन्,’ उनले भने ।

पुस २६, २०८२

शिव पुरी

Rautahat has its own claims about the participants in the special general convention.

What you should know

रौतहट — नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा पुस २७ र २८ मा हुन लागेको विशेष महाधिवेशनमा रौतहटबाट बहुमत प्रतिनिधि शनिबार राजधानी पुगिसकेको दाबी गरिएको छ ।

कांग्रेस जिल्ला कार्यसमितिका सचिव रामचन्द्र गिरीले रौतहटबाट ६० प्रतिशतको हाराहारीमा प्रतिनिधि राजधानी पुगिसकेको बताए । ‘रौतहटका चारवटै निर्वाचन क्षेत्रमा १ सय ३ जना प्रतिनिधि छन्, जसमध्ये ७० जनाले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका थिए,’ उनले भने, ‘हस्ताक्षर गरेका मध्ये ८ जना गएनन् । बाँकी सबै राजधानी पुगे ।’  

विशेष महाधिवेशनका नाममा हुने गतिविधिमा सहभागी नहुन मधेश प्रदेशका आठ जिल्लाका कांग्रेस सभापतिले विज्ञप्ति निकालेर पार्टी विधानविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन पार्टीका सम्पूर्ण तहका नेता, कार्यकर्ता तथा सदस्यलाई आग्रह गरेको थियो । तर उनीहरूले गरेको आग्रह हस्ताक्षर गर्ने अधिकांश प्रतिनिधिले मानेनन् । कांग्रेस मधेश प्रदेश सभापति कृष्ण यादवले रौतहटबाट २५ जनामात्र प्रतिनिधि विशेष महाधिवेशनका लागि राजधानी गएको बताए । 

कांग्रेसका एक नेताका अनुसार बदलिँदो परिस्थिति बुझ्न नसक्नेहरू विशेष महाधिवेशनमा भाग लिन गएनन् । ‘उनीहरू पछि पछुतो गरेर बस्छन्,’ उनले भने ।

कांग्रेस रौतहटका सभापति सुनिल यादव (जितेन्द्र) ले प्रेस विज्ञप्ति जारी गर्दै राजधानी नजान अनुरोध गरेका थिए । तर त्यसलगत्तै पार्टीका उपसभापतिद्वय रामलोचन कलवार, धीरेन्द्रकुमार सिंह र सचिव रामचन्द्र गिरीले संयुक्त रूपमा हस्ताक्षर गरी विशेष महाधिवेशनमा सहभागी जनाउन मधेश प्रदेशका प्रतिनिधिलाई अनुरोध गरेका थिए । सभापति सुनिलले यस विषयमा पछि जानकारी दिने बताए ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully