अर्घाखाँचीमा सभापति देउवा र नेता कोइराला निकट नै विशेष महाधिवेशनको पक्षमा

शनिबारसम्म २५ महाधिवेशन प्रतिनिधिमध्ये २४ जना खुलेर विशेष महाधिवेशनको पक्षमा लागेको कांग्रेस प्रदेशसभा (२) का उपसभापति अर्जुन पोखरेलले बताए ।

पुस २६, २०८२

वीरेन्द्र केसी

President Deuba and leader Koirala in favor of holding a special general convention soon in Arghakhanchi

What you should know

अर्घाखाँची — जिल्लामा कांग्रेस सभापति शेरबहादुर देउवा र शेखर कोइराला निकट रहेका नेताहरू नै विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । देउवा निकट कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल गौतम, पूर्वजिल्ला सभापति कमलप्रसाद भुसाल, पूर्व लुम्बिनी प्रदेशसभा सदस्य निर्मला क्षेत्री, तरुण दल केन्द्रीय सदस्य कपिल पोखरेल लगायत नेता विशेष महाधिवेशनको पक्षमा देखिएका हुन् । यसअघि उनीहरू संस्थापन पक्षमा थिए ।

अर्घाखाँची युथ कांग्रेसले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वउपसभामुख रहेकी पुष्पाले पहिल्यैदेखि आफू नेतृत्व परिवर्तनको पक्षमा रहेकाले विशेष महाधिवेशनको समर्थन गरेको बताइन् । विशेष महाधिवेशन विधानअनुसार स्वाभाविक भएको बताउँदै पार्टीभित्र देखिएको अन्योल र विवादलाई अन्त्य गर्न विशेष महाधिवेशन अपरिहार्य रहेको उनले बताइन् ।

देउवा पक्षबाट उम्मेदवार भएर उनी २०६४ मा अर्घाखाँची निर्वाचन क्षेत्र २ बाट निर्वाचित भएकी थिइन् । त्यस्तै ०७० सालमा पराजित भएकी थिइन् । ०७४ मा समानुपातिक सांसद बनेर उपसभामुख बनिन् । ०७९ को चुनावमा पुनः पराजय भोगिन् ।

०७४ सालमा देउवा पक्षबाट समानुपातिक प्रदेश सांसद भएकी निर्मला क्षेत्रीले पनि संस्थापन पक्ष छाडेर विशेष महाधिवेशन अभियानमा संलग्न भएकी छन् । उनले पनि विशेष महाधिवेशन सफल पार्न आह्वान गरेकी छन् । देउवा निकट रहेर तरुण दलबाट महाधिवेशन प्रतिनिधि चुनिएका पोखरेलले हस्ताक्षर गरेर विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।

देउवा पक्षीय केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मानबहादुर विश्वकर्मा कुनै पक्षमा खुलेका छैनन् । त्यस्तै शेखर पक्षका कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु मुस्कान, जिल्ला सभापति केशव श्रेष्ठ लगायत नेताहरू विशेष महाधिवेशनको पक्षमा खुलेर एक सातादेखि काठमाडौं पुगेर प्रचारप्रचार गरिरहेका छन् ।

श्रेष्ठ, जिल्ला सचिवद्वय अच्युत गौतम, कृष्णप्रसाद खनालले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनको पक्षमा लाग्न नेता/कार्यकर्तालाई अनुरोध गर्दै हस्ताक्षर अभियान चलाएका थिए । जिल्लामा २५ महाधिवेशन प्रतिनिधि छन् । जिल्ला सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुन्छन् ।

पूर्व केन्द्रीय सदस्य रेवतीप्रसाद भुसाल, डा.चोपलाल भुसाल, हिम्मत टण्डनबाहेक सबैले विशेष महाधिवेशन पक्षमा हस्ताक्षर गरेका थिए । टण्डनले आफू बिरामी रहेकाले हस्ताक्षर गर्न र कार्यक्रममा जान सम्भव नभए पनि पार्टीभित्र परिवर्तनको पक्षमा उभिएको बताए । कोइराला पक्षधर रेवतीप्रसादले पार्टी नफुटोस् भनेर एकताका लागि भूमिका खेलेको बताए ।

शनिबारसम्म २५ महाधिवेशन प्रतिनिधिमध्ये २४ जना खुलेर विशेष महाधिवेशनको पक्षमा लागेको कांग्रेस प्रदेशसभा (२) का उपसभापति अर्जुन पोखरेलले बताए ।

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully