यसपटक कांग्रेस महाधिवेशन स्थलमा सभापतिको फोटो रहने छैन

कार्यक्रम स्थलमा आठ हजार कुर्सी राखिएको छ भने वरिपरि उभिएर पनि कार्यक्रम सहज रूपमा हेर्न मिल्ने व्यवस्था गरिएको छ।

पुस २६, २०८२

विवेक पोख्रेल

This time, there will be no photo of the president at the Congress convention venue.

What you should know

काठमाडौँ — नेपाली राजनीतिमा दलहरूको महाधिवेशनमा सभापतिको फोटोसहितको ब्यानर हुनु सामान्य मानिन्छ। तर, यसपटक नेपाली कांग्रेसको विशेष महाधिवेशनमा भने पार्टी सभापति शेरबहादुर देउवाको तस्बिर ब्यानरमा देखिने छैन।

हाल निर्माण गरिएका गेट र फ्लेक्समा पनि देउवाको तस्बिर राखिएको छैन। मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पूडासैनीका अनुसार मञ्चसम्बन्धी सबै तयारी पूरा भइसकेको छ।

यसपटक ब्यानरको सट्टा मञ्चमा एलइडी प्रयोग गरिनेछ। मुख्य ब्यानर राखिने स्थानमा एउटा एलइडी, मञ्च वरिपरि दुई वटा र मञ्च बाहिर दुई वटा गरी कार्यक्रम स्थलमा पाँच वटा एलइडी रहने व्यवस्था गरिएको पूडासैनीले बताए। कार्यक्रम स्थलमा आठ हजार कुर्सी राखिएको छ भने वरिपरि उभिएर पनि कार्यक्रम सहज रूपमा हेर्न मिल्ने व्यवस्था गरिएको छ।

‘यसपटक स्टेजमा पार्टी सभापति शेरबहादुर देउवाको फोटो भने देखिने छैन,’ पूडासैनीले भने,‘पार्टीका संस्थापन नेताहरूको तस्बिर भने स्टेजमा राखिनेछ।’ सूचना तथा प्रचार–प्रसार समितिका संयोजक सुवास पोख्रेलले भनि शनिवारको पत्रकार सम्मेलनमा पार्टी सभापतिलाई आफूहरुले निमन्त्रण गरेको बताएका थिए ।

 ‘हामीले पार्टी सभापति, कार्यवाहक सभापति लगायत सबै सम्बन्धित पदाधिकारीलाई पत्र पठाइसकेका छौं,’ पोख्रेले भनेका थिए, 'उहाँहरु आउने अपेक्षा पनि हामीलाई छ ।' विशेष महाधिवेशनका लागि  संस्थापन पक्षले स्वामित्व लिएको छैन । 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको नेतृत्व लिएपछि आइतबारदेखि भृकुटीमण्डमा महाधिवेशन हुँदैछ।

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully