भाइरल भएको भिडियो गत मंसिर ३ गते प्रधानमन्त्रीसँगको छलफलपछि बाहिरिने क्रममा खिचिएको हो । यसलाई एआई प्रविधि प्रयोग गरेर हालको घटनासँग जोडेर प्रस्तुत गरिएको पाइयो ।
What you should know
काठमाडौँ — नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली रुँदै गरेको देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल छ। भृकुटीमण्डपमा जारी एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट ज्ञवाली रुँदै बाहिरिएको जस्तो देखिएको यो भिडियो फेसबुक, टिकटकसहित केही अनलाइन पोर्टलमा पनि सार्वजनिक भएको छ।
भृकुटीमण्डपमा जारी एमाले महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले महासचिव पदका लागि ज्ञवालीलाई उम्मेदवार नबनाएपछि उनी बिच्किएका थिए। यही पृष्ठभूमिमा ज्ञवाली रुँदै गरेको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा फैलिएको हो।
'कोच जम्पर' नामक फेसबुक अकाउन्टबाट मंगलबार बिहान ६:४२ बजे पोस्ट गरिएको उक्त भिडियोमा ज्ञवाली रुँदै गरेको जस्तो देखिन्छ। दु:खद पार्श्वध्वनि राखिएको भिडियो हालसम्म ६३ हजारभन्दा बढी पटक हेरिएको छ, ९ सयभन्दा बढी रियाक्ट, १ सयभन्दा बढी कमेन्ट र १४५ सेयर गरिएको छ। तर, तथ्य जाँच गर्दा यो भिडियो एआईको प्रयोगबाट निर्मित भएको पुष्टि भएको छ।
'हाइभ मोडरेसन' टुलले ५ प्रतिशत एआई प्रयोग देखाएपछि 'इनभिड' भेरिफिकेसन टुलमा जाँच गर्दा ज्ञवालीको अनुहारमा केही भिन्नता देखिएको थियो।
वास्तवमा, भाइरल भएको भिडियो गत मंसिर ३ गते प्रधानमन्त्रीसँगको छलफलपछि बाहिरिने क्रममा खिचिएको हो। यसलाई एआई प्रविधि प्रयोग गरेर हालको घटनासँग जोडेर प्रस्तुत गरिएको पाइयो।
यसबाट पुष्टि हुन्छ कि सामाजिक सञ्जालमा फैलिएको रुँदै गरेको जस्तो देखिने भिडियो भ्रमपूर्ण र कृत्रिम छ, वास्तविक घटना होइन।
सम्बन्धित अन्य समाचार
