एमाले महाधिवेशन : सचिवमा कोशीका ३ नेता, ओली समूहका दुईविरुद्ध इतर समूहका ढकाल 

अध्यक्ष केपी शर्मा ओली समूहबाट शेरधन राई र हिक्मत कार्की दुवै सचिव पदका उम्मेदवार बनेपछि कोशीभित्रकै शक्ति सन्तुलन र गुटगत समीकरण सतहमा आएको छ ।

पुस १, २०८२

पर्वत पोर्तेल

UML General Convention: 3 leaders from Koshi for secretary, Dhakal from other group against two from Oli group

What you should know

विराटनगर — एमाले ११औं महाधिवेशनमा कोशी प्रदेश पार्टी राजनीतिका लागि निर्णायक मोडमा पुगेको छ । केन्द्रीय सचिव पदमा कोशीबाट पूर्वमुख्यमन्त्री शेरधन राई, बहालवाला मुख्यमन्त्री हिक्मत कार्की र पोखरेल समूहका नेता विनोद ढकालबीच प्रतिस्पर्धा हुँदैछ । 

अध्यक्ष केपी शर्मा ओली समूहबाट शेरधन राई र हिक्मत कार्की दुवै सचिव पदका उम्मेदवार बनेपछि कोशीभित्रकै शक्ति सन्तुलन र गुटगत समीकरण सतहमा आएको छ ।

ओली समूहको आधिकारिक सूचीमा दुवै नेता अटाएका छन् भने इतर समूहले विनोद ढकाललाई सचिव पदको उम्मेदवार बनाएको छ । ढकाल मोरङका हुन् ।  ओलीइतर समूहको मोरङमा बलियो पकड छ । हालैको प्रतिनिधि सदस्य चुनावमा ४६ मध्ये २० प्रतिनिधि संस्थापन इतर समूहका छन् । 

ओली समूहभित्रै शक्ति परीक्षण

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई लामो समयदेखि ओलीका विश्वासपात्र मानिन्छन् । पार्टी संगठन र सरकार दुवै तहमा अनुभव बोकेका राईलाई सचिवमा अघि सारिनु ओली समूहको ‘सिनियर र अनुभवी’ कार्डका रूपमा हेरिएको छ ।

बहालवाला मुख्यमन्त्री हिक्मत कार्की भने हालैको प्रदेश सत्ता समीकरण, संगठनमा सक्रियता र युवा पुस्तामाझ प्रभावका कारण ओली समूहको अर्को बलियो दाबेदारका रूपमा उभिएका हुन् ।  एउटै समूहबाट दुई शक्तिशाली नेताको उम्मेदवारीले कोशी एमालेभित्रै ‘इनर कम्पिटिसन’ सुरु भएको संकेत गरेको छ ।

संस्थापन इतर समूहको भरोसा, ढकाल

ओली इतर समूहबाट सचिव पदमा उम्मेदवार बनेका विनोद ढकाल कोशीमा वैचारिक स्पष्टता, संगठन निर्माण र गुटभन्दा माथि उठेर काम गर्ने नेताका रूपमा परिचित छन् । ढकालको उम्मेदवारीलाई इतर समूहले कोशीबाट केन्द्रीय तहमा आफ्नो प्रभाव विस्तार गर्ने रणनीतिक प्रयासका रूपमा लिएको छ ।

एकै प्रदेशबाट तीन जना सचिवका उम्मेदवार हुनु एमालेभित्र कोशीको बढ्दो राजनीतिक प्रभावको संकेत पनि हो । तर, ओली समूहभित्रै दुई बलिया उम्मेदवार उत्रिनुले मत विभाजनको सम्भावना बढाएको छ, जसको प्रत्यक्ष लाभ इतर समूहका उम्मेदवार ढकाललाई पुग्न सक्ने विश्लेषण पनि सुरु भएको छ ।

महाधिवेशन प्रतिनिधिहरूका अनुसार सचिव पदको यो प्रतिस्पर्धा व्यक्तिको होइन, कोशी एमालेको भविष्यको नेतृत्व, संगठनको दिशा र केन्द्रीय राजनीतिमा प्रदेशको भूमिकासँग पनि जोडिएको छ ।

एमाले महाधिवेशनको अन्तिम परिणामले कोशी प्रदेशभित्रको गुटगत शक्ति सन्तुलन मात्र होइन, पार्टीको आगामी नेतृत्व संरचनालाई समेत नयाँ सन्देश दिने सम्भावना देखिन्छ । 

कोशीका बागीको ओइरो

नयाँ नेतृत्व चयनको प्रक्रियामा अध्यक्ष केपी शर्मा ओली समूहभित्र असन्तुष्टि देखिएको छ । कोशीका असन्तुष्टहरू बागी उम्मेदवारका रूपमा प्रतिस्पर्धामा आएका छन् । 

ओली पक्षले सार्वजनिक गरेको आधिकारिक उम्मेदवार सूचीमा नाम नपरेपछि आधा दर्जनभन्दा बढी नेताहरूले बागी उम्मेदवारी दर्ता गराएका हुन् । कोशी प्रदेशबाट मन्त्रीदेखि संघीय सांसद, प्रदेशसभा सदस्य र केन्द्रीय तहका नेतासमेत बागी रूपमा मैदानमा उत्रिएका छन् ।

ओली पक्षकै केन्द्रीय सदस्य सूचीमा रहेका संघीय सांसद राजेन्द्र गौतमले उपमहासचिव र झापाका अग्नि खरेलले सचिव पदमा उम्मेदवारी दिएका थिए । यद्यपि, गौतमले अन्तिम नामावली सार्वजनिक भएपछि आफू केन्द्रीय सदस्यमा मात्र उम्मेदवार रहेको बताएका छन् ।

त्यसैगरी मोरङका लालबाबु पण्डित सचिव पदमा उम्मेदवार बनेका छन् । केन्द्रीय सदस्य सूचीमा रहेका सुनसरीका भीमप्रसाद आचार्यले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

ओली पक्षको सूचीमा नपरेका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । ओली पक्षकै नेता तथा कोशी प्रदेशसभा प्रमुख सचेतक विदुर लिङ्थेपले पनि खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै, ओली पक्षकै नेता तथा कोशी प्रदेशका पूर्वमन्त्री एवम् सांसद सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, मोरङका पशुपति बस्नेतले पनि खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

प्रदेश सांसद सुनसरीकी निरादेवी खनाल आचार्यले महिलातर्फ भूगोल कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन् । उनी एमाले नेता भीम आचार्यकी पत्नी हुन्, तर उनको नाम पनि ओली पक्षको सूचीमा छैन ।

इलामका सुहाङ नेम्वाङ, पाँचथरका आइन्द्रसुन्दर नेम्वाङ, ओखलढुंगाका किशोरकुमार अधिकारी र सुनसरीकी लक्ष्मी गौतमले समेत बागी उम्मेदवारी दिएका छन् । उनीहरू यसअघि केन्द्रीय सदस्य नरहेकाले ओली पक्षको सूचीमा समेटिएका थिएनन्  

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully