संस्थापन पक्षभित्र देखिएको असन्तुष्टिमा खेलेर चुनाव जित्ने रणनीतिमा पोखरेल पक्ष, असन्तुष्ट नेताहरूलाई फकाउँदै संस्थापन पक्ष
What you should know
काठमाडौँ — एमाले नेतृत्वको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनाव जित्न आ-आफ्नो रणनीति अघि सारेका छन् । दुवै पक्षले एकअर्काको अन्तरविरोध र कमजोरीमाथि खेलेर चुनाव जित्ने कसरतमा लागेका छन् ।
नेतृत्व चयनका लागि मंगलबार अपराह्न मतदान हुँदैछ । अध्यक्ष ओली तेस्रो कार्यकालका लागि नेतृत्व लिन अघि सरेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा पोखरेलले ओलीलाई चुनौती दिएका छन् । संस्थापन पक्षमा पदाधिकारी पदका विषयलाई लिएर असन्तुष्टि बढेपछि पोखरेल समूह उत्साहित देखेको छ ।
महासचिवका आकांक्षी उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्ष पदमा उम्मेदवार दिन अस्वीकार गरेपछि पोखरेल पक्षले त्यसलाई चुनाव जित्ने रणनीतिका रूपमा अघि सारेको छ । त्यस्तै ओलीको पक्षमा लाग्दै आएका लालबाबु पण्डित पनि कोटामा नपरेपछि छुट्टै उम्मेदवारी मनोनयन गरेका छन् । भीम आचार्यले पनि छुट्टै सचिवमा उम्मेदवारी दिएका छन् ।
संस्थापनभित्र उत्पन्न असन्तुष्टिलाई समेटेर परिणाम आफ्नो पक्षमा पार्न पोखरेल पक्ष सक्रिय भएको छ । ज्ञवाली महासचिवको दाबेदार भए पनि शंकर पोखरेललाई ओलीले दोहोर्याएकाले उनले तीव्र असन्तुष्टि पोख्दै केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका छन् । महासचिवका अर्का दाबेदार पृथ्वीसुब्बा गुरुङ भने उपाध्यक्ष पदमा सेटल भएका छन् । उनले शंकर पोखरेल महासचिव दोहोरिन नहुने बताउँदै आएका थिए ।
पोखरेल समूहको लागि ओली पक्षभित्र देखेको असन्तुष्टि नै एउटा ‘स्ट्रेन्थ’ का रूपमा देखिएको छ । तर ज्ञवालीले मंगलबार बिहान एउटा अपिल जारी गर्दै ओली टिमलाई विजय गराउन आग्रह गरेका छन् । संस्थापनको रातभरको प्रयासपछि ज्ञवालीले भनाइ आएको हो । सोमबार केन्द्रीय सदस्यको मनोनयन दर्ता गराएलगत्तै महाधिवेशनस्थल भृकटीमण्डपबाट चित्त दुःखाउँदै बाहिरिएका थिए ।
प्रचार विभाग प्रमुखसमेत रहेका राजेन्द्र गौतमले उपमहासचिबबाट मउम्मेदवारी फिर्ता लिएका छन् । ओलीको आग्रहमा उनले उम्मेदवारी फिर्ता लिएका हुन् ।
‘अहिले उम्मेदवार हुन नपाए पनि पार्टीमा काम गर्ने वातावरण र जिम्मेवारी दिनेगरी नेताहरूलाई सम्झाउने काम भइरहेको छ,’ संस्थापन पक्षका एक वरिष्ठ नेताले भने, ‘ओलीको लिगेसी कायम राख्न जित्ने पर्ने अवस्था छ ।’
ओली पक्षभित्र नेता व्यवस्थापनको विषयलाई लिएर अहिले पनि असन्तुष्टि छ । पदाधिकारीलेखि केन्द्रीय सदस्यसम्म प्यानलमा नपरेको नेताहरूले सार्वजनिक रूपमै असन्तुष्टि पोख्न थालेका छन् । तर ओली नेतृत्वमा आए मात्र एमालेमाथि भएको आक्रमणको प्रतिवाद गर्न सकिने भन्दै ओलीको नेतृत्वमा बलियो टिम हुनुपर्ने दाबी उक्त पक्षले गरेको छ ।
उम्मेदवारी दर्ता गरेपछि शंकर पोखरेलले वर्तमान राजनीतिका चुनौतीलाई सामना गर्न आफू महासचिवको उम्मेदवार भएर ओली टिमलाई बलियो बनाउने बताएका थिए । तर महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले पार्टी जीवनमा लोकतन्त्र स्थापना गरी विधि विधानलाई बलियो बनाएर मात्र मुलुकको शत्तिशाली पार्टी बनाउने तर्क गरेका छन् । दुवै पक्षले आ-आफ्ना विषय अघि सार्दै चुनाव प्रचारप्रसारलाई तीव्र पारिरहेका छन् ।
ओली टिममा यसअघि नै पदमा रहेका धेरै नेता उपाध्यक्ष उपमहासचिव र सचिवका उम्मेदवार भएको हुनाले प्रतिनिधिबीचमा नयाँ अवसर नदिएको गुनासो पनि सुनिएको छ । उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल र महासचिव पोखरेल, उपमहासचिव विष्णु रिमाल उही पदमा उम्मेदवार भएका छन् ।
ओली पक्षभित्र उत्पन्न ईश्वर पक्षले नयाँ रणनीतिका रूपमा अघि सार्दै आफूलाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेको छ । जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थिति आउनुमा अध्यक्ष ओली जिम्मेवार भएको र त्यसप्रति जवाफदेही नभएको भन्दै उसले नेतृत्व लिन चुनावी मुद्दा बनाएको छ ।
उता ओली पक्षले महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा बहुमत हुने गरी चयन गरेको छ । अधिकांश ठाउँमा सर्वसम्मतका नाममा संस्थापनका बहुमत प्रतिनिधि छानिएका थिए । तर ओलीको कार्यशैली र उनी निकटका नेताको पेलानमा परेको प्रतिनिधिहरूमा नेतृत्व चयनमा विविधता ल्याउने भावना देखिन्छ । पोखरले पक्षलाई शून्यमा झार्दा त्यसको असर आगामी दिनमा पार्टीमा पर्ने भएकाले सन्तुलित परिणाम आउने अपेक्षा उनीहरूको छ । यद्यपि संस्थापन भने ओली टिम जिताउने हरेक कसरतमा लागेको देखिन्छ ।
चितवनमा भएको दसौँ महाधिवेशनमा ओली टिमबाट वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई निर्वाचित भएका थिए । एघारौं महाधिवेशनमा भने वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा पाण्डे, भट्टराईलगायतको छुट्टै प्यानल घोषणा भएको छ । एमालेभित्र आन्तरिक लोकतन्त्र नेतृत्व हस्तान्तरणको मुद्दा चर्को रूपमा उठिरहेका बेला संस्थापन र ओली पक्षबीच प्रतिस्पर्धा भएको छ ।
