एमाले नेतृत्व चयनका लागि आज अपराह्न ४ बजेदेखि मतदान सुरु हुने भएको छ ।
काठमाडौँ — एमाले नेतृत्व चयनका लागि आज अपराह्न ४ बजेदेखि मतदान सुरु हुने भएको छ ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार विद्युतीय मतदान मेसिनमा उम्मेदवारको नाम ‘इन्ट्री’ गरी परीक्षण गरेपछि मतदान सुरु हुनेछ । १ बजेबाट मतदान सुरु हुने तालिका भए पनि उम्मेदवारको सूची मेसिनमा राख्न समय लागेको हो ।
‘४ बजेदेखि मतदान सुरु हुनेछ,’ आयोग सदस्य सानुराज पोखरेलले भने, ‘अन्तिम नामावलीका प्रकाशित सबै उम्मेदवारको सूची विद्युतीय मेसिनमा समावेश हुनेछ । अब उम्मेदवारी फिर्ता लिए पनि उम्मेदवारको नाम मेसिनमा देखिनेछ ।’
उनले मतदानका ८० मेसिनको प्रयोग गर्ने बताए । ‘थप १० मेसिन ब्याकअपमा हुनेछन्, त्यसमध्ये पाँच मेसिन मतदानको अभ्यासका लागि राखिनेछ,’ उनले भने ।
एक जनालाई मतदान गर्न २५ मिनेटको समय लाग्ने उनको भनाइ छ । नेतृत्वका लागि २ हजार २६२ मतदाता रहेका छन् । केन्द्रीय कमिटी, पदाधिकारीसहित ३०१ पदका लागि ६०३ उम्मेदवार रहेका छन् ।
