मधेश मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट न्यायाधीश ढुंगानाको इजलासमा पेसी 

निवेदनको अन्तिम किनारा नलागेसम्म यथास्थितमा राख्न अन्तरिम आदेशको पनि माग गरिएको छ ।

कार्तिक २५, २०८२

कान्तिपुर संवाददाता

Writ petition against appointment of Madhesh Chief Minister filed in Judge Dhungana's bench

काठमाडौँ — मधेश प्रदेशका मुख्यमन्त्री नियुक्तिको विरुद्धमा सर्वोच्च अदालत दर्ता भएको रिट न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा पेसी तोकिएको छ । एकल इजलासमा घ नम्बरमा मुद्दाको पेसी तोकिएको हो । 

सोमबार रक्कीप्रसाद साहले प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवादी बनाई रिट दर्ता गराएका थिए । संविधानको धारा १६८ को उपधारा (२) कै प्रक्रिया पूरा नभएको अवस्थामा उपधारा ३ को प्रक्रियाबाट मुख्यमन्त्री बनाएको र प्रदेशसभा बाहिरबाट मुख्यमन्त्री नियुक्ति भएकाले बदर हुनुपर्ने जिकिर रिटमा गरिएको छ । निवेदनको अन्तिम किनारा नलागेसम्म यथास्थितमा राख्न अन्तरिम आदेशको पनि माग गरिएको छ ।

गत शनिबार मधेश प्रदेशको मुख्यमन्त्री पदबाट जितेन्द्र प्रसाद सोनार (सोनल) ले राजीनामा दिएका थिए । सोमबार बिहान ४ बजे बर्दिबासको पानस होटलमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमाले संसदीय दलका नेता सरोज यादवलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन् । त्यही विषयमा एमाले, राप्रपा र नेपाल संघीय समाजवादी पार्टी बाहेकका दलले आपत्ति जनाएका छन् । उनीहरूले ७४ जना सांसदको हस्ताक्षर संकलन गरेका थिए ।

कान्तिपुर

Link copied successfully