मधेश प्रदेश प्रमुख पदमुक्त

बर्दिबासको एउटा होटलमा प्रदेश मुख्यमन्त्रीको शपथ गराएपछि राजनीतिक, संवैधानिक तथा नैतिक रूपमा गलत भन्दै आलोचना भइरहेको छ ।

कार्तिक २५, २०८२

कान्तिपुर संवाददाता

Madhesh Province Chief relieved of his post

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सुवेदीलाई मंगलबार पदमुक्त गरेका हुन् । मन्त्रिपरिषद् बैठकले सोमबार उनलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६५ को उपधार १ (ख) बमोजिम मधेश प्रमुख सुवेदीलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयकाे विज्ञप्तिमा उल्लेख छ । 

भण्डारीले एमाले नेता सरोज यादवलाई सोमबार सबेरै बर्दिबासको एउटा होटलमा मधेश प्रदेश मुख्यमन्त्रीको शपथ गराएकी थिइन् । त्यसको राजनीतिक, संवैधानिक तथा नैतिक रूपमा गलत भन्दै आलोचना भइरहेको छ ।

संविधानको धारा १६८को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत नपाउने देखेपछि  कात्तिक २२ गते राजीनामा घोषणा गरेका थिए । त्यसपछि प्रदेश प्रमुख सुवेदीले सबैभन्दा ठूलो दलको हैसियतमा एमाले दलका नेता सरोजकुमार यादवलाई बर्दिवासको एक होटलमा मुख्यमन्त्रीको शपथ गराएकी थिइन् । 

त्यसपछि सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउन सिफारिस गरेकाे थियो । त्यस्तै नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको थियो ।

कान्तिपुर

Link copied successfully