आन्दोलनको उपहास : होटलमा मुख्यमन्त्रीको शपथ

नेपालको इतिहासमा पहिलो पटक सरकार प्रमुखलाई होटलमा शपथग्रहण गराइएको छ । यो घटनाले नेपालको राजनीतिलाई नै विद्रूप बनाएको छ ।

कार्तिक २५, २०८२

अजित तिवारी, कमलेश ठाकुर

A mockery of the movement: Chief Minister's oath-taking in a hotel

What you should know

जनकपुरधाम — बिरामी भएको र उपचारका लागि काठमाडौं हिँडेको भनेर सोमबार बिहान अँध्यारोमै मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी जनकपुरस्थित आफ्नो सरकारी निवासबाट निस्किइन् । उनले कामचलाउ मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) लाई आफू बिरामी परेको जानकारी दिएकी थिइन् ।

काठमाडौं हिँडेकी उनी बीपी राजमार्गमा पर्ने बर्दिबासको कालापानीस्थित एकान्त ठाउँमा रहेको पानस कटेज होटलमा रोकिइन् । त्यहाँ उनलाई पर्खिरहेका थिए एमाले प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव । होटलभित्रै भण्डारीले यादवलाई मधेशको मुख्यमन्त्रीको रूपमा शपथग्रहण गराइन् । प्रदेश प्रमुखले होटलमै एमालेका लखन दास तत्मा, संघीय समाजवादीकी विमला अन्सारी र राप्रपाकी कञ्चन बिच्छालाई मन्त्रीका रूपमा शपथ गराइन् । जसको कारणले प्रदेश प्रमुखका रूपमा उनी बर्खास्त भएकी छन् । प्रदेश प्रमुखले होटलमा मुख्यमन्त्रीलाई शपथ गराएको यो घटनाले नेपालको राजनीतिलाई नै विद्रूप बनाएको छ ।

प्रदेश प्रमुख भण्डारीले सोमबार बिहान ४ बज्दानबज्दै कामचलाउ मुख्यमन्त्री सोनललाई फोन गरेकी थिइन् । ‘म बिरामी छु, उपचार गराउन काठमाडौं हिँड्दै छु’ भन्दै उनले प्रदेश प्रमुखको निवासबाट निस्कने वातावरण बनाइदिन सोनलसँग आग्रह गरिन् । मधेश प्रदेश मुख्यालय रहेको जनकपुरस्थित मधेश भवनमा मुख्यमन्त्री र प्रदेश प्रमुखको निवास जोडिएको छ । प्रदेश प्रमुखको फोनलगत्तै सोनल उनको निवासमा पुगे । उनी हिँड्न तयार थिइन् ।

‘अचानक अस्वस्थ भएँ, काठमाडौं जान लागेकी छु, फर्केपछि तपाईंप्रति आभारी रहन्छु,’ सोनलका अनुसार भण्डारीले भनिन्, ‘क्रिटिकल अवस्था छ । सरकार गठनमा हतार नगरौं । तपाईं कामचलाउ भएर सरकार चलाउँदै गर्नुस् । उपचार गरेर फर्केपछि सरकार गठन प्रक्रिया अगाडि बढ्छ ।’ 

‘उहाँले झुक्याएर हिँड्नुभएको रहेछ,’ सोनलले कान्तिपुरसँग भने, ‘संविधानलाई मिचेर होटलमा गएर मुख्यमन्त्री नियुक्त गरेर शपथ दिलाएर संघीयताको अस्मितामाथि प्रहार गर्नुभयो ।’ पार्टीको आन्तरिक विवादका कारण जनमतबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले राजीनामा दिएपछि माओवादी, जसपा नेपाल र जनमतसहितका दलहरूको समर्थनमा सोनल मुख्यमन्त्री बनेका थिए । तर, गत शनिबार २५ दिनमै उनको सरकार ढल्यो । विश्वासको मत नपाउने देखिएपछि सोनलले प्रदेशसभामा बोल्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । मत विभाजनअघि माओवादीका दुई सांसद रहबर अन्सारी र माला कर्णले तटस्थ बस्ने भन्दै विद्रोह गरेपछि सोनल अल्पमतमा परेका थिए ।

त्यसपछि मधेश प्रदेशमा राजनीतिक रिक्तता कायम थियो । सरकार गठनलाई लिएर दलहरूबीच विवाद बढ्दै आएको थियो । सोनललाई समर्थन गरेका दलहरू संविधानको धारा १६८(२) बमोजिम पुनः सरकार गठन आह्वान गरिनुपर्ने पक्षमा थिए । यसअघि एमालेसँग सहकार्यमा रहेको कांग्रेस पनि यही कित्तामा उभियो । आइतबार साँझ कांग्रेस, जसपा नेपाल, लोसपा, माओवादी, एकीकृत समाजवादी, जनमत र नागरिक उन्मुक्तिका सांसदले संयुक्त रूपमा प्रदेश प्रमुख भण्डारीलाई भेटेर त्यस्तो आग्रह पनि गरे । एमालेले भने संविधानको धारा १६८(२) को प्रयोग असफल भइसकेकाले धारा १६८(३) बमोजिम संसद्को सबैभन्दा ठूलो दललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखमाथि दबाब बढाएका थिए ।

दुवै पक्षले प्रदेश प्रमुखको निवास अगाडि धर्ना दिएका थिए । त्यही बीचमा भण्डारीले बिरामी परेको बताउँदै बाहिर निस्किएर एमाले नेता यादवलाई संविधानको धारा १६८(३) अनुसार मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति गरेर शपथग्रहण गराएकी हुन् । निवास छाड्नु अगावै भण्डारीले एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । तर, कांग्रेससहित ७ दलका नेता–कार्यकर्ता प्रदेश प्रमुख निवास अगाडि प्रदर्शन र धर्नामा बसेकाले यादवलाई नियुक्ति लिन र शपथ गर्न सम्भव नभएपछि उनी अँध्यारोमै बाहिरिएकी हुन् ।

भण्डारी उपचारका लागि काठमाडौं हिँड्नुअघि नै प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेको र शपथग्रहणको पत्र तयार पारिसकेको थियो ।

प्रदेश प्रमुख भण्डारी सात दल र एमाले दुवैतिरको दबाबमा परेकी थिइन् । सोनल पक्षधर दलका नेता–कार्यकर्ताले प्रदेशसभामा विश्वासको मत फेस गर्नुअघि नै राजीनामा गरेकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको अर्को सरकार गठनका लागि आह्वान गर्न दबाब बढाएका थिए । एमालेले संविधानको धारा १६८(३) बमोजिम ठूलो दलको हैसियतले आफ्नो दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दबाब दिएको थियो ।

राजनीतिक दबाबका बीच उचित राजनीतिक तथा संवैधानिक कदम चाल्नुपर्नेमा प्रदेश प्रमुख भण्डारीले दलीय पक्षधरता लिएर एमालेका नेता यादवलाई महोत्तरीको बर्दिबासस्थित पानस कटेजमा सोमबार बिहान शपथग्रहण गराएको आरोप छ । शपथ गराएर उनी सरासर काठमाडौं हिँडिन् । प्रदेश प्रमुख भण्डारीका स्वकीय सचिव टीकाराम उप्रेतीले नवनियुक्त मुख्यमन्त्री यादवलाई प्रदेश प्रमुख कार्यालयमा शपथग्रहण गराउने वातावरण नरहेकाले बाहिर गराउनुपरेको बताए । ‘निवास र कार्यालय अगाडि धर्ना थियो । प्रदेश प्रमुखज्यूले संवैधानिक सबै पक्ष हेरेर र कानुनी सल्लाह गरेर उपधारा ३ बमोजिम ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो,’ उप्रेतीले भने । 

उप्रेतीका अनुसार प्रदेश प्रमुखलाई रातिको समयमा दम र रुघाखोकी बढेको र कोलेस्ट्रोल पनि उच्च भएपछि उपचारका लागि काठमाडौं जानुपरेको हो । ‘शपथग्रहणमा धेरैबेर समय नलाग्ने भएकाले बाटो पर्ने स्थानमा गराइएको हो,’ उप्रेतीले भने ।

महोत्तरी प्रहरीका एक अधिकारीका अनुसार बीपी राजमार्गमा पर्ने बर्दिबासको कालापानीस्थित एकान्त ठाउँमा रहेको पानस कटेजमा शपथको कार्यक्रम राख्न भण्डारीलाई नवनियुक्त मुख्यमन्त्री यादवले नै सुझाएका थिए । ‘साढे ४ बजेतिर एमालेका केही समर्थक गएर एकछिनका लागि होटल खोल्नुपर्‍यो । प्रदेश प्रमुख र मुख्यमन्त्री आउँदै हुनुहुन्छ भन्दै पुगेका थिए,’ महोत्तरी प्रहरीका ती अधिकारीले भने, ‘करिब सवा ५ बजेतिर भण्डारी र यादव लावालस्करसहित पानस कटेज पुगे ।’ अनि भयो शपथको कार्यक्रम ।

प्रादेशिक संरचनापछि मधेश प्रदेशमा पहिलो कार्यकाल ५ वर्ष नै जसपाका मुख्यमन्त्री लालबाबु राउतले चलाएका थिए । प्रदेशसभाको दोस्रो कार्यकालमा मधेश प्रदेशमा सुरुमा जसपाका सरोजकुमार यादव (बारा) ले करिब १३ महिना सरकार चलाएपछि गठबन्धन दल जनमत, एमाले, माओवादीले साथ छाडेपछि जनमत पार्टीका सांसद सतिशकुमार सिंह मुख्यमन्त्री बने । जेन–जी आन्दोलनका क्रममा सिंहले मुख्यमन्त्रीबाट राजीनामा गरेपछि मधेश प्रदेशको सत्ता संघर्ष चर्कियो । जनमत पार्टी नै आफ्नै नेतृत्वको सरकार ढाल्न कस्सिएपछि मधेश प्रदेशको समीकरण थप तरंगित बन्यो । 

एमाले, कांग्रेससँग मिलेर अर्को सरकार बनाउन जनमत तयार भए पनि अन्तिम समयमा लोसपाका सांसद सोनललाई मुख्यमन्त्री बनाउनुपर्दा जनमतले एमाले–कांग्रेसको साथ छोड्यो । लोसपा, जसपा, जनमत, माओवादी, नेकपा (एस) र नागरिक उन्मुक्तिका ५६ सांसदको समर्थनमा सोनल मुख्यमन्त्रीमा नियुक्त भए । सोनलले विश्वासको मत पाउने/नपाउने सशंय थियो । विश्वासको मत लिने दिन जनमतबाट छुट्टिएका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह र त्रिभुवन साह अनुपस्थित भए । माओवादीका दुई सांसदले विश्वासको मत नदिने घोषणा गरेर विद्रोह गरे । विश्वासको मतका लागि बहुमत नपुग्ने देखेपछि सोनलले राजीनामा गरे । 

जनमत र माओवादीको आन्तरिक कलहको सिकार पनि सोनल भए । सिंहलाई मुख्यमन्त्रीबाट हटाउन उनकै दल जनमत लागिपरेपछि उनी पार्टीभित्रै विद्रोहमा उत्रिए । जनस्वराज रोजेका सिंह र साह जनमत पार्टीकै कारण सोनललाई विश्वासको मत दिन अनुपस्थित भए । सोनलले विश्वासको मत लिनु दुई दिनअघि मात्रै चारित्रिक दोष देखाएर यसअघि हटाइएका भरतप्रसाद साहलाई फेरि माओवादीले संसदीय दलको नेता बनाएपछि त्यो पार्टीका सांसद पनि रुष्ट थिए । 

सोनलले मुख्यमन्त्री पदबाट राजीनामा गरे पनि आफ्नै नेतृत्वमा बहुमत पुर्‍याएर फेरि सरकार बनाउने कसरत गर्दै थिए । उनकै अगुवाइमा भएको छलफलपछि कांग्रेस पनि एमालेको साथ छोडेर सोनलको पक्षमा आएको थियो ।

मधेश प्रदेशमा १ सय ७ जना सांसद छन् । सरकार बनाउन ५४ सांसद संख्या बहुमत हो । एमालेका सभामुखसहित २५, कांग्रेस २२, जसपा १९, जनमत १३, माओवादी ९, लोसपा ९, नेकपा (एस) ७, संघीय समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका १–१ जना सांसद छन् । यसमध्ये एमालेका सांसद दीपेन्द ठाकुर, जसपाका सांसद सरोजसिंह कुशवाह, लोसपाका सांसद अभिराम शर्मा निलम्बित छन् । मधेश प्रदेशसभामा हाल कायम रहेको सदस्य संख्या १ सय ४ हो ।

कांग्रेस समर्थनमा आएपछि ७४ जना सांसद सोनलको पक्षमा देखिएको थियो । सात दल कांग्रेस, जसपा, जनमत, माओवादी, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले संविधानको धारा १६८ को २ अनुसारै नयाँ सरकार गठनको माग गरेका थिए । कांग्रेससहितको सात दलसँग प्रदेश प्रमुखले कानुनी परामर्शमा रहेको आश्वासन दिएका थिए । तर, सुटुक्क संविधानको धारा १६८ को ३ बमोजिम एमाले नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्ति दिएर शपथग्रहण गराइन् । 

भण्डारीले मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता सरोज यादवलाई नियुक्त गरेपछि मधेश भवन सोमबार बिहानदेखि नै तनावग्रस्त बन्यो । नेता, कार्यकर्ता र सांसदहरू धमाधम पुगिरहेका थिए । मधेश भवनको दुई नम्बर प्रवेशद्वार बन्द थियो । बाहिर र भित्र नेपाल प्रहरी/सशस्त्र प्रहरीको बाक्लो उपस्थिति थियो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की सांसद रूपा यादवसहितको गाडीलाई सुरक्षाकर्मीले माथिको आदेश भन्दै रोक्यो । सुरक्षाकर्मीले प्रदेशसभा सदस्यलाई जान दिने तर सवारी र अन्य व्यक्तिलाई भित्र जान नदिने बताइरहेका थिए । त्यहाँ सुरक्षाकर्मीसँग रूपा यादव र उनी समर्थित नेताहरूसँग चर्काचर्कीसमेत भएको थियो । सुरक्षाकर्मीसँग घम्साघम्सी हुँदै गर्दा रूपा र उनी समर्थित व्यक्तिहरूले सुरक्षाकर्मीमाथि धकेलाधकेल र हातपात पनि गरे । तर, सुरक्षाकर्मीले प्रतिवाद गरेनन् । बल प्रयोग गर्दै समूह मधेश भवन प्रवेश गर्‍यो । सवारीहरू गेटमै पार्किङ गरे । त्यसपछि अन्य समूहहरू पनि सहजै प्रवेश गरे ।

सात दलका नेताहरू भने मधेश भवनस्थित मुख्यमन्त्री निवासमा एकजुट हुँदै थिए । त्यहाँ आगामी रणनीतिबारे छलफल हुँदै थियो । बिहान ९ बजे सातै दलका नेताहरू छलफलमा बसे । छलफल भइरहेकै बेला नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव मधेश भवनमा पदभार ग्रहण गर्न आउन लागेको खबर पाए । छलफल छोडेर नेता तथा समर्थकहरू दुवै गेटमा पुगे । मधेश भवनको गेट बाहिर भने सात दल समर्थित नेता–कार्यकर्ता टायर बालेर प्रदर्शन गरिरहेका थिए ।

मधेश भवनको कभर्ड हलस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको भीडले तोडफोड गर्दै कर्मचारीलाई बाहिर जान दबाब दियो । त्यतिबेला कार्यालयमा तीन जना कर्मचारी मात्र थिए । एक जना ताला खोज्दै थिए भने अर्का कर्मचारी रेकर्ड फाइल जोगाउन केही सामान सार्दै थिए । तिनै कर्मचारीलाई लोसपाका नेता तथा पूर्वसांसद परमेश्वर साहले कुटपिट गर्न थाले । उनीसँगै अन्य व्यक्तिले पनि ती कर्मचारीलाई कुटपिट गरे । कांग्रेस प्रदेशसभा सदस्य वीरेन्द्र सिंह तोडफोड गर्दै थिए । उनले राष्ट्रिय झन्डासहित केही सामान बजारेका थिए । 

लोसपाका सांसद उपेन्द्र महतो भने तोडफोड नगर्न भन्दै अरूलाई रोकिरहेका थिए । सांसद सिंहले झारेको झन्डा पनि महतोले त्यतिखेरै उठाएका थिए । पछि भिडियो सामाजिक सञ्जालमा भाइरल हुन थालेपछि सांसद सिंहले माफी माग्दै झन्डा सम्मानपूर्वक राखेको भिडियो सार्वजनिक गरेका थिए । त्यहाँ ताला लगाएर कर्मचारीले मधेश भवनमा भएका अन्य मन्त्रालयमा सामान्य तोडफोड गर्दैगर्दा ताला लगाए । त्यसपछि प्रदेश प्रमुखको कार्यालय अगाडि प्रदर्शन भयो । प्रदेश प्रमुखको ‘नेम प्लेट’ फुटाउँदै नाराबाजी सुरु भएको थियो । प्रदर्शनमा सांसदहरूको पनि उपस्थिति थियो । जसपाकी सांसद ललिता दासले प्रदेश प्रमुखको कार्यालय अगाडि राखिएको गमला र कलश ढोकामा बजारिन् । अन्य प्रदर्शनकारी भने प्रदेश प्रमुखविरुद्ध नाराबाजी गर्दै थिए । कार्यालयभित्र भने नेपाली सेना पनि बसेका थिए ।

सात दलका नेताहरूले मधेश भवनमै सांसद बोलाएर हस्ताक्षर संकलन गर्दै थिए । नेताहरूले मुख्यमन्त्रीको नियुक्तिविरुद्ध कानुनी बाटो अपनाउने निर्णय गरिसकेपछि भीड शान्त भएको थियो । सोमबार बिहानैदेखि सात दलका नेता–कार्यकर्ता मधेश भवनमै छन् । साँझ भने मधेश भवनभित्र मान्छे पातलिएका थिए । जसपानिकट समाजवादी युवा संघले भने जनकपुरस्थित जनक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । प्रदेश प्रमुख र नवनियुक्त मुख्यमन्त्रीविरुद्ध पनि उनीहरूले नाराबाजी गरे ।

एमाले उपमहासचिव ज्ञवाली भन्छन्– ‘कार्यालयबाहिर शपथ प्राविधिक कुरा हो’ 

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मधेशमा संविधानलाई टेकेर ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा एमाले नेता सरोज यादवको नियुक्ति भएको बताएका छन् । ‘मुख्यमन्त्रीको नियुक्ति गैरसंवैधानिक होइन । संविधानमै टेकेर हाम्रो पार्टीको संसदीय दलको नेता सरोज यादवलाई नियुक्त गरिएको हो,’ उनले भने, ‘एमाले ठूलो दल हुँदाहुँदै पनि जसपा र जनमतलाई समर्थन गरी मुख्यमन्त्री बनाएको हो । कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि प्रदेश प्रमुखले ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।’ 

प्रदेश प्रमुखले आफ्नो कार्यालयबाहिर नियुक्ति गरेको विषय प्राविधिक भएको उनको भनाइ छ । ‘जसले नियुक्त गरे पनि प्रदेश प्रमुखले संविधानमै टेकेर काम गर्ने हो, उहाँले पनि त्यही गर्नुभएको हो,’ उनले थपे, ‘मधेशको मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखलाई एमालेले प्रभावमा पारेको भन्नु गलत हो ।’

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully