कमजोर संरचनाबाट आवासीय सुरक्षामा खटिएको स्वयम्भू प्रहरी

सुरुदेखि नै भव्य भवनमा नबसेको प्रहरी वृत्त स्वयम्भू जेन–जी प्रदर्शनमा जलेपछि थप समस्यामा परेको छ । पुनर्निर्माणमा स्थानीयको सहयोगपछि घाम–पानीबाट बच्न साधारण ब्यारेक, मेस र उपलब्ध संरचनालाई सकेसम्म व्यवस्थित गरेर सेवा सुरु गरिरहेको छ ।

कार्तिक २०, २०८२

दीपक केसी, विवेक पोख्रेल

Swayambhu Police deployed for residential security due to weak infrastructure

काठमाडौँ — प्रहरी वृत्त स्वयम्भू मातहतका क्षेत्रमा धेरै आवासीय बस्ती छन् । गुठीको जग्गामा स्थानीयको पहलमा बनेको यो वृत्त सुरुदेखि नै भव्य भवनमा थिएन । वर्षौंदेखि प्रायः अस्थायी संरचनामै प्रहरीले सेवा दिँदै आएको थियो ।

घाम–पानीबाट बच्न साधारण ब्यारेक थियो । सामान्य मेस र साधारण ढंगबाटै उपलब्ध संरचनालाई सकेसम्म व्यवस्थित गरेर सेवा निरन्तर दिइँदै आएको थियो । तर यही भवन जेन–जी प्रदर्शनका क्रममा भदौ २४ गते जलेको थियो । जलेको भवनलाई फेरि पुरानै लयमा फर्काउन स्थानीयले सहयोग गरेका छन् ।

भदौ २४ गते बिहानै, २३ गतेका घटनापछि काठमाडौंका विभिन्न स्थानमा र्‍याली र प्रदर्शन सुरु भइसकेका थिए । स्वयम्भू वृत्तका प्रहरीहरू पनि विभिन्न ठाउँमा सुरक्षाका लागि खटिइसकेका थिए । त्यस दिन प्रहरी प्रधान कार्यालयको निर्देशन थियो — ‘शक्ति प्रदर्शन नगर्ने, भीड नियन्त्रणका लागि मात्र लाठीचार्ज वा अश्रुग्यास प्रयोग गर्ने ।’

Swayambhu Police deployed for residential security due to weak infrastructure

वृत्त वरिपरि बिहानैदेखि प्रदर्शनकारीले तोडफोडको प्रयास गरेका थिए । स्थानीयले पनि प्रहरीलाई साथ दिएपछि स्थिति नियन्त्रणमै थियो । तर दिउँसो ३ बजेपछि भीड प्रहरीको नियन्त्रणभन्दा बाहिर पुग्यो । तीन प्रहरी घाइते भए र आत्मरक्षाका लागि गोली चलाउन बाध्य हुनुपर्‍यो । भीड बढ्दै गएपछि अझ ठूलो क्षति हुन सक्ने देखिएपछि प्रहरीले वृत्त छाड्यो । त्यति बेला प्रदर्शनकारीहरूले प्रहरीको कम्पाउन्ड र गेट भत्काइसकेका थिए ।

प्रहरीले वृत्त छाडेपछि ब्यारेकभित्र रहेका प्रहरीका व्यक्तिगत सामग्री चोरी र लुटपाट भए । भवनसँगै थुनुवा ओसारपसार र कार्यालय प्रयोजनका लागि प्रयोग हुने ठूला–साना गरी पाँच वटा सवारीसाधन (ठूलो गाडी १ र साना भ्यान ४) जलाइए । मिसिल, कागजात र पुराना फाइलहरू समेत जले । प्रहरीका महत्त्वपूर्ण सामग्री, हातहतियार समेत प्रदर्शनकारीले खोसेका थिए ।

Swayambhu Police deployed for residential security due to weak infrastructure

२४ गते मानवीय क्षति नहोस् भनेर वृत्त छाडेका प्रहरी २५ गते नै जनसेवाका लागि फर्किए । स्वयम्भू आवासीय क्षेत्र भएकाले जनताको सुरक्षालाई प्राथमिकता दिनुपर्छ भन्ने उनीहरूको सोच थियो । यो वृत्त मातहत काठमाडौँ महानगरपालिकाको १५ नम्बर वडा र नागार्जुन नगरपालिकाका १ देखि ८ नम्बर वडा पर्छन् । डल्लु, भगवानपाउ, सितापाइला लगायत क्षेत्रमा घना आवासीय बस्ती छन् ।

प्रहरी फर्किएपछि स्थानीय पनि स्वतःस्फूर्त रूपमा सहयोग गर्न आए । कसैले कुचो बोकेर सरसफाइमा जुटे, कसैले गेट, वाल र भवन पुनर्निर्माणका लागि आर्थिक तथा भौतिक सहयोग गरे । प्रदर्शनकारीले ट्वाइलेटका धारा, प्यानलगायतका सामग्री समेत फुटाएका थिए । त्यसैले सरसफाइसँगै प्लम्बिङको कामलाई प्राथमिकता दिइयो । पिउने पानीको व्यवस्था गरियो ।

‘सुरुका दिन स्थानीयले घरबाट खाना पकाएर ल्याएर पनि हामीलाई खुवाउनुभयो । दुई दिनको मेहनतपछि वृत्तभित्रै पकाएर खान मिल्ने मेस सञ्चालनमा आयो,’ एक प्रहरीले भने ।

Swayambhu Police deployed for residential security due to weak infrastructure

पहिलेदेखि नै सुविधा सम्पन्न भवन नभएकाले यहाँ कार्यरत प्रहरीहरूको अपेक्षा पनि ठूलो छैन । उनीहरूलाई पीडामा परेकालाई कसरी सहज न्याय दिने भन्ने चिन्ता छ ।

‘प्रहरीलाई राम्रो कार्य वातावरण दिनु अहिलेको मुख्य चुनौती बनेको छ । प्रदर्शनका कारण त्यति बेला केही मनोबल घटे पनि यहीका नागरिक र समाजको सहयोगले फेरि हौसला प्राप्त भएको छ । त्यही ऊर्जाले हामी अहिले पुनर्निर्माणमा जुटेका छौँ,’ प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनमणि अधिकारीले भने, ‘प्रहरी कार्यालयमा पीडामा परेका नागरिक आउँदा उनले न्यानोपन र भरोसा महसुस गर्न पाउनुपर्छ । प्रहरी भवनकै अवस्था नाजुक भए त्यसले जनतामा पनि नकारात्मक प्रभाव पार्छ ।’

Swayambhu Police deployed for residential security due to weak infrastructure

उनका अनुसार समस्या समाधान हुने अपेक्षासहित आएका नागरिकले प्रहरीको भत्किएको, जलेको भवन र प्रहरीको दुःख देख्दा मनोबल घट्छ । उनले थपे, ‘जनताले शुद्ध पानी, बस्ने ठाउँ र गोपनीयता पाउनुपर्छ भन्ने मेरो चाहना हो । त्यसका लागि करोडौँको लगानी चाहिन्छ । अहिले ब्यारेक र मेस पनि व्यवस्थित छैनन्, तर हामी पहिलेकै लयमा फर्कने प्रयासमा छौँ ।’

खान र बस्नलाई तत्काल समस्या नभए पनि यहाँका प्रहरीले सीमित स्रोत र साधनमा काम गरिरहेका छन् । जलेका गाडीमध्ये दुई वटा प्रहरी प्रधान कार्यालय नक्सालले उपलब्ध गराएको छ । नागार्जुन नगरपालिका र काठमाडौँ–१५ नम्बर वडाले एक–एक वटा गाडी एक महिनाका लागि अस्थायी रूपमा भाडामा दिएका छन् । कम्प्युटरलगायत कार्यालय सामग्री जल्दा प्रहरीले पुराना र नयाँ दुवै काम एकै पटक गर्नुपर्ने भएको छ ।

Swayambhu Police deployed for residential security due to weak infrastructure

दीपक केसी केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully