भाटभटेनीको काठमाडौं चुच्चेपाटी स्टोरमा ७, धरान स्टोरमा ४ र विराटनगर स्टोरमा १ शव भेटिएकामा कसैको पनि नाम–ठेगाना खुलेको छैन । दाबी गर्न परिवार पनि आएका छैनन् । त्यसैले काठमाडौंमा भेटिएका कंकाल प्लास्टिकमा पोको पारेर राखिएको छ । धरान र विराटनगरका शवको भने नमुना राखेर अन्त्येष्टि गरिएको छ ।
What you should know
काठमाडौँ — २४ भदौको प्रदर्शनमा काठमाडौंको चुच्चेपाटी तथा धरान र विराटनगर भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा फेला परेका १२ मृतकको पहिचान डेढ महिनासम्म पनि खुल्न सकेको छैन । मृतकको पहिचान गर्न राज्यका निकाय तथा प्रदर्शनका अगुवाले समेत चासो र अग्रसरता लिएका छैनन् ।
भाटभटेनीका स्टोर सरसफाइ गर्ने क्रममा २७ भदौमा धरानमा चार र विराटनगरमा एक जलेको मानव कंकाल भेटिएका थिए । त्यस्तै २९ भदौमा चुच्चेपाटीमा सात वटा शव भेटिएका थिए । ती शव पूर्ण रूपमा जलेकाले लिंगसमेत खुल्न सकेको छैन ।
भाटभटेनीले आफ्ना कर्मचारी नभएको यसअघि नै जनाइसकेको छ । त्यस्तै, उक्त दिन भाटभटेनीका स्टोरहरू बन्द रहेकाले उनीहरू ग्राहक पनि नभएको प्रहरीको भनाइ छ । कोटेश्वर भाटभटेनीमा जलेर रामेछाप खड्कादेवी गाउँपालिका–६ का विकास रसाइलीको मृत्यु भएको प्रहरीको अभिलेख छ । उनको १ असोजमा शव भेटिएपछि मोबाइलबाट पहिचान खुलेको थियो ।
धरान र विराटनगरमा भेटिएका ५ शवको स्थानीय तहले अन्त्येष्टि गरिसकेका छन् । चुच्चेपाटीको भाटभटेनी सुपरमार्केटको पहिलो र तेस्रो तलामा भेटिएका शव प्लास्टिकमा पोको पारेर त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
त्यस्तै, धरान भाटभटेनीको दोस्रो तल्लामा एउटा र तेस्रो तल्लामा तीन जनाको शव भेटिएको प्रहरीले जनाएको छ । धरान र विराटनगरमा भेटिएका शव लगभग खरानी अवस्थामा रहेकाले डीएनए परीक्षणका लागि नमुना संकलन गरेर अन्त्येष्टि गरिएको सुनसरी र मोरङ जिल्ला प्रहरी कार्यालयको भनाइ छ ।
सुनसरीका एसपी केशव थेवेले भने, ‘अस्थिपञ्जर भेटिएका थिए, पोस्टमार्टम र डीएनका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएका थियौं । लगभग खरानी अवस्थामा रहेकाले शवहरू पालिकालाई जिम्मा दिएर अन्त्येष्टि भइसकेको छ ।’
चारमध्ये एउटा शव आफन्तको भएको दाबी गर्दै एक जनाले निवेदनसमेत दिएको उनले जनाए । ‘आफन्त दाबी गरे पनि डीएनएबाट पुष्टि भइसकेको छैन,’ उनले भने ।
विराटनगर भाटभटेनीको दोस्रो तल्लामा जलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्न नसकेपछि स्थानीय तहको सहयोगमा अन्त्येष्टि गरिएको मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए । ‘नाम, थर, वतन केही पनि खुल्न सकेन, शवको अवस्था लगभग खरानी नै थियो, डीएनएका लागि प्रमाण निकालेर शव स्थानीय पालिकाको जिम्मा लगायौं,’ उनले भने ।
काठमाडौं प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार चुच्चेपाटी भाटभटेनीमा जलेको अवस्थामा भेटिएका शव दाबी गर्न कोही पनि आएका छैनन् । ‘यी शव पूर्णतः जलेका अवस्थामा छन् । परिवार, आफन्त कोही दाबी गर्न आएका छैनन्,’ उनले भने, ‘डीएनए परीक्षण गर्न सकिन्छ कि भनेर प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाएका छौं ।’
भाटभटेनीलगायत व्यापारिक भवन र निजी घरमा जलेर देशभर १५ जनाको मृत्यु भए पनि अन्यको पहिचान खुलेपछि पोस्टमार्टम गरी परिवारले शव बुझिसकेका छन् । ललितपुरस्थित एक निजी घर, काठमाडौं थानकोटस्थित एक व्यापारिक भवन, कास्की, चितवन र पर्सामा व्यक्तिका घर र भवनमा जलेर प्रदर्शनकारीको मृत्यु भएको प्रहरीको तथ्यांक छ ।
त्यस्तै ललितपुरको एक निजी घरमा काभ्रे भुम्लु–४ का सरोज खत्रीको शव फेला परेको थियो । चन्द्रागिरिस्थित थानकोटको एक व्यापारिक भवनमा स्थानीय मदन परिवारको शव भेटिएको प्रहरीले जनाएको छ ।
कास्कीमा व्यापारिक भवनमा परेर दोलखाकी स्वस्थानी खड्का र कान्छी नगरकोटीको मृत्यु भएको थियो । पर्सा र चितवनमा निजी घरमा भएको आगजनीमा क्रमशः सुशीलादेवी पासवान र सरोज गुरुङको निधन भएको प्रहरीले जनाएको छ ।
२३ र २४ भदौको प्रदर्शनमा देशभर ७६ जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांक छ । त्यसमा २३ भदौको आन्दोलनमा काठमाडौंको बानेश्वर र इटहरीमा गरी २२ जना मारिएका थिए । उनीहरू सबैको कम्मरमाथि गोली लागेको पोस्टमार्टम रिपोर्ट छ भने तीमध्ये पनि अधिकांशलाई टाउको र छातीमा गोली लागेको छ । २४ भदौमा ४१ प्रदर्शनकारी, भाग्ने क्रममा १० कैदीबन्दी र प्रदर्शनकारीको कुटपिटबाट काठमाडौंमा ३ प्रहरीको मृत्यु भएको थियो । २४ भदौमा मृत्यु हुनेमध्ये १७ जना प्रदर्शनकारीलाई गोली लागेको पाइएको छ । उनीहरूलाई पनि कम्मरमाथि गोली लागेको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ । दुवै दिनमा गरी देशभरमा ३९ जना प्रदर्शनकारी गोलीबाट मारिएका थिए ।
यी दुई दिनमा काठमाडौं उपत्यकामा मात्र गोली लागेर ३५ जना मारिएकोमा १९ जनाको छातीमा, १० जनाको टाउकामा, ४ जनाको पेटमा र २ जनाको घाँटीमा गोली लागेको शिक्षण अस्पतालको फरेन्सिक विभागको रिपोर्टमा उल्लेख छ । १० कैदीबन्दी सेना र प्रहरीले चलाएको गोली लागेर मारिएका थिए । महाराजगन्जमा दुई र कोटेश्वरमा एक प्रहरी भने प्रदर्शनकारीको कुटपिटबाट मारिएका थिए ।
२४ भदौमा काठमाडौंको महाराजगन्ज, बालाजु, स्वयम्भू, कालीमाटी, कलंकी, बानेश्वर, दरबारमार्ग, कोटेश्वर, गौशालालगायत प्रहरी वृत्त र युनिटमा बिहान करिब ११ बजेअघि नै तोडफोड र आगजनी हुन थालेको थियो । तर प्रहरी कार्यालयहरू जलेकाले त्यहाँ वरपर भएका घटनाको मुचुल्का हुन नसकेको र सोही कारण गोली लागेको घटनास्थल पनि यकिन हुन नसकेको प्रहरीको भनाइ छ । तीनै प्रहरी वृत्तबाट प्रहरीले गोली चलाएको दाबी मृतकका परिवारले गर्दै आएका छन् । काठमाडौं उपत्यकाबाहेक २४ भदौमा सुनसरी, झापा, मोरङ, चितवन, कास्की र पर्सामा आन्दोलनकारीको मृत्यु भएको थियो ।
प्रहरीको आन्तरिक छानबिन प्रतिवेदन : जेन-जी आन्दोलनमा ४ हजार गोली र ८ हजार अश्रुग्यास प्रहार
जेन–जी आन्दोलनको अगुवामध्येकी एक रक्षा बमले पहिचान नभएका शवबारे अनविज्ञता व्यक्त गरिन् । ‘सरकारसँग सहिद परिवारका लागि राहत र घाइतेको उपचारलगायत कुरा उठाउँदै आएका हौं, तर मृतकहरूको पहिचान नभएको कुरा जानकारीमै थिएन,’ उनले भनिन् ।
प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले कुनै पनि शवको हालसम्म पहिचान नभएको बताए । ‘शव आफ्नो आफन्तको हो भनेर कोही दाबी गर्न पनि आएको छैन,’ उनले भने, ‘बेवारिसे अवस्थामा भेटिएका शवहरू लगभग खरानी अवस्थामा रहेकाले डीएनए परीक्षण पनि हुन सकिरहेको छैन ।’
दुईदिने प्रदर्शन र मृत्युबारे राष्ट्रिय मानवअधिकार आयोगले अध्ययन गरिरहेको जनाएको छ । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको छानबिन आयोगले पनि काम गरिरहेको छ ।
